ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारलाई संसदीय समितिको निर्देशन : ‘भारतसँगका सबै सम्झौता उपलब्ध गराउनू’

२०८० पुस, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं। प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिले भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरको नेपाल भ्रमणका क्रममा भएका सम्झौता ७ दिनभित्र समितिमा बुझाउन निर्देशन दिएको छ । समितिले यसअघि भारतसँग गरेका अन्य सम्झौता पनि उपलब्ध गराउन भनेको छ ।

कानून, न्याय तथा मानव अधिकार समितिले सरकारलाई नेपाल सरकार पक्ष भई विभिन्न मुलुकहरू वा सरकारी संघ, संगठनसँग गरेका सन्धि सम्झौताहरू, ती सम्पन्न भएका मिति र सम्झौताको अवस्था, संसद्ले अनुमोदन गरेको वा अनुमोदन गर्न बाँकी रहेको समेत खुलेको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

सभापति विमला सुवेदीले बुधवार सिंहदरबारमा बसेको समिति बैठकको निर्णय सुनाउँदै समिति सचिवालयलाई उक्त प्रतिलिपि उपलब्ध गराउन कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको बताइन् । उनले भनिन्, ‘भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौताको पूर्णरूप यस समिति सचिवालयमा ७ दिनभित्र उपलब्ध गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छौं ।’ समितिले भारतसँगको पछिल्लो सम्झौता र यसमाथि उठेका बहसहरूको सन्दर्भमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाएको थियो । बैठकमा दाहालले भारतले नेपालमा २० करोड रुपैयाँसम्म खर्च गर्न पाउने सहमति राष्ट्रहितविपरीत नभएको बताउनुभयो । विगतमा ५ करोड लिँदा राष्ट्रहितविपरीत नहुने अहिले २० करोड लिँदा चाहिँ कसरी राष्ट्रहितविपरीत हुन्छ भन्दै उहाँले सांसदहरूलाई नै प्रश्न गर्नुभयो । ‘५ करोड लिँदा राष्ट्रहितविपरीत नहुने, २० करोड लिँदा चाहिँ राष्ट्रहित हुन्छ ? हुँदैन, ५ करोड त लिइँदै आइएको छ 

त ? सदनमा यो विषयमा छलफल हुन्छ । यो सदनद्वारा अनुमोदित कुरा हो । सैद्धान्तिक रूपमा यो हुँदै आएको हो,’ प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘यो सहमति विदेशमन्त्री आउँदा सार्वजनिक भए पनि निर्णय त सरकारले २०/२५ दिनअघि नै गरेको हो ।’

समिति बैठकमा नेकपा (एमाले) संसदीय दलका सचेतक महेश बर्तौलाले भारतसँगको सम्झौताले नेपाली स्वाभिमानको जरा काट्ने काम गरेको बताए । उनले सम्झौता जस्ताको तस्तै सार्वजनिक गर्न माग गरे । ‘नेपाल सरकारले देशको चार किल्लाभित्र एक रुपैयाँ खर्च गर्न पनि नेपालको संसद्ले अनुमोदन गर्नुपर्छ,’ बर्ताैलाले भने, ‘नेपालको बजेटरी सिस्टमबाहिरबाट पैसा आउने र खर्च गर्ने प्रणाली राष्ट्रघात हो । यो गम्भीर विषयमा सरकारले हल्का ढंगले लिन हुँदैन ।’

प्रधानमन्त्री दाहालका अनुसार भारतसँग हाल भएको सम्झौतामा भारतीय पक्षले एकतर्फी रूपमा आयोजना छनोट गर्ने र कार्यान्वयन गर्न सक्ने प्रावधान राखिएको छैन । ‘भारतसँग हाल भएको सम्झौतामा कुनै पनि त्यस्तो प्रावधान राखिएको छैन जसले भारतीय पक्षलाई एकतर्फी रूपमा आयोजना छनोट गर्न र कार्यान्वयन गर्न सुविधा दिन्छ । यसका साथै आयोजना कार्यान्वयनको नियमित अनुगमन गर्ने र अद्यावधिक समीक्षासमेत नेपाल सरकारकै संयन्त्रबाट हुन्छ । यो परिस्थितिमा यो सम्झौताबारे हामीले तनाव लिनुपर्ने कारण छैन । नेपाल सरकारले चाहेका बेलामा यो सम्झौताबारे जुनसुकै निर्णय लिन सक्छ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले चिनियाँ लगानीका विद्युत् परियोजनाको बिजुली पनि भारतलाई खरीद गराउन प्रयास भइरहेको र त्यसको परिणाम छिट्टै आउने बताउनुभयो । ग्लोबल टेन्डरबाट चिनियाँ कम्पनीले पाएका परियोजनाको विद्युत् भारतले किन्नुपर्ने विषयमा छलफल भइरहेको उहाँको भनाइ छ । नेपालबाट भारतले विद्युत् किन्ने भए पनि चिनियाँ कम्पनीले उत्पादन गरेको विद्युत् खरीद गर्ने सम्बन्धमा रिजर्भेसन राखेको दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार भारतीय लगानीको मात्रै लिने सम्झौता नेपालले गरेको छैन । नेपालमा जुनसुकै देशले विद्युत् उत्पादन गर्नसक्ने व्यवस्था छ । भारतले १० हजार मेगावाट १० वर्षमा खरीद गर्ने भन्ने सम्झौता भएको छ । भारत सरकारको ‘कन्सर्न’ चीन सरकारले लगानी गरेको विद्युत् लिनेमा ‘रिजर्भेसन’ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)