ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भ्याट फिर्ताको झन्झटिलो प्रक्रिया : वर्षेनि अर्बौंको मोनोबक्स आयात, स्वदेशी उद्योग संकटमा

२०८० पुस, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज। सरकारले स्थानीय औषधि र चिया उद्योगले स्वदेशी प्याकेजिङ उद्योगबाट किनेको प्याकेजिङ मेटेरियल (मोनोबक्स)मा मूल्य अभिवृद्धिकर (भ्याट) फिर्ता दिने घोषणा गरेको साढे ३ वर्ष बित्यो । तर, त्यस्ता कुनै पनि उद्योगले स्वदेशी उद्योगबाट मोनोबक्स खरीद गरेका छैनन् । 

सरकारले आर्थिक वर्ष (आव) २०७७/७८ को बजेटमार्फत यस्तो घोषणा गरेको थियो । मोनोबक्स आयातमा भन्सार बिन्दुमै भ्याट छूट पाइरहेका यस्ता उद्योगले स्वदेशी उद्योगबाट मोनोबक्स खरीदमा रुची देखाएनन् । 

सरकारी नीतिअनुसार स्वदेशी उद्योगबाट किन्दा तिरेको भ्याट फिर्ता दिने भनिएको छ । आयात गर्दा भन्सारमा १ प्रतिशत महशुलमात्र तिरेर भित्त्याउन पाइने भएपछि स्वदेशका उद्योगबाट मोनोबक्स खरीद नभएको वीरगञ्जको प्रिन्टो प्याक इन्डस्ट्रिजका अध्यक्ष रवीन्द्रकुमार बरनवालले बताए । 

‘यहाँका उद्योगबाट किन्दा शुरूमै भ्याट तिरेर सरकारसँग फिर्ता माग्नुपर्ने भयो । यसमा समय र पूँजीको लागत बढी हुँदा उद्योगीहरूले आयात गरिरहेका छन्,’ बरनवालले भने, ‘उद्यमीले सरकारलाई तिरिसकेको कर फिर्ता लिँदा लाग्ने समय र प्रक्रिया अत्यन्तै लामो र झन्झटिलो भएकाले यसमा उद्योगीले रुचि नदेखाएका हुन् ।’

स्वदेशका प्याकेजिङ उद्योगले कच्चा पदार्थका रूपमा प्रयोग गर्ने कागजको आयातमा १५ प्रतिशत भन्सार महशुल र १३ प्रतिशत मूल्य अभिवृद्धिकर लाग्छ । औषधि र चिया उद्योगले आयात गर्ने मोनोबक्समा १ प्रतिशत भन्सार महशुलमात्रै लाग्दै आएको छ ।

प्याकेजिङ उद्योगले आयात गर्ने कागजमा लिइएको भन्सार महशुल नै बढी भएको आर्ची अफसेट प्रिन्टर्सका अध्यक्ष जुगल धनावतले बताए । ‘कच्चा पदार्थ र तयारी वस्तु आयातमा लाग्ने महशुलमा कम्तीमा एक तहको अन्तर हुनुपर्ने मान्यता छ । उच्च दरको भन्सार महशुल र त्यसमाथि उत्पादन लागतका कारण स्वदेशका प्रिन्टिङ उद्योगलाई समस्या परेको छ,’ धनावतले भने । 

तयारी मोनोबक्सको आयातमा २० प्रतिशत भन्सार महशुल छ । कागजमा १५ प्रतिशत भए पनि उत्पादन गर्दा खेर जाने कागज परिमाण हिसाब गर्दा २० प्रतिशतभन्दा बढी पर्न जाने उद्यमी बरनवालले दाबी गरे । 

सरकारले स्वदेशी उद्योगलाई दिएको भ्याट छूटको प्रक्रिया सहज नभएकाले घोषित नीतिको लाभ उठाउन नसकिएको गुनासो उद्योगीहरूको छ । औषधि र चिया उद्योगलाई विक्री गर्दा बीलमै भ्याट छूट दिने व्यवस्था भएमात्र ती उद्योगले स्वदेशका प्रिन्टिङ उद्योगबाट मोनोबक्स खरीद गर्ने उनीहरू बताउँछन् । 

नेपालमा अधिकांश मोनोबक्स भारतबाट भित्रिन्छ । भारतमा कागजमा १२ प्रतिशत वस्तु तथा सेवा कर (जीएसटी) लाग्छ । नेपालमा आयात हुने कागजमा यस्तो कर नलाग्ने भएकाले स्वदेशमा उत्पादित मोनोबक्समा भ्याट छूट हुँदा भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न सकिने उद्योगी बरनवालको भनाइ छ । 

नेपालका करीब ६ दर्जन औषधि उद्योगले भारतबाट मोनोबक्स आयात गर्छन् । स्वदेशका यस्ता उद्योगले वर्षेनि ३ अर्ब रुपैयाँ हाराहारीको मोनोबक्स आयात गर्ने अनुमान उद्योगी धनावतको छ ।

भारतबाट अर्बौं रुपैयाँको यस्ता उत्पादन आयात हुँदा स्वदेशी प्याकेजिङ उद्योगले भने बजार अभाव सामना गरिरहेका छन् । भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा यस्ता उद्योग संकटउन्मुख भइरहेको उद्योगी बताउँछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)