ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पछिल्लो ५ महीनामा ११८ करोडको छुर्पी निर्यात : नेपालले गुणस्तर प्रमाणीकरण गरे निर्यात अझ बढ्ने व्यवसायीको भनाइ

२०८० पुस, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं। नेपालबाट निर्यात हुने प्रमुख वस्तुको सूचीमा पछिल्लो समय छुर्पी पनि पर्न थालेको छ । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ५ महीनामा नेपालबाट ५ लाख ९७ हजार २१६ किलोग्राम छुर्पी निर्यात भएको तथ्यांक छ । त्यसबाट १ अर्ब १८ करोड ७३ लाख रुपैयाँ मुलुक भित्रिएको छ । 

गत आवको सोही अवधिमा नेपालबाट १ अर्ब १० करोड १० लाख ४८ हजार रुपैयाँ बराबरको ५ लाख ९४ हजार ८६ किलोग्राम छुर्पी निर्यात भएको थियो । गत आवको ५ महीनाको तुलनामा चालू आवको सोही अवधिमा छुर्पी निर्यात परिमाण शून्य दशमलव ५२ प्रतिशतले बढेको छ । निर्यातबाट भित्रिएको रकम भने ७ प्रतिशतले बढेको छ । अन्तरराष्ट्रिय बजारमा नेपाली छुर्पीको माग उच्च भएको भन्दै सम्बद्ध व्यवसायीले निर्यात बढाउनुपर्नेमा जोड दिएका छन् ।

भन्सार विभागको तथ्यांकअनुसार नेपालबाट छुर्पी निर्यात निरन्तर बढिरहेको छ । आव २०७५/७६ पछि वार्षिक रूपमा १ अर्ब रुपैयाँभन्दा बढीको छुर्पी निर्यात भइरहेको देखिन्छ । 

निर्यात परिषद् नेपालका अध्यक्ष रेशम पोख्रेलले नेपालले शून्य भन्सार सुविधामा छुर्पी निर्यात गर्दै आएको बताए । शून्य भन्सारको लाभ लिन नेपालले निर्यात परिणाम बढाउनुपर्ने उनको भनाइ छ । ‘निर्यात बढाउन सरकारले गुणस्तर प्रमाणीकरण गर्नुपर्छ,’ उनले भने, ‘अन्य सबै देशमा छुर्पीको गुणस्तर प्रमाणीकरणको व्यवस्था मिलाएर उत्पादनलाई प्रोत्साहन दिनुपर्छ ।’

नेपालबाट अमेरिका, क्यानडालगायत देशमा छुर्पी निर्यात हुँदै आएको छ । नेपालबाट धेरैजसो यूरोपेली देशमा दुग्धजन्य उत्पादन निर्यात गर्न पाइँदैन । ‘किनभने नेपालका उत्पादनको गुणस्तर प्रमाणपत्र छैन,’ पोख्रेलले भने, ‘नेपालको छुर्पी उपभोग गर्नयोग्य छ कि छैन भन्ने प्रमाणीकरण गर्ने व्यवस्था नै छैन, त्यसले गर्दा धेरैजसो देशले लैजाँदैनन् । सरकारले त्यो व्यवस्था गरिदिए नेपालको छुर्पी विश्वको जुनसुकै देशमा निर्यात गर्न सकिन्छ ।’ उनले अमेरिकामा कुकुर, बिरालोलाई खुवाउन छुर्पी माग हुने गरेको बताए । नयाँ ‘पेट फुड’मा के राख्ने भन्नेमा अनुसन्धान गर्दा छुर्पी उत्कृष्ट देखिएपछि अमेरिकाको रोजाइमा परेको उनको भनाइ छ । 

परिषद्का अनुसार नेपालमा वार्षिक १० लाख किलोग्रामभन्दा बढी छुर्पी उत्पादन हुन्छ । नेपालको छुर्पी विश्वका विभिन्न मुलुकमा जाने गरेको छ ।

नेपालबाट सबैभन्दा धेरै छुर्पी अमेरिका निर्यात भएको तथ्यांकले देखाउँछ । चालू आवको ५ महीनामा १ अर्ब ३ करोड रुपैयाँ बराबरको ५ लाख १५ हजार ९२४ किलोग्राम छुर्पी अमेरिका निर्यात भएको देखिन्छ । 

नेपाली छुर्पी धेरै निर्यात हुने दोस्रो देशमा क्यानडा पर्छ । पछिल्लो ५ महीनामा क्यानडामा ८ करोड ३८ लाख ७० हजार रुपैयाँ बराबरको ३७ हजार ५३९ किलोग्राम छुर्पी निर्यात भएको छ । नेपालबाट निर्यात हुने छुर्पी विशेष गरी कुकुर र बिरालोको खानामा प्रयोग हुन्छ । एक किलोग्राम छुर्पी बनाउन २२ लिटर दूध आवश्यक पर्ने पोख्रेल बताउँछन् । ‘अहिले प्रशस्त दूध भएकाले छुर्पी उत्पादन बढी गर्न सकिन्छ,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)