ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तरुलमा आत्मनिर्भर बन्दै नेपाल, 'कुल खपतको ९५ % हिस्सा स्वदेशमै उत्पादन'

२०८० पुस, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
काठमाडौंको कालीमाटी तरकारी बजारमा विक्रीका लागि ल्याइएको तरुल । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
author avatar प्रतिक्षा कडेल

काठमाडौं । अरु बेलाभन्दा माघे संक्रान्तिमा बढी खपत हुने तरुलमा नेपाल आत्मनिर्भर बन्दै गएको छ । स्वदेशकै उत्पादनले माग धान्न सक्ने अवस्थामा पुगेपछि आयात पनि घटेको व्यापारी बताउँछन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठ पछिल्ला केही वर्षयता स्वदेशमै उत्पादित तरुलबाट करीब करीब माग धान्ने अवस्थामा पुगेको बताउँछन् । 

‘अहिले हाम्रै आन्तरिक उत्पादनले पुगिरहेको छ । पछिल्लो केही वर्षदेखि भारतबाट ४–५ मेट्रिक टन मात्रै आयात हुने गरेको छ । नेपालमा खपत हुने तरुलको ९५ प्रतिशत हिस्सा हाम्रै उत्पादन छ,’ प्रवक्ता श्रेष्ठले भने । 

पुसयता बढ्यो आगमन

माघे संक्रान्ति आउन केही दिन मात्रै बाँकी रहँदा अहिले दिनहुँ तरुलको आगमन बढिरहेको छ । यही पुस १ गतेयताको तरुल आगमनको तथ्यांक हेर्दा यो कुरा पुष्टि गर्छ । यही पुस १ गते १९ हजार ५४३ किलोग्राम तरुल भित्रिएको थियो । पुस २६ गते भने उक्त परिणाममा ६४३ प्रतिशतले वृद्धि भएको छ । समितिका अनुसार उक्त दिन १ लाख ४५ हजार २२० किलोग्राम तरुल भित्रिएको छ । 

कालीमाटी बजारमा पुस १ गतेयता ८ लाख ७० हजार ४२ किलोग्राम तरुल भित्रिइसकेको छ । तरुलको आगमन पुस २८ र २९ गत अझै बढ्ने उनले बताए । 

प्रवक्ता श्रेष्ठका अनुसार गत वर्ष १८ सय टन तरुल, सखरखण्ड र पिडालु भित्रिएको थियो । यो पटक पनि त्यही हाराहारीमा भित्रिने उनले बताए ।  

स्वदेशी नै रुचाउँछन् उपभोक्ता

ग्राहकले पनि नेपालमै उत्पादित तरुल रुचाउने गरेको व्यापारी बताउँछन् । ‘हाम्रोमा धेरै प्रकारका तरुल छन् । यहाँको तरुल स्वादिलो पनि छ, त्यही भएर ग्राहकले पनि यहाँकै तरुल मनपराउँछन्,’ प्रवक्ता श्रेष्ठले भने । 

कालीमाटीमा भारतको तरुल विक्री गर्ने व्यापारी पनि थोरै भएको उनको भनाइ छ । 

सर्लाहीबाट भित्रिन्छ ७० प्रतिशत

उनका अनुसार कालीमाटीमा विक्री हुने तरुलमा सबैभन्दा धेरै हिस्सा सर्लाहीको छ । कालीमाटी बजारमा सर्लाहीबाट ६० देखि ७० प्रतिशत हिस्सा तरुल भित्रिने गरेको उनले बताए ।

सर्लाहीपछि सुनसरी, धादिङ, मकवानपुर, चितवनमा लगायतका जिल्लाबाट पनि कालीमाटीमा तरुल भित्रिने गरेको छ । 

किलोको ४०० रुपैयाँसम्म 

समितिका अनुसार आज तरुलको थोक मूल्य किलोको ६० देखि ७० रुपैयाँसम्म छ । तरुलको मूल्य जात अनुसार फरक फरक पर्ने गरेको छ । कालीमाटीमा खुद्रामा तरुल विक्री गर्दै आएका रामलाल यादवले आफूले १५–१६ प्रकारका तरुल विक्री गर्ने गरेको बताए । जातअनुसार तरुलको खुद्रा मूल्य किलोको १०० रुपैयाँदेखि ४०० रुपैयाँसम्म पर्ने गरेको उनको भनाइ छ । 

उनले अहिले हात्तीपाइले तरुल, पातले तरुल, आकाशे तरुल, मुडे तरुल, वन तरुललगायत विक्री गर्दै आएका छन् । 

'यो वर्ष किलोमा १५ रुपैयाँ बढ्यो'

गत वर्षको तुलनामा तरुलको मूल्य किलोमा १० देखि १५ रुपैयाँ बढेको उनले बताए । यो सिजनमा माग बढेकाले तरुलको मूल्य पनि बढेको उनको भनाइ छ । साताअघिसम्म प्रतिकिलो १०० रुपैयाँ खुद्रा मूल्य रहेको तरुल अहिले २० रुपैयाँले बढेर प्रतिकिलो १२० रुपैयाँसम्म पुगेको उनी बताउँछन् । 

यीमध्ये सबैभन्दा महँगो ‘वन तरुल’ हुने व्यापारी बताउँछन्, जसको मूल्य प्रतिकिलो ४०० रुपैयाँ पर्ने गरेको छ । सबैभन्दा बढी विक्री हुने तरुल भने आकाशे तरुल र वन तरुल रहेको व्यापारीको भनाइ छ ।

माघे संक्रान्तिमा तरुलसँगै, पिँडालु, सखरखण्ड र कन्दमुलको पनि खपत हुने गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)