ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एडीबी ऋणका सडक : थपिएको म्यादमा पनि सम्पन्न हुन मुश्किल

२०८० माघ, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। दातृ निकाय एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा बन्दै गरेकामध्ये मुख्य राजमार्गका विभिन्न खण्डको काम थपिएको समयमा पनि सम्पन्न हुन मुश्किल देखिएको छ । एडीबीको ऋणमा नारायणगढ–बुटवल, मुग्लिन–पोखरा र कञ्चनपुर–कमला सडक निर्माण भइरहेका छन् । 

सडक विभागअन्तर्गतको एडीबी आयोजना निर्देशनालयले तीन सडकमध्ये नारायणगढ–बुटवल र कञ्चनपुर–कमला सडकमा म्याद थप गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने यी दुई खण्डको काम अझै आधासमेत सम्पन्न भएको छैन । ११३ किलोमीटरको नारायणगढ–बुटवल खण्डको काम १५ महीनामा सम्पन्न गर्ने चिनियाँ कम्पनीले प्रतिबद्धता व्यक्त गरेको छ । तर, दुईपटक गरेर म्याद थप्दासमेत हालसम्म ३४ किलोमीटर मात्रै कालोपत्र भएको छ भने सर्भिस लेन, पुल, नाला, सबबेस बनाउने काम पनि भइरहेको छ ।

नारायणगढ–बुटवल सडक खण्ड बनाउने सम्झौता सडक विभाग र चिनियाँ कम्पनी एम/एस चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनीयरिङ कर्पाेरेशन प्रालिबीच २०१८ डिसेम्बर १९ मा भएको थियो । उक्त सम्झौताअनुसार सडक २०२२ अगस्त २२ मा सम्पन्न हुनुपर्ने थियो । तर, बीचमा कोरोना महामारीका कारण काममा बाधा भएको भन्दै सरकारले म्याद थपिदिएको छ । कोरोना, बिजुलीका पोल हटाउने, निर्माण सामग्रीको उपलब्धताजस्ता विषय सल्टिन नसक्दा विभागले दुईपटक म्याद थप्दा उक्त सडक स्तरोन्नति गरिसक्नुपर्ने समयसीमा २०२४ जुलाई २३ सम्म पुगेको छ । सरकारले थपेको म्यादअनुसार यो सडक स्तरोन्नति भइसक्न अब झन्डै ७ महीना बाँकी छ । तर, आयोजनाले पटकपटक दबाब दिएपछि र ठेक्का तोड्ने चेतावनी दिएसँगै १५ महीनामा सम्पन्न गर्ने कम्पनीले प्रतिबद्धता व्यक्त गरेको आयोजना निर्देशक चूडाराज ढकालले जानकारी दिए ।

यस्तै म्याद थप भएको अर्काे सडक खण्डमा कञ्चनपुर–कमला पर्छ । तीन वर्षमा सम्पन्न गर्ने गरी विभाग र अर्काे चिनियाँ कम्पनी एम/एम चाइना रेलवे नं. २ इन्जिनीयरिङ ग्रूपसँग २०२० जुन २५ मा सम्झौता भएको थियो । समयमै काम सम्पन्न नभएपछि म्याद थपेर २०२४ डिसेम्बर २८ सम्ममा सम्पन्न गर्ने भनिएको छ । ८६ दशमलव ८६ किलोमीटरको यो सडक खण्डमा हालसम्म २० दशमलव १२ किलोमीटर कालोपत्रे भएको छ । चार लेनमा विस्तार हुने सडकमा दुई लेनमा मात्रै कालोपत्र भएको हो । ४१ दशमलव ४७ प्रतिशत काम भएको यो खण्डको थपिएको म्याद सकिन झन्डै १ वर्ष बाँकी छ । एडीबीकै ऋण सहयोगमा बन्दै गरेको मुग्लिङ–पोखरा खण्डमा भने म्याद थपिएको छैन । ८० दशमलव ३३ किलोमीटरको यो खण्ड बनाउन विभाग र चिनियाँ कम्पनी एम/एस चाइना कम्युनिकेशन कन्स्ट्रक्शन कम्पनी लिमिटेडसँग २०२१ अप्रिल १५ मा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार यो खण्डको काम २०२५ अप्रिल १४ सम्म सम्पन्न हुनुपर्ने आयोजना निर्देशक ढकालले बताए । 

‘यो खण्डमा म्याद थप भएको छैन,’ ढकालले भने, ‘यद्यपि काम सुस्त भएपछि निर्माण कम्पनीलाई ठेक्का तोड्ने चेतावनी दिइएको थियो । त्यसपछि उसको मुख्य कार्यालयबाटै २०२५ डिसेम्बरसम्ममा सबै काम सम्पन्न गर्ने तालिकासहितको प्रतिबद्धता पेश गरिएको छ ।’ म्याद थप्ने/नथप्ने विषयमा अहिले निर्णय भइनसकेको आयोजना निर्देशनालयले जानकारी दिएको छ । गत बिहीवार आयोजना निर्देशनालयले यी सडकका सम्बन्धमा जानकारी दिन पत्रकार सम्मेलन गरेको थियो । उक्त अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले ढिलाइ हुनुको कारण बताउँदै भने, ‘कोरोनामा नेपालमा बन्दाबन्दी भयो, चिनियाँ निर्माण व्यवसायी १ वर्षसम्म पनि नेपाल आउन पाएनन् । यसका अलवा हाम्रो हकमा रूख, पोलको समस्या भएकै हो र यसमा डेढ वर्ष बितेको थियो ।’ साथै स्थानीय तहबाट पनि उल्लेख्य सहयोग नभएको उनले बताए । निर्माण सामग्रीको उत्खनन, उपयोगमा स्थानीय तहपिच्छेका नीतिका कारण समस्या पनि हुँदै आएको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)