काठमाडौं। बैंक, वित्तीय संस्थामा लगानीयोग्य रकम बढ्दै गएपछि ब्याजदर लगातार घट्न थालेको छ । विप्रेषण आप्रवाहमा देखिएको सुधारसँगै निक्षेप बढे पनि त्यसअनुसार कर्जा प्रवाह नभएपछि बैंकहरूले ब्याजदर घटाउँदै आएका हुन् । निक्षेपको ब्याजदर घटेसँगै बैंकहरूको आधारदर कम भई कर्जा पनि सस्तो हुन थालेको छ ।
तरलता सहज हुन थालेपछि नेपाल बैंकर्स संघले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को साउनदेखि भद्र सहमति अन्त्य गर्दै आफूखुशी ब्याजदर निर्धारण गर्न पाउने निर्णय गरेको थियो । त्यसपछि घट्ने क्रममा देखिएको वाणिज्य बैंकको ब्याजदर माघमा आइपुग्दा ८ प्रतिशतभन्दा तल झरेको छ ।
वाणिज्य बैंकहरूले माघका लागि प्रकाशित ब्याजदरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर पुसको तुलनामा १ दशमलव ९ प्रतिशतदेखि शून्य दशमलव २ प्रतिशत बिन्दुसम्म घटेको छ । पुसको तुलनामा माघमा एनएमबि र एभरेष्ट बैंकले ब्याजदर स्थिर राखे पनि बाँकी १८ वाणिज्य बैंकहरूले घटाएका छन् ।
माघका लागि सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकले ७ दशमलव २६ प्रतिशत तोकेको छ । यसैगरी सबैभन्दा बढी सिटिजन्स बैंकले ९ दशमलव १५ प्रतिशत अधिकतम ब्याजदर तोकेको छ । पुसको तुलनामा माघमा सबैभन्दा बढी प्राइम कमर्सियल बैंकले १ दशमलव ९ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ ।
बैंकर्स संघले भद्र सहमतिमार्फत बैंकहरूमा एउटै ब्याजदर निर्धारण गर्दा गत वैशाखमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९ दशमलव ९९ प्रतिशत तोकिएको थियो । जेठ र असारमा सोही ब्याजदर कार्यान्वयन भए पनि साउनदेखि भद्र सहमति अन्त्य भएपछि निक्षेप तान्ने होडबाजीले भदौ र असोजमा केही बैंकको ब्याजदर बढेको थियो । कात्तिकबाट भने सबै बैंकको ब्याजदर ओरालो लागिरहेको छ ।
पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्री निक्षेप आपूर्तिको तुलनामा कर्जाको माग कम हुँदा ब्याजदर घट्ने क्रम जारी रहेको बताउँछन् । ‘तरलता उच्च हुँदा अन्तरबैंक ब्याजदर अझै तोकिएभन्दा तल छ । यसले आगामी दिनमा ब्याजदर अझै घट्ने संकेत गर्छ,’ उनी भन्छन्, ‘विगतमा बैंकहरू तरलताको चापमा रहँदा उच्च ब्याजदरमा निक्षेप संकलन गरेकाले त्यसलाई नयाँ निक्षेपले रिप्लेस नगरेसम्म कर्जाको ब्याजदर भने अझै उच्च नै रहन सक्छ ।’
मङ्सिरमा राष्ट्र बैंकले पनि चालू आवको मौद्रिक नीतिको समीक्षा गर्दै नीतिगत दरहरू घटाएपछि बैंकहरूलाई ब्याजदर घटाउन थप दबाब परेको हो । सामान्यतया बैंकहरूले मासिक रूपमा मात्र ब्याजदर परिवर्तन गर्न पाउने भए पनि मङ्सिर २२ गते नै राष्ट्र बैंकले नीतिगत दर परिवर्तन गरेपछि बैंकहरूले महीनाको बीचैमा ब्याजदर घटाएका थिए ।
ब्याजदर निर्धारणसम्बन्धी राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले प्रत्येक महीना ब्याजदर परिवर्तन गर्दा साविकको ब्याजदरमा १० प्रतिशत मात्र घटबढ गर्न पाउने व्यवस्था छ । यस्तै बैंकहरूले हरेक महीना लागू हुने ब्याजदर अघिल्लो महीनाको अन्तिम दिन सार्वजनिक गर्नुपर्ने प्रावधान छ । तर, राष्ट्र बैंकले नीतिगत दर परिवर्तन गरेमा जुनसुकै बेला ब्याजदर परिवर्तन गर्न पाउने व्यवस्था छ ।
यसैगरी बैंकहरूले विप्रेषणमार्फत आएको निक्षेपलाई १ प्रतिशत बिन्दुले थप र संस्थागत निक्षेपकर्तालाई २ प्रतिशत बिन्दुले कम ब्याजदर दिनुपर्ने व्यवस्था छ ।
पछिल्लो समय विप्रेषण वृद्धिसँगै बैंकहरूमा निक्षेप बढिरहेको छ । चालू आवको मङ्सिरसम्ममा अघिल्लो वर्षको सोही अवधिको तुलनामा विप्रेषण आप्रवाह २७ दशमलव ६ प्रतिशतले बढेर ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।
आर्थिक गतिविधिमा कमी आउँदा बैंकमा कर्जाको माग सुस्त छ । गत सोमवारसम्ममा बैंकहरूले ६० खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५० खर्ब ४२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चालू आवको यस अवधिसम्ममा निक्षेप ३ खर्ब १४ अर्बले र कर्जा प्रवाह १ खर्ब ६४ अर्ब रुपैयाँले बढेको छ ।
निक्षेप वृद्धिनअुसार कर्जा प्रवाह नहुँदा बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८० दशमलव १० प्रतिशत कायम भएको छ । बैंकहरूले ९० प्रतिशतसम्म यस्तो अनुपात कायम गरी कर्जा दिन सक्ने प्रावधानअनुसार थप ६ खर्ब रुपैयाँ कर्जा विस्तारको क्षमता छ ।
बैंकहरूसँग अधिक तरलता भएपछि मङ्सिरयता राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण जारी गरी बजारबाट पैसा उठाइरहेको छ । बिहीवारसम्ममा ३ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ बजारबाट खिचे पनि दैनिक औसत अन्तरबैंक दर ब्याजदर कोरिडोरको तल्लो सीमाभन्दा तल अर्थात् २ दशमलव ६८ प्रतिशत कायम रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।