ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महीना दिनमा २ हजार ६४८ टन कन्दमूल कालीमाटी भित्रियो

२०८० माघ, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। माघे संक्रान्तिको मेसोमा कालीमाटी फलफूल तथा तरकारी बजारमा महीना दिनमै २ हजार ६४८ टन कन्दमूल भित्रिएको पाइएको छ । तरुल, सक्खरखण्ड र पिँडालु गरी पुसमा उक्त परिमाणमा कन्दमूल भित्रिएको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उपलब्ध गराएको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को पुस १ देखि २९ सम्ममा १ हजार ६१३ टन तरुल, ४ सय ५४ टन पिँडालु र ५ सय ८१ टन सक्खरखण्ड भित्रिएको छ । अघिल्लो वर्ष २०७९ को अन्त्यसम्ममा कालीमाटीमा ३ हजार २४४ टन कन्दमूल भित्रिएको थियो ।

२०७८ सालभरमा ३ हजार २३५ टन, २०७७ मा २ हजार ८२४ टन, २०७६ मा २ हजार ८२१ टन, २०७५ मा १ हजार ९०० टन र २०७४ मा १ हजार २८१ टन कन्दमूल कालीमाटी भित्रिएको समितिको तथ्यांकमा उल्लेख छ । समितिका सूचना अधिकृत विनय श्रेष्ठका अनुसार कालीमाटीमा भित्रिने तरुल, सक्खरखण्ड, पिँडालु लगायत कन्दमूलमा करीब ९५ प्रतिशत नेपालकै उत्पादन हुन्छ ।

बाँकी भारतबाट आयात हुने गरेको उनको भनाइ छ । कालीमाटीमा विशेष गरी सर्लाही, सुनसरी, मोरङ, धादिङ, नुवाकोट झापा, चितवन, नवलपरासी, गोरखा, तनहुँ, सिन्धुली, उदयपुर, काभ्रे, दोलखालगायत जिल्लाबाट माघे संक्रान्तिका लागि कन्दमूल भित्रिने गर्छ । अघिल्ला वर्षहरूमा व्यापारीले कन्दमूल भित्त्याउँदा सीधै कालीमाटी ल्याउँथे । त्यसपछि काठमाडौंका अन्य स्थानीय बजारमा पठाउँथे । पछिल्ला वर्षहरूमा व्यापारीले स्थानीय बजारमा पनि सोझै कन्दमूल पठाउने गर्दा कालीमाटी भित्रिने परिमाण केही कम देखिएको बताइन्छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार यस वर्ष तरुलको औसत थोक मूल्य प्रतिकिलो ६५ रुपैयाँ छ । यो अघिल्लो वर्षको तुलनामा २४ प्रतिशतभन्दा धेरैले कम हो । अघिल्लो वर्षको पुस ३० मा तरुलको थोक मूल्य प्रतिकिलो ८६ रुपैयाँ थियो । सक्खरखण्डको औसत थोक मूल्य भने अघिल्लो वर्ष र यस वर्ष समान– प्रतिकिलो ७५ रुपैयाँ छ । त्यसै गरी पिँडालुको औसत थोक मूल्य ६६ दशमलव ६७ प्रतिशतले बढेर प्रतिकिलो ४५ रुपैयाँबाट ७५ रुपैयाँ कायम भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)