ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शुक्लाफाँटा : सुदूरको सुन्दर पर्यटन गन्तव्य

Oct 25, 2017  
विकास
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
महेन्द्रनगर (कञ्चनपुर)। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नेपालीहरूले जीवनमा एकपटक भ्रमण गर्नैपर्ने क्षेत्रको परिचित हुँदै आएको छ । प्रकृतिप्रेमीहरूका लागि शुक्लाफाँटा साच्चिँकै मनोरम स्थान हो । मृग प्रजातिको जनावर बाह्रसिङ्गाका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज संसारमै प्रख्यात छ । ५५ वर्ग किमीमा फैलिएको यस क्षेत्रमा करीब २ हजार २ सयभन्दा बढी बाह्रसिङ्गा छन् । बाह्र सिङ्गाको झुण्ड शुक्लाफाँटाको राम्रो पहिचान हो । ‘प्रकृतिको रमणीय स्थल हो शुक्लाफाँटा हो,’ स्थानीय पर्यटन व्यवसायी प्रमानन्द भण्डारीले भने, ‘यहाँ घुम्नुको मजा नै बेग्लै छ  । एकपटक शुक्लाफाँटा भ्रमणमा आएको व्यक्ति अर्कोपटक पुग्नैपर्ने हुन्छ ।’ पहिलो भ्रमणले लोभ्याएको मन अर्को भ्रमण नगरेसम्म नअघाउने अनुभव उनको छ । निकुञ्ज प्रवेशद्वारबाट २४ किमी टाढा छ शुक्लाफाँटा । जीप चढेर जङ्गल सफारी गर्दै पुगिन्छ शुक्लाफाँटामा । जनावरको दृश्यावलोकनका लागि काठको मचान बनाइएको छ । विभिन्न आकार–प्रकार र रङका जीवजन्तु सहजै देख्न सकिन्छ । ७ नम्बर प्रदेश भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटनको पहिलो रोजाइ पछिल्लो समय शुक्लाफाँटा नै हुने गरेको छ । शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट निकुञ्जमा परिणत गरिएपछि फाँटा भ्रमण गर्ने पर्यटकको सङ्ख्या क्रमिक रूपमा बढ्दै गएको होटल व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्षसमेत रहेका भण्डारीले बताए । विशेषगरी शुक्लाफाँटा घुम्ने सिजन फागुनदेखि जेठसम्म हो । जाडोमा पनि जनावर देख्न पाइन्छ । शुक्लाफाँटामा सबैभन्दा धेरै बाह्रसिङ्गा छन् । थरीथरीका चरा, चित्तल, पाटेबाघ, गैंडा र जङ्गली हात्तीलगायत जनावर सहजै अवलोकन गर्न सकिन्छ । ५३ प्रजातिका स्तनधारी, ४ सय ३० प्रजातिका चरा, १२ किसिमका सरिसृप, २० प्रजातिका उभयचर र ३५ भन्दा बढी प्रजातिका पुतली पाइन्छ । निकुञ्जको हीरापुर फाँटामा कृष्णसार छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको इतिहास धेरै पुरानो छैन । सरकारले २०२६ सालमा आरक्ष घोषणा गरेको हो । २०७३ सालमा आरक्षबाट निकुञ्जमा परिणत गरिएको हो । त्यसअघि त्यहाँ राजपरिवार शिकार खेल्थे । प्रचार–प्रसारको अभावमा निकुञ्जमा बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटक बढी घुम्छन् । दिउँसो ३ बजेभित्र निकुञ्ज प्रवेश गरिसक्नुपर्छ । घाम नडुब्दै बाहिरिनुपर्छ । भित्र जीप ड्राइभ, हात्ती सफारी र जङ्गल वाक गर्ने सुविधा छ । निकुञ्जको हात्तीसार छ । निश्चित शुल्क तिरेर हात्ती सफारीसमेत गर्न पाइन्छ । शुक्लाफाँटा बाहिरको महाकाली पुल पनि पछिल्लो समय निकै चर्चामा छ । दोधारा–चाँदनी गाउँलाई कञ्चनपुर सदरमुकाम महेन्द्रनगरसँग जोड्न बनाइएको पुल १ हजार ४ सय मिटर लामो छ । शुक्लाफाँटा सेरोफेरोमा सिद्धबाबा मन्दिर, झिलमिला ताल, बेतकोट ताल, टनकपुर बाँध र महाकाली नदी घुम्न सकिन्छ । महेन्द्रनगर बजारबाट ६ किलोमिटर पश्चिममा पर्छ शुक्लाफाँटा । फाँटाबाहिर पर्यटनकर्मी परमानन्द भण्डारीको शुक्लाफाँटा जङ्गल कटेज र हेमसागर बरालको टेण्टेड क्याम्प छ । महेन्द्रनगरमा पर्यटकीय सुविधाका होटल पनि खुलेका छन् । ओपेरा, न्यू आनन्द, गङ्गोत्री, स्वीट ड्रिम, कलश, सङ्गम, दाउना बेभरेज, वेष्ट साइनलगायत छन । शुक्लाफाँटा आउने पर्यटकलाई सस्तोमा खाना खुवाउन र बास दिलाउन होम स्टेसमेत सञ्चालनमा ल्याइएको छ । शुक्लाफाँटा प्रवेशद्वारबाट १ किमीमा रहेको नयाँ बस्तीमा राना थारू सामुदायिक होम स्टे सञ्चालनमा आएको हो । होम स्टेमा ३ सय रुपैयाँमा कोठा पाइन्छ । दालभातको सय रुपैयाँमात्र । राना थारू सामुदायिक होम स्टेका सचिव चेतराम रानाका अनुसार नौ घरमा होम स्टे सुविधा छ । हरेकमा पाहुनाका लागि दुई–दुईकोठे भवन बनाइएको छ । माटोको गारो, टायल, खबटा र खरका छाना छन् । होम स्टेलाई निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र तराई भूपरिधि कार्यक्रम (ताल)ले सघाएको छ । राना थारू संस्कृति बेग्लै छ । पाहुनालाई होरी, ताने तेनालगायत नाच देखाइन्छ । गाउँमा सामुदायिक हल छैन, त्यसैले उनीहरू आँगनमै नाच्छन् । शुक्लाफाँटाबाट पर्यटन व्यवसायीले अपेक्षाकृत लाभ लिन सकेका छैनन् । महेन्द्रनगर बजारबाट निकुञ्ज प्रवेशद्धारसम्म पुग्न नियमित गाडी चल्दैनन् । व्यवसायीले चलाउनुपर्ने बाध्यता छ । भारतको दिल्ली हुँदै तेस्रो मुलुकका पर्यटक तान्ने वातावरण मिलाउन सक्नु पर्यटन व्यवसायीका लागि चुनौतीको विषय हो । महेन्द्रनगरबाट दिल्ली काठमाडौंभन्दा नजीक पर्छ । महेन्द्रनगर–काठमाडौं ७ सय किमी, महेन्द्रनगर–दिल्ली ३ सय २५ किमी मात्र छ । बाह्य पर्यटकलाई दिल्ली हुँदै महेन्द्रनगर ल्याएर ७ नम्बर प्रदेशको भ्रमण अवधि लम्ब्याउन सकिन्छ । शुक्लाफाँटाबाट फर्कंदा विजयसालबाट बनेका गिलास, अम्खोरा र ठेकी कोसेली ल्याउन सकिन्छ । महेन्द्रनगरको मेरिट काष्ठकला उद्योगले ती सामान उत्पादन गर्छ । थारू गाउँमा पनि हस्तकला पाइन्छ । शुक्लाफाँटा पुग्न काठमाडौंबाट बसमा १८ घण्टा लाग्छ भने काठमाडौं–धनगढी हवाई यात्रा एक घण्टा । शुक्लाफाँटाको विषयमा आवश्यक जानकारी लिन निकुञ्ज नजीकै खुलेको शुक्लाफाँटा जङ्गल कटेजले जङ्गल सफारीका लागि जीप सेवासमेत सर्वसुलभ रूपमा उपलब्ध गराउँदै आएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)