वीरेन्द्रनगर । प्रदेश नं ६ को राजधानीका रूपमा रहेको सुर्खेत विमानस्थलको समस्याका कारण यात्रुहरू नेपालगञ्ज पुग्नुपरेको छ । सुर्खेत–काठमाडौं सीधा हवाई सेवा नहुँदा प्रदेशका धेरै यात्रु नेपालगञ्ज विमानस्थलको भर पर्दै आएका छन् । मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम र प्रदेश ६ को प्रस्तावित राजधानी शहर वीरेन्द्रनगरमा विमानस्थलको समस्याकै कारण हवाई सेवा ठप्पजस्तै बनेको छ ।
सुर्खेतमा गतिलो विमानस्थल नभएकाले पनि केन्द्रीय राजधानी काठमाडौं मात्र नभएर यस क्षेत्रका अन्य पहाडी तथा हिमाली जिल्लासँग नियमित हवाई सेवा सञ्चालन हुन सकेको छैन ।
वीरेन्द्रनगरको काठमाडौंसँग सोझो हवाई सेवा सञ्चालन हुन सकेको छैन । मापदण्डअनुसारको रनवे अभावका कारण सुर्खेत विमानस्थलले उड्डयन सेवा दिन नसकेको हो । विमानस्थलको भौगोलिक रोकावटले प्रदेश ६ का कर्णालीका जिल्लाका उडान प्रभावित हुने गरेको छ । यसले गर्दा एउटा इञ्जिन भएका साना जहाजले मात्र सुर्खेत–कर्णाली हवाई सम्पर्क जोडेका छन् ।
विमानस्थलनजीकै अग्ला डाँडाकाँडाका कारण ठूला जहाज अवतरणमा समस्या छ । विमानस्थलको उत्तर–दक्षिण रनवेका कारण विमानलाई उडान र अवतरणमा कठिनाइ भएको सुर्खेत नागरिक उड्डयन कार्यालयका प्रमुख विनोद पन्तले जानकारी दिए । विमानस्थल नजीकका धुलियाबिट, चनौटे, गाग्रेताल र नेवारका डाँडाकाँडाले उडान तथा अवतरणमा अवरोध पुगेको उनले बताए ।
एप्रोच प्याटर्नका कारण धावन मार्ग बढाउन समस्या भएको पन्तको भनाइ छ । धावनमार्ग उत्तर–दक्षिण दिशामा हुँदा विस्तार गर्न पनि कठिनाइ छ । नागरिक उड्डयन कार्यालय सुर्खेतले ठूला जहाज ल्याउन निजी वायु सेवा कम्पनीलाई पत्राचार गरे पनि रनवे र ल्याण्डिङकै समस्याले उडान गर्न नमानेको बताइएको छ ।
सुर्खेत कार्गोबेस विमानस्थल बन्न पुगेको छ । सिम्रिक, काष्ठमण्डप, गोमा, मकालु, तारा र सीता एअरले सुर्खेत विमानस्थलबाट कर्णालीका लागि उडान गर्दै आएका छन् । विमानस्थल समस्याकै कारण यस प्रदेशको पर्यटन व्यवसाय धरापमा परेको व्यवसायीको गुनासो छ । होटल व्यवसायी पदमबहादुर शाहीले विमानस्थलका लागि अर्को प्रदेशमा भर पर्नुपरेको बताए । ‘अब बन्ने प्रदेश सरकारको मुख्य प्राथमिकता विमानस्थल बन्नुपर्छ,’ उनले भने ।
हाल धावनमार्गको लम्बाइ १ हजार २ सय ५५ र चौडाइ ३० मिटर छ । कार्यालयको आग्रहअनुसार बुद्ध एयरले २०७० सालमा १८ सीटे जहाजमार्फत साताका ३ दिन सुर्खेत–काठमाडौं उडान गरेको थियो । रनवे समस्या देखाउँदै उसले पनि ८ महीनामै सेवा बन्द गर्यो । बुद्धले ४२ सीटे र यतीले २९ सीटे जहाजमार्फत सेवा दिन नमानेको कार्यालयले बताएको छ ।
मदानेचौरमा अन्तरराष्ट्रिय विमानस्थल बनाउने तयारी
वीरेन्द्रनगर विमानस्थल प्रयोगविहीनजस्तै बनेपछि पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिकाको मदानेचौरलाई अन्तरराष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल निर्माण गरिने भएको छ । गत आवमा भूगर्भविद्हरूका साथै टेक इञ्जिनियरिङ, इञ्जिनीयरिङ एण्ड एजुकेशनल सर्भिसेस प्रालि र ओनट एण्ड आर्किटेकले सर्भे गरिसकेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित अध्ययन टोलीले पनि मदानेचौरमा विमानस्थल निर्माण गर्न सकिने प्रतिवेदन पेश गरेको छ । विमानस्थल निर्माणमा करीब ७ अर्ब रुपैयाँ लाग्ने अनुमान टोलीले गरेको छ ।
उक्त स्थानको कुल लम्बाइ १२ किमी र चौडाइ ४ किमी छ । यद्यपि, विमानस्थल निर्माणका लागि १ हजार ६ सय मिटर लम्बाइ र ६ सय मिटर चौडाइ भए पुग्छ । नागरिक उड्डयन प्राधिकरणले दोस्रो चरणको सर्भेसमेत गरिसकेको छ ।