मध्यपहाडी लोकमार्ग : रुकुम खण्ड ३ वर्षभित्रै कालोपत्र
Mar 14, 2018
 
विकास
रुकुम । मध्यपहाडी लोकमार्गको रुकुम खण्डको कालोपत्रको काम धमाधम भइरहेको छ । १ सय ३० किलोमिटर लामो सडकलाई विभिन्न आठ खण्डमा विभाजन गरेर कालोपत्र गर्नुपूर्वका कामहरू भइरहेका छन् । रुकुम पश्चिमको चौरजहारीदेखि रुकुम पूर्वको पातिहाल्नसम्मका विभिन्न खण्डमा कालोपत्रका लागि विभिन्न काम भइरहेको छ । चौरजहारीदेखि चाइबगरसम्मको १६ दशमलव ५ किलोमिटर, चाइनबगरदेखि हासिबाङसम्मको १६ दशमलव ५ किलोमिटर र शीतलपोखरीदेखि रिनदहसम्मको १४ किलोमिटर सडकखण्डमा कालोपत्र गर्नुपूर्वका अन्य काम भइरहेका छन् ।
यसैगरी, रिनदहदेखि रुकुमकोटसम्मको १९ किलोमिटर, रुकुमकोटदेखि जितखोलासम्मको १६ किलोमिटर, जितखोलादेखि रिकमसम्मको १६ किलोमिटर र रिकमदेखि पातिहाल्ना रुकुम पूर्व र बाग्लुङ जिल्लाको सिमानासम्मको १३ किलोमिटर सडकखण्डमा पनि कालोपत्र हुनुपूर्वका आधारभूत काम जारी रहेको मध्यपहाडी लोकमार्ग सडक आयोजना कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ ।
उक्त सडकखण्डअन्तर्गत र हाँसिबाङदेखि सेरीगाउँसम्मको १२ किलोमिटर सडकखण्डको भने कालोपत्रको ठेक्का लाग्न बाँकी छ । केही समयमै त्यसको ठेक्का आह्वान गर्ने तयारी भइरहेको छ । रुकुम पश्चिम र पूर्व दुवै जिल्लामा पर्ने हाँसिबाङ– सेरीगाउँ १२ किलोमिटरबाहेक बाँकी १ सय १८ किलोमिटर सडक कालोपत्र गर्नलाई ठेक्का भइसकेको हो । कुनै खण्डमा पहिला ठेक्का लागेर धेरै काम भएको छ भने कुनै खण्डको भर्खरै ठेक्का भएर तीव्र रूपमा काम शुरू गरिएको छ । अबको ३ वर्षभित्र १ सय ३० किलोमिटर नै कालोपत्र गर्ने गरी काम भइरहेको मध्यपहाडी लोकमार्ग सडक आयोजनाका इञ्जिनीयर सुप्रिम चुडालले जानकारी दिए ।
‘आगामी ३ वर्षभित्र साविकको रुकुम जिल्लामा पर्ने सबै सडक कालोपत्र गर्ने लक्ष्य छ,’ इञ्जिनीयर चुडालले भने, ‘कामकाज पनि त्यसरी नै भइरहेको छ ।’ उनका अनुसार उक्त सडकको शीतल पोखरीदेखि रिनदहसम्मको १४ किलोमिटर सडकमा सबैभन्दा बढी काम भएको छ । अन्य तीनओटा खण्डसँगै शीतलपोखरी–रिनदह खण्ड कालोपत्रका लागि १ वर्षअघि मात्रै सम्झौता भएको थियो । माघ मसान्तसम्म ग्राभेल र त्यसपछि यसै वर्षभित्र कालोपत्रको काम सकिने गरी निर्माण कम्पनीले काम गरिरहेको छ । कालिका प्यासाफिक जेभीले उक्त खण्डमा काम गरिरहेको छ । सोही कम्पनीले ठेक्का पाएको रुकुम पश्चिमको रिनदहदेखि रुकुम पूर्वको रुकुमकोटसम्मको १९ किलोमिटर सडक कालोपत्रको तयारीस्वरूप सडक चौडा पार्ने काम भइरहेको छ ।
विस्तृत अध्ययन प्रतिवेदन ढिला तयार भएकाले ठेक्का ढिला लागेर कामकाज पनि ढिलै शुरू भएको सडक आयोजनाले जानकारी दिएको छ । १ सय ३० किलोमिटरमध्ये अलि बढी जोखीम भएको सडकखण्ड यही हो । उक्त सडकको विभिन्न छओटा खोलामा मोटरेबल पुल निर्माण कार्य पनि भइरहेको छ । सबै सडकको कालोपत्र सकिँदासम्म सबै पुल पनि बनिसक्ने इञ्जिनीयर चुडालले बताए । ‘सडकखण्डमा पर्ने अरू धेरै पुल बनिसकेका छन्, बन्नुपर्नेमध्येका छओटाको काम पनि धमाधम भइरहेको छ, भनेकै समयमा काम गर्ने गरी निर्माण कम्पनीलाई ताकेता गर्ने काम पनि भैरहेको छ,’ उनले भने । १ सय ३० किलोमिटर सडक कालोपत्र भइसक्दा तथा विभिन्न पुल निर्माण गरिसक्दा ६० करोडसम्म बजेट खर्च हुने अनुमान गरिएको छ ।