ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भेरी–बबई डाइभर्सन आयोजना : सुरुङको काम २०% पूरा

Mar 14, 2018  
विकास
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल
वीरेन्द्रनगर । नेपालमा पहिलो पटक सुरुङ खन्न प्रयोग गरिएको टनेल बोरिङ मेशिन (टीबीएम) को सफल परीक्षणले भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण कार्य तीव्र रूपमा भइरहेको छ । टीबीएमले हालसम्म २ हजार ४ सय ८० मिटर सुरुङ खनिसकेको छ । आयोजनाका सिनियर डिभिजनल इञ्जिनीयर (सीडीई) रुक्माङ्गद खनालले मङ्गलवारसम्ममा २ हजार ४ सय ८० मिटर अर्थात् कुल कार्यभारको २० प्रतिशत सुरुङ खनिएको जानकारी दिए । मेशिनले १ महीनाको जडानपछि कात्तिक मसान्तदेखि सुरुङ खन्न थालेको हो । ‘नेपालमै पहिलो पटक परीक्षणका लागि प्रयोग गरिएकाले पहिले शङ्का उत्पन्न भए पनि हालसम्म कुनै समस्या नआएको खनालको भनाइ छ । १ महीनामा एक किलोमिटर सुरुङ खन्नु ठूलो उपलब्धि भएको खनालको ठम्याइ छ । उनले यही गतिले काम अघि बढे तोकिएकै समयमा सुरुङ खन्ने काम पूरा हुने बताए । ०१९ अक्टोबरभित्र सुरुङ खन्ने काम सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । राष्ट्रिय गौरवको यो आयोजनामा प्रयोग गरिएको टीबीएम चालकरहितको अत्याधुनिक प्रविधिको मेशिन हो । सिँचाइ विभाग र चाइना ओभरसिज इञ्जिनीयरिङ ग्रूप लिमिटेड (कोभेक) बीच ०७१ माघमा निर्माण शुरू गरी ०७५ फागुनमा निर्माण सम्पन्न गर्ने सम्झौता छ । यसअन्तर्गत सुर्खेतको भेरीगङ्गा नगरपालिकाको छिन्चु–जाजरकोट सडक खण्डको चिप्लेबाट १५ मिटर अग्लो बा“ध बनाई १२ किमी लामो सुरुङमार्फत भेरी नदीको प्रतिसेकेण्ड ४० घनमिटर पानीलाई बबईमा मिसाइनेछ । बबईमा मिसाइएको पानीबाट ४८ मेगावाट विद्युत् तथा बा“के र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । दैनिक १८ घण्टा सञ्चालित टीबीएम मेशिनले प्रतिदिन २५ देखि ३० मिटरसम्म सुरुङ खनिरहेको छ । मेशिन सञ्चालनका लागि ९० जना चिनियाँ प्राविधिक र झण्डै ५ सय नेपाली कामदार खटिएका छन् । सुरुङको लम्बाइ १२ किमी र चौडाइ ५.६ मिटर छ । टीबीएमले सुरुङ खनेसँगै सेगमेण्टको काम पनि भइरहेको छ । हाल दैनिक ८० सेगमेण्टको प्रयोग भइरहेको छ । १२ किमी सुरुङका लागि ३६ हजार सेगमेन्ट आवश्यक पर्छ । आयोजनासँग हालसम्म ६ हजार सेगमेण्ट मौज्दात छ । यसअघि ड्रिलिङ र ब्लाष्टिङबाट मात्रै सुरुङ खन्ने प्रचलन थियो । संवेदनशील भौतिक अवस्थाका कारण ड्रिलिङ–ब्लाष्टिङबाट सुरुङ खन्न असम्भव भएपछि सिँचाइ विभागले टीबीएम खरीदको प्रस्ताव गरेको थियोे । अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको यो मेशिन चीनबाट ल्याइएको हो । आयोजनाको निर्माण चिनियाँ कम्पनी कोभेकले गरिरहेको छ । अत्याधुनिक कम्प्युटरचालित उक्त मेशिन खरीदपूर्व कोभेकले उत्पादक कम्पनीसँग जडानका साथै परीक्षणस्वरुप पाँच मिटर सुरुङ खनेर मात्र हस्तान्तरण गर्नुपर्ने शर्त राखेको थियो । शर्तअनुसार नै उत्पादक कम्पनीले २ सय ५० मिटर लामो मेशिन जडान गरेको हो । मेशिनले भेरी र बबई नदीबीचको १२ किमी लामो चुरे पर्वत खन्दै छ । टीबीएमले खनेको माटोलाई ओसार्न मोनो रेल प्रयोग गरिएको छ । सरकारले अन्तरजलाधार जलस्थानान्तरण परियोजनामध्ये यसलाई मुलुककै पहिलो तथा नमूना परियोजनाका रूपमा अघि बढाएको छ । मुलुकमै पहिलो पटक बहुउद्देश्यीय, एउटा वेसिनबाट अर्को वेसिनमा स्थानान्तरण, मेशिनले सुरुङ खन्नेजस्ता विशेषताका कारण यसलाई नमूना भनिएको हो । सुरुङ खन्ने काम सम्पन्न भएपछि विद्युत्गृह निर्माण थालिनेछ । स्वदेशी लगानीमा निर्माण हुन लागेको यस आयोजनाको कूल लागत साढे १६ अर्ब रहेको छ । आयोजनाबाट बाह्रै महीना सिँचाइ उपलब्ध भएपछि कृषि उत्पादन बढ्न गई वार्षिक ३.१ अर्ब अप्रत्यक्ष आम्दानी हुनेछ भने विद्युत्बाट २.१ अर्ब प्रत्यक्ष आम्दानी हुनेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)