ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटी बसपार्क निर्माणमा ढिलाइ

Mar 28, 2018  
विकास
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल
वीरेन्द्रनगर । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सिटी बसपार्क निर्माणमा ढिलाइ भएको छ । १५ महीनाभित्र निर्माण सम्पन्न गर्नेगरी कम्पनीसँग सम्झौता गरिए पनि निर्धारित समयमा निर्माण नसक्दा ६ महीना थपेर गत जेठमा सक्न भनिएको थियो । तर, थपिएको अवधिमा पनि कम्पनीले निर्माण पूरा गरेको छैन । निर्माण कम्पनी चाङमिला नरसिंह÷जेभी दार्चुलाले विभिन्न बहानामा निर्माणमा ढिलासुस्ती गरेको छ । अब थप गरिएको समयअनुसार चैत अन्तिमसम्म जसरी पनि कम्पनीले निर्माण सक्नुपर्नेछ । चैतमा पनि निर्माण नसके ऋणदाताले नै हात झिक्ने सम्भावना रहेको नगरपालिकाका इञ्जिनीयर विशाल अधिकारीले बताए । ठेकेदार कम्पनीलाई सचेत गराइएको र केही दिनमा काम शुरू हुने उनको भनाइ छ । २०५४ सालको स्थानीय निर्वाचनबाट निर्वाचित वीरेन्द्रनगर नगरपालिकाका तत्कालीन प्रमुख बालाराम शर्माले यो बसपार्क निर्माणको पहल थालेका थिए । प्रारम्भिक अध्ययनगरी नगर विकास कोषबाट ऋण लिने प्रक्रिया पनि त्यसै बेलाबाट शुरू गरिएको थियो । यो प्रदेशको सबैभन्दा सुविधासम्पन्न सिटी बसपार्क हुनेछ । सुविधासम्पन्न भनिएको यसको क्षमता भने निकै कम छ । ४ हजार ५ सय वर्गमिटर क्षेत्रफल रहेको सिटी बसपार्कमा ९० ओटा ठूला र २० ओटा साना बस अट्ने क्षमता छ । सिटी बसपार्क क्षेत्रभित्र ५६ ओटा अस्थायी पसल, यात्रुलाई बस्न छुट्टा छुट्टै टर्मिनल भवन, गाडी मर्मतका लागि वर्कशप भवन, टिकट काउण्टर, महिला र पुरुष शौचालय, दुईओटा गेट र बगैंचा रहनेछन् । ठेकेदार कम्पनीलाई रू. ६ करोड ८३ लाखमा बसपार्क निर्माणको जिम्मा दिइएको छ । हाल निर्माणको करीब ७५ प्रतिशत काम सम्पन्न भएको नगरपालिकाले जानकारी दिएको छ । नगर विकास कोषको ऋण सहयोगमा बनाउन लागिएको सो बसपार्क सञ्चालन भएपछि वार्षिक १ करोड २ लाख आम्दानी हुनेछ । तर, बसपार्क निर्माण पूरा भएको वर्षदेखि नगर विकास कोषलाई ब्याज र साँवा गरी वार्षिक करीब ८० लाख तिर्नुपर्नेछ । वार्षिक साढे ५ प्रतिशत ब्याजमा नगर विकासबाट लिएको ऋण नगरपालिकाले २० वर्षमा चुक्ता गर्नुपर्ने सम्झौतामा उल्लेख छ । ऋण २० वर्षमा चुक्ता गर्नुपर्ने भए पनि निर्माणको अवधि (२ वर्ष)सम्म भने ब्याज लाग्नेछैन । हालसम्म अस्थायी टहरा (सटर कोठा), पक्की शौचालय दुईओटा, वरिपरि पर्खाल, मूल गेट, गार्ड बस्ने घर, मुख्य टर्मिनल भवनको डीपीसीको काम पूरा भएको छ । अब कालोपत्र गर्न बाँकी रहेकाले दु्रतस्तरमा काम गरे १ महीनामा सम्पन्न हुने अनुमान छ । समयमै बसपार्क निर्माण नहुँदा सास्ती खेप्नुपरेको काँक्रेविहार यातायात व्यवसायी सङ्घका सचिव रमेश सापकोटाले बताए । उनका अनुसार बसपार्कबाट हाल दैनिक १ सय ६० देखि ७० ओटा सवारी बाहिरिने र त्यत्तिकै सङ्ख्यामा भित्रिने गर्छन् । बस पार्कभित्र चारओटा समितिका टिकट काउण्टर छन् । सरोकारवालाहरूले निर्माणाधीन सिटी बसपार्क साँघुरो हुने बताउँदै आएका छन् । व्यवसायी सापकोटाले सिटी बसपार्क बनेलगत्तै ठूलो बसपार्क निर्माणमा ध्यान दिनुपर्ने औंल्याए । कर्णाली प्रदेशको सदरमुकाम सवारी चाप धेरै बढ्ने भन्दै उनले तत्कालै ठूलो क्षमताको बसपार्क आवश्यक रहेको बताएका हुन् । नगरपालिकाले पनि बसपार्क साँघुरो हुने पत्ता पाएको छ, तर अहिलेसम्म नयाँ बसपार्क निर्माणका लागि कुनै काम गर्न सकेको छैन । ‘सिटी बसपार्कले मात्रै पुग्दैन भन्ने हामीलाई लागेको छ,’ नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले भनिन्, ‘अर्काे बसपार्क बनाउन सम्भाव्यता अध्ययन छिट्टै गरिन्छ ।’ आउँदो वर्षसम्म अर्को बसपार्कको सम्भाव्यता अध्ययन गरिसकिने आश्वासन उनले दिएकी छिन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)