ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भेरी–बबई डाइभर्शन आयोजना : सुरुङको काम २५% पूरा

Apr 4, 2018  
विकास
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल
वीरेन्द्रनगर । नेपालमा पहिलोपटक सुरुङ खन्न प्रयोग गरिएको टनेल बोरिङ मेशिन (टीबीएम)को सफल परीक्षणपछि भेरी–बबई डाइभर्शन आयोजना तीव्र रूपमा अघि बढिरहेको छ । टीबीएमले हालसम्म ३ हजार मिटर सुरुङ खनिसकेको छ । आयोजनाका प्रमुख शिवकुमार बस्नेतले शनिवारसम्म ३ हजार मिटर सुरुङ खनिएको जानकारी दिए । आयोजनाका अनुसार यो सुरुङ खन्ने कुल कार्यभारको २५ प्रतिशत प्रगति हो । बस्नेतले भौतिक र वित्तीय गरी आयोजना २५/२५ प्रतिशत पूर्ण भएको बताए । मेशिनले १ महीनाको जडानपछि कात्तिक मसान्तदेखि सुरुङ खन्न शुरू गरेको थियो । ‘नेपालमै पहिलोपटक परीक्षणका लागि प्रयोग गरिएकाले पहिले शङ्का उत्पन्न भए पनि हालसम्म कुनै समस्या नआएको बस्नेतले बताए । राष्ट्रिय गौरवको यो आयोजनामा प्रयोग गरिएको टीबीएम चालकरहित अत्याधुनिक प्रविधिको मेशिन हो । १ महीनामा १ किलोमिटर सुरुङ खन्नु ठूलो उपलब्धि भएको आयोजनाका सिनियर डिभिजिनल इञ्जिनीयर रुक्माङ्गत खनालले बताए । उनले यही गतिले काम अघि बढे तोकिएकै समयमा सुरुङ खन्ने काम पूरा हुने बताए । सन् २०१९ अक्टोबरभित्र सुरुङ खन्ने काम सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । सिँचाइ विभाग र कोभेकबीच २०७१ माघमा निर्माण शुरू गरी २०७५ फागुनमा सुरुङ निर्माण सम्पन्न गर्ने सम्झौता छ । यसअन्तर्गत सुर्खेतको भेरीगङ्गा नगरपालिकाको छिञ्चु–जाजरकोट सडक खण्डको चिप्लेबाट १५ मिटर अग्लो बाँध बनाई १२ किमी लामो सुरुङमार्फत भेरी नदीको प्रतिसेकेण्ड ४० घनमिटर पानीलाई बबईमा मिसाइनेछ । बबईमा मिसाइएको पानीबाट ४८ मेगावाट विद्युत् तथा बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । दैनिक १८ घण्टा सञ्चालित टीबीएम मेशिनले प्रतिदिन २५ देखि ३० मिटरसम्म सुरुङ खनिरहेको छ । मेशिन सञ्चालनका लागि ९० जना चिनिया“ प्राविधिक र करीब ५ सय नेपाली कामदार खटिएका छन् । सुरुङको लम्बाइ १२ किमी र चौडाइ ५ दशमलव ६ मिटर छ । टीबीएमले सुरुङ खनेसँगै सेग्मेण्टको काम पनि भइरहेको छ । हाल दैनिक ८० सेग्मेण्टको प्रयोग भइरहेको छ । १२ किमी सुरुङका लागि ३६ हजार सेग्मेण्ट आवश्यक छ । ‘टीबीएममार्फत सुरुङ खन्ने र सेग्मेण्ट उत्पादन गर्ने काम सँगसँगै अघि बढाइरहेका छौंं,’ सीडीई खनालले भने । यसअघि ड्रिलिङ र ब्लाष्टिङबाट मात्र सुरुङ खन्ने प्रचलन थियो । संवेदनशील भौतिक अवस्थाका कारण ड्रिलिङ–ब्लाष्टिङबाट सुरुङ खन्न असम्भव भएपछि सिँचाइ विभागले टीबीएम खरीदको प्रस्ताव गरेको थियोे । अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको यो मेशिन चीनबाट ल्याइएको हो । आयोजनाको निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनीयरिङ गू्रप लिमिटेड (कोभेक)ले गरिरहेको छ । अत्याधुनिक कम्प्युटरबाट सञ्चालित उक्त मेशिन खरीदपूर्व कोभेकले उत्पादक कम्पनीसँग जडानका साथै परीक्षणस्वरूप ५ मिटर सुरुङ खनेर मात्र हस्तान्तरण गर्नुपर्ने शर्त राखेको थियो । शर्तअनुसारै उत्पादक कम्पनीले २ सय ५० मिटर लामो मेशिन जडान गरेको हो । मेशिनले भेरी र बबई नदीबीचको १२ किमी लामो चुरे पर्वत खन्दै छ । टीबीएमले खनेको माटो ओसार्न मोनो रेल प्रयोग गरिएको छ । सरकारले अन्तर जलाधार जल स्थानान्तरण परियोजनामध्ये यसलाई मुलुककै पहिलो तथा नमूना परियोजनाका रूपमा अघि बढाएको छ । मुलुकमै पहिलोपटक बहुउद्देश्यीय, एउटाबाट अर्को बेसिनमा स्थानान्तरण, मेशिनले सुरुङ खन्ने जस्ता विशेषताका कारण यसलाई नमूना भनिएको हो । सुरुङ खन्ने काम सम्पन्न भएपछि विद्युत्गृह निर्माण थालिनेछ । स्वदेशी लगानीमा निर्माण हुन लागेको यस आयोजनाको कुल लागत साढे १६ अर्ब छ । आयोजनाबाट बाह्रै महीना सिँचाइ उपलब्ध भएपछि कृषि उत्पादन बढ्न गई आयोजनाबाट वार्षिक ३ अर्ब १० करोड रुपैयाँ अप्रत्यक्ष आम्दानी हुनेछ भने विद्युत्बाट २ अर्ब १० करोड रुपैयाँ प्रत्यक्ष आम्दानी हुनेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)