सुर्खेत । कर्णाली प्रदेशको सदरमुकाम वीरेन्द्रनगरमा निर्माणाधीन चार लेनको सडक ठेकेदारको लापरबाहीले धुलाम्मे बनेको छ । सडक निर्माणका क्रममा बिछ्याइएको माटोमा पानी नहाल्दा उक्त सडक धुलाम्मे भएको हो । यसबाट यात्रु र आम सर्वसाधारण समस्यामा परेको स्थानीयले बताएका छन् ।
सवारीसाधनले उडाएको धूलोले सडक आसपासका बासिन्दामा श्वासप्रश्वासको समस्या देखिन थालेको छ । धूलोकै कारण सडकको अवस्था देख्न समस्या हुने गरेको चालक मणिलाल चौधारीले बताए । ‘कर्मचारी सञ्चयकोष अगाडिदेखि टेम्पोपार्कसम्म निर्माणाधीन चार लेन सडकका कारण छेउछाउका बासिन्दा, सवारीचालक, पैदल यात्रु, व्यवसायी, ग्राहक सबले सास्ती पाएका छन् ।’
विभिन्न बहाना बनाउँदै आएको ठेकेदारको लापरबाहीले आम सर्वसाधारणको स्वास्थ्यमा असर परेको छ । सडकको धूलो नियन्त्रणका लागि ठेकेदारले बिहान–बेलुका केही मात्रामा पानी हाल्न लगाए पनि पर्याप्त नभएको स्थानीयले बताएका छन् । सडक निर्माण पक्षले सुर्खेत–दैलेख जिरो प्वाइण्टको बाटैमा नालाको सुरुङसम्म नपुरिदिँदा साइकल तथा मोटरसाइकल यात्रुहरू गर्नेहरू दैनिकजसो दुर्घटनामा पर्ने गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी सीताराम कार्की निर्माणाधीन चार लेन सडकमा पानी नहाल्दा उडेको गुनासो आइरहेको बताए । सडक डिभिजन कार्यालयले भने सडकमा धूलो उड्न नदिन सडकमा आवश्यक मात्रामा पानी हाल्न निर्देशन दिइएको बताएको छ । अहिले गर्मी समय आएकाले पानी हाले पनि छिट्टै सुक्ने गरेको सडक निर्माण पक्षको भनाइ छ । चार लेन सडकको पहिलो खण्ड धुलियाबिट चोकदेखि कर्मचारी सञ्चयकोषसम्म ३ किलोमिटर ४ सय मिटरको काम गतवर्ष नै सम्पन्न भइसकेको छ ।
दोस्रो खण्डको सञ्चयकोषदेखि बाङ्गेसिमलसम्म २ किलोमिटर ८ सय मिटर सडक निर्माणको जिम्मा स्वच्छन्द÷श्याम एण्ड शङ्कर जेभीले पाएको थियो । कम्पनीले २०७५ असारभित्रै काम सक्नेगरी १६ करोड २८ लाख रुपैयाँमा २०७३ असार २७ गते सडक डिभिजन कार्यालयसँग ठेक्का सम्झौता गरेको थियोे । तर, भारतीय नाकाबन्दीका साथै नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम र सुर्खेत उपत्यका खानेपानी उपभोक्ता समितिले सडकमा बिछ्याइएका पोल, तार र खानेपानीका पाइप नहटाउँदा निर्माणमा ढिलाइ भएको कम्पनीले बताउँदै आएको छ ।