मयूर यातायातलाई नेपालकै नमूना यातायात सेवा बनाउँछौं
May 6, 2018
 
अन्तरवार्ता
लामो समयदेखि विद्यमान यातायात क्षेत्रको सिण्डिकेट तोड्न सरकारले नयाँ यातायात कार्यविधि ल्याएसँगै यातायात क्षेत्रमा नयाँ तरङ्ग पैदा भएको छ । आलोपालोको नाममा सिण्डिकेट चलाइरहेका बसवालाहरू सरकारको यो निर्णयविरुद्ध आन्दोलनको मोर्चामा छन् भने प्रा.लि.मा दर्ता भएर आएका कम्पनीहरूले सडकमा बस गुडाउन थालेका छन् । वैशाख २१ गते सार्वजनिक यातायात बन्द गरेर सरकारको निर्णयलाई चुनौती दिएपछि सिण्डिकेट लगाउने कतिपय बस समितहरूको रुट परमिट सरकारले खारेज गरेको छ भने नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घसँग आबद्ध विभिन्न समितिका पदाधिकारी पक्राउ परेका छन् । सिण्डिकेटका विरुद्धमा पटकपटक अदालतले दिएको आदेशसमेत कार्यान्वयन हुन नसकिरहेको अवस्थामा अहिले एकाएक सरकार पनि सिण्डिकेटविरुद्ध उभिँदा कतिपय कम्पनीले सडकमा गाडी उतारेका छन् । यी मध्ये प्रमुख हो, मयूर यातायात प्रालि । सिण्डिकेट मौलाएको समयमा एकाएक सुविधाजनक बस सडकमा गुडाएर सर्वसाधारणको समेत साथ र सहयोग पाएको मयूर यातायातले अहिले काठमाडौं र काठमाडौंसँग सीमा जोडिएका केही क्षेत्रमा बस चलाइरहेको छ । जसका कारण अहिले त्यो कम्पनी सिण्डिकेटविरुद्ध एक खालको मानक बन्न पुगेको छ । यही सेरोफेरोमा रहेर सोही कम्पनीका अध्यक्ष मोहनबहादुर श्रेष्ठसँग आर्थिक अभियानका टीपी भुसालले गरेको कुराकानीको सार :यातायात क्षेत्रमा लामो सयमसम्म कायम सिण्डिकेट अन्त्य गर्ने अभियानमा मयूर यातायात मानक जस्तै बनेको छ । सार्वजनिक यातायात सेवामा एकाएक ब्राण्ड नाम कमाउन सफल रूपमा मयूर यातायात कसरी आयो ?
हामी सबैलाई थाहा भएकै कुरा हो, यातायात क्षेत्रमा लामो समयसम्म सिण्डिकेट थियो र अझै पनि कायम छ । हामीले यो सिण्डिकेट अन्त्य हुनुपर्छ, उपभोक्ताले सुविधाजनक बसमा सर्वसुलभ मूल्यमा यात्रा गर्न पाउनु पर्छ भन्ने मान्यता बोकेर मयूर यातायातको नाममा यो क्षेत्रमा प्रवेश गरेका हौं । यति नै बेला सरकार पनि सिण्डिकेटविरुद्ध कडा रूपमा प्रस्तुत भइरहेको अवस्था र सिण्डिकेट चाहनेहरू आन्दोलनमा गएको समयमा सर्वसाधारणको सेवामा मयूर यातायात आएको छ । आम मानिसको सहयोग, साथ र समर्थन पाएका छौं । यसले हाम्रो सेवालाई थप राम्रो र धेरै ठाउँमा पुर्याउनु पर्छ भन्ने महसूस भएको छ । हामी त्यो दिशामा काम अगाडि बढाइरहेका छौं ।
बनेपा–काठमाडौं रुटमा मयूर यातायात सञ्चालनमा आएसँगै यातायात क्षेत्र नै तरङ्गित बन्यो । तपाईंहरूका केही गाडीहरू पनि तोडफोड भए । अहिले नयाँ क्षेत्रमा कसरी प्रवेश गरिहनुु भएको छ ?
मयूर यातायातले २०७४ माघ ४ गतेदेखि काठमाडौंको चक्रपथमा सवारीसाधन सञ्चालन ग¥यो । त्यसको झण्डै १ महीना फागुन १ गतेदेखि हामीले चक्रपथ परिक्रमासँगै काभ्रेको धुलिखेल बनेपा पनौतीसम्म सवारी लग्यौं । निश्चय नै त्यहाँ केही अवरोधहरू भए । हाम्रा गाडी तोडफोड भए । तर, हामी विचलित भएनौं । सरकारले पनि सुरक्षाको प्रत्याभूति ग¥यो । अहिले त आम मानिसहरूले नै हाम्रो गाडीको सुरक्षा दिन थालेका छन् । वैशाख २१ गते मात्रै यातायात राष्ट्रिय महासङ्घले सवारी बन्द गरेको अवस्थामा मयूर यातायातले थानकोट–कलङ्की–रत्नपार्क हुँदै धुलिखेल–पनौती सेवा शुरू गरेको छ । यस्तै, कोटेश्वरदेखि पाँचखाल, भकुण्डेबेसीसम्म सेवा विस्तार गरेका छौं । यसलाई हामी निरन्तरता दिन्छौं । स्थानीयले स्वागत गर्नुभयो । त्यसैले सरकारको नियम कानूनको अधीनमा रहेर हामीले रुट परमिट लिएका क्षेत्रमा क्रमशः बसहरू सञ्चालन गर्दै आएका छौं । सर्वसाधारणको यसमा पूर्ण साथ सहयोग छ । यसले हामीलाई थप उत्साहित बनाएको छ ।
मयूरका सवारीसाधनहरू काठमाडौं केन्द्रित नै छन् । यो सेवालाई कसरी बढाउँदै हुनुहुन्छ ?
हो, अहिले हामीसँग सीमित मात्रामा बसहरू छन् । २४ ओटा बसबाट अहिले चक्रपथ थानकोट–कलङ्की चक्रपथ परिक्रमा गर्दै बनेपासम्मको सेवा दिइरहेका छौं । केही दिनमै नयाँ बसहरू आउँदै छन् । बसको सङ्ख्या बढ्नासाथ हामीले काठमाडौंका विभिन्न रुटका अतिरिक्त पोखरा, लुम्बिनी, गोरखा, लमजुङ, ओखलढुङ्गा, खोटाङलगायतका स्थानमा पनि सेवा शुरू गर्छौं ।
यातायात क्षेत्रमा नयाँ मानिस आउन नेपालमा ठूलै पापड बेल्नु पर्ने अवस्था थियो । तपाईं पनि आउने र सरकारले पनि कडा कदम चाल्ने यो संयोग कसरी जुर्यो ?
सबैलाई थाहा नै भएको कुरा हो कि सिण्डिकेटका विरुद्ध सर्वोच्च अदालतले आदेश दिँदासमेत त्यसको कार्यान्वयन भएको अवस्था थिएन । यो कुरा सुन्दा पनि अचम्म लाग्थ्यो, तर समय सधैं एउटै रहँदैन । नियम कानूनले यसो नगर्नू भनेको कुरा मैले जसरी पनि गर्छु भन्नु राम्रो होइन र त्यो दीर्घकालीन पनि हुँदैन । यो अवस्थामा कसै न कसैले कुनै न कुनै रूपमा यो ठाउँमा आउनु पथ्र्यो । हामीले व्यवसाय शुरू गर्नु र सरकारले पनि यसै समयमा कडा कदम चाल्नु संयोग मात्रै हो । यसमा त्यस्तो कुनै ठूलो योजनाभन्दा पनि जुन दिनदेखि सिण्डिकेटवालाहरूले साङ्केतिक रूपमा गाडी बन्द गरे त्यो दिनदेखि नै मयूर यातायातको सेवा शुरू भयो । यो एउटा संयोग बन्यो होला । सिण्डिकेट हटाउने सरकारको निर्णय पनि भएकोले यो मयूर यातायातको बस चल्नु मात्र भन्दा पनि सहज र सर्वसुलभ रूपमा यात्रुले यात्रा गर्न पाउनु पर्छ भन्ने हो ।
यातायात व्यवस्था विभागले १३ ओटा यातायात समितिको आन्दोलनलाई सिण्डिकेटको संज्ञा दिँदै सवारी सञ्चालनसम्बन्धी कार्यविधि नै परिवर्तन गरेको छ । अब सार्वजनिक यातायात सहज हुन्छ होला त ?
सरकारले नयाँ कार्यविधि जारी गरेर अगाडि बढिरहेको छ । यो स्वागतयोग्य कुरा हो । यस अवस्थामा यसको कार्यान्वयनमा सरकार दृढ रहनु पर्छ । हामी योजना बनाएरै यो क्षेत्रमा आएका छौं । कुनै पनि बहानामा गरिने सिण्डिकेट अब टिक्नेवाला छैन । प्रतिस्पर्धात्मक बजारमा राम्रो सेवासुविधा दिएर व्यापार व्यवसाय गर्ने हो । त्यसरी आउने बढ्दै गएका छन् । त्यसैले अब विस्तारै सार्वजनिक यातायात सहज बन्दै जान्छ भन्ने मेरो विश्वास हो ।
तपाईंले यसो भन्दै गर्दा विगतमा कानूनभन्दा पनि माथि रहेर सरकारलाई आफ्नो पक्षमा निर्णय गराउन बाध्य पार्ने व्यवसायीको ‘बल’लाई पनि कम आँक्न मिल्दैन होला नि ? आन्दोलन त जारी नै छ ?
हिजो उहाँहरूले गर्नु भएकै हो । अहिले नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घले कानून हातमा लिएर जसरी सरकारलाई चुनौती दिएको छ, त्यो गलत छ । उहाँहरूको त्यो चुनौतीको सामना गर्न मयूर यातायात तयार छ । सरकारले जान भनेका अन्य जिल्लामा जान पनि हामी तयार छौं । यसले सरकारलाई आफ्नो निर्णय कार्यान्वयन गर्न पनि सजिलो हुन्छ । यात्रुहरूले पनि सहज सेवा पाउनेछन् ।
यति सजिलै हट्ला त सिण्डिकेट ? अगाडिका चुनौती केके छन् ?
चुनौती हुँदै नभएका होइनन्, तर जति बाहिर देखिएको छ, त्यस्तो चुनौती छ जस्तो लाग्दैन । यातायात व्यवस्था विभागमा मयूर यातायात मात्र कम्पनीको रूपमा दर्ता भएको होइन । अन्य थुप्रै कम्पनीहरू दर्ता भएका छन् । अब केही दिनमै हामी थप ५०–६० ओटा बस थप्दै छौं । विद्युतीय बस ल्याउन हाम्रो टोली चीन जाँदै छ । यातायातका अरू पनि सवारीसाधन छन् । क्रमशः अरू पनि आउँदै छन् । त्यसैले यी सबै प्रकारका चुनौतीलाई सामना गर्दै अगाडि बढ्नुको विकल्प छैन र हामी हाम्रो मिशनमा सफल भएरै छाड्छौं ।
आन्दोलनमा रहेका यातायात व्यवसायीहरूले ‘यो सिण्डिकेट नभई व्यवस्थापन हो, सडकको अवस्था अवस्था आदि कारणले कुनै न कुनै रूपमा सवारी साधन व्यवस्थापन गर्नु नै पर्छ’ भन्ने धारणा पनि अगाडि ल्याएका छन् नि !
यो विल्कुल गलत हो । व्यवस्थापनका नाममा कुनै पनि रुटमा समितिका गाडि मात्र चल्ने व्यवस्था सिण्डिकेट नभए के हो त ? कुनै रुटमा नयाँ परमिट लिएर गाडि चलाउनु पर्यो भने १९– २० लाख रुपियाँ तिर्नुुपर्छ । यो कसरी जायज हुन्छ ? उपभोक्ताले आफुले रोजेको गाडि चढ्न पाउनु पर्छ । अहिले पनि ती समितिमा आबद्ध गाडि भाडाभन्दा मयूरको भाडा कम छ । उपभोक्ताले कम भाडामा स्तरिय सेवा पाउनु ठिक कि जुन गाडि आयो उसैमा बाध्य भएर हिड्न ठिक ? त्यसैले कुनै तर्कको आधारमा सिण्डिकेट होईन भने पनि यो सिण्डिकेट नै हो ।
तपाईंहरूसँग अहिले गाडीको सङ्ख्या कम छ । सबै क्षेत्रमा कसरी सेवा पुर्याउनु हुन्छ ?
मयूर यातायात आइसकेपछि अन्य विभिन्न कम्पनीले पनि आफूहरूले ल्याएका नयाँ गाडीहरू मयूर यातायातको रङ्गमा पेन्टिङ गरेर चलाऔं भन्नु भएको छ । त्यसो गरेको भए अहिले हामीसँग ५ सयभन्दा बढी गाडीहरू हुन्थ्यो । तर, हामीले त्यसो गरेनौं । हाम्रो बसका आफ्नै मोडल छन्, सुविधा छन् । त्यसअनुसार हामीले अरू पनि ल्याउँदै छौं । हाम्रो कम्पनीमा आउन चाहने र यसमा लगानी गर्न चाहने धेरै छन् । बसको सङ्ख्या ठूलो कुरा होइन । आवश्यकताअनुसार बसको सङ्ख्या बढाउँदै लैजाने हो ।
तपाईंहरूको कम्पनीमा अहिले कस्ता–कस्ता लगानीकर्ताहरूले लगानी गर्नुभएको छ । यस क्षेत्रमा पहिले अनुभव भएकाहरू पनि हुनुहुन्छ कि ?
मयूर यातायातमा विशुद्ध नयाँ व्यवसायी साथीहरू सहभागी हुनुहुन्छ । हामीले पुरानो कुनै समितिमा आबद्ध भएकालाई आबद्ध गरेका पनि छैनौं र गर्ने सोच पनि छैन । म आफैचाहिँ लामो समय दुबई, कतार र साउदीलगायतका देशमा यातायात क्षेत्रमा काम गरेर फर्किएको व्यक्ति हुँ । नेपालको अवस्था देख्दा नेपालमा फर्केर यातायात क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोच थियो । अहिले मेरो त्यो सोचलाई साथ दिन विभिन्न क्षेत्रबाट साथीहरू आउनु भएको छ । विभिन्न दलमा आबद्ध साथीहरू पनि लगानीकर्ताको रूपमा छन् ।
मयूरमा मुख्य तीन ठूला दलहरूकै लगानी रहेकोले मात्र सिण्डिकेटविरुद्ध सरकार कडा रूपमा आएको हो, व्यवसायी मात्र आएको भए गाह्रो हुन्थ्यो भन्ने टिप्पणी पनि छ नि त !
त्यो चाहिँ गलत हो । हाम्रो आफ्नै विधान छ । त्यसविरुद्ध यताउता हुँदैन । कसैले कुनै पार्टीमा आस्था राख्ला त्यो फरक पाटो हो । तर कम्पनीमा कुनै राजनीति चल्दैन । मेरो मनसाय विभिन्न क्षेत्रका मानिसहरू पनि छन् भनेको मात्र हो । कम्पनीमा दलगत नभई व्यक्तिगत सहभागिता मात्र छ ।
भाडा सस्तो छ भन्नु भयो । शुरूमा यात्रु आकर्षित गर्न यो सबै गर्नु भएको होला । भोलि पनि यसले निरन्तरता पाउँछ भन्ने आधार के छ ?
हामीलाई कतै कमिशन बुझाउनु परेन नि । एउटा गाडीको रुट परमिट लिन लाखौं खर्च गर्नु त परेन । त्यसैले यात्रुलाई सस्तो भाडामा यात्रा गराउन सक्छौं भनेर अध्ययन गरेरै भाडा तुलनात्मक रूपमा कम राखिएको छ । बसहरू पनि सुविधाजनक नै छन् ।
तपाईंको विचारमा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन थप के गर्नु पर्छ ?
सरकारले ल्याएको नियमअनुसार प्रतिस्पर्धात्मक रूपमा यातायात सेवा सञ्चालन गर्ने हो भने यातायात क्षेत्रका धेरै समस्याहरू समाधान हुन्छन् । उपभोक्तालाई छनोटको अवसर दिनु पर्छ । उनीहरूले जसको सेवासुविधा राम्रो पाउँछन्, त्यसैमा यात्रा गर्छन् ।
बसहरू थप्दै जान लगानीका स्रोतहरू कसरी जुटाउनु भएको छ ? हालसम्म कति लगानी भयो ?
यो कम्पनीमा अहिले बैङ्कहरूले ८० प्रतिशत फाइनान्स गरेका छन् । अरु रकम शेयर सदस्यहरूबाट उठाएका छौं । विभिन्न बैङ्कहरू मयूर यातायातमा लगानी गर्न इच्छुक पनि हुनुहुन्छ । अर्को कुरा अहिले हामीलाई मयूरमा लगानी गर्न अमेरिका, बेलायत र अष्ट्रेलिया लगायतका देशमा रहेका गैरआवासीय नेपालीहरूले पनि सम्पर्क गरिरहनु भएको छ । लगानी पनि जुट्दै छ र आम नागरिकको समर्थन पनि जुट्दै छ । हालसम्म २० करोड जति लगानी भएको होला । थप लगानी कसरी भित्र्याउने कसकसलाई सहभागी बनाउने यो विषयमा केही समयपछि निर्णय गर्नेछौं ।
कम्पनीको भावी योजना के छ ?
हामीले भोलिका दिनमा यो कम्पनीलाई पब्लिक लिमिटेड कम्पन बनाउने सोचमा छौं । जसरी यो कम्पनीमा लगानी गर्न स्वदेश विदेशबाट चासो व्यक्त गरिएको छ, यो सकारात्मक कुरा हो । कम्पनीलाई पब्लिक लिमिटेडमा लग्यो भने यसप्रति पब्लिकको पनि अपनत्व हुन्छ । मेरो हो भन्ने भावना भइसकेपछि ती गाडीहरूका संरक्षण पनि पब्लिकले नै गर्छन् । केही समयमा हामीले मयूर यातायातलाई नेपालकै नमूना यातायात बनाउँछौं । लगानी बढाउँदै आम नागरिकलाई सर्वसुलभ र सुविधाजनक यातायात सेवा दिनु नै हाम्रो मुख्य उद्देश्य हो ।