ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सेबोनले आईपीओ निष्कासन रोक्नु हुँदैन [अन्तरवार्ता]

२०८० मंसिर, २७  
समाचार अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found

तुलसीराम ढकालले २०५६ सालदेखि शेयर बजारमा लगानी गर्दै आएका छन् । चिलिमे हाइड्रोपावर, मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेड र मुक्तिनाथ कृषि कम्पनीका सञ्चालक ढकाल नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष समेत हुन् । प्रस्तुत छ, नेपालमा नयाँ स्टक एक्सचेञ्जको आवश्यकता, शेयर बजारमा सुरक्षित लगानीका उपाय लगायत विषयमा उनीसँग आर्थिक अभियानकी लक्ष्मी शर्माले गरेको कुराकानीको सार :

नेपालमा नयाँ स्टक एक्सचेञ्ज सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढेको छ । अहिले कतिपयले यसको विरोध गरेका छन् भने केहीले समर्थन पनि गरेका छन् । नेपालमा अर्को स्टक एक्सचेञ्जको आवश्यकता छ ?

नेपालमा नयाँ स्टक एक्सचेञ्जको आवश्यकता छ । अहिलेको स्टक एक्सचेञ्ज नेपाल सरकारबाट सञ्चालन भइरहेको छ । यसले बजारको विकास, विस्तारका लागि खासै काम गर्न सकेको छैन । हिजो ३ अर्ब रुपैयाँको कारोबार हुँदा ल्याइएको सफ्टवेयर २२ अर्बसम्मको कारोबार हुँदा पनि त्यही नै छ । नेप्सेले सुधार गर्नुपर्ने जति पनि काम थिए, तिनको सुधार हुन सकेको छैन । अहिलेकै स्टक एक्सचेञ्जको सुधार गरेर, निजीकरण गरेर लगानीका नयाँ नयाँ उपकरण भित्त्याएर पनि शेयर बजारको दिगो विकास एवं सुदृढीकरण गर्न सकिन्थ्यो । तर राज्यले त्यो गर्न चाहेन । त्यसैले नयाँ स्टक एक्सचेञ्जको आवश्यकता भएको हो । त्यो माग हामीले नै राखेका हांै । नयाँ स्टक आउँदा त्यसले लगानीकर्ताका साथै समग्र बजारमै फाइदा पुग्छ । उदाहरणका लागि, हिजो वाणिज्य बैंक, नेपाल बैंक, कृषि बैंक थिए । पछि किन अरू बैंकलाई सञ्चालनको अनुमति दिइयो त ? किनकि अर्को बैंक आउनेबित्तिकै प्रतिस्पर्धी भयो । प्रतिस्पर्धा भएसँगै आमजनताले स्तरीय सेवासुविधा पाए । त्यस्तै अहिलेको स्टक एक्सचेञ्ज पनि अर्को स्टक एक्सचेञ्ज आउनेबित्तिकै सुधार हुन्छ । प्रतिस्पर्धा हुनेबित्तिकै लगानीकर्ताले सहज, छिटोछरितो र नयाँ नयाँ सेवासुविधा पनि पाउँछन् । धितोपत्र बजारका नवीनतम प्रविधि भित्रिन्छन् । विश्व बजारमा आएका लगानीका नयाँ उपकरण आउँछन् । यसरी पूँजी बजारले फ्डको मार्न सक्छ । त्यसैले, नयाँ स्टक एक्सचेञ्ज आवश्यक छ ।

निजीक्षेत्रको जलविद्युत् आयोजना विद्युत् विक्री अनुमति पाएको ३० वर्षपछि सरकारी स्वामित्वमा जाने व्यवस्था छ । त्यसपछि सर्वसाधारणको शेयरको अवस्था के हुन्छ ?

यस सम्बन्धमा अहिलेसम्म खास व्यवस्था गरिएको छैन । कुनै पनि जलविद्युत् ३० वर्ष पुगेर सरकारलाई बुझाइएको पनि छैन । भोलिका दिनमा सरकारलाई बुझाउनुपर्ने अवस्था आएमा जुन आयोजना हो, त्यो मात्र बुझाउने हो, आयोजनाको अरू सम्पत्ति बुझाउने होइन । उदाहरणका लागि, हाम्रो चिलिमे हाइड्रोपावर निर्धारित अवधि पूरा भएपछि सरकारलाई बुझाउने हो । सो कम्पनीको घरभवन, अन्य आयोजनामा गरिएको लगानी तथा सम्पत्ति सबै हाम्रो हुनेछ । चिलिमे भन्ने संस्था रहिरहन्छ । विद्युत्केन्द्र (प्लान्ट) मात्र सरकारलाई बुझाउने हो । हुन सक्छ, त्यो समयमा प्लान्ट नै चिलिमेले चलाउन सक्छ । यसका विभिन्न पाटा हुन सक्छन् । त्यो विषयमा अहिले लगानीकर्तालाई कसरी सम्बोधन गर्ने भनेर केही भएको छैन । तर कुनै पनि लगानीकर्ताको लगानी डुब्नु हुँदैन ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अहिले साधारण शेयर निष्कासन (आईपीओ)को स्वीकृति प्रक्रिया रोकेको छ । लगानीकर्ताले यसको आलोचना पनि गरिरहेका छन् । यो रोक्नु उचित हो ?

आईपीओ रोक्नु हुँदैन जस्तो लाग्छ । त्यो भनेको लगानीकर्ताका लागि अवसर हो । लगानीकर्ताले विभिन्न क्षेत्रका कम्पनीको आईपीओ छानी छानी लगानी गर्न पाउनुपर्छ । त्यो अवसर गुम्नु हुँदैन । यो लगानीकर्ताको अधिकारको कुरा पनि हो । लगानीकर्ताले कम्पनीको बारेमा बुझेर लगानी गर्नुपर्छ । यद्यपि, सेबोनले सधैंभरिका लागि रोकेको होइन । केही समयका लागि अध्ययन गर्न रोकेको हुन सक्छ । त्यसपछि तुरुन्त आईपीओ स्वीकृति प्रक्रिया अगाडि बढ्छ जस्तो लाग्छ ।

म्युचुअल फण्डलाई सेबोनले आरक्षणमा पाएको शेयर विक्री गर्न ६ महीनाको लकिङ पिरियड लगाइदिएको छ । यो कत्तिको उपयुक्त हो ? 

यो एकदमै उपयुक्त हो । किनभने आममानिस प्रतिस्पर्धामा गएर १० कित्ता पाउँछन् । तर म्युचुअल फण्डले आरक्षणमा शेयर पाउने अनि सूचीकृत भएको भोलिपल्ट बढ्नेबित्तिकै विक्री गर्छन् । त्यो उचित होइन । त्यसैले केही समयसम्म लकिङ हुनुपर्छ । लकिङ भइसकेपछि मार्केटमा त्यसको माग र आपूर्ति पनि थाहा हुन्छ । यो आम लगानीकर्ताले राखेको माग हो, जुन स्वागतयोग्य छ ।

शेयर बजार जोखिमको क्षेत्र हो । यो बजारबाट कसरी सफलता प्राप्त गर्न सकिन्छ ?

पूँजी बजारमा नाफा–घाटा दुवै हुन्छ । पूँजी बजारमा लगानी गर्नेबित्तिकै नाफा हुन्छ भन्ने छैन । सधैं घाटा पनि हुँदैन । त्यसैले कम्पनीको बारेमा धेरै अध्ययन गरेर, बुझेर लगानी गर्नुपर्छ । धेरै जनाले अरूले भनेको भरमा लगानी गर्नुहुन्छ । त्यो एकदमै गलत हो । तपाईं कुन कम्पनीमा लगानी गर्दै हुनुहुन्छ, त्यो कम्पनीको समग्र वित्तीय अवस्था, सञ्चालक र लाभांशको बारेमा बुझ्नुहोस् । यसरी बुझेर लगानी गरेमा जोखिमभन्दा पनि प्रतिफल बढी हुन्छ । हल्लाको भरमा, लहैलहैमा अथवा अरूले कमाएको देखेर नबुझी लगानी गरेमा गुमाउने सम्भावना बढी हुन्छ । यसकारण शेयर बजारमा लगानी गर्नुपूर्व कम्पनीका ससाना कुरा पनि अध्ययन गर्नुपर्छ । शेयर बजारबाट लाभ लिन धैर्य पनि राख्न सक्नुपर्छ । किनकि चाहेको प्रतिफल आजको भोलि नै नपाइन सक्छ । त्यसैले शेयर बजारमा सबै कुरा बुझेर, जोखिम विश्लेषण गरेर लगानी गरेमा राम्रो प्रतिफल पाउन सकिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)