ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सर्वोत्कृष्ट संस्थागत सुशासन भएको विकास बैङ्क बन्छौं

May 17, 2018  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
नाम नयाँ तर संस्था पुरानै भएको गण्डकी विकास बैङ्क २०६६ सालदेखि काठमाडौंमा सञ्चालनमा छ । स्थापनाकालदेखि (२०६० वैशाख १७)नै प्रधान कार्यालय पोखरामा रहेको राष्ट्रियस्तरको फाइनान्स कम्पनीको रूपमा फेवा फाइनान्सले कारोबार शुरू गरेको थियो । फेवा फाइनान्स र १० जिल्ले विश्व विकास बैङ्क मर्ज भई २०७२ असार २८ गते फेवा विकास बैङ्कको नामबाट कारोबार शुरू भएको थियो । नेपाल राष्ट्र बैङ्कको मौद्रिक नीतिअनुरूप २०७५ असार मसान्तसम्ममा २ अर्ब ५० करोड चुक्तापूँजी पुर्‍याउनुपर्ने भएपछि फेवा बैङ्क क्षेत्रीयस्तरको गण्डकी विकास बैङ्कसँग मर्ज भई २०७४ असार २१ देखि संयुक्त रूपमा सञ्चालनमा छ । प्रस्तुत छ, बैङ्कको हालसम्मको यात्रा, योजनालगायत विषयमा प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाससँग आर्थिक अभियानका ममता थापाले गरेको कुराकानी : तीनओटा बैङ्क गाभिएपछिको एकीकृत कारोबार कत्तिको सहज रह्यो ? तीनओटा बैङ्क तथा वित्तीय संस्थाको मर्जपछि एकीकृत कारोेबार भएको हो । २०७४ असार २१ गतेदेखि गण्डकी विकास बैङ्कको नामबाट कारोबार शुरू गरिएको थियो । प्रबन्धपत्र र नियमावलीअनुसार गण्डकीचाहिँ फेवा विकास बैङ्कसँग मर्जर भएको तर नाम गण्डकी भएकाले सर्वसाधारणमा फेवा गण्डकीमा मर्ज भएको भन्ने बुझाइ छ । साविकको फेवा फाइनान्स र विश्व विकास बैङ्क भएर बनेको फेवा विकास बैङ्क हुँदा अत्यन्त राम्रो र सिनर्जी इफेक्ट भएको थियो । अहिले गण्डकी र फेवा विकास बैङ्क मर्जर भएको आगामी असार २० गते १ वर्ष पुग्छ । मर्जपछिको करीब १० महीनामा समस्या र विवादविना सञ्चालन भएको छ । यसले पनि अर्को सिनर्जी प्राप्त गर्दछ । मर्ज भएका तीनओटै वित्तीय संस्थाको प्रधान कार्यालय पोखरा भएकाले सञ्चालक, प्रोमोटरलगायतको सामीप्य थियो । यिनीहरूको कर्जा लगानी र पूँजीमा त्यति धेरै अन्तर थिएन । व्यवसाय, पूँजी, शाखा सञ्जाल र कर्मचारी पनि राम्रो भएकाले सिनर्जी इफेक्ट देखिएको हो । तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार बैङ्कको चुक्तापूँजी २ अर्ब ३० करोड छ । अझै राष्ट्र बैङ्कले तोकेअनुसारको चुक्तापूँजी पुर्‍याउन करीब २० करोड बाँकी देखिन्छ । अब कसरी पुर्‍याउने योजना छ ? आगामी जेठ २५ गते बैङ्कको साधारणसभा हुँदै छ । हामीले हालको चुक्तापूँजीको १९ दशमलव ३१०६ प्रतिशत बोनस शेयर घोषणा गरिसकेका छौं । राष्ट्र बैङ्कबाट स्वीकृति पनि भइसकेको छ । जेठ २५ गते हुने साधारणसभाले बोनस शेयर जारी गर्नेछ । यसपछि बैङ्कको चुक्तापूँजी रू. २ अर्ब ७५ करोड हुन्छ । बैङ्कले न्यून आय भएका उद्यमीलाई विपन्न वर्ग कर्जा तथा समूहमा आबद्घलाई लघु वित्त कर्जा पनि दिँदै आएको छ । यो कत्तिको प्रभावकारी भएको छ । यस्तो कर्जा वार्षिक कति प्रवाह हुने गरेको छ र जोखीम भार कस्तो छ ? केन्द्रीय बैङ्कले साढे ४ प्रतिशत विपन्न वर्ग कर्जा प्रवाह गर्न निर्देशन दिएअनुसार अलिकति बढी कर्जा प्रवाह गरेका छौं । धितोमा बाहेक सामूहिक जमानीमा यस्तो कर्जा प्रवाह गरेका छौं । यसले केही हदसम्म राम्रो भएको छ । राम्रो हुँदाहुँदै पनि यसमा दोहोरिने समस्या बढी छ । सबै बैङ्कबाट यस्ता प्रकृतिको कर्जा कसका कति छन् र सो कर्जा सदुपयोग भएको छ/छैन, हेर्न सकिएको भए शायद दोहोरिने समस्या आउँदैनथ्यो । साथै, यस्ता व्यक्तिलाई बुझाउन नसकेर हो कि भनेर यसबारे चनाखो भएका छौं । एउटै व्यक्तिले ३/४ ठाउँबाट लिनु पनि गल्ती होइन र बैङ्कहरूले दिनु पनि गल्ती होइन । तर, सो रकम ऋणीले जेका लागि लिएको हो, त्यसमा सदुपयोग नगर्ने समस्या छ । अब हामीले क्षेत्रगत बैङ्क र त्यसमा क–कसले ऋण लिएको छ भन्नेबारे अध्ययन गर्नेछौं । सामूहिक जमानीमा जोखीम न्यून छ तर समग्रमा केही खराब कर्जा हुने सम्भावना छ । विपन्न नागरिकले आधारभूत आवश्यकता पूरा गर्नबाहेक अन्य काममा पैसाको महत्व नबुझेको र लगानी गर्ने ज्ञान नभएकाले पनि समस्या देखिएको छ । अघिल्लो वर्ष चैत मसान्तसम्ममा १ दशमलव १४ प्रतिशत रहेको बैङ्कको निष्क्रिय कर्जा अहिले घटेर शून्य दशमलव ८४ प्रतिशत छ । १ वर्षमै यस्तो कर्जा उठाउन कसरी सफल हुनुभयो ? यो कर्जा उठाउन सफल हुनुको कारण हामीले कर्जा लगानी गर्नुअघि ग्राहक र प्रोजेक्टको विश्लेषण गरेकाले हो । आवको अन्त्यतिर भने पेनाल्टी तिर्नुपर्ने डरले पनि ग्राहकले कर्जा तिर्ने गर्छन् । अहिलेका ऋणीहरू सज्जन परेका छन् । यसअघिका ऋणी पनि नराम्रा होइनन् । तर, कुनैबेला क्यास फ्लो कम हुँदा खराब कर्जा हुने गरेको हो । यस वर्ष उक्त कर्जा घटाएका सबै ग्राहकलाई धन्यवाद व्यक्त गर्दछु । बैङ्कको शाखा विस्तार, सेवा सुविधा, नाफा, कर्जा, निक्षेपलगायत स्थिति कस्तो छ ? हालसम्म गण्डकी विकास बैङ्कका ५९ ओटा शाखा छन् । दुर्गम जिल्ला मानिने ताप्लेजुङमा पनि गण्डकी विकास बैङ्कले शाखा खोलेको छ । त्यसमध्ये काठमाडौंमा मात्र पाँचओटा शाखा छन् । साथै, अब काठमाडौं उपत्यका र बाहिर गरेर १८ ओटा शाखा स्थापना गर्दै छौं । तीमध्ये तीनओटा शाखा काठमाडौंको कुलेश्वर, ललितपुरको इमाडोल र भक्तपुरको सुकुलढोकामा स्थापना हुँदै छन् । त्यसपछि बैङ्कका ७७ ओटा शाखा पुग्नेछन्, जुन विकास बैङ्कको क्षेत्रमा सबैभन्दा धेरै शाखा हुनेमध्ये हामी पर्छौं । बैङ्कले कस्ता निक्षेप तथा कर्जा योजना ल्याएको छ ? हामीले बचत खातामा ७ दशमलव ५ प्रतिशत ब्याज दिएका छौं । यस्तै, मुद्दती खातामा १२ प्रतिशतसम्म ब्याज दिएका छौं । साथै, कर्जामा १६ प्रतिशत र माइक्रो क्रेडिटमा १७ प्रतिशतसम्म ब्याज तोकेका छौं । बैङ्कको एबीबीएस, एटीएम, मोबाइल बैङ्किङ, रेमिट्यान्स सेवासहितको पूर्ण बैङ्किङ सेवा सञ्चालनको प्रभावकारिता कस्तो छ ? बैङ्कले दिने गरेको सबै सेवा प्रभावकारी भएको हाम्रो अनुमान छ । हालसम्म बैङ्कले २० ओटा एटीमबाट ग्राहकलाई सुविधा दिइरहेको छ । यस्तै, हामीले एबीबीएसको सुविधा पनि दिएका छौं । सी–आस्बाको पनि व्यवस्था छ । यसबाहेक डिपोजिट, कर्जा, नागरिक बचतदेखि शेयर होल्डरसम्म सेवा पुग्नेगरी हरेक किसिमका सुविधा ल्याएका छौं । कमर्शियल बैङ्कहरूको तुलनामा तपाईंहरूको निक्षेप ब्याजदर बढी छ । कमर्शियल बैङ्कले निक्षेपमा ११ प्रतिशतको क्याप लगाएका छन् । तपाईंहरूले १२ प्रतिशत ब्याज दिँ दा त आकर्षण बढेको छ होला नि ? निक्षेपकर्ताको आकर्षण विगतदेखि नै राम्रो छ । हाम्रो उद्देश्यअनुरूप नै निक्षेपकर्ताको सङ्ख्या बढेको छ । नेपालमा माघदेखि रेमिट्यान्स घट्दो क्रममा छ । विकास निर्माणका कार्य नहुँदा पूँजीगत खर्च पनि कम देखिन्छ । यस्ता विविध कारणले गत माघपछि अपेक्षा गरेअनुसार निक्षेपकर्ताको वृद्धि भएको छैन । निक्षेपमा वृद्धि नहुँदा अहिले ब्याजदर बढ्दै गएको छ । ब्याजदर बढ्दा निक्षेपकर्ता मात्र राम्रो हुन्छ । बैङ्क उनीहरूको मात्र पाटो होइन । यसले व्यवसायी, लगानीकर्ता र उद्यमीलाई अप्ठ्यारोमा धकेल्छ । अहिले ब्याजदर बढेको छ । ठूलो पूँजी लिएर काम गर्दा पनि गाह्रो हुन सक्छ । त्यसकारण सन्तुलित रूपमा एउटा लेभलको इन्फ्लेशन रेटमा निक्षेप ब्याजदर हुनुपर्छ । यद्यपि, प्रिमियम जोडेर बैङ्क तथा वित्तीय संस्थाले आफ्नो अपरेशन कष्टदेखि समग्रमा मूल्य निर्धारण गरी सीमित केही फाइदा कमाउन पाउनपर्छ । साथै, ऋणीहरूले उद्यमशीलतालाई अगाडि बढाउन सक्ने वातावरण भयो भने पनि यो देश समृद्धितर्फ उन्मुख हुन्छ । चौथो त्रैमासको वित्तीय विवरणअनुसार बैङ्कको सुधारको गति आशालाग्दो देखिन्छ, कारण के होला ? पछिल्लो त्रैमासिक विवरणअनुसार निक्षेपमा एक लेभलको वृद्धि भएको छ । तर, अपेक्षा गरेअनुसार भने भएन । यस्तै, गत त्रैमासको तुलनामा कर्जामा भने राम्रो वृद्धि भएको थियो । जति अप्ठ्यारो परे पनि निक्षेप कर्जा बढ्दो क्रममा छ । साथै, तेस्रो त्रैमासिकसम्ममा बैङ्क ३४ करोड ४ लाख खुद मुनाफा कमाउन सफल भएको छ । विकास बैङ्कहरूले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार हामी तेस्रो स्थानमा छौं । बचत, निक्षेपकर्ता सबै गरेर ग्राहक सङ्ख्यासमेत करीब २ लाख ३१ हजार पुगेको छ । यो बैङ्क अब ७७ ओटा शाखामार्फत गाउँ–गाउँमा पुग्दै छ । अहिलेसम्म पुगेका क्षेत्रमा सर्वसाधारण वित्तीय साक्षरतासम्बन्धी कत्तिको सचेत छन् ? हामी हरेक शाखामार्फत विद्यालयलगायत सार्वजनिक स्थानमा गएर वित्तीय साक्षरता कार्यक्रम गरिरहेका छौं । यो क्रम बढ्दो छ । सबै बैङ्क तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैङ्कबाट पनि भएको छ । अब यस्तो काम जनप्रतिनिधिबाट पनि हुनुपर्छ । सर्वसाधारणले बैङ्क खातामा बचत किन गर्ने भनेर महत्त्व बुझ्न जरुरी छ । सानो बचत बैङ्कमा एकमुष्ट सङ्कलन हुँदा ठूला परियोजनामा लगानी हुन्छ । यसैले व्यवसाय, रोजगारी सृजना हुन्छ । राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको बैङ्किङ सुशासन कमजोर भएको टिप्पणी गरेको छ । बैङ्कहरूको स्थिति कस्तो पाउनुभएको छ ? नेपालको सन्दर्भमा सबैभन्दा पारदर्शी भएको संस्था बैङ्क हो । हामी आफ्नो सुशासनमा आफै बस्ने हो । बसेका छौं । अरू क्षेत्रमा कस्ता ठूलाठूला घटना भएका छन् । तर, यो क्षेत्रका हरेक कुरा छिट्टै थाहा पाइन्छ । बैङ्कमा इण्टरनल तथा स्ट्याचुटरी लेखा परीक्षण हुन्छ । कतिपयले कङ्क्रिट अडिट गरेका हुन्छन् । नेपाल राष्ट्र बैङ्कको अनसाइट र अफसाइट सुपरीवेक्षणले काम गरिरहेको हुन्छ । कुनै बैङ्कमा शङ्का लागेमा विशेष सुपरीवेक्षण हुन्छ । बैङ्कहरूमा फ्रड हुने स्थिति कम हुँदै आएको छ । बैङ्कहरूमा पहिले क्रेडिट रिस्क थियो, अहिले अप्रेशन रिस्क छ । शाखाहरू आक्रामक तरीकाले विस्तार भइरहेका छन् र बजारमा पर्याप्त मानव व्यवस्थापन गर्न गाह्रो छ । यसैकारण अप्रेशन रिस्कलाई कसरी कम गर्न सकिन्छ भनेर लागिरहेका छौं । हामी सुशासनमा बस्नुपर्छ । बैङ्कको अबको कार्ययोजना के छ ? हामी पूँजी, शाखा सञ्जाल र नाफाको दृष्टिले अगाडि छौं । नाफा आउँदा सरकारलाई तिर्ने करमा वृद्धि हुन जान्छ, जसले गर्दा देशको समृद्धिमा सहयोग पुगेको छ । शुरूमा त हामीले शाखा सञ्जाल विस्तारलाई पूर्णता दिन्छौं । शाखा खोल्नु ठूलो कुरा होइन, त्यो किन खोलिएको भन्नेबारे काम भएमा मात्र सार्थक हुन्छ । हामी आउँदा वर्षहरूमा आक्रामक तरीकाले शाखा खोल्दैनौं । अहिले भने भर्खर मर्जर भयो, केही अधिकार पनि पाइयो र पूँजी पनि ठूलो भएकाले शाखा विस्तार गरेका हौं । अब हामीले सबै विकास बैङ्कमध्येकै सर्वोत्कृष्ट संस्थागत सुशासन बैङ्क बन्ने रणनीति बनाएर अघि बढाएका छौं । यस्तै, स्टक होल्डरलाई अपेक्षाअनुसार प्रतिफल दिन सकिन्छ भन्नेमा केन्द्रित भएका छौं । समाजमा समेत यो बैङ्कले नाफा मात्र कमाउँदैन, सामाजिक काममा समेत सहभागी छ भन्ने छाप छोड्नेछौं । हामीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)को भूमिका निर्वाह गर्दै आएका छौं । राज्यको समृद्धिका लागि पर्याप्त पूँजी लगानी गरेर हरेक उद्योगी तथा व्यवसायीले धेरै कर तिर्न सक्ने क्षमता राख्नेतर्फ प्रोत्साहित गर्नेछौं । बैङ्क स्थापना गर्ने प्रमोटर र सर्वसाधारण शेयर होल्डरलाई भने अधिकतम प्रतिफल दिने रणनीति तथा प्रतिबद्धता हुनेछ । यी योजनालाई सफल बनाउन महŒव राख्ने कर्मचारीको उचित व्यवस्थापन गर्ने, समयसापेक्ष तालीम दिने र समयअनुसार उत्प्रेरणा दिनेछौं । यसरी कर्मचारीलाई उचित सम्मान गर्छौं । यसो गरे सबै सरोकारवाला सन्तुष्ट हुन्छन् । यसले देशको समृद्धिमा समेत मद्दत गर्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)