ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

६० वर्ष नाघेकाहरूले इन्फ्लुयन्जा भ्याक्सिन लगाउनुपर्छ

Jun 8, 2018  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
गतवर्ष जेठमा स्थापना भएको नेपाल नेशनल हस्पिटल स्तरीय सेवाका कारण लोकप्रिय बन्दै गएको छ । चिकित्सकको समूहद्वारा स्थापित भएकाले पनि यो अस्पतालप्रति सेवाग्राहीको विश्वास बढेको हो । विशेषज्ञ चिकित्सकको टोली भएको हुँदा आकस्मिक अवस्थामा अन्य अस्पतालबाट विशेषज्ञ डाक्न नपरेको र यसबाट सेवा सहज भएको अस्पतालका मेडिकल निर्देशक डा. प्रकाश पौड्याल बताउँछन् । उनले २००७ मा काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस तथा २०१४ मा चीनको ल्याउनिङ प्रान्तबाट एमडी गरेका छन् । कलङ्की क्षेत्रमा सुविधासम्पन्न अस्पतालको आवश्यकता महसूस गरी २०१७ मा उनले नेपाल नेशनल अस्पतालको स्थापना गरेका हुन् । प्रस्तुत छ, अस्पतालको सेवासुविधा, छातीरोगको लक्षण, उपचारलगायत विषयमा अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका डा. पौड्यालसँग आर्थिक अभियानका पूर्णभक्त दुवालले गरेको कुराकानीको सम्पादित अंश : नेपाल नेशनल हस्पिटलमा के कस्ता सुविधा छन् ? यो अस्पताल चिकित्सकको समूहद्वारा सञ्चालन हुँदै आएको छ । एउटा सुविधासम्पन्न अस्पतालमा हुने सबै किसिमका सेवासुविधा यहाँ उपलब्ध छ । आईसीयू, नवजात शिशुका लागि एनआईसीयू, बालबालिकाका लागि पीआईसीयू सुविधा, किड्नीको डायलासिस सेवा र सुविधासम्पन्न ट्रमा सेण्टरसमेत अस्पतालमा छ । अस्पतालका अन्य विशेषता के के हुन् ? यहाँ सुत्केरीको डेलिभरीमा सिजरिङभन्दा नर्मल डेलिभरीलाई प्रश्रय दिइन्छ । यसका लागि लेबोर रूम स्थापना गरिएको छ । साथै, अस्पतालमा मल्टिपर्पोज सुपर स्पेसिलिटी, मल्टिसुुपर स्पेसिलिटीका साथै मेडिसिन र सर्जरीका सबै सुविधा छ । मेडिसिनमा मुख्यगरी छाती, किड्नी, रगत, बाथ, सुगरको उपचार हुन्छ । यसैगरी ग्यास्ट्रोलोजी, पेट तथा खाना नलीको उपचार, न्यूरो सर्जरी, क्यान्सर, हेपाटोजी, बाल शल्य चिकित्साको सेवा पनि छ । मेडिसिन, सर्जरी, अर्थोपेडिक्स, पेडियोट्रिक्स, स्त्रीरोग, डेण्टल, एनेस्थेसिया, ईएनटी, प्याथोलोजी र रेडियोलोजी विभाग छन् । चौबीसै घण्टा इमर्जेन्सी, फार्मेसी, एम्बुलेन्स सेवाका साथै आईसीयुमा किड्नी डायलासिस सुविधा उपलब्ध छ । अहिले विशेषगरी कुन रोगको प्रकोप छ ? म छातीरोगमा विशेषज्ञता हासिल गरी त्यसै क्षेत्रमा लागेँ । त्यसैले, छातीरोगीको सङ्ख्या बढिरहेको देख्छु । काठमाडौंमा बढ्दो धूलो, धूँवालगायतले पनि छातीरोगको प्रकोप बढेको देखिन्छ । जताजतै धूलो उडिरहेकाले सर्वसाधारण पीडित छन् । अन्य मुलुकमा जस्तो निर्माणस्थल बन्द गरेर निर्माण नगर्ने र खुला रूपमा धूलो उड्नेगरी निर्माण कार्य हुने गरेकाले समस्या बढेको छ । धूलो–धूँवाले पहिलेदेखि नै छातीरोग भएकाहरूलाई झन् समस्या भएको छ । धूलोकै कारण दम र निमोनियाका रोगी बढेका छन् । धूलोबाट बच्न के गर्ने ? यहाँको धूलो यति साना छन् कि साधारण मास्कले छेक्नै सक्दैन । १० माइक्रोमिटरभन्दा ठूलो धूलो त नाकको रौंले नै छेक्छ । त्योभन्दा सानो भयो भने नाकबाट भित्र जान्छ । ५ देखि १० एमएमसम्मको धूलो स्वासनलीसम्म पुग्छ । ५ एमएमभन्दा पनि साना कण सीधै श्वासनलीको अक्सिजन र कार्बनडाइअक्साइड एक्सचेञ्ज गर्ने युनिट आल्भियोलाइसम्म पुग्छ । यहाँसम्म पुगेको धूलोलाई शरीरले बाहिर निकाल्न सक्दैन । भित्र पसेको धूलोले लामो समयसम्म इरिटेशन रेर इन्फ्लामेशन गरिदिन्छ । यो प्रक्रिया निरन्तर भइरहँदा दमखोकी जस्ता दीर्घरोग देखा पर्छ । अहिलेका नवजात शिशुमा समेत यस्ता किसिमको सीओपीडी (दम) देखिएको छ । यहाँको धूलोले ल्याउने अन्य समस्या के हो ? अहिलेको धूलोमा फोहोर हुन्छ । यसमा सूक्ष्म कीटाणु टाँसिएका हुन्छन् । अर्थात् यहाँको धूलोसँगै भाइरस र अन्य सूक्ष्म कीटाणु सजिलै उडिरहेका छन्, भाइरस सजिलै बाँचिरहेका छन् र मानव स्वास्थ्यमा पस्न सजिलो भइरहेको छ । यी भाइरस सजिलै श्वासनली हुँदै मानव शरीरमा पसिरहेका छन् । भाइरसले शुरूमा रुघाखोकी र पछि श्वासनलीमा इन्फेक्शन गराउँछ । यसैगरी फोक्सोमा इन्फेक्शन र निमोनिया हुन्छ । यसरी इन्फेक्शन भएको बेलामा धूमपान गर्दा झनै खतरा हुन्छ । छातीमा हुने इन्फेक्शनबाट बच्न के गर्नुपर्छ ? धूलोधूँवाबाट बच्न भरपर्दो मास्क लगाउनुपर्छ । बजारमा सजिलै उपलब्ध हुने सस्तो मास्कले सूक्ष्म धूलो छेक्न नसक्ने भएकाले एन९५ मास्क लगाउँदा राम्रो हुन्छ । धूलोधूँवा उड्ने ठाउँमा सकेसम्म नजाने, धूमपानबाट टाढै रहने गर्दा केही हदसम्म भए पनि छातीमा हुने इन्फेक्शन हुन पाउँदैन । छातीमा इन्फेक्शन भएको कसरी थाहा पाउने ? सुक्खा खोकी लागिरह्यो भने इन्फेक्शनको आशङ्का गर्नुपर्छ । यी खोकीले विस्तारै खकार फाल्ने गर्छ । त्यसपछि ज्वरो आउन थाल्छ, श्वास फेर्न गाह्रो हुन्छ र जोनी दुख्न थाल्छ । जीउ कटकटी दुख्ने र गलेर जान थाल्यो भने समयमै उपचार थाल्नुपर्छ । यसको उपचार कसरी हुन्छ ? शुरू शुरूमा छाती दुख्न थालेको र श्वासप्रश्वासमा समस्या देखिएको हो भने एलर्जीका ओखती र एण्टिबायोटिक प्रयोग गरे पुग्छ । रोग क्रोनिकल डिजिजको रूपमा परिणत भइसकेको भए अक्सिजनको प्रयोग गर्नुपर्छ । स्टेरियोड औषधि प्रयोग गर्नुपर्ने र बाफ लिनुपर्ने हुन्छ । यो रोग लामो समयसम्म रहिरह्यो भने फोक्सोले काम गर्न सक्दैन । त्यसैले, छाती दुख्ने समस्या हुँदा समयमै चिकित्सककोमा जानुपर्छ । ज्येष्ठ नागरिकमा छातीरोगको समस्या कत्तिको देखिन्छ ? ज्येष्ठ नागरिकलाई छातीको रोग लाग्यो भने निको पार्न समय लाग्छ । नेपालमा धेरै वयस्कहरूलाई निमोनिया लागेको देखिन्छ । निमोनियाबाट बच्न अहिले भ्याक्सिन आइसकेको छ । ६० वर्ष नाघेका नागरिकले इन्फ्लुयन्जा भ्याक्सिन लगाउनुपर्छ । यो भ्याक्सिन लगाएमा भाइरल इन्फ्लुयन्जाबाट जोगिन सकिन्छ । एकवर्षे र पाँचवर्षे गरी दुई किसिमको भ्याक्सिन लगाउन सकिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)