पछिल्लो समय दाँतको स्वास्थ्यसँगै सौन्दर्यको विषयमा पनि सचेतता बढेको पाइन्छ । विशेषगरी अहिलेका ‘टीनएजर्स’ दाँतको सौन्दर्य बढाउन स्वास्थ्य क्लिनिक, हस्पिटल, डेण्टल होमलगायतमा धाउने गरेका छन् । यीमध्ये नमिलेको दाँत मिलाउन आउनेहरूको सङ्ख्या बढी रहेको डा. धर्मलक्ष्मी वासुकला बताउँछिन् । ब्रिटिश डेण्टल कलेज एण्ड हस्पिटलबाट बीडीएस तथा युनिभर्सिटी अफ इष्ट मनिला, फिलिपिन्सबाट डेण्टिस्टमा मास्टर्स गरेकी उनी भक्तपुरका विभिन्न स्वास्थ्य संस्थामा सेवारत छिन् । प्रस्तुत छ, सिद्धि हेल्थ क्लिनिक र भक्तपुर डेण्टल होमबाट समेत अर्थोडण्टिक उपचार गर्दै आएकी वासुकलासँग दाँतको रोग, लक्षण, उपचारलगायत विषयमा आर्थिक अभियानका प्रेम प्रजापतिले गरेको कुराकानीको सार :दाँतमा के कारणले समस्या हुन्छ ?
दाँतमा धेरैजसो समस्या ब्रश नगर्नाले हुन्छ । खाना खाइसकेपछि ब्रश गर्नुपर्छ भन्नेबारे धेरैलाई अझै पनि थाहा छैन । अधिकांश मानिस बिहान उठ्नेबित्तिकै ब्रश गर्छन् । तर, बिहानको खानापछि गर्दैनन् । त्यसो हुँदा दिनभर दाँतमा खानेकुरा अड्किएर बस्छ, जुन दाँतमा सङ्क्रमणको कारण बन्छ । राति पनि खाइसकेपछि ब्रश नगर्ने बानी धेरैको हुन्छ । ब्रश नगर्दा दाँतमा रहेको खानेकुरामा कीटाणु बनेर समस्या गराउँछ । त्यसैले, बिहान–बेलुका खानापछि अनिवार्य रूपमा ब्रश गर्नुपर्छ । खानापछि ब्रश गर्नाले दाँतसम्बन्धी ७०–८० प्रतिशत आउन पाउँदैन ।
भोजमा मासु खाँदा अड्केको होस् अथवा दैनिक रूपमा सागसब्जी अड्केको होस्, त्यसलाई फ्लस गरेर हटाउनुको सट्टा मानिसहरू सिन्काले कोट्याउँछन् । यसले गर्दा रक्तस्राव हुने, गिजा–दाँत फाट्ने जस्ता जोखीम हुन्छ । सिन्काले कोट्याउँदा दाँतको हड्डीमा समेत असर पर्छ । यसले गर्दा दाँतको बीचमा कीरा लाग्छ । यसबाट बिरामीलाई असह्य दुखाइ हुन्छ । यसको उपचारसमेत जटिल बन्छ । दुईओटा दाँतलाई कीराले खाएको छ भने यस्तो ठाउँमा सिमेण्ट भर्न निकै गाह्रो हुन्छ । र, सिमेण्ट भरे पनि समस्या भइरहन्छ । त्यसको दिगो उपचारका लागि पछि आरसीटीसम्म गर्नुपर्ने हुन्छ ।
बच्चामा दाँतसम्बन्धी समस्या कत्तिको हुन्छ ?
धेरैजसो बच्चामा दाँतको समस्या हुन्छ । यसमा एउटा कारण बटर र अर्को जङ्क फूड हो । बटर र जङ्क फूडको सेवनले दाँतमा कीरा लाग्ने सम्भावना बढी हुन्छ । कीराले खाए पनि अभिभावकहरू बच्चाको दाँत बचाउन फ्लस गर्नुपर्छ भन्नेतर्फ लाग्दैनन् । पछि फुक्लिने दाँत हो, अहिले किन भरिराख्नुप¥यो भनी हेलचक्र्याइँ गरेको पाइन्छ । यसले गर्दा कीराले खाएर बच्चालाई दुःख दिएको हुन्छ । तर, दाँत सुनिएपछि मात्र उपचारका लागि आउँछन् । बच्चाको दाँतलाई जरैदेखि सफा गर्नुपर्छ । पछाडिका बङ्गारा, जुन १२–१३ वर्षमा मात्रै फुक्लिन्छन् । यसलाई बचाएर राख्नुपर्छ । किनकि, चपाउन दाँत नभएपछि कुपोषणको समस्या आउन सक्छ । शुरूमै त्यस्तो दाँत निकाल्दा पछाडिको दाँत अगाडि आइदिन्छ । ठाउँ नपुगेपछि दाँतहरू बाङ्गा टिङ्गा हुन्छन् । कति दाँत त आउने ठाउँ नपाएर भित्रै रहन्छ । बच्चा र युवामा त्यो समस्या हुन्छ ।
दाँतका रोगका लक्षण के–के हुन् ?
कीराले खाएर दुखेपछि मात्रै दाँतमा समस्या भएको थाहा हुन्छ । कीराले दाँत अलिअलि खाँदा थाहा हुँदैन, थाहा भए पनि अधिकांशले वास्ता गर्दैनन् । दाँत कीराले खाएपछि ‘सिरिङसिरिङ’ हुन्छ । ब्रश गर्ने तरीका थाहा नपाएर पनि दाँत सिरिङसिरिङ हुन्छ । यस्ता समस्या लिएर आउने बिरामी पनि धेरै छन् । कोही गाला सुन्निएर ठूलो भएपछि मात्रै उपचारका लागि आउँछन् ।
प्रत्येक ६/६ महीनामा दाँतको परीक्षण गर्नुपर्छ । नियमित रूपमा यसरी परीक्षणका लागि आउनेहरू एकदमै कम छ । समस्या बढेपछि मात्र आउँछन् । कोही दाँत सिरिङसिरिङ भएपछि त कोही धेरै दुखेपछि मात्र परीक्षणका लागि आउँछन् । नियमित परीक्षणका लागि आउनेहरू नगन्य छन् ।
दाँतको समस्या समाधानका उपाय के के हुन् ?
आफ्नो दाँतको सफाइमा सचेत हुनुपर्छ । नियमित सरसफाइ र परीक्षण गर्नाले दाँतको अधिकांश समस्या आउन पाउँदैन । समस्या नै नभए पछि क्लिनिक, हस्पिटलमा धाउनुपर्ने बाध्यता पनि हुँदैन । त्यसैले, दैनिक दुईपटक ब्रश गर्ने, बटर भएका र गुलिया खानेकुरा कम खाने गरेर पनि दाँतलाई स्वस्थ राख्न सकिन्छ । साथै, बेला बेला विशेषज्ञ डाक्टरलाई देखाउने गरेमा सम्भावित समस्याको रोकथाम हुन्छ ।
दाँतको रोगले शरीरका अन्य अङ्गमा कसरी पार्छ ?
दाँत भएन वा कमजोर भएमा खानेकुरा चपाउन सकिँदैन । खाना राम्ररी नचपाउँदा अपच हुन्छ । यसबाट कुपोषणको समस्या हुन्छ । दाँतमा कीराको कारण हुने सङ्क्रमण अन्य अङ्गमा सर्ने सम्भावना हुन्छ । यस्तै, श्वासप्रश्वास र मुटुसम्बन्धी रोग लाग्न सक्छ । दाँतको सङ्क्रमण रगतमा पुग्यो भने मुटुमा समेत असर पर्न सक्छ ।
कुन उमेर समूहका मानिसमा दाँतको समस्या बढी छ ?
दाँतको समस्या त सबैमा हुन्छ । यद्यपि, बच्चामा बढी देखिएको छ । यसो हुनुमा जङ्क फूड, गुलियो पदार्थ र बटरयुक्त खानाको सेवन नै कारक तत्त्व हुन् ।
दाँतको उपचार खर्चिलो छ भनिन्छ नि ?
दाँतको उपचार अन्य कतिपय रोगको उपचारभन्दा केही महँगो नै छ । एउटा दाँत भर्न न्यूनतम ३/४ सय रुपैयाँ पर्छ । आरसीटी गर्नुपरेमा खर्च झन् बढ्छ । यसमा लाग्ने खर्च थाहा पाएपछि धेरैजसो मानिस दाँत नभएर के हुन्छ ? भन्दै दाँत निकाल्नेतिरै लाग्छन् । आर्थिक रूपमा कमजोर बिरामी दाँत बचाउने सोच्दैनन् । शिक्षित र दाँतको महत्त्व बुझ्नेहरूले मात्रै यसलाई जसरी भए पनि बचाउनुपर्छ भनेर उपचार खर्च गर्न तयार हुन्छन् । महँगो शुल्कका कारण बहुसङ्ख्यकले राम्रो उपचार लिन सकेका हुँदैनन् ।
अहिले सरकारले स्वास्थ्य बीमा ल्याएकाले केही सजिलो भएको छ । बीमा गरेकाहरूले सेवा उपलब्ध भएका ठाउँमा उपचार गराएका छन् ।
उपचारका लागि आउनेहरूमा दाँतका के–कस्ता समस्या हुन्छन् ?
बाङ्गा–टिङ्गा दाँत भएको, जरै नमिलेको, बाहिर आउने गरेको, चपाउन नै नमिलेको जस्ता समस्या भएर आउनेहरू धेरै छन् । दाँत मिलाउन टिनेजरहरू बढी आकर्षित हुन्छन् । कक्षा १०, ११ र १२ पढ्नेहरू यसमा बढी सचेत छन् । अर्थोडण्टिक दाँतको कस्मेटिक उपचार पनि हो । यसमा बाङ्गोटिङ्गो दाँतलाई सोझ्याएर राम्रो बनाइन्छ । बाहिर आएकोलाई भित्र पठाइन्छ । कतिपयको टोकाइ नै मिलेको हुँदैन । उनीहरूलाई चपाउन समस्या हुन्छ । तलको हड्डी माथिसँग जोड्न पीएनजीमा समस्या हुन्छ । यस्तो समस्या धेरैलाई थाहै हुँदैन । कसैको टोकाइ नमिलेर बङ्गारा नै अगाडि–पछाडि भएको हुन्छ ।