ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर तिर्न अटेर गर्नेलाई कालोसूचीमा राख्छौं

Jun 17, 2018  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी निजीक्षेत्रका एक कुशल हस्तीका रूपमा चिनिन्छन् । विगतमा बारा र पर्साका उद्योगी व्यवसायीको वर्गीय संस्था वीरगञ्ज उद्योग वाणिज्य सङ्घको नेतृत्व गरिसकेका उनी नेपाल उद्योग वाणिज्य महासङ्घमा तीनपटक कार्यकारी सदस्य चुनिएर वाणिज्य समितिको अध्यक्षसमेत बनिसकेका छन् । उनी औद्योगिक तथा व्यापारिक घराना सरावगी समूहका प्रबन्ध निर्देशक पनि हुन् । ३ दशकभन्दा लामो व्यावसायिक अनुभवबाट खारिएका सरावगी राजनीतिमा भने छोटै समयमा उच्च पदमा पुग्ने अवसर पाएका व्यक्तित्व मानिन्छन् । सङ्घीय समाजवादी फोरम नेपालका २ नम्बर प्रदेश कोषाध्यक्ष रहेका उनी जनप्रतिनिधिले विकासका सवालमा राजनीतिक पूर्वाग्रह राख्न नहुनेमा स्पष्ट छन् । सङ्घीयता कार्यान्वयनको औसत सकसले वीरगञ्जको विकासमा प्रभाव परेको बताउने महानगर प्रमुख सरावगीसित स्थानीय सरकारसँग वीरगञ्जवासीका अपेक्षा र त्यसको पूर्णतामा नगर नेतृत्वले गरेका प्रयास, समस्या र समाधानका उपायमा केन्द्रित रहेर आर्थिक अभियान राष्ट्रिय दैनिकका ओमप्रकाश खनालले गरेको कुराकानी : राजनीतिमा सक्रिय सहभागिताको छोटो समयमै स्थानीय सत्ता सञ्चालन गर्न पाउँदा कस्तो अनुभव भइरहेको छ ? विगतको प्रणालीमा नगरप्रमुखको दायरा सीमित थियो । अहिले विषयगत कार्यालयहरू जोडिएकाले कार्यक्षेत्र र जिम्मेवारी बढेको छ । म नगरवासीसमक्ष विकास र सुशासनको वाचा गरेर यहाँ आएको छु । स्वाभाविक रूपमा यहाँका बासिन्दाको चाहना, आवश्यकता र समस्या असीमित छन् । सीमित स्रोतसाधनले भ्याइरहेको छैन । कानूनी रूपमा लिनुपर्ने स्रोत र साधनको उपलब्धता पनि सङ्क्रमणकै अवस्थामा छ । गत चैत २६ भित्रै सरकारी कार्यालय र कर्मचारीको समायोजन गरिसक्ने भन्ने थियो । कानूनले विषयगत कार्यालयहरू सम्पत्तिसहित हस्तान्तरण हुने भने पनि त्यो भएको छैन । यसबाट सेवाग्राही पनि अन्योलमा छन् । स्थानीय सरकार जनतासँग सीधा सरोकार राख्ने तह हो । वीरगञ्जलाई महानगर बनाए पनि त्यसअनुसार कर्मकारीको नियुक्ति भएको छैन । व्यवस्थित सेवा प्रवाहका निम्ति दक्ष मानव संसाधन छैन । स्रोतको अभाव त औसत गुनासोजस्तो भइसक्यो । तर, स्थानीय स्रोतमा आधारित नियमित सेवा किन प्रभावकारी हुन नसकेको होला ? सेवालाई पहिलाको तुलनामा प्रभावकारी बनाएका छौं । सेवाग्राही सन्तुष्ट छन् । जुन हाम्रो हातमा छ, त्यसको प्रवाह राम्रो छ । अन्य निकायबाट सञ्चालित सेवा पूर्णरूपमा हाम्रो अधीनमा नआएसम्म जिम्मा लिन सक्दैनौं । महानगर भए पनि वीरगञ्जमा ७० प्रतिशत भूभाग ग्रामीण क्षेत्र छ । ती क्षेत्रमा महानगरस्तरको सेवा पु¥याउन कठिन छ । यसमा हाम्रो स्रोत र सरकारको सीमित अनुदान मात्र पर्याप्त हुँदैन । सरकार र दाताबाट विशेष सहयोगको खाँचो छ । मैले स्थानीय समस्या बुझ्न जनता–नगरप्रमुख आमनेसामने र सार्वजनिक सुनुवाइ थालेको छु । त्यसमा पनि ग्रामीण क्षेत्रमा विकास र सेवा पुगेन भन्ने कुरा आएको छ । तर, मैले सबैभन्दा बढी बजेट अविकसित वडामा दिएको छु । अविकसितलाई ६० लाख, अर्धविकसितलाई ५० र विकसित वडामा ३५ लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ । तथापि, अपेक्षित सुविधा पुर्‍याउन सकिएको छैन । यसका लागि आगामी दिनमा योजनाबद्ध रूपमा अघि बढ्न खोजेका छौं । बिहानले दिउँसोको सङ्केत गर्छ भनिन्छ । तपाईं वीरगञ्जको प्रमुख भएको ९ महीना पुगिसक्दा चुनावताका अघि सार्नुभएका प्रतिबद्धता कार्यान्वयनको सङ्केत देखा नपर्नुको कारण के होला ? हामीले गत असोजमा जितेर आयौं । त्यतिबेला ठेक्का र खरीद प्रक्रिया सबै भइसकेको थियो । आइसकेपछि चाडपर्व र चुनावको माहोल बन्यो । त्यसबीच नगरसभा गरियो । त्यसपछिको समय प्रक्रिया मिलानमा गयो । बल्ल नयाँ योजनाहरू शुरू भएका छन् । सानाठूला ३ सय योजना सञ्चालनमा छन् । महानगरका ३२ ओटै वडामा यस्ता योजनाअन्तर्गत काम भइरहेको छ । वडास्तरका योजनामा नाला, ग्राभेल सडक र सानातिना निर्माणका काम छन् । अब असार मसान्त आइरहेको छ । केही नगरस्तरीय योजनालाई बहुवर्षीयमा लैजाँदै छौं । एशियाली विकास बैङ्कसँग २ अर्ब ४२ करोड रुपैयाँको क्षेत्रीय सहरी विकास योजनाको सम्झौता भएको छ । मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजना अन्तिम चरणमा छ । यी ठूला परियोजना पूर्ण भएपछि वीरगञ्जको नाला र बाटोको काम ६० प्रतिशत पूरा हुन्छ । गुणस्तरीय विकास चुनावी मुद्दा थियो तर महानगर अहिले असारे विकासमा धमाधम खर्च गर्दै छ, यस्तो विकास दिगो होला त ? नगरसभा भएको ३०/३५ दिनदेखि नै काम शुरू भए पनि त्यसको प्रक्रिया मिलाउन समय लाग्यो । हामीले सार्वजनिक खरीद ऐनलाई मान्नुपर्छ । गुणस्तरका सवालमा पहिल्यैदेखिको मापदण्डलाई तत्कालै परिवर्तन गर्न सम्भव भएन । अब त्यसमा पुनरावलोकन भइरहेको छ । सडकको गुणस्तर मलाई पनि चित्त बुझेको छैन । अहिले सडक विभाग र बोर्डबाट पास भएको गुणस्तर मानेका छौं । आउने दिनमा त्यो मान्दैनौं । स्थानीय आवश्यकताका हिसाबले गुणस्तरको मापदण्ड स्थापित गर्छौं । भौतिक मात्र होइन, सामाजिक क्षेत्र र आर्थिक उन्नतिको क्षेत्रलाई पनि अघि बढाउँछौं । सामाजिक र आर्थिक विकासका क्षेत्रमा के कस्ता योजना बनाउनुभएको छ ? पहिला त यहाँ के गर्न सकिन्छ भन्नेमा अनुसन्धान भएको छ । महानगरका जति पनि नयाँ ग्रामीण वडा छन्, तिनमा आ–आफ्नै आर्थिक सम्भाव्यता छन् । पशुपालन, कुखुरापालन, माछापालन, तरकारी खेतीलगायतका सम्भावना देखिएका छन् । त्यस्ता पकेट क्षेत्रको सीमाङ्कन गरिरहेका छौं । ग्रामीण वडालाई स्याटेलाइट सिटीको रूपमा विकास गर्ने योजना छ । त्यसका लागि स्थानीय स्तरमा आयआर्जनका लागि त्यस्ता सम्भाव्यताको उपयोग गर्ने योजना छ । स्थानीय स्तरमै प्राविधिक जनशक्ति र कार्यालय राखिदिन्छौं । ग्रामीण वडाका महिलालाई स्वरोजगारमा सहभागी गराउँदै छौं । व्यावसायिक तालीमलाई आयआर्जनसित जोड्नेछौं । यसका लागि विभिन्न सङ्घ/संस्थासँग सहकार्य भइरहेको छ । यसबाट नगरको अर्थतन्त्रमा दैनिक ५० लाख रुपैयाँको अभिवृद्धि हुन सक्छ । आउँदो बजेटमा यसका लागि नयाँ कार्यविधि बनाइनेछ । सुशासनका अवरोध के–के हुन् जस्तो लाग्छ र समाधानका निम्ति के गरिरहनुभएको छ ? भताभुङ्ग प्रणालीहरू अझै पनि व्यवस्थित भइसकेका छैनन् । व्यक्ति विशेषको कुरा बढी लागू भइरहेको छ । हामी विधि बसाउन चाहिरहेका छौं । त्यसो भए मात्र भ्रष्टाचार नियन्त्रण सम्भव हुन्छ । योजनाको अनुगमन राम्ररी हुन पाएको छैन । त्यसका लागि दक्ष जनशक्ति छैन । अनुगमनको उपयुक्त प्रणाली नै छैन । कार्यादेशअनुुसार काम भएको छ कि छैन ? गुणस्तर हेर्ने काम त्यति सहज छैन । त्यसका लागि टास्क फोर्स गठन गर्दै छौं । अर्को, कार्यालयबाट दिने सेवालाई पारदर्शी बनाउन ३२ ओटै वडालाई अनलाइनमा ल्याउँछौं । करदाताले जहाँबाट पनि कर तिर्न सक्छ । कर्मचारीसँग सेवाग्राहीको भेट नै हुँदैन । मोबाइल एप्स ल्याउँदै छौं । यही असार १० गते हुने नगरसभामा एप्स लञ्च गर्ने तयारी छ । कर तिर्न कार्डको व्यवस्था मिलाउँछौं । ३/४ महीनाभित्रै यो काम हुन्छ । सनाखतसमेत अनलाइनबाटै हुने व्यवस्थाका लागि अध्ययन भइरहेको छ । सेवाग्राहीले घरमै बसीबसी सेवा पाउँछन् । यसमा कम्तीमा १० करोड रुपैयाँ चाहिन्छ । यसका लागि प्रदेश र सङ्घीय सरकारलाई आग्रह गरेका छौं । माथिल्ला सरकारको सहयोग भएमा हाम्रो लागत कम हुने थियो । आउने नगरसभाबाट २ करोड रुपैयाँ बजेट व्यवस्था गर्दै छौं । यो वीरगञ्जलाई स्मार्टसिटी बनाउने योजनाको प्रस्थानबिन्दु बन्नेछ । आगामी वर्षको बजेटमा कस्ता योजनालाई प्राथमिकतामा राख्नुभएको छ ? आगामी आर्थिक वर्षमा सहरी विकास र फोहोर व्यवस्थापनको योजना सम्पन्न गर्ने लक्ष्य छ । बसपार्क पनि १ वर्षभित्र पूरा गर्ने योजना छ । सापेक्ष र सन्तुलित सहरीकरण, रोजगारी, आयआर्जन, शिक्षा, स्वास्थ्यजस्ता विषय प्राथमिकतामा छन् । सुनौला हजार दिनलाई जोड दिइनेछ । शिक्षामा छोराछोरीबीचको विभेद अन्त्यका लागि सार्वजनिक विद्यालयमा क्रमशः कक्षा १ देखि १२ कक्षासम्म अङ्ग्रेजी माध्यममा अध्ययन/अध्यापनको व्यवस्था, ग्रामीण क्षेत्रमा वर्थिङ सेण्टरसहितका १७ ओटा स्वास्थ्य चौकी, पूर्ण खोपका कार्यक्रम, अन्धोपन र मोतिबिन्दुको उपचार, नारायणी उपक्षेत्रीय अस्पताललाई क्षेत्रीय अस्पताल बनाउने र शिक्षण अस्पतालको रूपमा विकासका साथै वीरगञ्जमा ५ सय शøयाको नयाँ अस्पताल निर्माणको पहल गरिनेछ । वीरगञ्ज क्षेत्र उद्योगको हब बन्दै गएकाले टेक्लिकल इन्स्टिच्युट, कृषि विश्वविद्यालय, बालमैत्री वीरगञ्ज, लैङ्गिक समानता, व्यवस्थित वृद्धाश्रम, फरक क्षमताका बालबालिकाका लागि शिक्षा र आत्मनिर्भरताका उपयाजस्ता विषय प्राथमिकतामा छन् । मेरो ५ वर्षको कार्यकालमा वीरगञ्जका बासिन्दालाई खुशीको स्तर अभिवृद्धिको अनुभूति हुनेछ । यसका लागि स्थानीय स्रोत सङ्कलन र परिचालनको अवस्था कस्तो छ ? महानगरको न्यूनतम आन्तरिक स्रोत वार्षिक ५० करोड रुपैयाँ हुनुपर्ने हो । हाम्रो आन्तरिक आय १२ करोड रुपैयाँभन्दा बढी छैन । जनतामा कर तिर्ने मनसाय नै देखिएन । १५ वर्षसम्म कर्मचारीले कर उठाउने प्रयासै नगरेकोजस्तो देखियो । अब यो चुनौतीलाई हामीले जिम्मा लिएका छौं । महानगरबाट सेवा लिएबापत सेवाग्राहीले कर तिर्नुपर्छ । जनसङ्ख्या ३ लाख देखाइए पनि वास्तवमा ४ लाखलाई सेवा दिनु परिरहेको छ । महानगरले सेवा दिइरहेको छ भने त्यसको व्यवस्थापनको लागत त बासिन्दाले तिर्नुपर्छ । कर सङ्कलक खटाएर ५० करोड रुपैयाँ सजिलै उठाउन सकिन्छ । ८० प्रतिशत करदाता करको दायरामा आएका छैनन् । यसकारण दायरा बढाए हुन्छ, नयाँ कर लगाउनुपर्दैन । अब करमा अटेरी चल्दैन । असार मसान्तसम्म समय दिएका छौं । अटेर गरेमा कडाइका सबै उपाय अपनाएर असुल्छौं । कर नतिर्नेको व्यापारव्यवसाय बन्द गर्नेदेखि कालोसूचीमा राख्नेसम्मको अधिकार स्थानीय सरकारलाई छ । जुन ठाउँबाट कर आएको छैन, त्यस्ता ठाउँमा सेवा नदिने नीति लिन्छौं । हामीले प्रत्यक्ष उठाउन नसक्नेमा निजीक्षेत्रलाई सहभागी गराउने योजना छ । सेवाग्राहीलाई पेलेर कर असुल्ने कि प्रभावकारी सेवासुविधा दिएर ? कसैले पनि घरबाट ल्याएर कर तिर्ने होइन । आयबाट दिने हो । क्षमता नभएकासँग माग्दैनौं । क्षमता हुनेले लुकाउनु भएन । बढी सेवा लिनेले बढी कर तिर्नुपर्छ । यसलाई आउँदो बजेटमा सम्बोधन गर्दैछौं । कतिलाई एकीकृत करको डर छ । कृषि कार्यमा प्रयोग हुने जमीन र वन लगायतमा लाग्ने करमा ९० प्रतिशत छूट दिइएको छ । तर, जमीन अनुत्पादनक राख्नेलाई २ सय प्रतिशत जरीवाना पनि छ । जमीनको अधिकतम उपयोग भए मात्र आम्दानी बढ्छ । नगरवासीले कर नतिरे हामी कोसँग माग्न जाने ? भोलिका दिनमा स्थानीय सरकार आत्मनिर्भर भएन भने सधैं सङ्घ र प्रदेशको पछि लाग्नुपर्छ । यसो भयो भने कहिल्यै विकास हुँदैन । सङ्घ र प्रदेश सरकारसित ठूला योजनाबाहेक अन्य सानातिनाका लागि पैसा माग्न नपरोस् । महानगरले जनताको खुशीका लागि काम गर्ने हो । कर नै तिर्दिन भन्ने हो भने किन विकास र स्तरीय जीवनको आशा गर्ने ? जनताले करको योगदान दिनुपर्छ । विकास र जीवनस्तर उकासिएको अनुभूति हामी दिन्छौं । वीरगञ्जलाई कस्तो विशेषतासहितको शहरको रूपमा विकास गर्ने योजना बनाउनुभएको छ ? वीरगञ्ज आर्थिक र औद्योगिक शहर मात्र नभएर यसले देशलाई नै सेवा दिइरहेको छ । वस्तु र सेवाको आपूर्तिमा वीरगञ्जको लागत कम आउँछ । यही विशेषताकै कारण विभिन्न आन्दोलनमा वीरगञ्जलाई तगारो बनाइयो । यो विशेषतालाई उपयोग गर्नुपर्छ । औद्योगिक र व्यापारिक गतिविधिलाई सहज हुने गरी पूर्वाधार निर्माण गर्छौं । यसलाई मनोरञ्जनको हब पनि बनाउन सकिन्छ । वीरगञ्जबाट पर्यटक भित्रिइरहेका छन् । उनीहरूलाई वीरगञ्जमा कम्तीमा १/२ दिन रोक्न पर्सा निकुञ्ज, गढिमाई, सिम्रौनगढ, बिन्ध्यवासिनी, रामभौरी र भाठाजस्ता ठाउँलाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने योजना छ । वीरगञ्जमा आईसीपी आइसक्यो । सुक्खा बन्दरगाह छँदै छ । यसका पूर्वाधारमा सुधारको खाँचो छ । वीरगञ्ज–काठमाडौं र पूर्वपश्चिम रेलमार्गसँग जोड्ने कुरा आइरहेको छ । यो वीरगञ्जका लागि ठूलो अवसर हो । निजगढ विमानस्थल, द्रुतमार्गजस्ता कुराले वीरगञ्जलाई केन्द्रित गरेको छ । वीरगञ्जलाई सबैभन्दा सस्तो लागतयुक्त कसरी बनाउने ? त्यसमा ध्यान केन्द्रित भएको छ । ग्लोबल इन्फरमेशन सिस्टमबाट ४० हजार घरधुरीको सर्वेक्षण भइसकेको छ । अब सामाजिक डाटा बनाउने काम हुँदै छ । वीरगञ्जको म्यापिङ भइसकेको छ । त्यसबाट उद्योग, व्यापार, आवास, मनोरञ्जन क्षेत्र कता र कसरी बनाउने भन्ने निर्णय लिन सहज हुन्छ । कसले कर तिरेको छ वा छैन ? कस्तो रोजगारी गरेको छ ? कुन क्षेत्रमा कस्तो योजना दिने ? यसमा सहयोगी हुन्छ । यहाँले सिर्सिया कोरिडोरको कुरा पनि उठाउँदै आउनुभएको छ नि ? हो, सिर्सिया कोरिडोरको गुरुयोजना पनि छ । यो काठमाडौंको बाग्मति कोरिडोरको अवधारणामा बनाइनेछ । यसमा करीब १२ अर्ब रुपैयाँको खर्च लाग्न सक्छ । वीरगञ्जमा रिङरोड र बारा–पर्सालाई समेटेर आउटर रिङरोड प्रस्ताव गर्न गइरहेका छौं । मेरो कार्यकालमा ३४ अर्ब रुपैयाँको योजना ल्याउनुपर्ने छ । यसमा योजनाबद्ध ढङ्गले अघि बढ्न परामर्शदाता नियुक्त गर्दै छु । सङ्घ र प्रदेश सरकारका मन्त्रीलाई यो योजनाबारे जानकारी गराइएको छ । सहयोगको प्रतिबद्धता पनि पाएका छौं । सङ्घ सरकार सङ्घीयताप्रति अनुदार बनेको आरोप लागिरहेको छ । तपाईंलाई कस्तो लाग्छ ? अहिलेसम्म प्रदेशको भूमिका खासै देखिएको छैन । सङ्घको बजेटले सङ्घ सरकारलाई स्थानीयसँग सम्पर्कमा रहेर काम गर्न भनेको छ । यो विषय भोलिको दिनमा कसरी उठान हुन्छ, त्यसमा म अहिले टिप्पणी गर्न चाहन्न । तर, संविधानको व्यवस्थाअनुसार सङ्घ, प्रदेश र स्थानीय निकाय चलेनन् भने भोलिका दिनमा सङ्घीयता नै असफल हुन्छ । २६ चैतदेखि खारेज भइसकेका विषयगत कार्यालय आजसम्म किन पुरानै तरिकामा सञ्चालित छन् ? स्थानीय सरकारलाई आजसम्म किन जिम्मा दिइएन ? यहाँ प्रश्नचिह्न नै छ । अहिलेसम्म कर्मचारी आएका छैनन् । आएकालाई काममा लगाउने अवस्था छैन । गाभिएका कार्यालयको सम्पत्ति हस्तान्तरण भएको छैन । कार्यान्वयनको तह स्थानीय सरकार हो । यसै भएर सङ्घीय अर्थमन्त्रीले पनि सांसदको ४ करोड रुपैयाँ हामीमार्फत खर्च गर्ने भन्नुभयो । यदि, यसो हो भने कार्यान्वयनको तहलाई सहजीकरण किन नगरिएको ? तयारी पुगेको देखिन्न । नियतमा हामीलाई आशङ्का छ । नियत सही भएको भए समयमै गृहकार्य हुन्थ्यो । कानून समयमा बनाइन्थ्यो । यस्ता विरोधाभासले चाँडै निकास पाउनेमा आशावादी पनि छौं । स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबीच मनोवैज्ञानिक द्वन्द्वले पनि समस्या छ भनिन्छ, तपाईंको भोगाइ कस्तो छ ? जनप्रतिनिधिले नीति निर्माण र कार्यान्वयनमा सहजीकरण गर्ने हो । कार्यान्वयनको जिम्मा त कर्मचारीको हो । प्रभावकारी कार्यान्वयन कर्मचारीको विभागीय प्रमुखको दक्षतामा भर पर्छ । कमजोरी भए त्यसमा सुधार हुनुपर्छ । कर्मचारीका कारण जनताको अपेक्षा पूरा हुन नसक्ने अवस्था आयो भने त्यसको विकल्प खोजिन्छ । सरकारले आवश्यक कर्मचारी दिन सकेको छैन । हामीलाई आवश्यकताअनुसार नियुक्ति गर्ने जिम्मा पनि दिएको छैन । एकातिर सङ्घीयताको अभ्यासमा जनप्रतिनिधिको क्षमता विकास भएको छैन, अर्कातिर आवश्यक कर्मचारी छैनन् । यसले समस्या भएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)