बालस्वास्थ्य राम्रो राख्न पौष्टिक आहार र हेरचाहमा ध्यान दिनुपर्छ
Jun 22, 2018
 
अन्तरवार्ता
सानो उमेरका बालबालिकामा स्वास्थ्यसम्बन्धी चेतना नहुने र हिलो, धूलो माटोमा स्वतन्त्र रूपमा खेल्न रुचाउने भएकाले उनीहरूलाई निमोनियालगायत रोगले चाँडै सताउँछ । गर्भवती र सुत्केरी स्याहारले पनि बाल स्वास्थ्यमा प्रत्यक्ष भूमिका निर्वाह गर्छ । देवदह मेडिकल कलेज, रूपन्देहीका बालरोग विशेषज्ञ डा. अनिता लामिछाने बालबालिकाको स्वास्थ्यप्रति अभिभावक सचेत रहे अस्पताल लगिरहनु नपर्ने बताउँछिन् । प्रस्तुत छ, भारतको असम मेडिकल कलेजबाट एमबीबीएस र पाकिस्तानको शेखजायद मेडिकल कलेजबाट बालरोग विषयमा एमडी गरेकी डा. लामिछानेसँग बालरोग, स्वास्थ्योपचार लगायत विषयमा आर्थिक अभियानका रञ्जु काफ्लेले गरेको कुराकानीको सार :दैनिक कति बिरामीको स्वास्थ्य परीक्षण गर्नुहुन्छ ?
देवदह मेडिकल कलेजका विद्यार्थीलाई पठनपाठनमा सहयोग गर्दै म ओपीडीमा दैनिक १५ देखि २० जना बिरामीको स्वास्थ्य परीक्षण गर्छु । हामीकहाँ बिरामीको बढी नै चाप हुने गर्छ ।
मुख्यगरी कस्ता विरामी स्वास्थ्य परीक्षणका लागि आउँछन् ?
हामीले मातृशिशु स्याहार तथा स्वास्थ्य सेवा दिने भएकाले त्यसै किसिमका बिरामी बढी मात्रामा आउनुहुन्छ । गर्भवती महिला, भर्खर जन्मेका तथा सानो उमेरका बच्चालाई हामी स्वास्थ्य परीक्षणको सेवा दिन्छौं । समस्यालाई आधार मान्ने हो भने भर्खर शिशु जन्मनेबित्तिकै नरुने, आमाको पेटमा दिसा खाएर श्वास फेर्न गाह्रो हुने, निमोनिया, मृगी, दम, मस्तिष्क ज्वरो आएका समस्या भएका, फोक्सोमा पानी जम्ने, रगतको कमी भएका र अन्य प्रकृतिको स्वास्थ्य समस्या लिएर बिरामी आउनुहुन्छ । हामीले त्यसैअनुरूप बाल रोगसम्बन्धी सम्पूर्ण समस्या÷रोगको निदान र गुणस्तरीय उपचार सेवा दिएका छौं ।
शिशुहरूमा कस्ता स्वास्थ्य समस्या बढी देखिन्छ ?
बालबालिकाहरू हिलो, धूलोमा खेल्ने र जे पायो त्यही खाने भएकाले उनीहरूलाई छिट्टै रोगले आक्रमण गर्छ । मौसमको परिवर्तनले पनि बालबालिकामा विभिन्न खालका समस्या देखिन्छ । त्यसैले, अभिभावक नै बाल स्वास्थ्यप्रति बढी सजग र संवेदनशील हुनुपर्छ । बालबालिकाको श्वासप्रश्वास नलीमा समस्या देखिने, नाक तथा घाँटीमा एलर्जी हुने, तुरुन्तै ज्वरो आउने, निमोनिया हुने, पिनाश पर्ने जस्ता समस्या हुने गर्छ ।
त्यसैगरी ब्याक्टेरियल फूड पोइजनिङ, झाडापखाला, केराटिटिस, कञ्जक्टिभ्स, छालामा एक्जिम, अर्टिकेरिया जस्ता समस्या पनि देखापर्छ । बालबालिकालाई पर्याप्त सरसफाइ भएन भने लुतो र इमपेटिगो हुन्छ ।
के कारण त्यस्ता समस्या दखिन्छन् ?
एक त बालबालिकामा स्वास्थ्य सचेतना कम हुन्छ, अर्काे बालबालिका जहाँ पायो त्यही खेल्ने र खाने गर्छन् । त्यसैले, उनीहरूमा स्वास्थ्य समस्या बढी देखिन्छ । त्यसबाहेक बालबालिकामा रोगसँग लड्ने प्रतिरोधी क्षमता पनि कम हुन्छ । यी सबै कारण बालबालिकामा स्वास्थ्य समस्या आउँछ ।
बच्चालाई स्वस्थ राख्न के के गर्न सकिन्छ ?
बालबालिकालाई सुरक्षित राख्न न्यानो लुगा लगाइदिने, शरीर सफा राख्ने, पानी, धूँवा र धूलोमा धेरै बेरसम्म जान नदिने, बाहिर हिँड्दा फ्रेश मास्क लगाइदिने, सकेसम्म उमालेको पानी पिलाउने, राति सुत्दा पसिना आउनेगरी लुगा नलगाइदिने, सुत्नुअघि बच्चाको नाकमुख सफा गरिदिने, झाडापखाला लाग्दा जीवनजल खुवाउने र समय समयमा चिकित्सकको परामर्श लिने गर्न सकिन्छ ।
बालस्वास्थ्यबारे कसरी थाहा पाउने ?
बालबालिकाको समस्या अभिभावकले थाहा पाएर उपचार वा स्याहार गर्ने हो । अधिकांश समय बालबालिका अभिभावकसँग हुन्छन् । त्यसैले, उनीहरूको स्वाभाविक–अस्वभाविक गतिविधिबाटै समस्या भए÷नभएको थाहा पाउन सकिन्छ । उनीहरूमा रोगका लक्षण पनि फरक हुन्छन् ।
उमेर समूह विशेषका रोग छन् कि !
उमेर समूहअनुसार धेरै किसिमका फरक रोग हुन्छन् । सबैलाई सानो संवादमा उल्लेख गर्न सम्भव छैन । सामान्यतया ५ वर्षमुनिका बालबालिकालाई ब्रोन्काइटिस, निमोनिया, ज्वरो, मूत्र नलीको सङ्क्रमण, नेफ्रिटिस, नेफ्रोटिक सिण्ड्रोम, मस्तिष्क ज्वरो, टाइफाइड र हेपाटाइटिसको जोखीम बढी हुन्छ ।
यस्ता स्वास्थ्य समस्या हुँदा सबै बच्चालाई उत्तिकै असर गर्छ ?
होइन । सबै बालबालिकालाई स्वास्थ्य समस्या आएपछि उत्तिकै असर हुँदैन । बालबालिकामा रहेको रोगविरुद्ध लड्ने क्षमताअनुसार असर हुने हो । बालस्वास्थ्य राम्रो राख्न पौष्टिक आहार र हेरचाह राम्रो हुनुपर्छ ।
बालबालिकाको उपचारमा के–कस्ता प्रविधि प्रयोग हुने गरेका छन् ?
रोगको प्रकृति र प्रकारअनुसार नै प्रविधिको प्रयोग निर्धारण हुन्छ । बालबालिकाको उपचारमा धेरै प्रकारका प्रविधि प्रयोग हुने गरेका छन् ।
धेरै बालबालिकालाई किन निमोनियाले दुःख दिन्छ ?
हो । ५ वर्षमुनिका बालबालिकामा निमोनियाको सङ्क्रमण बढी देखिन्छ । निमोनिया ब्याक्टेरिया वा भाइरसको कारण हुन्छ । प्रतिरक्षा क्षमता कम हुने भएकाले उनीहरूलाई निमोनियाले बढी सताउँछ । सङ्क्रमण भएपछि ब्याक्टेरियाका जीवाणु र भाइरसले निमोनिया बनाउँछ ।
निमोनिया भएका बच्चाले समयमा उपचार नपाए दम, मुटुरोगले आक्रमण गर्छ भनिन्छ नि !
हो । निमोनियालाई तत्काल उपचार गरिएन भने त्यसले अन्य धेरै रोग निम्त्याउँछ । साथै, शरीरका अन्य अङ्ग–प्रत्यङ्गमा पनि नकारात्मक असर गर्छ । मुख्यगरी चिसो र फोहोरले निमोनियाको सङ्क्रमण निम्त्याउने भएकाले बालबालिकालाई दम र मुटुको रोग लाग्न सक्छ । त्यति मात्र होइन, अन्य धेरै स्वास्थ्य समस्या देखिन्छ । फोक्सोमा सङ्क्रमण भएपछि त्यहाँ पानी जम्ने, श्वासप्रश्वासमा अफ्ठ्यारो हुने, दम लाग्ने र फोक्सोले विस्तारै काम गर्न छोड्ने समस्या हुन्छ । त्यसैले, बालबालिका वा अन्य कसैलाई निमोनिया हुनु अन्य धेरै रोग निम्तनु हो ।
बच्चाको उपचार सस्तो/महँगो के–कस्तो छ ?
उपचार विधि सस्तो/महँगो भन्नुभन्दा पनि रोग लागेर उपचारका लागि चिकित्सककोमा जाने अवस्था आउन नदिनु राम्रो हो । त्यसैले, बालबालिकालाई पौष्टिक तत्त्व पर्याप्त खुवाउने, सरसफाइमा सचेत हुने र केही अस्वाभाविक लक्षण देखिए चिकित्सककोमा जाने, सरसल्लाह लिने गर्नुपर्छ । अभिभावक संवेदनशील बनेमा बालबालिकामा स्वास्थ्य समस्या आउँदैनन् ।
बालबालिकालाई टन्सिल हुने र तुरुन्त उपचार गर्न नभ्याए मुटुको रोग लाग्छ भनिन्छ नि !
निमोनियाजस्तै टन्सिल पनि चिसोकै कारण हुन्छ । अभिभावकहरू आफ्ना बच्चा हिलो चिसो ठाउँमा नजाऊन्, खेल्ने ठाउँ सफा होस् भन्नेमा सचेत हुने हो भने यस्तो समस्या आउन पाउँदैन । हेलचक्र्याइँ गर्ने र बालबालिकामा कम ध्यान दिने हो भने सबै खालका समस्या देखिन्छ ।
अभिभावकले ध्यान दिनुपर्ने अन्य विषय के के हुन् ?
आफ्ना बालबालिकाको आहारामा पर्याप्त पौष्टिक तत्त्व होस् भन्नेमा सजग रहने, घरमा बनेका स्वस्थकर खानेकुरा खुवाउने, खानामा नियमित रूपमा मौसमी फलफूल समेट्ने, राष्ट्रिय तालिकाअनुसार नियमित रूपले खोप लगाउने हो भने बालबालिकालाई धेरै हदसम्म स्वस्थ राख्न सकिन्छ । बालबालिकालाई रोटाभाइरस, इन्फ्लुएञ्जा, दादुराको खोप, एमएमआर, टायफोइड र हेटेटाइटिसविरुद्धका खोप मात्राअनुसार लगाउनुपर्छ ।