ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दमले मुटु, मिर्गौला र दिमागको रोग निम्त्याउँछ

Jun 29, 2018  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
नेपालमा विकास निर्माणका कारण बाटो खन्ने–भत्काउने क्रम चलिरहेकाले धूलोे सामान्यझैं लाग्छ । गाउँघरमा परम्परागत चुल्होमा खाना पकाइने हुँदा धूँवा पनि कुनै समस्या हो जस्तो लाग्दैन । तर, सामान्यझैं लाग्ने धूलोे–धूँवाले नेपाली जनतालाई विस्तारै दम रोगतिर धकेलिरहेको डा. सुमिता चोलेखो बताउँछिन् । उनका अनुसार दमकै कारण कारण मुटु, मिर्गौला र फोक्सोको रोगसमेत निम्तन्छ । प्रस्तुत छ, भक्तपुर नगरपालिकाद्वारा छिट्टै ख्वप अस्पतालमा रूपान्तरण गर्न लागिएको जनस्वास्थ्य सेवाकेन्द्रमा ६ वर्षदेखि कार्यरत डा. चोलेखोसँग दम रोग, लक्षण, उपचारलगायत विषयमा रहेर आर्थिक अभियानका पूर्णभक्त दुवालले गरेको कुराकानीको सम्पादित अंश : दम रोग के हो ? दम श्वासप्रश्वाससम्बन्धी रोग हो । यसले छातीका नसालाई कडा बनाउनुका साथै श्वास फेर्न गाह्रो पारिदिन्छ । फोक्सोको श्वासनलीमा आएको सङ्कुचनका कारण श्वासप्रश्वासमा हुने कठिनाइ, श्वास फुल्ने समस्या र श्वासप्रश्वासमा तीव्रता आउनु नै दम रोग लाग्नु हो । यो रोग लागिसकेपछि निको हुँदैन । यसलाई नियन्त्रणमा मात्र राख्न सकिन्छ । यो रोग दीर्घ रोग हो । यो रोग के कारण लाग्छ ? यो रोग लाग्नुको पहिलो कारण धूमपान हो । लगातार रूपमा धूमपान गर्नेलाई यो रोगले छिट्टै समात्छ । दम लाग्नुको अर्को कारण वंशानुगत हुने गर्छ । यसैगरी वातावरणीय प्रतिकूलताको कारण अर्थात् धूलोे, धूँवा र चिसोका कारण पनि दम रोग लाग्छ । तनावले पनि दम बढाउँछ । साथै, भाइरल सङ्क्रमणले पनि सुषुप्त रूपमा रहेको दमलाई बढाइदिन्छ । यो रोगका लक्षण के के हुन् ? दमका बिरामीलाई श्वास फेर्न गाह्रो हुन थाल्छ । खोकी लाग्छ र खोकीसँगै खकार पनि आउँछ । दमको समस्या राति वा बिहानीपख वा धूवाँ–धूलोको सम्पर्कमा आएको बेला देखिन्छ । साथै, रुघाखोकी वा भाइरल इन्फेक्शन भएको अवस्थामा पनि दम जटिल बन्दै जान्छ । श्वास फेर्दा छातीबाट घ्यार–घ्यार आवाज आउने गर्छ रोग जटिल हुँदै गएपछि दिनहुँ जस्तो समस्या आइपर्छ । यसैगरी खोकी र श्वास फेर्दा सुसेल्न खोजे जस्तो आवाज आउन सक्छ । सुक्खा खोकीको समस्या दिउँसोमा भन्दा बिहान र साँझ बितेपछि बढ्दो देखिन्छ । दम एलर्जीको कारणबाट हुने भएकाले बिरामीलाई रुघा लागिरहने, शरीर चिलाउने र हाच्छ्युँ आइरहने पनि हुन सक्छ । चिकित्सकले दमको रोगी भनेर कसरी पहिल्याउँछन् त ? दमको रोगसँग लक्षण मिलेपछि बच्चाहरूको पेट छामेर हेर्ने र वयस्कको छाती परीक्षण गरिन्छ । १ मिनेटमा छाती १८ पटकभन्दा बढी फुल्यो भने दमको आशङ्का गरिन्छ । २२ देखि २४ पटक फुल्यो भने दम भएको पुष्टि हुन्छ । साथै, दमका रोगीको खुट्टा सुन्निएको हुन्छ । शरीरमा अक्सिजन नपुगेर हात नीलो हुन्छ । यस्तो बेला बिरामीलाई छाती कस्सिए जस्तो वा केही कुराले थिचिराखे जस्तो हुनुका साथै लामो श्वास तान्न खोज्दा र श्वास फाल्न खोज्दा बढ्ता गाह्रो हुन्छ । दम भएको कसरी थाहा पाउने ? यो रोगको मुख्य लक्षण नै स्वाँ–स्वाँ बढ्नु हो । खासगरी दमका बिरामीलाई श्वास लिनभन्दा बाहिर फ्ँयाक्दा स्वाँ स्वाँ आवाज आउँछ । रोगीले राम्ररी श्वास फेर्न सकेन भने उसको शरीर नीलो हुन थाल्छ । ओठबाट यसको राम्ररी पहिचान गर्न सकिन्छ । त्यस्तै, गर्दनको नसा फुल्न थाल्छ । धेरै धपेडी गर्दा, भर्‍याङ चढ्दा, दुई–चार कदम हिँड्दा, कुराकानी गर्दा, चुपचाप बस्दा वा लम्पसार परेर सुत्दा वा उठेर बस्दा पनि दम आउँछ कि आउँदैन होश गर्नुपर्दछ । चुपचाप बस्दा पनि दम आउनु दमको निकै खतरा अवस्था मान्नुपर्दछ । यो रोग बाल्यकालदेखि नै हुन सक्छ । जवान वा वृद्धले त आफूलाई श्वास फेर्न अठ्यारो भएको भन्न सक्छन् । तर, बच्चाले सक्दैनन् । यस कारण बच्चाको श्वास फेराइमा ध्यान दिनुपर्छ । उनीहरूलाई दमले च्यापेको छ भने श्वास फेर्दा घ्यारघ्यार हुन्छ । तर, दमले धेरै च्यापेको छ भने श्वास फेरेको आवाज नै सुनिँदैन । बालकको पूरै शरीर नीलो हुन्छ, छटपटाउँछ तथा चिटचिट पसिना काढ्छ । दमले च्यापेको बेलामा के गर्ने ? १. दमले च्यापेको बेलामा बिरामीलाई खुला ठाउँमा कुर्सी वा खाटमा बसाएर राख्नुपर्छ । यसो गर्दा बिरामीलाई सजिलो पर्छ । २. रोगीलाई केही पनि हुँदैन भनेर ढाडस दिनुपर्छ । किनकि, चिन्ता र डरले स्वाँ–स्वाँ झन् बढ्छ । ३. तातोपानी, सूप जस्ता तरल पदार्थ खुवाउनुपर्छ । सकेसम्म उम्लिरहेको पानीको बाफ लिन लगाउनुपर्छ । किनकि, बाफले श्वासनलीमा जमेको खकारलाई पातलो बनाइदिन्छ र बाहिर फाल्न सजिलो पार्छ । ४. यसपछि बिरामीलाई अस्पताल वा स्वास्थ्य चौकीमा जँचाउन लैजानुपर्छ । दमको उपचार कसरी गर्ने ? आजभोलि दमरोगका धेरै प्रकारका औषधि पाइन्छन् । ती औषधिले दमलाई नियन्त्रणमा सकिन्छ । तर, यी औषधि एकाएक खान बन्द गर्नु हुँदैन । यसो गर्दा दम झन् बढ्छ । बिरामीको ज्यानै जान पनि सक्छ । यस कारण डाक्टरको सल्लाहबमोजिम नियमित रूपले औषधि खानुपर्छ । कसैकसैलाई एउटा खालको औषधिले काम गरेको हुन्छ भने कसैलाई दुई–चार किसिमका औषधि एकसाथ खानुपर्ने हुन्छ । दमका औषधि एक/दुई हप्ता खाएर बन्द गर्ने खालका हुँदैनन् । लामो समयसम्म खानुपर्ने खालका हुन्छन् । औषधि खान बिर्सने, डाक्टरको सल्लाहविना खाने वा खानै छाड्ने गर्नु हुँदैन । यसो गर्दा रोगले झन् बढी च्याप्छ । झन् कहिलेकाहीँ त औषधि खाइरहेको बेला पनि समस्या बढ्न सक्छ । यस्तो बेला बिरामीलाई तुरुन्त स्वास्थ्यचौकी तथा डाक्टरकहाँ लगिहाल्नुपर्छ । झन् राम्रो कुरा त के हो भने, दमका रोगीले कुनै शिकायत नहुँदा पनि बेला बेला डाक्टरको सल्लाह लिनुपर्छ । दमका रोगीलाई शुरूशुरूमा फोक्सोको नसा सहज बनाउन साल्बुटामोल दिए पुग्छ । यसैगरी ब्रोन्क्योडाइलटसले श्वास फेर्न सजिलो र खुम्चेको नसा फुलाउन सहयोग पुर्‍याउँछ । डाक्टरहरूले दमको कडाखाले औषधि (कर्टिकोस्टे–वाइड) सकेसम्म दिँदैनन् । यो खान थालेपछि नियमित खानुपर्छ । अर्को, यो औषधिले काम नगरे पनि एकाएक छोड्नु हुँदैन । विस्तारै मात्रा कम गर्दै बन्द गर्नुपर्छ । कसरी बन्द गर्ने हो, त्यो तरीका सम्बन्धित डाक्टरबाट राम्ररी बुझ्नुपर्छ । दम लागेकाले के के गर्नुपर्छ ? १. चुरोट, तमाखु, बिँडी आदि सेवन गर्नेहरूलाई खोकी लागिरहने, खकार धेरै आउने र विस्तारै स्वाँ स्वाँ आउने दीर्घ खोकी (क्रोनिक ब्रोङ्काइटिस) लाग्ने समस्या हुन्छ । धूमपान गर्नेहरूमा दमको रोग २० गुणा बढी, फोक्सो क्यान्सर ३० गुण बढी हुने तथा ग्याष्ट्रिक÷अल्सर हुने सम्भावना बढी हुन्छ । २. दमको रोगीले चिसो, धूलोे, धूवाँ र खारबाट बच्नुपर्छ । यस्तो बचाउ कपडाले नाकमुख छोपेर गर्न सकिन्छ । घरको कोठा तथा भान्छाघरमा राम्ररी हावा ओहोर–दोहोर हुन सक्ने झ्यालको व्यवस्था हुनुपर्छ । ३. दमका रोगीहरूले तातोपानीको बाफ लिँदा निकै फाइदा हुन्छ । तातोपानी, चिया, सूप जस्ता तातो झोलले पनि दम तथा खोकी लागेका बिरामीलाई फाइदा गर्दछ । चिसोबाट बच्न घाम नलागेसम्म (कुइरो, हुस्सु लाग्दा) बाहिर नजाने, साँझ चाँडै घर फर्कने गर्नुपर्छ । ४. लामो श्वास लिने, जतिसक्यो चाँडो श्वास बाहिर फेर्ने र श्वास–प्रश्वाससम्बन्धी व्यायामले पनि दमका रोगीलाई फाइदा हुन्छ । बेलुन फुक्ने, शङ्ख बजाउने गर्दा श्वासनली बलिया हुन्छन् र यी नली खुम्चेर (ब्रोक्रोस्पाज्म) हुने स्वाँ स्वाँ कम हुन्छ । ५. दमका रोगीले आफ्नो खकारको रङ कस्तो छ, ख्याल गर्नुपर्छ । खकारको रङ पहेँलो, खैरो, कालो भएमा कीटाणुको सङ्क्रमण भएको बुझेर डाक्टरले सुझाएको औषधि खानुपर्दछ । रुघा लागेपछि तुरुन्त उपचार गराउनुपर्दछ । ६. हातगोडा, ओठ, जिब्रो नीलो छ कि छैन भनेर दमका रोगी तथा आफन्तहरूले होश गर्नुपर्दछ । जिब्रो नीलो भए रगतमा अक्सिजनको मात्रा निकै कम भएको थाहा हुन्छ । त्यसैले, जिब्रो नीलो भएपछि तुरुन्त अक्सिजन दिनुपर्ने हुन्छ । धेरै स्वाँ स्वाँ आउँदा तथा जिब्रो नीलो हुँदा आवश्यकताअनुसार अक्सिजन सुँघाउन सकिन्छ । यो काम स्वास्थ्य कार्यकर्ताको सहयोग लिएर मात्र गर्नुपर्छ । आफै जान्ने भएर लिन वा दिन हुँदैन । धेरै मात्रामा प्राणवायु अक्सिजन लिएमा रगतमा धेरै भइराखेको कार्बन डाइअक्साइड एकाएक निकै कम भएर श्वास प्रश्वास प्रक्रिया नै बन्द हुन सक्छ । यसबाट बिरामीको ज्यानसमेत जान सक्छ । ७. दमका रोगीहरूले आफ्नो गोडा सुन्निएको छ कि छैन, ध्यान दिनुपर्दछ । गोडा फुल्नु, पिसाब कम हुनु, पेट पोल्नु, गर्दनको रगतको नली फुल्नु आदि लक्षण देखिनु मुटुले काम गर्न नसकेको (करपोलमोनाल इनफेलर) सङ्केत हो । यो अवस्था निकै खतरनाक भएकाले बिरामीलाई तुरुन्त अस्पताल लगेर विशेष उपचार गराउनुपर्दछ । ८. दमका रोगीको रगतमा अक्सिजन कम भएपछि हेमोग्लोबिन (राता रक्तकोष) बढ्न थाल्छ । यो तत्त्व बढेपछि बिरामीको रगत निकै बाक्लो (सेकेण्डरी पोलिसाइथिमिया) हुने र रक्तसञ्चार ढिलो भएर अन्य समस्या पनि आउँछ । ९. दमका रोगीलाई पेट पोल्ने र दुख्ने ग¥यो भने अमिलो–पीरो खान र भोकै बस्न पनि हुँदैन । १०. दमका रोगी कसै–कसैमा भने दिमागसम्बन्धी गडबडी पनि हुन सक्छ । यस्तो गडबढी रगतमा अक्सिजनको कमी भएर वा दमको औषधि (कर्टिकोस्टे–वाइड)को असरले रहेछ भने औषधि फेर्नुपर्छ । ११. बालबच्चामा खोकी, लहरे खोकी, निमोनिया, क्षयरोग आदि लाग्दा, दादुरा आउँदा राम्रो उपचार नभएमा यसले पछि दमको रोग जन्माउन सक्छ । त्यसैले, यी रोगहरुको राम्रो उपचार गराउनुपर्दछ । दमले अन्य के के रोग ल्याउँछ ? दमको रोकथाम गरिएन भने मुटुमा असर गर्छ । बिरामीको राइट हार्ट फेलर हुन्छ । फोक्सोले राम्रोसँग काम गर्न सक्दैन, जसले गर्दा मुुटुलाई प्रेशर पर्छ । यही कारण मुटुको मासु सुन्निनुका साथै आकार बढ्न थाल्छ । यसपछि मुटुले राम्रोसँग काम गर्न सक्दैन र राइट हार्ट फेलर हुन्छ । विस्तारै मुटुका चारओटै भागमा असर परेर हृदयाघात हुने जोखीम बढ्छ । फोक्साले अक्सिजन प्रवाह गर्न नसक्दा किड्नीले पनि काम गर्न सक्दैन । राम्रोसँग श्वास फेर्न नसकेपछि कार्बनडाइअक्साइड फाल्न कठिन हुन्छ । यही कारण दिमागले पनि काम गर्न नसक्ने अवस्था आउँछ । दमको उपचार कसरी गरिन्छ ? दमलाई निर्मूल पार्न नसके पनि समयमै पत्ता लागेमा नियन्त्रण भने गर्न सकिन्छ । दमका बिरामीलाई दमले आक्रमण नगरोस् भन्ने उद्देश्य पनि दमको उपचारमा हुन्छ । दमका बिरामीको उपचारमा ‘इन्हेलर’ विधि पनि अपनाइन्छ । यस विधिमा औषधिलाई यन्त्रको मद्दतले सीधै फोक्सोसम्म पुर्‍याइन्छ । मुखबाट खाइने औषधिको कम मात्रा मात्रै रक्तसञ्चारमा पुग्ने र शरीरका सबै भागमा पुग्ने भएकाले ‘साइड इफेक्ट’को सम्भावना बढी हुन्छ । दमका बिरामीले प्रयोग गर्ने ब्रोङ्क्रोडाइलेटर र स्टेरोइड औषधि यो विधिबाट दिने गरिन्छ । दमबाट जोगिन के गर्नुपर्छ त ?
  • धूमपान नगर्ने
  • एलर्जी बढाउने तत्त्वबाट टाढा रहने
  • धूलो र धूवाँबाट बच्ने
  • स्वस्थकर खानपानमा ध्यान दिने
  • भाइरल सङ्क्रमण आदि भएमा समयमै उपचार गर्ने
  • फ्रिजको चिसो खानेकुरा तथा पिउने कुरा नखाने वा कम सेवन गर्ने
  • रक्सी, चिल्लो–पिरो नखाने
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)