ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नीति तथा कार्यक्रममा डाटा सेण्टर बनाउन जोड दिनेछौं

Jul 1, 2018  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
हाल परीक्षणको चरणमा रहेको अनलाइन ट्रेडिङ प्रणाली नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले साउनदेखि सर्वसाधारणको पहुँचमा ल्याउने भन्दै आएको छ । यद्यपि, ब्रोकरहरूले भने यसका लागि आफ्नो सर्भर तयार पार्न करोडौं लाग्ने भएकाले असहज ठान्दै छन् । यही विषयमा केन्द्रीत रहेर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदसँग आर्थिक अभियान राष्ट्रिय दैनिककी संवाददाता ममता थापाले गरेको कुराकानीको सार : केही अघि तपाई नेप्सेको प्रमुख कार्यकारी अधिकृत भएदेखि हालसम्म भएका महत्त्वपूर्ण परिवर्तन भनेर के–के लाई मान्ने ? म यहाँ आएको एक सातामै विकास बैङ्क र लघुवीत्त कम्पनीको सव–इण्डेक्स छुट्ट्याउने काम भयो । यसपछि नागरिक लगानी कोष र वित्तीय संस्थाको सव–इण्डेक्स छुट्ट्यायौं । भर्खरै जीवन बीमा र निर्जीवन बीमा कम्पनीका सव–इण्डेक्स पनि छुट्ट्याएका छौं तर त्यो बजारमा आउन भने अझै ९÷१० दिन लाग्छ । त्यस्तै कारोबारसँग सम्बन्धित विनियमावलीहरू पुरानो भएका थिए । यता बजार भने आउटक्राई प्रणालीबाट सेमी अटोमेशनमा गइसकेको तर ऐननियम पुरानै थिए । ती ऐन नियम परिमार्जनको प्रक्रिया शुरू भयो । मार्जिन ट्रेडिङको विनियमावली मस्यौदा गरेर नेपाल धितोपत्र बोर्ड (सेवोन)मा पठायौं । यससँगै अहिले राइट रिनाउन्स(हकप्रद शेयर किन्ने हक विक्री) गर्ने कार्यविधि पनि मस्यौदा गरेर सेवोनमा पठाएका छौं । यो कानूनमा गर्नुपर्ने अत्यावश्यक परिवर्तन हो । नेप्सेको कार्यशैली हेरी केही जनशक्तिलाई आन्तरिक रूपमा सही ठाउँमा सार्ने काम गरेका छौं । हुन त यो निरन्तर चलिरहन्छ । हामीसँग भएको जनशक्तिलाई समयसापेक्ष तथा चलायमान बनाउन ‘एचआर कन्सल्टेन्सी’ लिएर काम गर्दै छौं । बजारमा दुई/तीन जनाको समूह बनाउँदै लगानीकर्ता समूह भन्दै आउने गरेकोमा वास्तविक लगानीकर्ता समूहको पहिचान गर्‍यौं र अहिले पूँजीबजारमा केही निर्णय तथा काम गर्नुपरेमा त्यस्ता आधिकारिक समूहका प्रतिनिधिसँग मात्र छलफल गर्न थालेका छौं । यस्तै, बेला बेलामा विभिन्न विज्ञको आवश्यकता पर्ने भएकाले बजारमा रहेका विज्ञको रोष्टर तयार पारेका छौं । डेरिभेटिभ बजार, ओभर दी काउण्टर बजार, साना तथा मझौला उद्योग (एसएमई) लगायतलाई अगाडि बढाउन करीब ३० जनाभन्दा बढी विज्ञ छनोट गरेका छौं । यस्तै, अहिले चर्चामा रहेको अनलाइन ट्रेडिङ बनाउने प्रक्रियामा मैले प्रवेश गर्दा १६ ओटा मोडुलमध्ये ५ ओटा मात्र बनेका थिए । यसका लागि सम्झौता भएको भेण्डर वाईको कम्पनीले निर्धारित समयभित्र बनाउन नसक्ने भएकाले समय थप्न अनुरोध गरेको थियो । तर, मैले उनीहरूलाई सम्झौताअनुसार बनाइदिन आग्रह गरेँ । यसका लागि नेप्सेले अहोरात्र खटेर भए पनि सहयोग गर्ने सहमति ग¥यो र अहिले तोकेकै समयमा ल्याउन सकेका छौं । दीर्घ प्रतीक्षित अनलाइन प्रणालीको गत जेठदेखि नै परीक्षण शुरू भइसकेको छ । यसको प्रगति अहिलेसम्म कस्तो छ ? अहिले नेप्सेभित्र र पाँचओटा ब्रोकरमार्फत परीक्षण भइरहेको छ । यसबारे लगानीकर्ताबाट राम्रा प्रतिक्रिया आउन थालेका छन् । अब यसको परीक्षण ब्रोकर कम्पनीबाहेक विशेषज्ञ कम्पनीबाट समेत हुँदै छ । अनलाइन प्रणालीको यूजर एसेप्टेन्स टेष्ट (यूएटी) गर्न भारतका दुई विशेषज्ञ कम्पनी छानिएका छन् । तीमध्ये एउटालाई यसको जिम्मा दिन्छौं । नेप्सेले वाईको कम्पनीलाई जुन प्रतिक्रिया दिएको हो त्यही प्रतिक्रिया बजारबाट पनि आएको छ । परीक्षणको क्रममा शेयर सङ्ख्या र नाममा तलमाथि पर्ने गरेको समस्याबारे गुनासो आएको थियो । यसबारे नेप्सेले सच्याउन भेण्डर कम्पनीलाई पनि सुझाएको छ । त्यहीअनुसार सबै सकारात्मक नै रहेको छ । हालसम्म कतिओटा ब्रोकर कम्पनीले सफ्टवेयर जडान गरिसकेका छन् ? हामीले ५०ओटै ब्रोकरलाई यो प्रणालीमा ल्याउन भौतिक पूर्वाधारको तयारी गर्नुपर्नेबारे जानकारी दिइसकेका छौं । यसबारे बजारमा धेरैको बुझाइ फरक रह्यो र सञ्चारमाध्यममा समेत मतमतान्तरका समाचार आए । लगानीकर्ताका लागि नभई नहुने अनलाइन प्रणालीमा उनीहरूको तथ्याङ्क सुरक्षित हुने गरी सुविधा दिनुपर्छ । यसमा तीनओटा मोडालिटी दिएका छौं । पहिलो, आफै पूर्वाधार तयार गर्ने हो भने जस्तोसुकै विपत्को अवस्थामा पनि तथ्याङ्क सुरक्षित राख्नुपर्छ र इण्टरनेटको स्पिड छिटो गर्नुपर्छ । दोस्रो, अहिले करीब १२ लाखको हाराहारीमा लगानीकर्ता छन् । प्रत्येक वर्ष १०/१२ प्रतिशतको हाराहारीमा बढ्ने सम्भावना रहेकाले लाखौं लगानीकर्ताको भिडमा काम गर्न दूरदृष्टिअनुरूप कम्तीमा ५/७ वर्षसम्म सोही पूर्वाधारले काम गरोस् भन्नका लागि बढी क्षमताको सर्भर राख्न भनेका छौं । तेस्रो, ब्रोकर कम्पनीले सर्भर बनाउन लगानी गर्न नसक्ने हो भने डाटा सेण्टरबाट भाडामा लिन सकिने जानकारी गराएका छौं । ब्रोकर सङ्घमार्फत कम्पनीहरू आफैले सुरक्षित हुने डाटा सेण्टर छान्न सक्छन् तर त्यसको स्थायीत्वबारे हेरेर हाम्रो आईटी शाखाले सही ठहर्‍याएमा मात्र अनुमति दिन्छौं । अनलाइन प्रणाली सञ्चालनका लागि सफ्टवेयर जडान गर्न करोडौं रुपैयाँ लगानी गर्नुपर्छ भन्ने सुनिन्छ । सबै ब्रोकर कम्पनीले यसको व्यवस्थापन गर्न सक्लान् त ? जसले करोडौं लगानी गर्न सक्छ, उसले आफ्नो सफ्टवेयर किनेर राख्न सक्ने भयो । जसले किन्न सक्दैन, उसले डाटा सेण्टरबाट सेवा लिएर मासिक भाडा तिरेपनि काम गर्न सक्छ । कतिपय ब्रोकरले महीनामा २५ हजार भाडा तिरेर गर्ने भनेका छन् । हामीले यही गर्नुपर्छ भनेका पनि छैनौं । ब्रोकरहरूको धेरै खर्च गराउने हाम्रो इच्छा होइन तर सुरक्षित डाटा हुने गरी अनलाइन सिष्टम बनाउन पाउनुपर्‍यो । साउन १ गतेदेखि पूर्ण सञ्चालनमा ल्याउने भनिएको अनलाइन प्रणाली तोकिएकै मितिमा आउनेमा कत्तिको ढुक्क हुनुहुन्छ ? यसका आधार के के छन् ? साउन १ गतेदेखि लगानीकर्ताले नयाँ अनलाइन सिष्टम प्रयोग गर्न पक्का पाउँछन् । त्यसको प्राविधिक काम अर्थात् यूएटी (यूजर एसेप्टेन्स टेष्ट) सकिएपछि हालको पुरानो प्रणाली छोड्छौं र पूरै नयाँ प्रणाली राख्छौं । यो काम हामीले सीडीएस एण्ड क्लियरिङ हाउसमा पनि अभ्यास गरिसकेका छौं । पुरानो प्रणालीलाई पनि फाल्न चाहिँ फाल्दैनौं । साउनको शुरूमै प्रयोग गर्नका लागि अब हामी नयाँ प्रणालीलाई ब्रोकरमार्फत बजारमा छोड्छौं । हरेक ब्रोकरमा नेप्से पुग्छ । हामी विशेषज्ञ टोलीद्वारा परीक्षणका लागि यूएटी गर्दै छौं । समानान्तर रूपमा दुवै प्रणाली लैजान्छौं । यसपछि नेपालका र विदेशमा बसेका लगानीकर्ताको नेपालमा बैङ्क खाता, डिम्याट खाता छ भने उनीहरूले अनलाइनमार्फत कारोबार गर्र्न पाउनेछन् । केही समयअघि धेरै ब्रोकर कम्पनीले मर्चेण्ट बैङ्कहरूलाई अनलाइनमा शेयर हेर्न मिल्ने व्यवस्था गरेका थिए । तर, धितोपत्र बोर्डले गोपनीयता तथा डाटा सुरक्षामा समस्या देखाउँदै बन्द गर्न लगायो, अब पनि क्लाउडमा राख्ने कुरा आउँदै छ । तसर्थ, धितोपत्र बोर्डले सुरक्षाका विषयमा अवरोध गर्छ कि ? नेप्सेको नयाँ अनलाइन प्रणालीमा पनि बोर्डले त्यस्तै आपत्तिजनक केही देख्ला कि ? हामीले प्रत्येक ब्रोकर कम्पनीमा आईटी राख्नुपर्ने भनेका छौं । डाटा सेण्टरले लिजमै दिए पनि अपरेशन गर्ने अधिकार त्यसलाई हुँदैन, ब्रोकरलाई मात्र हुन्छ । डाटा सेण्टरसँग सहमति गराएर मात्र भाडामा लिने भनिएको छ । हामीले डाटा सुरक्षित गर्न सक्दो सावधानी अपनाउन भनेका छौं । अहिले ब्रोकर कम्पनीलाई तत्काल आफ्नै पूर्वाधार बनाउनोस् भन्दा बढी खर्च भयो, सामर्थ्यले भ्याएन भन्ने गुनासो गर्छन् । यसैले अब हामीले आफ्नै डाटा सेण्टर बनाउन अर्काे वर्षको नीति तथा कार्यक्रममा राख्दै छौं । यसपछि अनलाइन कारोबारका लागि नेप्सेले बनाएको डाटा सेण्टरबाट ब्रोकरहरूले काम गर्न सक्नेछन् । लगानीकर्ताले अनलाइनलाई बजार पुनजीर्वित गर्ने सञ्जीवनी बुटीको रूपमा लिएका छन् । यो प्रणालीले साँच्चै सञ्जीवनी बुटीकै काम गर्ला त ? यो एउटा साधन हो, साध्य होइन । यो आइसकेपछि माग र आपूर्तिमा भएको खाडललार्ई घटाउने काम गर्छ । बाँकी काम लगानीकर्ताको हो । उनीहरूले कम्पनी छान्ने, वित्तीय विवरण तथा बजार हेर्ने र प्रयोग गर्नुपर्छ । अहिले बजारलाई केही व्यक्तिले मनलागि चलाएका छन् भन्ने गुनासो छ । अहिले पनि कुनै संस्था वा व्यक्तिले मात्र बजारलाई घटाउनेबढाउने काम गर्छ भन्ने कुरा सुनिन्छ । अनलाइन सिष्टम आएपछि भने कसैले यस्तो गर्न सक्दैन । अनलाइन ट्रेडिङ आएपछि लगानीकर्ताले सबै किसिमको जानकारी पाउन सक्छन् । पूर्ण स्वचालित अनलाइन प्रणाली भनिएको छ । यसमा हालसम्म कारोबार मात्र भन्ने बुझाइ छ । भुक्तानी प्रणाली, शेयर ट्रान्स्फर, राफसाफलगायतलाई अनलाइन कारोबारले समेट्छ कि समेट्दैन ? नेपाल राष्ट्र बैङ्कले ल्याएको अन्तरबैङ्क भुक्तानी (आईपीएस) प्रणाली हामीसँग छैन । अहिले विद्यमान ऐननियमकै परिधिभित्र रहेर लगानीकर्ताले पैसा भुक्तानी गर्न पाउने, शेयर पाउने र ब्रोकरले त्यसैअनुसार काम गर्नसक्ने वातावरण छ । अहिलेसम्म भनेअनुसार हामीसँग भएका क्लियरिङ बैङ्कमै ब्रोकरको खाता हुनुप¥यो र त्यही बैङ्कमै लगानीकर्ताको पनि खाता हुनुपर्‍यो । यसपछि ब्रोकर र लगानीकर्ताबीच भएको सहमतिअनुसार लगानीकर्ताले चेक काटेर दिनुप¥यो । यसबारे हामीले तयारी गरिसकेका छौं । तर, ब्रोकर र लगानीकर्ताको खाता छुट्टै बैङ्कमा छ भने हुँदैन । किनकि यसमा अन्तरबैङ्क भुक्तानी कारोबार गर्न अधिकार दिइएको छैन । यद्यपि, अब सरकार पनि नगदरहित प्रणालीमा कारोबार गर्ने प्रक्रियामा लागेकाले त्यो पूँजीबजारमा पनि आउन सक्छ । यसो भएमा हामी प्लेटफर्म दिन्छौं । शुरुआती अवस्थामा लगानीकर्ताले क्लियरिङ बैङ्कमा खाता खोलेर अनलाइनबाटै ब्रोकर र लगानीकर्ताको खातामा पैसा पठाउन सकिने व्यवस्था गराउन मिल्छ कि मिल्दैन ? विद्यमान कामूनको परिधिमा रहेर काम गर्ने हो । शुरूमा यसलाई बजारमा ल्याऔं । यसपछि कुनकुन निकायसँग समन्वय गरेर अघि बढ्न सकिन्छ गर्छौं । राष्ट्र बैङ्कसँग अनुरोध गर्नु परे अभ्यासको आधारले गरौंला । अहिलेसम्म करीब २५ प्रतिशत भुक्तानी गरेपछि मात्र अर्डर लिनेदिने गर्नुपर्छ भन्ने छ । केही पैसा ब्रोकरकोमा आइसकेको हुन्छ । अब ब्रोकरबाट मार्जिन लेण्डिङको व्यवस्था लगभग आइसक्यो । यसले पनि केही काम गर्छ । यसमा खासै समस्या आउँदैन जस्तो लाग्छ । ठूला लगानीकर्ताले केही न केही व्यवस्था गरेकै हुन्छ । हामीले आमलगानीकर्ताको हितका लागि भनेर गरेका छौं । ठूलालाई त अहिले पनि समस्या छैन । बेचिसकेपछि शेयर ट्रान्स्फर गर्ने डीएसआईको के व्यवस्था होला ? तुरुन्तै डीएसआई हुँदैन । यो पुरानो प्रणालीअनुसार नै हुन्छ । यसका लागि सीडीएसमा गृहकार्य हुँदै छ । यो सकिनासाथ अनलाइनबाट हुन्छ । यति भएपछि लगानीकर्ताले दोस्रो बजारमा कारोबार गर्दा अनलाइनबाटै रकम लेनदेन गर्न सक्छन् । नेप्सेले थप अरू कुनै प्रणाली पनि भित्र्याउने योजना गरेको छ कि ? अनलाइन प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयन गरिसकेपछि कम्पनी रजिष्ट्रारमा दर्ता भएका कम्पनी सबैलाई ओटीसी बजारमार्फत कारोबार प्रभावकारी बनाउनेतर्फ लाग्छौं । योसँगै पूँजीबजारमा वित्तीय उपकरणहरू : डिवेञ्चर, बोण्ड (ऋणपत्र) र डेरिभेटिभ प्रोडक्टको खरीदविक्रीको पहुँच बढाउन प्लेटफर्म दिन्छौं । यस्तै, बजारमा डिलरको रूपमा काम गर्न आएका केही संस्थासँग पहिलेदेखि छलफल गरेको तर काम भएको छैन । अहिले पूँजीगत लाभकर केमा लाग्ने भनेर मोडालिटी बनाउँदै छौं । यसै मोडालिटीअन्तर्गत सिष्टमले एउटा क्लिक गर्दा हरेक लगानीकर्ताको बायोडाटा, लगानी र कर सबै देखाउने प्रविधि बनाउनेछौं । यसले कर कार्यालय पनि ढुक्क भएर बस्ने वातावरण बन्नेछ । पछिल्लो समय पूँजीगत लाभकर गणनाको विषयमा विवाद सुल्झाउन गठित समितिमा नेप्से पनि छ । कस्तो उपायको सुझाव दिँदै हुनुहुन्छ ? उक्त समितिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यो विषयमा छलफल गरिरहेको छ । अहिले केही प्राविधिक समस्या देखिएका छन् । आयकर ऐनले बोनस र हकप्रद शेयरको मूल्य रू. १ सय गर्न भनेको छ । यसका लागि अन्तरराष्ट्रिय बजारमा जे अभ्यास भइरहेको छ, त्यसैलाई अपनाउनुपर्छ भन्ने हाम्रो भनाइ छ । त्यसका लागि लगानीकर्ताको भावना के छ भनेर पनि बुझ्न आवश्यक छ भनेर सुझाव दिएका छौं । कर लगाउँदा बजारका लागि पनि पाच्य हुनुपर्‍यो । यद्यपि, हामी सरकारी निकाय भएको हुनाले सरकारले बनाएको नीतिनियमको कार्यान्वयन गर्नैप¥यो । भारित औसत मूल्यको आधारमा पूँजीगत लाभकर लगाऊ भन्ने हाम्रो भनाइ हो । यो पुरानै पद्धति हो । पुरानोको आधार मूल्य कम्पनीअनुसार थियो । अब आधारमूल्यमै व्यक्तिगत लगानीकर्ताको लगानीको आधारमा नाफाघाटा के हुन्छ, त्यहीअनुसार पूँजीगत लाभकर लगाउनुपर्छ । त्यस्तै, भारत र पाकिस्तानमा पहिले कारोबार शुल्क लिइँदो रहेछ । त्यसपछि पूँजीगत लाभकरको व्यवस्था भएको थियो । त्यसमा लगानीकर्ताको लगानी कति समयका लागि हो, त्यहीअनुसार समयको आधारमा पनि कर लगाउने व्यवस्था रहेछ । तीमध्ये कुनै एउटा पद्धतिमा हामी जानुपर्छ भनेर छलफल गरिरहेका छौं । यसमा सरकारले निर्णय नगरेसम्म ठ्याक्कै के हुन्छ भनेर भन्न सकिँदैन । नेप्सेले लामो समयदेखि गति लिन नसक्नुको कारण के हो जस्तो लाग्छ ? कुनै बेला २/३ सय बिन्दुको हाराहारीमा पनि त नेप्से आएको थियो । यो बजारको प्रवृत्ति हो । कहिले बढ्न सक्छ भने कहिले घट्न पनि सक्छ । अहिले बजारमा शेयरको आपूर्ति धेरै छ । वाणिज्य बैङ्क १ सयदेखि डेढ सयमा पाइएको अवस्था छ । साथै, कमर्शियल बैङ्कको प्रमोटर शेयर १ सयमा पाइरहेको अवस्था पनि छ । अहिलेका नयाँ लगानीकर्तामा जोसँग पैसा छ, उसैले नै शेयर किनेर बस्ने बेला हो । बैङ्कबाट ऋण लिएर जसले नेप्से परिसूचक १८ सय पुगेको बेला शेयर किनेको थियो, उसले त अहिले बेच्नुप¥यो र घाटा खानुप¥यो । बैङ्कको ब्याज बढेर पनि यस्तो भएको हो । यस्तै, अर्काे कारण नयाँ व्यवसाय र कम्पनीको उदय हुनु पनि हो । स्थानीय सरकार आए पछि पहिले पूँजीबजारमा लागेका मानिस खेती गर्न, सिमेण्ट र छड उद्योग सञ्चालन गर्नतर्फ लागेका छन् । त्यहाँ जाने पैसा पूँजीबजारबाट गएको हो । यसरी व्यावसायिक रूपमा लगनीकर्ताको विविधीकरण आउनु पनि एक कारण हो । त्यहाँ पैसा यही बजारबाट झिकेर गएको हुनाले माग कम हुने नै भयो । पूँजीबजार सम्बद्ध निकायहरूको निर्णय एउटै ढोकाबाट हुनुपर्ने माग लगानीकर्ताबाट आइरहेको छ । यसको अर्थ सम्बद्ध निकायबीच सहकार्य छैन, अधिकार र जिम्मेवारीका क्षेत्र जुधेका छन् भन्ने हुन्छ । यसको समाधानका लागि कस्तो सुझाव दिनुहुन्छ ? बाफिया (बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन) भर्खर आएको छ । पहिला बैङ्क तथा वित्तिय संस्थाले साधारणसभा गरेर राष्ट्र बैङ्कमा जानकारी दिने चलन थियो । बाफियामा साधारणसभा राष्ट्रबैङ्कबाट भएपछि त्यसको स्वीकृति लिनुपर्ने नियम आयो । राष्ट्र बैङ्कबाट यस्तो स्वीकृति लिन केही समय लाग्ने गरेको छ । अहिले राष्ट्र बैङ्कमा कर्मचारीको सङ्ख्या पनि कम हुँदा त्यस्तो समस्या आउनु स्वाभाविक हो । राष्ट्र बैङ्कबाट स्वीकृत लिइसकेपछि कम्पनी रजिष्ट्रारमा लैजाँदा त्यहाँ पनि केही समय लाग्न सक्छ । जसले गर्दा हामीले राखेको नियम कार्यान्वयन गर्न सकिएको छैन । यद्यपि, यसलाई जतिसक्दो चाँडो ल्याउनुपर्छ भन्ने कुरा भएको छ । तर, यो छलफलमै सीमित छ । राष्ट्र बैङ्कमा साधारणसभा सकेको निश्चित दिनमा स्वीकृत लिनुपर्ने व्यवस्था भएको भए त्यही आधारमा हामी गथ्र्याैं । हामीले दिन तोक्ने तर राष्ट्र बैङ्कले नतोक्ने गर्दा समस्या भएको छ । संस्थाले त समयमै गर्न खोजेको हो तर यही समस्याले हुन सकेको छैन । यसलाई समाधान गर्न सम्बन्धित नियकासँग गृहकार्य भइरहेको छ । पूँजीबजारसँग सम्बद्ध निकायहरूबीच राम्रो सम्बन्ध र समन्वय भएन भन्नेहरू पनि छन् । त्यस्ताको पछाडि लागेर हुँदैन । हामीले क्षमताअनुसार काम गरेकै छौं । यति मात्र नभएर नजानेको विषयमा विज्ञ तथा सम्बन्धित निकायसँग सल्लाह लिएर पनि हामीले काम गरिरहेको अवस्था छ । साथै, सेबोन र नेप्सेबीच पनि सहकार्य राम्रो छ । राष्ट्र बैङ्कसँग पनि सहकार्य गरिरहेका छौं । तर, अझै कम्पनी रजिष्ट्रारमा हाम्रो सहकार्य त्यति धेरै गहन हुन सकेको छैन । नागरिक लगानी कोषले मार्केट डिलरको काम गर्ने भन्ने कुरा आएको धेरै भयो । यो अहिले कुन चरणमा छ ? नागरिक लगानी कोषले डिलरको रूपमा काम गर्ने भनेको हो । नेप्से, सेबोन, नागरिक लगानी कोष र विज्ञ बसेर दुई/तीन चरणमा छलफल पनि गर्‍यौं । अहिले हामीसँग भएको पुरानो प्रणालीमा यसका लागि स्थान उपलब्ध गराउने अवस्था छैन । अबको नयाँ प्रणाली आएपछि हुन्छ । यद्यपि, छलफल भने भइरहेको छ । नागरिक लगानी कोषले हामी तयार छौं भनेर अध्ययन गरिरहेको छ । यहाँ प्रविधि नहुँदा रोकिएको हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)