७ वर्षदेखि पूँजीबजारमा लगानी गर्दै आएकी राधा पोखरेल युवा लगानीकर्ता हुन् । नोकरी नै छाडेर पूँजीबजारमा सक्रिय रहँदै आएकी उनी हाल नेपाल पूँजीबजार लगानीकर्ता सङ्घकी उपाध्यक्षसमेत छिन् । युवाहरूलाई पूँजीबजारमा भित्र्याउने खालको वातावरण बनाउन र ठूला व्यवसायीदेखि गृहिणीसम्मको लगानी रहेको यस क्षेत्रको लगानी सुरक्षित गर्न राज्यसँग उनको माग छ । उनी युवाहरूलाई विदेश नजान आग्रह गर्दै विदेश जाने रकम पूँजीबजारमा लगाउन सुझाउँछिन् । यसबाट देशको अर्थतन्त्रलाई समेत सघाउ पुग्ने उनको अपेक्षा छ । प्रस्तुत छ, पूँजीबजारसम्बन्धी उनको अनुभव, धारणालगायत विषयमा आर्थिक अभियानकी प्रजिता बुढाथोकीले गरेको कुराकानीको सार :पूँजीबजारमा कहिलेदेखि लगानी गर्दै आउनु भएको छ ?
अप्रत्यक्ष रूपमा यस क्षेत्रमा लगानी गरेको ६ देखि ७ वर्ष भयो । तर, प्रत्यक्ष रूपमा ५ वर्षदेखि सक्रिय छु । शुरूमा आफै सहभागी नभई म आफ्ना भिनाजुहरूलाई शेयर किन्न लगाउँथे । यो बेलाको बजार यस्तो थियो कि, आज किन्यो भोलि नाफा भइहाल्थ्यो । त्यो देखेर म सहकारीको नोकरी छोडेरै यो क्षेत्रमा सक्रिय भएको हुँ । सहकारीको तलब पूँजीबजारमा लगानीको मेरो पहिलो स्रोत हो । मैले थोरैबाट लगानी गर्न शुरू गरेकी हुँ ।
लगानीका लागि पूँजीबजार नै किन उचित लाग्यो ?
मेरो परिवारमा मामा, भिनाजुहरूले पहिलादेखि नै शेयरमा लगानी गर्नुहुन्थ्यो । उहाँहरूले तिमी पनि यो क्षेत्रमा लगानी गर, बुझेर राम्रो कम्पनीमा लगानी गरेमा बैङ्कबाट पाउने ब्याजभन्दा पनि राम्रो नाफा कमाउन सकिन्छ भनेर मलाई यो क्षेत्रमा लगानीका लागि प्रोत्साहित गर्नुभएको हो । त्यति बेला अधिकांश युवा लाखौं खर्चेर विदेश जान्थे । विदेशमा पनि सबैको अवस्था राम्रो थिएन । यही नेपालमा व्यापार गर्ने साथी पनि खासै सन्तुष्ट थिएनन् । तर, शेयर बजारमा आजको भोलि नै नाफा कमाइने वातावरण देखेरै मलाई यो क्षेत्र राम्रो लाग्यो । त्यो बेला मैले यस्ता कम्पनीमा लगानी गरेकी थिएँ, जुन कम्पनीको शेयर बेच्नुहुँदैन, ताल्चा लगाएर राख्नुपर्छ भन्ने गरिन्थ्यो । सबैले नाफा कमाएको देखेरै म यो क्षेत्रमा लागेकी हुँ ।
पूँजीबजारबारे नबुझेरै प्रवेश गर्नुभएको हो ?
त्यो बेलामा त नबुझी प्रवेश गरेकी हुँ । सबै कुरा पहिले नै बुझिन्छ भन्ने पनि होइन रहेछ । काम गर्दै जाँदा जुन क्षेत्रमा पनि जानकार हुन सकिँदो रहेछ भन्ने आज आएर मलाई लागेको छ । त्यो समयमा नबुझेरै प्रवेश गरे पनि घाटा भने खाइनँ । यसको अर्थ, नबुझी प्रवेश गर्ने भन्ने होइन । बुझेर आए झनै राम्रो । म पहिलादेखि नै कम्पनीहरूको वित्तीय अवस्थालाई ध्यानमा राखेर राम्रो कम्पनीमा मात्र लगानी गर्थें । त्यही भएर पनि अहिलेसम्म खासै घाटा खाएकी छैन । पछिल्लो समय बजारको अवस्था अलि खस्किएको छ । समग्र बजार नै ओरालो लागेको अवस्थामा मैले नाफा कमाउने त कुरा हुँदैन । राम्रो कम्पनीमा लगानी भएकाले बजारको अवस्था सुध्रिनेबित्तिकै नाफा हुनेमा विश्वस्त छु, आत्तिएकी छैन ।
पूँजीबजारसम्बन्धी बुझाइ नभई प्रवेश गर्दा पनि घाटा सहनुपरेको छैन भन्नुभयो । पछिल्लो समय लगानीकर्तामा पूँजीबजारप्रतिको बुझाइ कस्तो पाउनुभएको छ ?
अझै पनि लगानीकर्ताले बुझेर लगानी गरेको पाइँदैन । शुरूमा अरूको पछि लागेर आउने नै बढी छन् । म आफै पनि विभिन्न जिल्लामा बजार अनुगमनका क्रममा गएकी छु । त्यहाँ म आश्चर्यमा परेँ । ११ बजेदेखि शेयर कारोबार शुरू भएको हुन्छ । कारोबार भइरहेको अवस्थामा पनि कतिपय लगानीकर्ता कति बेलादेखि कारोबार शुरू हुन्छ भनेर सोध्छन् । धेरैजसो लगानीकर्ता साथीहरूलाई नेप्सेमा भएको कारोबारको अवस्था मूल्याङ्कन गर्न पनि समस्या छ । यस्तो अवस्थामा शेयर किन्ने भनेको अरूले भनेकै आधारमा हो । कतिपयले आफ्नो शेयर बेच्नु छ भने बिकाउनका लागि पनि किन्ने सल्लाह दिने गर्छन् । यसरी गरेको कारोबारले फाइदा पाउने त कुरै भएन । आफै बुझेर लगानी गर्न सक्ने लगानीकर्ता कमै छन् ।
तपाईं प्रवेश गर्दाको समय र अहिले पूँजीबजारमा के फरक पाउनु भएको छ ?
पहिला र अहिलेमा धेरै परिवर्तन आइसकेको छ । अहिले घरमै बसेर प्राथमिक र दोस्रो बजारमा कारोबारका लागि पहुँच पुग्ने अवस्था छ । तर, पहिले आईपीओ/एफपीओ खरीदका लागि बिहानदेखि खाई–नखाई लाइन बसेर फारम भर्नुपथ्र्यो । आवेदन फारमका लागि छुट्टै, पैसा बुझाउन छुट्टै लाइन बस्नुपर्थ्यो । शेयर परेन भने पैसा फिर्ता लिन पनि लाइन नै लाग्नुपर्थ्यो । पहिला डिम्याट नभएकाले धेरै समस्या खेप्नुपर्ने अवस्था थियो । अहिले यी समस्या हटेको छ ।
तलबबाट शुरू गरेको लगानी कसरी व्यवस्थापन गर्दै लैजानु भएको छ ?
म शुरूको लगानीबाट कमाएको नाफा पुनः लगानी गर्दै जान्थेँ । ऋण लिएर लगानी गरौं भन्ने सोच त्यो बेला आएन । निरन्तर पूँजीबजारमा सक्रिय हुँदै जाँदा धेरै कुरा बुझियो पनि । अहिले बैङ्कबाट ऋण लिएर पनि लगानी गर्न थालेकी छु । मैले मेरो बुबालाई पनि यो क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरेकी छु । आफू सन्तुष्ट भएपछि बुबालाई पनि भनेकी हुँ । मेरो बुबा ८९ वर्षको हुनुहुन्छ । तर, उहाँ आफै सक्रिय भएर यो क्षेत्रमा लगानी गर्दै आउनुभएको छ । हामीसँग करोडौंको घरजग्गा छ । तर, लाख रुपैयाँ आवश्यक पर्यो भने करोडौंको जग्गा बेच्ने कुरा त आउँदैन नि । पूँजीबजार यस्तो क्षेत्र हो, जहाँ करोडौंको लगानी छ भने पनि आफूलाई आवश्यक पर्दा हजारको पनि विक्री गर्न सकिन्छ भन्ने मेरो बुबाले बुझ्नुभएको छ ।
युवा त्यसमाथि पनि महिला, पूँजीबजारलाई नै आम्दानीको मुख्य स्रोत बनाउँदै आउनु भएको छ । यसको अर्थ युवाको लगानी सुरक्षित गर्र्न पूँजीबजार उपयुक्त देख्नुहुन्छ त ?
सरकारले आगामी वर्षदेखि शैक्षिक प्रमाणपत्र धितोमा राखेर ७ लाख रुपैयाँ ऋण उपलब्ध गराउने व्यवस्था बजेटमार्फत गरेको छ । यो व्यवस्था पूँजीबजारमा कार्यान्वयन गर्न सके युवाहरू विदेशिनुपर्ने अवस्था आउने थिएन । अहिलेको अवस्थामा ७ लाखले कुन राम्रो व्यवसाय गर्न सकिन्छ र ? यो रकम पूँजीबजारमा राम्रो कम्पनी हेरेर लगानी गर्ने हो भने पक्कै घाटा खानुपर्ने अवस्था आउँदैन । ७ वर्षको लगानी अनुभवबाट म के भन्छु भने, कुनै पनि लगानीकर्ता आज लगानी गरी भोलि नै नाफा कमाउँछु भनेर आउन चाहनुहुन्छ भने उहाँहरू यसमा नआउँदै उपयुक्त हुन्छ । मैले शेयर बजार १८८१ हुँदा पनि लगानी गरेकी छु । अहिले बजार १२ सय मुनि आइपुग्दा पनि आत्तिएकी छैन । बेचेँ भने पो म घाटामा हुन्छु, नभए त म कागजमा मात्र घाटामा छु । त्यसैले, दीर्घकालीन रूपमा लगानी गर्न पनि मेरो सुझाव छ । अर्को के पनि भन्न चाहन्छु भने, पूँजीबजार यस्तो क्षेत्र हो, जहाँ छोटो समयमै यो क्षेत्रबाट बाहिरिन्छु भन्दा पनि सहजै सकिन्छ । हामी शेयर विक्री गरेको ढिलोमा ३ दिनभित्र आफ्नो खातामा पैसा प्राप्त गर्छौं । नेपालमा कुन चाहिँ यस्तो क्षेत्र होला, जहाँ आफ्नो लगानी ३ दिनभित्र उठाएर बाहिरिन सकिन्छ !
अहिले लगानीकर्ताको हितमा काम गर्ने सङ्गठनको नेतृत्वसमेत गरिरहनुभएको छ । युवा लगानीकर्ता तपाईंको त्यहाँसम्म पहुँच कसरी पुग्यो ?
म सञ्चारमाध्यममा नियमित लेख लेख्दै आएकी छु । मेरो लेखले गर्दा पाठकहरू बढे । साथै, विभिन्न मिडियामा सक्रिय युवा लगानीकर्ताको नाताले मेरो अन्तरवार्ता पनि आएको छ । यसले गर्दा पनि लगानीकर्ता सङ्गठनहरूले तपाईंजस्ता युवा लगानीकर्ता हामीलाई आवश्यक छ, तपाईंको विचार सबै लगानीकर्तासामु पुर्याउनुपर्छ भन्नुभयो । मेरो मनले पनि लगानीकर्ताको हकहितका लागि काम गर्छु भन्ने लागेर पनि सङ्गठनमा आएकी हुँ । मेरोबारे खुलाउनुपर्दा म सानैदेखि मुटुको रोगी छु, मेरो मुटुको भल्भ नै फेरिएको छ । जनमानसमा मुटुमा समस्या हुनेहरूको आत्मबल कमजोर हुने जुन मानसिकता छ, त्यसलाई म गलत सावित गर्न सक्छु । किनकि, मैले कहिल्यै हिम्मत हारेकी छैन । सधैं हिम्मतका साथ लगानी गर्दै आएकी छु । आज म लगानीकर्ताको हितका लागि समेत उभिएकी छु । मलार्ई लाग्छ, सङ्गठनमा आएर राम्रै काम गरेकी छु ।
पूँजीगत लाभकर गणनाको विषयलाई कसरी लिनुभएको छ ?
पूँजीबजारका लगानीकर्ताले यही लगानीबाट नाफा कमाएका छन् भने राज्यलाई कर तिर्नु उनीहरूको दायित्व हो । तर, घाटामा कसैले पनि कर तिर्न सक्दैन । यस वर्षको बजेटमा सरकारले पूँजीबजारलाई सम्बोधन गर्ने अपेक्षा लगानीकर्ताले गरेका थिए । तर, बजेटले उल्टै पूँजीगत लाभकर ५ प्रतिशतबाट बढाएर ७ दशमलव ५ प्रतिशत पुर्याएको छ । त्यसलाई लगानीकर्ताले स्वीकारेकै अवस्थामा थियो । तर, लगत्तै हकप्रद र बोनस शेयरमा लाग्ने लाभकरको विषयमा राज्यबाट लगानीकर्तालाई घाटामा कर तिराउने खालको निर्णय आयो । परिणामस्वरूप, कारोबार नै बन्द गर्ने इतिहासमै पहिले नभएको घटना भयो, लगानीकर्ताले आन्दोलन नै गर्नुपर्यो । नेप्से १८८१ हुँदा लगानी गर्नेहरूको अवस्था आजको दिनमा के भयो होला ? यस क्षेत्रमा त करौडौं हुनेदेखि डोकोमा साग बेच्ने गृहिणी दिदीबहिनीले पनि आफ्नो लगानी गरेका छन् । राज्यले उनीहरूको लगानी सुरक्षित बनाउनेतर्फ ध्यान दिनुपर्छ भन्ने लाग्छ ।
राष्ट्र बैङ्कको अबको मौद्रिक नीतिमा पूँजीबजारका लागि कुन विषयमा सम्बोधन भए हुन्थ्यो जस्तो लाग्छ ?
नेपाल राष्ट्र बैङ्कका गभर्नरले धितोपत्र बोर्डको २६औं वार्षिक साधारणसभामै उद्घोष गरिसक्नुभएको छ, नेपालको पूँजीबजार भारतको भन्दा पुरानो भए पनि सुधारको हिसाबमा पछि परेको छ भनेर । त्यसैले, पूँजीबजारको विकासका लागि आवश्यक व्यवस्था अबको मौद्रिक नीतिमा समेटिएला भन्ने हाम्रो अपेक्षा छ । जस्तै– सर्वत्र माग भएअनुसार वाणिज्य बैङ्कहरूलाई ब्रोकर लाइसेन्स दिने । यसो भएमा देशभरिका लगानीकर्तालाई समेट्ने वातावरण बन्न सक्छ । अहिले लगानीकर्ताले बैङ्कबाट लिएको कर्जाको ब्याजदर बढेको अवस्था छ । यसबाट पनि लगानीकर्ताको ढाड सेकिएको छ । लगातार शेयरमूल्यमा कमी आउनु र बैङ्कले ब्याजदर बढाउनुले लगानीकर्ता निराश भएका छन् । अबको मौद्रिक नीतिले ब्याजदरलाई सन्तुलनमा ल्याउनेतर्फ पनि ध्यान देओस् । अर्को कुरा, शेयर कर्जा उपलब्ध गराउँदा शेयर मूल्याङ्कनमा ५० प्रतिशत मात्र उपलब्ध गराउने भनिएको छ । यसअघि ७० प्रतिशतसम्म उपलब्ध हुन्थ्यो । त्यसैले, शेयर कर्जा घटाउनेभन्दा बढाउनेतर्फ मौद्रिक नीतिमा व्यवस्था गरियोस् । ब्रोकर कमिशन नेपालमा अन्य देशको तुलनामा बढी नै छ । कमिशनको दरमा कटौती भए करको भारबाट पीडित लगानीकर्तालाई राहत हुने थियो ।
पूँजीबजार सुधारका लागि अन्य के आवश्यक देख्नुुहुन्छ ?
पूँजीबजारविना देशको आर्थिक समृद्धि नै सम्भव छैन भन्ने मलाई लाग्छ । हामीले राज्यसँग शेयर बजार बढाइदिनुप¥यो भनेर त भनेका छैनौं नि ! हाम्रो माग यस क्षेत्रको विकासका लागि आवश्यक तथा प्रभावकारी नीतिनियम ल्याउनुप¥यो भन्ने मात्र हो । तर, विडम्बना हाम्रो देशमा अर्थतन्त्र चलायमान गराउने उच्च तहमा बसेकाहरू नै यसलाई प्राथमिकतामा राखेर अघि बढेको देख्दिनँ । यो क्षेत्र यति संवेदनशील बन्दै गएको छ कि, उच्च तहमा बस्ने कुनै व्यक्तिले बोलेका अभिव्यक्तिले पनि बजारलाई असर गरिरहेको छ । यस कारण यस क्षेत्रको बारेमा बोल्दा पनि संवेदनशील हुन जरुरी छ । लगानीकर्ता पनि हल्लाको पछि लाग्नु भएन । राम्रो कम्पनीमा लगानी गरे बजार जतिमै आए पनि घाटा हुँदैन ।
अर्को, लगानीकर्ताले सञ्जीवनी बुटीको रूपमा हेरेको अनलाइन प्रणाली चाँडै लागू गरी नेपालभरिका जनतामा यसको पहुँच पुर्याउन सम्बद्ध निकायबाट पहल गर्नुप¥यो । विद्यालयस्तरमै शेयर शिक्षालाई पनि प्राथमिकतामा राखेर राज्य अघि बढे अहिलेको जस्तो अवस्था आउने थिएन । अहिले बजारमा शेयरको आपूर्ति बढी छ । माग र आपुर्तिबीच सन्तुलन कायम नहुँदा पनि बजारले गति लिन सकेको छैन । त्यसैले, गैरआवासीय नेपालीको लगानी भिœयाउने पहल गर्न जरुरी छ । साथै, वाणिज्य बैङ्कहरूलाई विदेशबाट सस्तो ब्याजदरमा पैसा ल्याउन पाउने ‘फाष्ट ट्र्याक’ खोलिदिए बारम्बार दोहोरिने तरलता समस्या कम हुने थियो ।