अनलाइन प्रणालीले दोस्रो बजारको पहुँच व्यापक विस्तार हुन्छ
Jul 8, 2018
 
अन्तरवार्ता
नेपाल स्टक एक्सचेञ्जले साउन १ गतेदेखि अनलाइन कारोबार प्रणाली शुरू गर्न लागेको छ । सोही प्रयोजनका लागि विभिन्न तयारीमा रहेका ब्रोकर कम्पनीहरू यो प्रणालीको जोखीमरहित सञ्चालनका लागि केही नियम तथा संरचनाको व्यवस्था हुनुपर्नेमा जोड दिन्छन् । पूँजीबजारको पहुँच विस्तारका लागि नेप्सेको कारोबार प्रणालीले पनि साथ दिनुपर्र्ने कम्पनीहरूको धारणा छ । नेप्सेले ल्याउन लागेको अनलाइन प्रणालीमा इण्टरनेटको माध्यमबाट कारोबार गर्न सकिने भएकाले दोस्रो बजारको पहुँच बढाउन सकिने ब्रोकरहरू बताउँछन् । यिनै विषयमा स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष प्रियराज रेग्मीसँग आर्थिक अभियानकी प्रजिता बुढाथोकीले गरेको कुराकानी :बजार घटेसँगै कारोबार रकममा पनि कमी आएको छ । यो अवस्थामा ५० ओटा ब्रोकर कम्पनीको व्यवसायमा कस्तो प्रभाव परेको छ ?
हामी धितोपत्र दलाल व्यवसायीको काम धितोपत्रको कारोबारमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने हो । धितोपत्र कारोबार गरिदिएबापत प्राप्त हुने कमिशन नै हाम्रो आम्दानी हो । बजारमा कारोबार घट्दा पक्कै पनि सबै ब्रोकरको आय घटेको छ । तर, भविष्यका लागि यो बजारको सम्भावना धरै भएकाले हामीले बजारको दिगो विकासका लागि काम गर्नुपर्दछ ।
ब्रोकरको पहुँच काठमाडौंमा मात्र सीमित भयो भन्ने गुनासो छ । देशव्यापी पहुँच विस्ताका लागि ब्रोकर कम्पनी कसरी अघि बढेका छन् ?
पहुँच विस्तारको विषय प्रविधिसँग पनि जोडिएको छ । धितोपत्रको दोस्रो बजारको पहुँच विस्तार गर्न धितोपत्र दलाल व्यवसायीमार्फत नेप्सेको कारोबार प्रणालीको पहुँच बढाउने हो । पहुँच विस्तार ब्रोकर कम्पनी मात्र लागिपरेर हुँदैन । ब्रोकर कम्पनीको उपस्थिति रहेको स्थानमा नेप्सेको कारोबार प्रणालीको पहुँच पुग्नुपर्यो । अहिलेको नेप्सेको कारोबार प्रणाली इण्ट्रानेटमा आधारित छ । इण्ट्रानेट प्रविधिमा आधारित भनेको नेप्सेको कारोबार प्रणालीबाट कारोबार गर्ने स्थलसम्म तारले जोडेको क्लोज नेटवर्कको प्रणाली हो । यस प्रणालीबाट व्यापक पहुँच विस्तार गर्न कारोबार प्रणालीको क्षमता र इण्ट्रानेट सेवाको उपलब्धताले निर्धारण गर्ने विषय पनि हो । मुख्य रूपमा हालसम्म अपेक्षाकृत रूपमा दोस्रो बजारको पहुँच विस्तार हुन नसक्नुमा नेप्सेको हालको प्रणालीले चाहेजति लगइन दिन सक्ने अवस्था छैन । दोस्रो, यो इण्टरनेट प्रदायक संस्थाहरूको तार पनि कारोबार स्थलसम्म पुग्नुपर्यो, हामी मात्र पुगेर भएन । यसमा पनि समस्या छ । यसका अलावा ती स्थानमा व्यवसायीले शाखा खोल्दा दीर्घकालसम्म स्थापित हुन सक्ने वा नसक्ने विषय पनि थिए । तथापि, हामीले इण्ट्रानेट पुगेका देशभित्रका १६–१७ शहरमा शाखा विस्तार गरेका थियौं । तर, व्यावसायिक हिसाबले ती शाखा त्यति सफल हुन सकेका छैनन् र सञ्चालनमा जोखीम पनि छ । त्यसैले, ब्रोकर कम्पनी पहुँच विस्तारमा अघि नबढेको भन्दा पनि समग्र प्रणालीले साथ नदिने अवस्थाले समस्या भएको हो । अब आउने प्रणाली इण्ट्रानेट नभएर इण्टरनेटको आधारमा सञ्चालन हुन्छ । त्यस कारण इण्टरनेट भएको ठाउँमा सहजै सबैको पहँुच पुगिहाल्छ । त्यसका लागि ब्रोकरहरूले सब–ब्रोकर वा ब्रोकर एजेण्टका रूपमा पहँुच विस्तार गर्न सक्ने कानूनी बाटो खोलियो भने झनै प्रभावकारी हुन सक्छ । शाखारहित पहुँच विस्तार गर्न सक्ने व्यवस्थालाई अब आउने प्रविधि र नियमले सहज बनाउला भन्ने अपेक्षा गरेका छौं ।
ब्रोकर कम्पनीमा दैनिक कारोबारका लागि आउने लगानीकर्ता पनि कम देखिन्छन् । यसलाई सेमी अनलाइन प्रयोगको प्रभाव भन्न सकिन्छ त ?
यसभन्दा अघि गरिएको व्यवस्था इण्टरनेटबाट खरीदविक्री आदेश दिन सक्ने प्रणाली मात्र हो । यसको प्रयोग धेरै भए जस्तो लाग्दैन । पछिल्लो समय प्रायः ब्रोकर कम्पनीमा लगानीकर्ताको उपस्थिति कम नै देखिन्छ । इण्टरनेटबाट खरीदविक्री आदेश दिन सक्ने प्रणालीको प्रयोगले लगानीकर्ताको उपस्थिति कम भएको होइन जस्तो लाग्दछ ।
जेठदेखि नै अनलाइन ट्रेडिङ प्रणालीको परीक्षण शुरू गरिएको छ, पछिल्लो प्रगति के छ ?
मङ्गलवार मात्र नेपाल स्टक एक्सचेञ्ज र भेण्डर कम्पनी वाइकोले अनलाइन कारोबार प्रणालीको बारेमा हामीलाई जानकारी गराएका छन् । जानकारीको क्रममा बुझेअनुसार अनलाइनको प्रगति भइरहेको छ । साउन १ गतेदेखि अनलाइन शुरू गर्ने भनेर नेप्से जुन कार्यतालिका बनाएर अघि बढेको छ, तोकिएको समयमा शुरू गर्न नै हालसम्मको तयारी देखिन्छ । हामीले थाहा पाएअनुसार, शुरूमा ब्रोकर कम्पनीमार्फत नै लगानीकर्ताले आदेश दिने अनि आफ्नो आदेशको कार्यान्वयनको अवस्था लगानीकर्ताले हेर्न मात्र सक्ने किसिमबाट यो प्रणाली सञ्चालन हुन्छ । यसरी कारोबार शुरू भएपछि, साथै नेप्सेले गर्ने भनेको युजर एसेप्टेन्स टेष्ट (यूएटी) गर्दा केही सुधार गर्नुपर्ने भएमा सोसमेत सुधार भएपछि यसको पूर्ण कार्यान्वयन हुने बुझेका छौं । समग्रमा यो प्रक्रिया प्रगतिकै स्थितिमा छ ।
हालसम्म कतिओटा ब्रोकर कम्पनीले अनलाइन प्रणालीको प्रयोग गरेका छन् ?
नेप्सेले अनलाइन प्रणालीका लागि हामी ब्रोकर कम्पनीलाई आफैले पूर्वाधार तयार गर्न भनेको छ । अहिले पाँचओटा ब्रोकर कम्पनीमा नेप्सेकै पूर्वाधारबाट परीक्षणका लागि दिएको अवस्था हो । नेप्सेसँग भएको पूर्वाधार अपुग भएकाले हामीहरूमध्ये पाँच कम्पनीमा मात्र परीक्षण गरिएको छ । लगानीकर्तामार्फत नै अब डमी नै भए पनि परीक्षण गर्नुपर्ने हुन्छ । सम्पूर्ण ब्रोकर कम्पनीले त्यसका लागि पूर्वाधार तयार गरिसकेपछि यो पनि शुरू हुन्छ ।
अनलाइन प्रणाली सञ्चालनका लागि जुन सफ्टवेयर जडान गर्नुपर्ने हो, त्यसका लागि करोडौं लगानी गर्नुपर्ने सुनिन्छ । सबै ब्रोकर कम्पनीले यसको व्यवस्थापन गर्न सक्लान् ?
ब्रोकर कम्पनीले आफ्नै डाटा सेण्टर बनाउँदा करोडौं रुपैयाँ लाग्ने हो । यस विषयमा हामीले यस क्षेत्रका विज्ञ, नेप्से र सफ्टवेयर निर्माता कम्पनीसँग बसेर छलफल गरेका छौ । यसका लागि अनलाइन प्रणालीका साथै लगानीकर्तालाई दिने सेवासुविधा तथा कारोबारका तथ्याङ्कको सुरक्षामा असर नपर्नेगरी अन्य कुनै विकल्प रोज्न सक्ने व्यवस्था नेप्सेले गरिसकेकोे छ । अहिले विकल्पको रूपमा ब्रोकर कम्पनीले कुनै डाटा सेण्टरसँग पूर्वाधार लिजमा वा भाडाको रूपमा लिन सक्ने या संयुक्त रूपमा एउटै डाटा सेण्टर बनाएर पनि अनलाइन प्रणाली प्रयोग गर्न सक्ने व्यवस्था भएको छ । हामी ब्रोकर कम्पनीहरूलाई एकमुष्ट लगानीको भार नपर्नेगरी पूर्वाधार जडान गर्ने तयारीमा छौं ।
साउन १ गतेदेखि पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली ल्याउने नेप्सेको योजना कत्तिको सम्भव देख्नुहुन्छ ?
अनलाइन प्रणालीको यूएटीका लागि भर्खर नेप्सेले विशेषज्ञ कम्पनी छान्दै गरेको अवस्था छ । अनलाइन पूर्णरूपमा लागू हुन यूएटी प्रमाणीकरण हुनुपर्ने होला । प्रमाणीकरण हुने क्रम साउन १ गते सकिँदैन । साउन १ गतेदेखि सबै ब्रोकरमार्फत पुरानो प्रणालीमार्फत नयाँ प्रणालीको समेत परीक्षण हुनेगरी कारोबार गराउने र यूएटी पनि गराउने काम होला । यसमा विशेषज्ञले यूएटी परीक्षण गर्ने, परीक्षण गर्दा प्रणालीमा केही कमीकमजोरी भए सोको सुधार गरिने भनिएको छ । यूएटी प्रमाणीकरणपछि अनलाइनको पूर्ण सञ्चालन हुनेमा विश्वस्त छौं ।
यसअघिको सेमी अनलाइन र अहिलेको अनलाइन कारोबार प्रणालीमा के फरक छ ?
यसअघि सञ्चालनमा ल्याइएको सेमी अनलाइन भनेको लगानीकर्ताले इण्टरनेटको माध्यमबाट आफ्नो खरीदविक्री आदेश ब्रोकरसमक्ष पु¥याउने प्रणाली हो । यसबाट लगानीकर्ताले आफ्नो खरीदविक्री आदेश नै प्रणालीमा प्रविष्ट गर्ने हो । अनलाइन प्रणालीको प्रयोगका लागि लगानीकर्ताले ब्रोकर कम्पनीबाट कारोबारका लागि यूजर नेम र पासवर्ड लिई ब्रोकर कम्पनीले कारोबारको सीमा दिएपछि आफूले चाहेको धितोपत्र खरीद वा विक्री इण्टरनेटको पहुँच भएको ठाउँमा बसेर नेप्सेले तोकेको कारोबार समयावधिभित्र गर्न सक्ने व्यवस्था हो । अनलाइन कारोबार सञ्चालनका लागि पनि केही नीतिगत व्यवस्था तथा अन्य प्राविधिक व्यवस्था हुन आवश्यक छ । जस्तै– अनलाइनमार्फत शेयर ट्रान्सफर गर्ने, फण्ड ट्रान्सफर र राफसाफको प्रत्याभूतिको संरचना तयार कसरी गर्ने भन्ने विषयमा नीतिगत व्यवस्था हुनुपर्छ । साथै, प्रविधिको विकास गरी प्रभावकारिता बढाउनुपर्दछ ।
अनलाइन प्रणाली शुरू भएपछि ब्रोकर कमिशन घटाउनुपर्ने माग लगानीकर्ताको छ । यसमा के भन्नुहुन्छ ?
अनलाइन प्रणाली लागू भएपछि ब्रोकर कम्पनीको जिम्मेवारी झनै बढ्छ । ब्रोकर कमिशन एउटै हुनुपर्छ भन्ने त होइन, तर बढ्ने र घट्ने सम्बन्धमा भने ब्रोकर कम्पनीको लगानी, खर्च, कारोबारको अवस्था हेर्नु आवश्यक छ । हामीकहाँ ब्रोकरहरूको अन्य कार्यक्षेत्र विस्तार भइसकेको अवस्था छैन । कारोबारका औजार थपिएका छैनन् । अहिले भइरहेको कारोबार इक्विटीको मात्र हो । यहाँ डिबेञ्चरलगायत अन्य कारोबारका औजारको प्रवेश भएको छैन । यस अवस्थामा ब्रोकरहरूले व्यवसायमा गरेको लगानीको समुचित प्रतिफल पाउने किसिमले कमिशन निर्धारण गर्नु उपयुक्त हुन्छ । अहिलेको अवस्थामा अधिकांश ब्रोकर कम्पनी घाटामा छन् । अहिलको कमिशनले घाटापूर्ति हुने अवस्था छैन् । अनलाइन आउँदा कारोबार रकम कति बढ्छ, त्यसले ब्रोकर कम्पनीको कमिशन आम्दानीमा कुन हिसाबमा सुधार ल्याउँछ, यी सबैको वास्तविकता अध्ययन गरेर यो विषयमा निर्णय लिनु राम्रो होला ।
पूँजीबजार सुधारका लागि अनलाइन प्रणाली भए पुग्छ कि थप प्रणाली पनि आवश्यक देख्नुहुन्छ ?
पहिलो त अनलाइन प्रणाली आएपछि पहुँच कत्तिको विस्तार हुन सक्छ, यसको प्रभाव कस्तो पर्छ, हेर्न बाँकी नै छ । वास्तवमै हामीले सोचेअनुसारको प्रभाव अनलाइन प्रणालीले पार्न सक्छ कि सक्दैन, त्यो हेर्नुपर्ने हुन्छ । अनलाइनको सफल कार्यान्वयन होस्, त्यसको शुभकामना ! यसलाई सफल बनाउन हामी सबैले प्रयास गर्नुपर्ने कुरा पनि छँदै छ । दोस्रो बजारलाई गतिशील र प्रभावकारी बनाउन ब्रोकर व्यवसायीको भूमिका पनि महत्त्वपूर्ण हुन्छ । यसका लागि व्यवसायीको क्षमता वृद्धि गरी कार्यक्षेत्र विस्तार हुनुपर्यो । उनीहरूले प्रदान गर्ने सेवाको सहयोगमा लगानीकर्ताले लगानीको सही निर्णय गर्न सकून् । त्यसको जवाफदेही व्यवसायी हुनुपर्ने कानूनी व्यवस्था हुँदा राम्रो हुन्छ । अहिले लगानीकर्तालाई उपलब्ध गराउने भनिएको ब्रोकर ब्याक अफिस नेप्सेले नै बनाएको अथवा यही सफ्टवेयरसँग आएको प्रणाली हो । अब विस्तारै लगानीकर्तालाई दिने सेवामा फरकपन ल्याउन सक्ने नीतिगत व्यवस्था हुनुपर्छ । व्यवसायीबीच सेवामा प्रतिस्पर्धा गराउन सकिएला । अहिले यसका लागि स्पष्ट व्यवस्था छैन । ब्रोकरले लगानीकर्तालाई दिने सुविधामा फरकपन ल्याउन सकियो भने ब्रोकरहरूले आ–आफ्नै प्रणाली बनाएर सेवा दिन सक्छन् । तर, त्यसका लागि नीतिगत व्यवस्था हुनुपर्यो ।
ब्रोकर कम्पनीले सेवाग्राहीलाई थप प्रभावकारी तरीकाले सेवा प्रदान गर्न कुनै योजना बनाएका छन् कि !
हामी धितोपत्र दलाल व्यवसायी नियमनकारी निकायको नीतिनिर्देशनको परिधिमा रहेर काम गर्ने हो, नियममा व्यवस्था भइसकेपछि त्यसैमा रहेर सेवा विस्तार गर्ने हो । नीतिगत रूपमा व्यवस्था भइसकेको मार्जिन लेण्डिङको कार्यविधि पारित भएर आएपछि हामी सोअनुसार सेवा प्रदान गर्न अघि बढ्छौं । अनलाइन प्रणाली आइसकेपछि यसको प्रकृति हेरेर नीतिगत व्यवस्थाअनुसार सेवा प्रदान गर्नेछौं ।