बाढीपीडितलाई तातो खाना, न्यानो कपडा र सरसफाइको व्यवस्था गरिदिनुपर्छ
Jul 13, 2018
 
अन्तरवार्ता
डा. अरूणा उप्रेती जनस्वास्थ्यका क्षेत्रमा चिरपरिचित नाम हो । महिला स्वास्थ्यमा विशेष दखल राख्ने डा.उप्रेती नेपाली मौलिक खाना र पोषणका अभियन्ता पनि हुन् । जनस्वास्थ्य नीति र त्यसबाट महिला तथा बालबालिकाले पाउनुपर्ने हकअधिकारका लागि पनि उनले पैरवी गर्दै आएकी छन् । नेपालका दुर्गम क्षेत्रका साथै दक्षिण सुडान, अफगानिस्तान, भारत, श्रीलङ्का र लाओसमा काम गरिसकेकी डा. उप्रेती जनस्वास्थ्य विज्ञ हुन् । प्रस्तुत छ, ग्रामीण स्वास्थ्य र शिक्षा सेवा ट्रष्ट (रेष्ट) की संस्थापक अध्यक्षसमेत रहेकी डा. उप्रेतीसँग आर्थिक अभियान दैनिकका पूर्णभक्त दुवालले बाढीपहिरो र स्वास्थ्यका विषयमा गरेको कुराकानीको सम्पादित अंश:अहिले वर्षायामसँगै बाढीपहिरोको प्रकोप छ, यस्तो बेला पीडितहरूले स्वास्थ्यबारे ध्यान दिनुपर्ने कुरा केके हुन् ?
बाढीपहिरोका बेला विशेष गरी स्वास्थ्यमा ध्यान दिनुपर्छ । यस्तो बेला शरीर कमजोर हुने भएकाले सुरक्षित र न्यानो स्थलमा आश्रय लिनुपर्छ । भोक लाग्यो भन्दैमा हतारमा तयारी खाजाहरू खानुभन्दा तातो खाने व्यवस्था मिलाउनुपर्छ । चिन्ता भयो भनेर धूम्रपान र मध्यपान गर्नु हुँदैन । यसले आफूलाई मात्र नभई परिवार र आफन्तको स्वास्थ्यमा पनि असर गर्छ । सुरक्षित स्थलको व्यवस्थापछि खाना र सरसफाइमा ध्यान दिनुपर्छ ।
यहाँसँग अन्य मुलुकमा बाढी आउँदाको अनुभव केही छ कि ?
दश वर्षअघि म एक अन्तरराष्ट्रिय संस्थासँग भारतमा जनस्वास्थ्य विशेषज्ञ भएर काम गर्दा विहार र आसाममा ठूलो बाढी गयो । विहारमा सुक्खा जमीन कतै थिएन । बाढीले जनता त्राहित्राहि भएका थिए ।
त्यो बेला तत्कालीन मुख्यमन्त्रीले जनतासँग मजाक गरेका थिए, ‘तिमीहरूले गङ्गा नदीको दर्शन गर्न कति यात्रा गर्नुपर्छ, अहिले त गङ्गा मैया तिमीहरूको घरघरमा आइपुगेकी छन् । आनन्दसँग दर्शन गर ।’ यो भद्दा मजाकले जनताको दिल दुखाएको थियो । यस्तो मजाक नेपालमा पनि जनस्तरबाट हुन थालेको देखिएको छ । यस्तो अवस्थामा मजाक गर्नु हुँदैन ।
त्यसबेला विहार र आसाममा आएको बाढीले धेरैको स्वास्थ्यमा समस्या उत्पन्न गरेको थियो । कतिपय ठाउँमा जनताको घरभित्र पानी भरिएर सडककिनारमै बस्नुपरेको थियो । थुप्रै सामाजिक संस्थाले बाटोमै खिचडी बनाएर खुवाएका थिए । नेपालमा जस्तो कसैलाई पनि बिस्कुट र चाउचाउ खुवाइएको थिएन । हामीले पनि बाढीपहिरो पीडितलाई चाउचाउ बिस्कुट बाँड्नुको सट्टा तातो खानेकुरा बाँड्नु जाती हुन्छ । उद्धार र राहतको नाममा सजिलो खोज्नु हुँदैन ।
बाढीपछिको जनस्वास्थ्यको अवस्था त बडो भयावह थियो । सबैभन्दा दयनीय स्थिति त गर्भवती, सुत्केरी, उनीहरूका शिशु, किशोरी र वृद्धवृद्धाको थियो । नेपालमा अहिलेको बाढीले मलाई त्यही बेलाको अवस्था सम्झना गरायो ।
यस्तो बेला महिला र बालबालिकाको सुरक्षाका लागि के गर्नुपर्छ ?
भूकम्पका बेला नेपालमा पनि गर्भवती, सुत्केरी र किशोरीहरूको हालत सबैभन्दा बढी खराब थियो । कुनै पनि प्राकृतिक प्रकोपमा प्रायः यस्तै हुन्छ । किनभने शारीरिक रूपमा समाजको यो तप्का कमजोर नै हुन्छ र प्रकोपको बेला त यिनलाई झन् गाह्रो हुन्छ । यस्तो बेला सुत्केरी र नवजात शिशुलाई धेरै सुती कपडा चाहिन्छ । राहत वितरण गर्दा पुरानो कपडा दिने होइन, सुतीको न्यानो कपडा दिन सकेमा वास्तविक रूपमा राहत प्रदान गरेको मानिन्छ ।
सुतीको कपडा नै किन ?
बाढीपहिरोका बेला प्रायः घाम लाग्दैन । लुगा सुकाउने ठाउँ पनि नहुने र घाम पनि नलाग्ने भएकाले नवजात शिशुलाई सुक्खा कपडाले लपेटिएन भने निमोनिया भएर उसको मृत्यु हुनसक्छ । सुत्केरी आमालाई पनि सुक्खा र तातो कपडा चाहिन्छ । त्यसैले सकेसम्म सुती कपडा जोहो गर्नुपर्छ ।
बाढीका बेला हुने चिसोले केकस्ता समस्या निम्त्याउँछ ?
चिसोको सङ्क्रमणले सुत्केरी महिलामा प्रजनन स्वास्थ्यमा समस्या देखापर्न सक्छ । चिसोले जिउ र पेट फुल्ने समस्या वा मृत्यु नै हुने अवस्था आउन सक्छ । यस्ता महिला र शिशुलाई सुक्खा ठाउँमा तत्कालै राख्ने व्यवस्था हुनुपर्छ ।
खानामा ध्यान दिनुपर्ने थप कुरा केके छन् ?
सुक्खा ठाउँ र न्यानो लुगासँगै अर्काे महत्त्वपूर्ण कुरा हो, भोजन । बाढी आउनेबित्तिकै धेरै समाजसेवीको मनमा बिस्कुट र चाउचाउ बाँड्ने सोच आउँछ । यस्तो बेला कसैले पनि चिउरा र सातु बाँड्नुपर्छ भनेर सोच्ने गर्दैनन् । अरू केही पाइएन भने दाल, चामल, पानी, बेसार र नुन हाली खिचडी पकाएर ख्वाइयो भने बाढीपीडितको स्वास्थ्य राम्रो हुन्छ । चिसोका बेला मानिसलाई तातो खानाले शारीरिक र मानसिक रूपमा बलियो बनाउनु सहयोग गर्छ । यी वस्तुले मानिसलाई आफू स्वस्थ्य भएको अनुभूति गराउँछ । तातो चिया, तातो दूध, तातो सुप वितरण गर्न त्यति गाह्रो पनि होइन ।
सामान्य अवस्थामा पनि लामो यात्रापछि एकमुठी तातो दाल, भात, जाउलो पेटमा पर्दा हामीलाई अलि सहजताको अनुभूति हुन्छ भने झन् बाढीले पीडित भएका बेला तातो भोजन कति महŒवपूर्ण हुन्छ होला, सहजै अनुमान गर्न सकिन्छ । कतिपयले भन्न सक्छन्, बाढीले वितण्डा मच्चाएका बेला केको तातो खानाको कुरा गरेको होला । तर, यस्तो बेला तातो खानाले आनन्दको अनुभूति गराउनुका साथै रोगसँग लड्ने शक्ति पनि प्रदान गर्छ ।
शौचालय र सरसफाइमा केकस्तो ध्यान दिनुपर्छ त ?
बाढीपीडितलाई आइपर्ने समस्या शौचालयको अभाव पनि हो । यस्तो बेला सफा पानीको व्यवस्था गर्नैपर्छ । सफा पानीको अभावमा झाडापखाला, आउँ, जरो, टाइफाइड, छालाका विभिन्न रोग लाग्ने प्रबल सम्भावना हुन्छ । सुरक्षित स्थलमा आश्रय लिइसकेपछि आफू बस्ने ठाउँबाट करीब २० मिटर टाढा शौचालयको व्यवस्था गर्नुपर्छ । नजीकै शौचालय भयो वा खुलारूपमा दिसापिसाब गर्यो भने झाडापखाला, हैजाजस्ता सरुवा रोग बढ्ने र सर्ने सम्भावना बढी हुन्छ । यसर्थ यसतर्फ विशेष ध्यान दिनुपर्छ ।
बाढीका बेला महिलाहरूले विशेष ध्यान दिनुपर्ने कुरा के हो त ?
पहिलेदेखि नै रोगसँग लड्ने शक्ति कम भएकाहरूलाई यस्तो समस्याले झन् बढी सताउँछ । गर्भवती महिलालाई यस्तो समस्याले अवस्था गम्भीर बनाउन सक्छ । बाढीको प्रकोपले महिलाहरूको प्रजनन समस्यालाई झन् कठिन बनाइदिन्छ । भित्री लुगाको अभाव र महिनावारी व्यवस्थापनको समस्याले किशोरी र सुत्केरीको प्रजनन स्वास्थ्यमा असर पर्छ । लाजका कारण किशोरीहरू आफ्नो समस्या पोख्न सक्दैनन् । यसले उनीहरूको प्रजनन स्वास्थ्यमा दीर्घ समस्या पार्छ ।
४–५ महीनाका गर्भवती महिलाको तनाव र चोटपटकका कारण गर्भपतन हुनसक्छ । यस्तो अवस्थामा सुक्खा लुगा र जमीनसँग शरीर न्यानो पार्ने व्यवस्था नभएर मानसिक रूपमा दुःखी भएका महिला शारीरिक रूपमा पनि अशक्त हुन सक्छन् र डिप्रेशन पनि हुनसक्छ । बाढीका बेला घरबार र आफन्त गुमाएको पीडामा औषधि, खाना र तातो ठाउँको व्यवस्थाले मलहमको काम गर्न सक्छ ।
बाढीका बेला सरकारले केकस्तो व्यवस्थापनमा विशेष ध्यान पुर्याउनुपर्छ त ?
सरकारले स्वास्थ्य उपचार र स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्छ । पीडितहरूलाई न्यानो राख्न सोहीअनुसार पाल, न्यानो कपडा, तातो खाने परिकारहरू व्यवस्था गरिदिनुपर्छ । स्वास्थ्यमा कुनै पनि प्रकारको हेलचक्र्याइँ गर्नु हुँदैन । बाढी प्रकोप क्षेत्रमा सफा पानीको व्यवस्था र सरसफाइको व्यवस्था गरिदिनुपर्छ । यसका साथै जीवनजल, नुनचिनी पानी, तातो खाना खान पीडितिहरूलाई हौसला प्रदान गर्नुपर्छ ।