ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डिशहोमले आगामी आवभित्रै सर्वसाधारणका लागि शेयर निष्कासन गर्छ

Jul 15, 2018  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
नेपाल इण्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आईटीयू) को सदस्य भएका कारण एनालग सिष्टमबाट डिजिटलाइजेशनमा जाने प्रक्रियामा छ । डिजिटलाइजेशनमा परिमार्जित नभएमा नेपाल कालो सूचीमा पर्न सक्ने सम्भावना भएकाले पनि यो काममा सरकार तथा सेवाप्रदायकहरू लागिरहेका छन् । सरकारको निर्णयअनुसार २०७५ को वैशाखसम्म देशभरका टेलिभिजन एनालगबाट डिजिटलमा रूपान्तरण भइसक्नुपर्ने थियो । यद्यपि यो कामले जुन रूपमा गति लिनुपर्ने हो, त्यो भने भएको देखिएको छैन । टेलिभिजनको डिजिटलाइजेशनले सरकार र उपभोक्तालाई हुने फाइदा, पछिल्लो समय भइरहेको कार्यप्रगति र निजीक्षेत्रले यसमा निर्वाह गरेको भूमिकाका साथै नेपालको पहिलो डिजिटल सेवाप्रदायक कम्पनी डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले हाल गरिरहेको काम र भावी योजनालगायतका विषयमा केन्द्रित रही कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यसँग आर्थिक अभियान राष्ट्रिय दैनिकका टीपी भुसाल र मदन लामिछानेले गरेको कुराकानीको सार : गत वैशाख मसान्तपछि ग्रामीण क्षेत्रसहित देशभर एनालग टेलिभिजन बन्द गर्नेे सञ्चार मन्त्रालयले घोषणा गरेको थियो । एनालगबाट डिजिटलमा रूपान्तरण गर्ने सरकारी घोषणाको कार्यान्वयनको अवस्था कस्तो छ ? सरकारले चरणबद्घ रूपमा एनालग टेलिभिजन बन्द गर्ने घोषणा गरेको हो । २०७२ साल वैशाखसम्ममा डिजिटलमा लगिसक्ने भनेर सरकारले पहिलोपटक घोषणा गरेको थियो । तर, यसअघि नेपालमा महाभूकम्प आयो । नागरिकको सूचनाको हकलाई असर पर्ने भन्दै त्यो समय सीमालाई केही पछि सार्नुपर्छ भनेर एनालग अपरेटरहरूबाट अनुरोध आयो । त्यसपछि यसको समय १ वर्ष पछि सारिएको थियो । १ वर्षपछि पुनः यसलाई तीन चरणमा कार्यान्वयन गर्ने भनेर समयसीमा सारियो । पहिलो चरणमा महानगरपालिका, दोस्रो चरणमा उपमहानगरपालिका र तेस्रो चरणमा नगरपालिका तथा गाँउपालिका गरी गत वैशाख मसान्तपछि देशभर एनालग टेलिभिजन बन्द गर्नेे सञ्चार मन्त्रालयले घोषणा गरेको थियो । हामी त पहिलेदेखि नै डिजिटलमै थियौं र आफ्नो हिसाबले तयारी गर्‍यौं । भारतमा हेर्नुभयो भने सरकारले नै तत्परता देखाएर डिजिटलमा लैजान सहयोग गरेको छ । तर, नेपालमा भने सरकारले भन्दा पनि निजीक्षेत्रले अग्रसरता देखाइरहेको अवस्था छ । सरकारले तत्परताका साथ डिजिटलाइजेशन गर्न नसक्नुको कारण के हो ? मलाई लाग्छ, यसअघि नेपाल सङ्क्रमणको अवस्थामा भएकाले यो ओझेलमा परेको हो । सङ्क्रमणको बेला छोटोछोटो समयमा सरकार परिवर्तन भए । एउटा सरकारसँग कुरा गर्‍यो । त्यस सरकारको मन्त्रीले यसको असर तथा फाइदाका बारेमा राम्रोसँग बुझ्न नपाउँदै सरकार परिवर्तन हुने अवस्था थियो । अहिले स्थायी सरकार बनेको छ । यो सरकारले डिजिटलाइजेशनलाई कडाइका साथ लागू गर्छ भन्ने हाम्रो अपेक्षा छ । अहिलेसम्म यसको पूर्ण कार्यान्वयन भएको छैन । आईटीयूको सदस्य भएका कारण नेपाल एनालग सिष्टमबाट डिजिटलाइजेशनमा जानैपर्ने हुन्छ । डिजिटलाइजेशनमा परिमार्जित नभएमा नेपाल कालो सूचीमा पर्न सक्ने सम्भावना धेरै छ । यूरोप, अमेरिकातिर सन् २००६/०७ मा डिजिटलाइजेशन भइसकेको थियो । एनालगबाट डिजिटलमा जाँदा राज्यलाई के फाइदा हुन्छ ? एनालगमा कसले कपिराइट चोरी गर्‍यो भनेर पत्ता लगाउन गार्‍हो हुन्छ । अर्को मुख्य कुरा भनेको एनालगबाट टीभी हेर्दा केवल अपरेटरलाई समेत कतिले हेरिरहेका छन् भन्ने थाहा हुँदैनथ्यो । त्यस्तै, एउटा टीभी हेर्ने भनेर लिएको केबललाई घरभरी बाँडेर पनि चलाइएको हुन्थ्यो, जसले गर्दा अत्यधिक रूपमा चुहावट हुन्थ्यो । डिजिटल प्रणालीमा गएपछि प्रत्येक टेलिभिजनमा छुट्टाछुट्टै सेटबक्स राख्नुपर्ने हुन्छ । त्यसो गर्दा मुलुकमा रहेका टेलिभिजनको सङ्ख्या यकिन हुनुका साथै सर्वसाधारणले तिरेको कर पनि सरकारी खातामा नै पुग्छ । अहिले एनालग प्रणालीको केबल टीभी सेवाप्रदायकले जनताबाट उठाएको कर राज्यलाई बुझाए÷नबुझाएको यकिन गर्ने कुनै माध्यम छैन । नेपाली जनताले एनालग टीभीमा उनीहरूलाई प्रभाव पार्ने के के हेरिरहेका छन्, त्यो विषयमा सरकारको नियन्त्रण भएन । कुनै टीभी च्यानलले कुनै गलत र भ्रमित पार्ने समाचार देखाउँदा पनि सरकारले सिष्टमबाट नियन्त्रण गर्न नसक्ने अवस्था थियो । तर, डिजिटलमा जाँदा सरकारले कुन च्यानलले के के विषयवस्तुका कार्यक्रम दिइरहेको छ भन्ने थाहा पाउन सक्नुका साथै त्यसलाई नियन्त्रण गर्न पनि सजिलो हुन्छ । डिजिटल प्रणालीबाट टेलिभिजन हेर्नेको सङ्ख्या यकिन हुनुका साथै राज्यलाई कर पनि आउने भयो । कम मूल्यमा सेवा लिइरहेको अवस्थामा सेवा महँगो भयो भन्ने उपभोेक्ताको गुनासो छ । डिजिटलाइजेशनले उपभोक्तालाई के फाइदा हुन्छ ? डिजिटल टीभीले अडियो र भिडियोलाई डिजिटल क्वालिटीमा सम्प्रेषण गर्छ । यसले मल्टिप्लेक्स सिग्नल दिने भएकाले नै यो स्तरीय मानिन्छ । टीभी हेर्दा सफा दृश्य नआउने र कमजोर ध्वनि आउनेलगायतका विभिन्न समस्यालाई यसले हटाइदिन्छ । टेलिभिजन सिग्नल डिजिटल भएपछि आफूलाई मन परेको प्याकेज लिएर हेर्न पाइने भएकाले ग्राहकलाई धेरै फाइदा हुन्छ । त्यस्तै, अन्य फाइदाहरूमा उदाहरणका रूपमा अहिले हामीले नेपाली सिनेमाहरू देखाइरहेका छौं । हामीले सिनेमा हलमा लाग्दा सँगसँगै वा छोटो समय अन्तरालमा नेपाली सिनेमा हेर्ने सुविधा उपलब्ध गराएका छौं । ग्राहकले हेर्न चाहेको सिनेमा अर्डर गरेर निश्चित रकम तिरेपछि चाहेको समयमा हेर्न सकिन्छ । यस्तो सेवाले नयाँ बजार सृजना गर्नुका साथै फिल्म उद्योगका लागि डिजिटल राइटको कुरा पनि आयो । साथै, फिल्म उद्योगका लागि एउटा नयाँ स्कोप पनि भयो । त्यस्तै, हामीले दिने च्यानलका कार्यक्रमहरू रेकर्डिङ गरेर चाहेको समयमा हेर्न सकिन्छ । डिजिटलाइजेशनले गुणस्तरीय प्रोडक्ट, सेवाका साथै अहिलेको अत्याधुनिक प्रविधिबाट उपभोक्ताहरूले टीभी हेर्न पाउँछन् । डिजिटलाइजेशनले गुणस्तरमा एउटा खुट्किलो थप्छ । अहिले अरू थप प्रविधिहरू पनि भित्रिरहेका छन् । डिजिटलपछि एचडी, अल्ट्रा एचडी, फोर के, सिक्स्टिन केलगायतका प्रविधिहरू पनि शुरू भइसकेको छ । अबको १० वर्षपछि सिक्स्टिन केमा हेर्ने भन्ने हुन्छ होला । नयाँ प्रविधिहरू विश्व बजारमा आएपछि हामीले पनि त्यसलाई क्रमशः भित्र्याउँदै जानेछौं । नयाँ प्रविधिको प्रयोगसँगै मूल्य पनि सस्तो हुनुपर्ने हो । तर, टेलिभिजन प्रयोगकर्ताहरूले नयाँ प्रविधिसँगै मूल्यको लाभ लिन सकेका छैनन् । टेलिभिजन सेवाप्रदायकहरूले मूल्य नघटाउनुको कारण के हो ? एनालग र डिजिटलको गुणस्तरका हिसाबले सेवाशुल्क महँगो होइन । ग्राहकहरूले हेर्दा जहिले पनि मूल्यसँगै सुविधालाई पनि हेर्नुपर्ने हुन्छ । नेपाली च्यानल मात्र हेर्दा सस्तो पर्छ । तर, सबै च्यानल हेर्न खोज्दा त्यसअनुसारको मूल्य पनि तिर्नुपर्छ । अहिले उत्पादन हुने सामग्री (कण्टेण्ट) को पनि पैसा लाग्छ । डिजिटलमा गएपछि ग्राहकहरूलाई छनोटको अवसर धेरै छ । एनालगमा एउटा लाइन ३ सय रुपैयाँमा लिएर धेरै जनाले हेरिरहेकोमा डिजिटलमा आएपछि एउटा लाइनबाट एउटा मात्रै टीभी हेरेपछि सस्तो त पक्कै परेन । एनालगबाट डिजिटलमा जानु भनेको साइकल चढिरहेको मान्छे गाडी चढेजस्तो हो । त्यसैले साइकलको खर्चले गाडी चढ्न त सकिँदैन नि । मूल्यको कुरा गुणस्तरले पनि निर्धारण गर्छ । डिशहोमको कुरा गर्दा २०७४ साल असार १८ गतेबाट यो कम्पनी पब्लिक कम्पनीको रूपमा रूपान्तरण भइसकेको छ र निकट भविष्यमा सर्वसाधारणका लागि शेयरसमेत निष्कासन गर्ने तयारीमा छ । यसको प्रक्रिया कहाँ पुग्यो ? कुनै पनि कम्पनीले सर्वसाधारणका लागि शेयर निष्कासन गर्न पब्लिक लिमिटेड कम्पनी भएको १ वर्ष र लगातार नाफामा गएको ३ वर्ष हुनुपर्ने प्रावधान छ । यो मापदण्ड हामी यो आर्थिक वर्षभित्रै पूरा गर्छौं । त्यसपछि हामीलाई अगाडि जान बाटो खुल्छ । हामी क्रेडिट रेटिङ कम्पनी तथा शेयर निष्कासन गर्ने कम्पनीसँग लगातार छलफलमा छौं । हामीले यसका लागि तयारी गरिरहेका छौं । अन्य सरकारी कामहरू पूरा भएमा आगामी आर्थिक वर्षमा शेयर निष्कासन गर्ने कम्पनीको योजना छ । कतिपय कुराहरू सरकारी निर्णय र प्रक्रियामा निर्भर रहने हुँदा हाम्रो योजनामा त्यसको पनि असर पर्न सक्छ । डिशहोम विदेशी लगानीसमेत भएको संस्था हो । यसमा नेपाली र विदेशी लगानीकर्ताहरूको कति लगानी रहेको छ ? डिश मिडिया नेटवर्क लिमिटेड नेपाली तथा विदेशी दुवै लगानीकर्ताहरूको लगानी भएको कम्पनी हो । यसमा नेपाली लगानीकर्ताहरूको ५० प्रतिशतभन्दा माथि स्वामित्व छ भने बाँकी शेयर ताइवानको एसएमटी इण्टरनेशनल होल्डिङको छ । यो कम्पनी ताइवान र हङकङ दुवै देशमा सूचीकृत कम्पनी पनि हो । डिशहोमको मुख्य विशेषता के हो ? अहिले यसको बजार हिस्सा कति प्रतिशत छ ? समग्र बजारमा डिशहोमको बजारहिस्सा २५ देखि ३० प्रतिशतको बीचमा छ । अझै एनालग पूर्ण रूपमा हटेको छैन । त्यो हटेपछि त्यसबाट पनि केही ग्राहक हाम्रोमा आउलान् । अहिले डिजिटल सेवा उपलब्ध गराउने हामीसँगै केबलवालाहरू पनि छन् । क्षेत्रका हिसाबले ७७ ओटै जिल्लामा हाम्रो पहुँच पुगेको छ । विस्तारै यसको गुणस्तरप्रति उपभोक्ताको चासो बढ्दै गएको छ । डिजिटलाइजेशन पूरा हुँदासम्म हाम्रो बजार हिस्सा ४० प्रतिशतसम्म पुग्छ भन्ने हाम्रो आँकलन छ । आफ्नो सेवा विस्तारका लागि आगामी रणनीति के छन् ? पहिलो कुरा त हामी ७७ ओटै जिल्लामा पुगेका छौं । प्रविधिको हिसाबले पनि त्यो सम्भव छ । र नेपालजस्तो भौगोलिक बनावट भएको देशका लागि यो सेवा उपयुक्त पनि हो । हामीले अहिले प्लस मुभी च्यानलमा नेपाली सिनेमा प्रसारण गरेका छौं । एक्सन स्पोर्टस् टीभी, रमाइलो टीभी हामीले अहिले सञ्चालन गरिरहेका टीभी कार्यक्रमहरू हुन् । अहिले सञ्चालन भइरहेका टीभी कार्यक्रमलाई थप परिष्कृत बनाउने तथा परिकारसम्बन्धी नयाँ च्यानल ल्याउने तयारी पनि छ । यस्तै, नेपाल आइडलजस्तै प्रकृतिको ‘द भ्वाइस अफ नेपाल’ कार्यक्रम ल्याउँदै छौं । यो कार्यक्रम १ सय ९२ देशमा चल्ने कार्यक्रम हो । एउटा कार्टूनलाई नेपालीमा डब भरेर देखाउने तयारी छ । यिनै कार्यक्रम आउँदा दिनमा कम्पनीले अगाडि बढाउनेछ । नभएका क्षेत्रमा ग्राहक वृद्धि गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने नै हाम्रो लक्ष्य हुनेछ । यो आज लगानी गरेर भोलि नै प्रतिफल पाउने व्यवसाय होइन । त्यसैले हामीले विस्तारै यसमा आवश्यक तयारी गरेर आवश्यकताअनुसार कार्यक्रम लिएर अगाडि बढ्छौं । हामीलाई के लाग्छ भने भोलिका दिनमा हामी आफैं आफ्ना ग्राहकको आवश्यकताका विषयवस्तुमा आधारित सामग्री (कण्टेण्ट) उत्पादन गर्न सक्षम हुनेछौं । तपाईंहरूले विश्वकपको प्रत्यक्ष प्रसारण गर्नुका साथै नेपालीमा कमेण्ट्री पनि गर्नु भएको थियो । यसको प्रतिक्रिया कस्तो पाउनुभएको छ ? हामीले विश्वकपको प्रत्यक्ष प्रसारण गर्नुका साथै नेपालीमा कमेण्ट्री गर्ने कुरा गर्दा ‘हुन्छ र ? सकिन्छ र ?’ भन्ने खालका प्रश्न नआएका होइनन् । तर, डिशहोमको एक्सन स्पोर्ट्स च्यानलबाट हामीले विश्वकपको कमेण्ट्री गर्‍यौं । यसबाट धेरै राम्रो प्रतिक्रिया पाएका छौं । अहिले हामीले गरेको कामले आगामी कार्यक्रमका लागि अनुभव हासिल भएको छ । आउँदा दिनमा अरू टीभीले पनि यसलाई अवलम्बन गर्छन्जस्तो लाग्छ । विश्वकपलाई नेपालीमा दिन पाउँदा अङ्ग्रेजी नबुझ्ने तथा बुझे पनि अलि गाह्रो गरी बुझ्ने सबैले यसबाट लाभ लिएका छन् । डिशहोमले ग्राहकहरूलाई कस्तोकस्तो सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ? यसका सेवा र अन्य सेवाहरूमा के अन्तर छ ? हामीले ग्राहकलाई विश्वसनीय सेवा दिन प्राविधिक तयारी गरेका छौं । प्रविधिको कुरा आजभन्दा भोलि नयाँ आउँदै जाने हो । डिजिटलबाट हाई डेफिनेशन हुँदै फोर एच के, सिक्स्टिन एचकेजस्ता प्रविधि आइरहेका छन् । क्रमशः त्यसतर्फ जानुको विकल्प छैन । अहिले पनि डिशहोमले उपलब्ध गराएको डिभाइसबाट आईएपी सेवा लिन सकिन्छ र त्यसबाट टीभीलाई स्मार्ट टीभी बनाउन सकिन्छ । रेकर्डिङको सुविधा लिन सकिन्छ । प्राविधिक हिसाबले राम्रो सेवा दिने एउटा पक्ष हो भने अर्को पक्ष कार्यक्रम दिने हो । डिशहोमले रू. २ सय ५० देखि ९ सयसम्मका विभिन्न प्याकेज दिइरहेको छ । ग्राहकहरूले आफ्नो क्षमता, आवश्यकता र रूचिअनुसार प्याकेज लिन सक्छन् । नेपालकै पहिलो डिजिटल सेवाप्रदायक भएकाले हामीले आफ्ना ग्राहकलाई अधिकतम राम्रो गुणस्तरको सेवा पु¥याउनुपर्छ भन्ने मान्यताअनुरूप कम्पनी अगाडि बढिरहेको छ । भर्खरै मात्र कम्पनीमा सञ्चालक समिति र कार्यकारी पदहरूमा परिवर्तन भएको छ, यसले कम्पनीको भावी रणनीतिमा कस्तो असर पार्छ ? पहिलो कुरा, यो नियमित प्रक्रिया हो । संस्थामा व्यक्तिहरू आउने जाने वा फेरिने भइरहन्छ । यो नियमित प्रक्रिया हो । जो हिजो पदमा हुनुहुन्थ्यो, उहाँहरूले पनि संस्थालाई राम्रो नेतृत्व दिएर जानुभएको छ । अब आएकाहरूले पनि कसरी राम्रो गर्न सकिन्छ भनेर काम गर्ने हो । नयाँ आउनेले कम्पनीको रणनीतिलाई अगाडि बढाउँदै लैजाने हो । यो व्यवसायमा देखिएका चुनौतीहरू के के हुन् ? पहिलो कुरा त डिजिटलाइजेशनकै काम हो । पहिले त यस कार्यलाई सक्नुपर्छ । यो चुनौतीपूर्ण काम हो । किनभने जति बेला भारतमा एनालगबाट डिजिटलमा जाने निर्णय भयो, सरकार आफैंले विज्ञापन उत्पादन गरेर आफ्नै अगुवाइमा डिजिटलाइजेशनको काम गर्‍यो । र त्यहाँ यो कार्यक्रम सफल भयो । तर, हामीले आफैं खर्च गरेर यो काम गर्नुपरेको छ । सरकारको जुन खालको तदारुकता हुनुपर्ने हो, त्यो भएको छैन । एनालगबाट डिजिटलमा जाने विषयमा पटकपटकका निर्णय, मुद्दा मामिलाबाट बल्ल हामी यहाँ आइपुगेका छौं । सरकारले तदारुकता देखाउँदा सरकारलाई नै राजस्व बढ्छ । ग्राहकको चेतनास्तर बढाउन जरुरी छ । अर्को कुरा, हामीले जस्तो सामग्री प्रसारण गरेका छौं, त्यसको राज्यले अनुगमन गरेको छ । हामीबाट राजस्व लिएको छ, तर इण्टरनेटको माध्यमबाट हुने धेरै कुराहरू अहिले पनि खुल्लै छ । यसबाट राज्यले केही पनि पाएको छैन । यसको नियन्त्रणको मेकानिज्म के हुन सक्छ, त्यसतर्फ सोच्न जरुरी छ । अहिले पनि काठमाडौंबाहेक कति ठाउँमा डिजिटल भयो त ? कति प्रगति भयो त ? खासै छैन । त्यस कारण मुख्य चुनौती भनेको डिजिटलाइजेशन नै हो । अर्को खुल्ला बजारमा उपलब्ध र सरकारलाई राजस्व नतिरी प्रसारण हुने सामग्री चुनौतीका रूपमा रहेका छन् । हरेक नयाँ कुरामा कुनै न कुनै प्रकारको चुनौती अवश्य हुन्छ नै, त्यसलाई चिर्दै जाने हो । यद्यपि, सरकार डिजिटलमा जानुपर्छ भन्नेमा स्पष्ट देखिन्छ । त्यसअनुरूपको कार्ययोजना ल्याउँछ भन्ने हाम्रो आशा र विश्वास हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)