ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दीर्घकालीन लगानी प्रोत्साहन गर्ने कार्यक्रम आवश्यक छ

Jul 15, 2018  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
अमृतनाथ रेग्मी पूँजीबजारमा ४ दशकभन्दा बढी र नेपाल औद्योगिक विकास निगम (एनआईडीसी)मा करीब ३ दशक काम गरेर केही समय त्यहीँको महाप्रबन्धक पनि भएका थिए । रेग्मी लगानीकर्ताका साथै विश्लेषकको रूपमा पनि परिचित छन् । नेपालको पूँजीबजारको स्थापना र विकासमा उनले नीतिनिर्माण तहमै रहेर काम गरिसकेका छन् । उमेरले ८० काटेका उनी अधिकांश समय कम्पनीको वित्तीय अवस्था अध्ययनका लागि बिताउँछन् । आफूले लगानी गरेका कम्पनीको वार्षिक साधारणसभामा अनिवार्य उपस्थित भई सुझाव दिन नछुटाउने उनी अध्ययनविनाको सुझाव अर्थहीन भएको टिप्पणी गर्छन् । पूँजीबजारको गतिशीलताका लागि नियामक निकायले दीर्घकालीन रूपमा लगानी गर्ने वातावरण बनाउन ध्यान दिनुपर्ने उनको सुझाव छ । यिनै विषयमा आर्थिक अभियानकी प्रजिता बुढाथोकीले उनीसँग गरेको कुराकानीको सार : पूँजीबजारमा कहिलेदेखि लगानी गर्दै आउनुभएको छ ? मैले २०३२ सालदेखि यो क्षेत्रमा लगानी गर्दै आएको हुँ । मेरो पेशा बैङ्क तथा वित्तीय क्षेत्रकै रह्यो । यही क्षेत्रमा रुचि भएका कारण पूँजीबजारमा लगानी गर्दै आएको हुँ । म पूँजीबजारमा प्रवेश गर्दा थोरै कम्पनीहरूले मात्र शेयर जारी गर्थे । कतिपय कम्पनीलाई पब्लिक लिमिटेड बनाउने क्रममा म आफै पनि संग्लन थिएँ । त्यसरी पनि यो क्षेत्रमा लगानी गर्न पुगेँ । म २०१८ सालदेखि एनआईडीसीमा कार्यरत थिएँ । सोही समयमा पब्लिक कम्पनी बनाउने प्रयासमा सक्रिय भएँ । त्यति बेला पब्लिक कम्पनी हुन सातजना संस्थापक चाहिन्थ्यो, तर यति जुटाउन पनि समस्या हुन्थ्यो । आफ्नो कार्यालयका कर्मचारी साथीहरूलाई १० कित्ता किनेर सदस्य बनौं भनेर आग्रह गर्थें । यसरी वित्तीय क्षेत्रको अनुभव सँगाल्दै धेरै कम्पनीको संस्थापक बनेको मैलै नेपाल स्टक एक्सचेञ्जको सञ्चालक समितिमा रहेर पनि काम गर्ने अवसर पाएको थिएँ । यो क्षेत्रमा गरेको लगानीबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ? मैले १० कित्ता लगानी गरेको कम्पनीमा अहिले मेरो शेयर २ हजार कित्ताभन्दा बढी पुगेको पनि छ । यस अवस्थामा म पक्कै सन्तुष्ट छु । होला, यसका लागि मैले धेरै समय प्रतीक्षा गर्नुपर्‍यो । म दीर्घकालीन रूपमा लगानी गर्नेमध्ये एक हुँ । मैले खरीद गरेका शेयर एकपटक छोरीको विवाह गर्दा र एकपटक नातीको व्रतबन्ध गर्दाबाहेक बेचेको छैन । मैले जहाँ नोकरी गरेँ, त्यस संस्थामा पेन्शनको व्यवस्था थिएन । कमाएको बेला गरेको लगानी अहिले बुढेसकालको सहारा बनेको छ । अप्ठ्यारो पर्दा कसैको भर पर्नुपर्ने बाध्यता छैन । पूँजीबजारको विकासलाई कसरी हेर्नुभएको छ ? म यो क्षेत्रमा पब्लिक कम्पनीहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रवेश गरेको थिएँ । त्यो बेला सर्वसाधारणले शेयर नै हाल्दैनथे । कम्पनीहरूलाई शेयर बिकाउन हम्मे हम्मे पथ्र्यो । अहिले कयौं गुणा बढी आवेदन पर्ने गर्छ । पहिले पैसा भएसम्म जति आवेदन दिँदा पनि पाइन्थ्यो । अहिले गोलाप्रथाद्वारा बाँडफाँट गर्नुपर्ने अवस्था आएको छ । पहिलाको तुलनामा अहिले पूँजीबजारप्रति जनताको आकर्षण बढेको छ । पहिला पूँजीबजारमा म्यानुअल प्रणाली मात्र थियो, विद्युतीय प्रणाली थिएन । हातले लेखेर सबै काम गर्नुपर्थ्यो । अहिले प्राथमिक र दोस्रो दुवै बजार प्रविधिमैत्री भएका छन् । र, अझै प्रविधिमैत्री बनाउन सम्बन्धित निकाय अग्रसर छ । पूँजीबजार थप विकसित बनाउन के आवश्यक देख्नुहुन्छ ? पूँजीबजारको विकास त भयो, तर व्यवस्थित तवरबाट हुन नसकेको हो कि भन्ने मेरो धारणा छ । कुन तहदेखि कुन दिशातर्फ लैजाने भन्ने यकिन नभईकन विकास हुन पुग्यो । त्यो विकासको प्रणाली दीर्घकालीन योजना बनाएर भएको जस्तो लाग्दैन । यसका लागि नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले अनुसन्धान तथा विकासलाई जोड दिनुपर्ने देख्छु । कम्पनीको वार्षिक साधारणसभामा विश्लेषकको रूपमा पनि आफ्नो धारणा राख्दै आउनुभएको छ । तपाईंहरूले दिएको सुझाव कम्पनीहरूले कत्तिको कार्यान्वयन गरेका छन् ? मैले लामो समयदेखि कम्पनीहरूको आधारभूतसँगै वित्तीय विश्लेषण गर्दै आएको छु । हामीले कम्पनीहरूलाई वार्षिक साधारणसभामार्फत सुझाव दिएकोमा उनीहरूले धेरै पक्षमा कार्यान्वयन गरेको देखिन्छ । अहिले बैङ्क तथा वित्तीय संस्थामा सबैभन्दा ठूलो समस्या सञ्चालक समितिमा बैङ्किङ अनुभव भएको व्यक्ति पर्याप्त नहुनु हो । मैले सबैजसो कम्पनीलाई बैङ्क चलाउने प्रतिनिधि बैङ्किङ अनुभव भएकै चयन गर्न सुझाव दिँदै आएको छु । बैङ्क तथा वित्तीय संस्थाका प्रमुख कार्यकारीमा बैङ्किङ अनुभव छ । तर, उनीहरूले भनेका कुरा बोर्डका सञ्चालकहरूले नमानेको अवस्था पनि छ । किनभने, बोर्डका सञ्चालकहरूसँग बैङ्किङ शिक्षाको कम छ । यस आधारमा कतिपय कम्पनीले सुझावलाई आत्मसात् गरेका छन् भने कसैले सुने नसुनेझैं गरेका पनि छन् । कम्पनीहरूको वार्षिक साधारणसभामा महिला विश्लेषकको उपस्थिति शून्य छ । यसको कारण के होला ? यस्ता सभामा महिला पनि आए समावेशी हुन्थ्यो भन्ने लाग्छ । पूँजीबजारमा जसरी पछिल्लो समय महिलाको सहभागिता बढेको छ, त्यसैगरी उनीहरूको बुझाइमा पनि वृद्धि भए अझै राम्रो हुन्थ्यो । धेरै पहिला वक्ता र विश्लेषकको रूपमा केही महिला सक्रिय रूपमा भाग लिनुहुन्थ्यो । तर, पछिल्लो समय उहाँहरूको उपस्थिति देखिएको छैन । कुनै पनि कम्पनीमा लगानी गरेको छ भने त्यो कम्पनीको अवस्थाको बारेमा जान्नुपर्छ । त्यसका लागि अध्ययन आवश्यक छ । मेरो बुझाइमा महिलाहरूले यसबारे कम अध्ययन गर्ने गरेका छन् । कम्पनीको वार्षिक वित्तीय विवरण केलाउन सक्ने खालका दिदीबहिनी कम भएकै कारण यो अवस्था भएको हो जस्तो लाग्छ । तर, म पनि आफ्नो धारणा राख्छु भनेर आउने महिला साथीहरूलाई विश्लेषणका आधार अध्ययन गर्न सक्ने बनाउन आवश्यक परे म सहयोग गर्न तयार छु । नेपाल धितोपत्र बोर्डले ल्याएको नीति तथा कार्यक्रम र राष्ट्र बैङ्कको नयाँ मौद्रिक नीतिलाई कसरी लिनुभएको छ ? नेपाल राष्ट्र बैङ्कले पूँजीबजारलाई मात्र नभएर समग्र बैङ्क तथा वित्तीय संस्थाका लागि नीतिनियम तय गर्ने हो । उसले पूँजीबजारलाई पनि समेट्नुपर्छ र त्यसो गर्न सफल देखिएको छ । यस वर्षको मौद्रिक नीतिले शेयर धितोमा मार्जिन प्रकृतिको कर्जा प्राथमिक पूँजीको २५ प्रतिशतसम्म मात्र प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ । यसअघि यस्तो कर्जा प्राथमिक पूँजीको ४० प्रतिशतसम्म मात्र दिन पाउने व्यवस्था थियो । यसले लगानीकर्तालाई कस्तो असर पर्छ, त्यो हामी सबैले महसूस गरेकै विषय हो । तर, कतिपय साथीहरूले यसले खासै फरक नपर्ने तर्कसमेत गरेका छन् । यो आ–आफ्नो बुझाइ हो, त्यसमा मलाई केही भन्नु छैन । धितोपत्र बोर्डले भने पूँजीबजारको मात्र नियमन गर्ने हो । त्यसैले, उसले यस क्षेत्रलाई अझ गहन अध्ययन गरेर कार्यक्रम ल्याउनुपथ्र्यो । त्यसो गरेको भए थप प्रभावकारी हुन सक्थ्यो । धितोपत्र बोर्ड पनि आफूलाई सुधारेर अघि बढेको छ । बोर्डले झोले प्रवृत्तिको अन्त्य गरिसकेको छ । त्यो राम्रो उपलब्धि हो । अब अल्पकालीन र दीर्घकालीन लगानीकर्ताका लागि छुट्टाछुट्टै नीति बनाएर अघि बढ्न आवश्यक छ । अहिलेसम्म पनि यी दुवै खालका लगानीकर्तालाई समान नियमकानून छ । यसमा फरक भए लगानीकर्तामा दीर्घकालीनका लागि प्रोत्साहन मिल्थ्यो । अर्को कुरा, सम्पूर्ण लगानीकर्तालाई परिचयपत्रको व्यवस्था हुनुप¥यो । अन्तरराष्ट्रिय अभ्यास हेरेर नियामक निकायहरूले आवश्यक प्रणालीको विकास गर्नुपर्छ भन्ने लाग्छ । पूँजीबजारमा लगानी गर्न आम लगानीकर्तालाई के सुझाव दिनुहुन्छ ? म एउटै कुरा भन्छु । आफ्नो क्षमताअनुसार लगानी गर्नुपर्छ । ऋण लिएर विनाअनुभव अरूको भरमा ठूलो रकम लगानी नगर्नुहोस् । थोरै रकमले थोरै समयमा धेरै नाफा कमाउँछु भन्ने सोच राख्दै नराख्नुहोस् । दीर्घकालीन रूपमा लगानी गर्न मेरो आग्रह छ । आफ्नै अनुभवका आधारमा दीर्घकालीन गर्नेहरूले कुनै हालतमा घाटा खानुपर्दैन ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)