गर्मी मौसम र त्यसमाथि बाढीपहिरोको जोखीम हुने यो समयमा सरुवा रोगले पनि उत्तिकै सताउने सम्भावना रहन्छ । यस्तो बेला माहामारी फैलन सक्ने भएकाले सजग हुनुपर्छ । यसै सन्दर्भमा गर्मी मौसम, वर्षा र बाढीको बेला लाग्न सक्ने रोग, रोकथामका उपायलगायत विषयमा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग आर्थिक अभियानका पूर्णभक्त दुवालले सोधेका छन् :बाढीपीडित बस्तीमा फैलिन सक्ने रोग के के हुन् ?
बाढीग्रस्त क्षेत्रमा दूषित पानीका कारण सङ्क्रमणको सम्भावना बढी हुन्छ । यस्तो सङ्क्रमणबाट बच्न शुद्ध एवम् उमालेको पानी पिउनुपर्छ । सम्भव भएसम्म प्रशोधन औषधि (पीयूस चक्कीलगाय) राखेर पानी पिउनु लाभादायी हुन्छ । बाढीको मौसम र गर्मीमा झाडापखाला, आउँ, हैजा, टाइफाइड, जण्डिस, लेक्टोस्पाइरोसिस (मुसाको पिसाबबाट सर्ने रोग), फूड प्वाइजनिङलगायत समस्याले सताउँछ । बाढीपहिरो आउँदा मानिसमा झाडापखालाको जोखीम बढी हुन्छ । त्यस्तै, टाइफाइड र जण्डिसको सङ्क्रमण पनि बढी नै देखिन्छ । यस्ता रोगबाट बच्न स्वच्छ र प्रशोधित पानी पिउने गर्नुपर्छ ।
यो मौससमा अन्य के कस्तो स्वास्थ्य समस्या देखिन्छ ?
यो समयमा बाढी र पहिरोको जोखीम बढ्ने भएकाले मुख्यतः सङ्क्रमणजन्य रोग नै देखिन्छ । खानेपानीको मुहान दूषित हुँदा विभिन्न कीटाणु र जीवाणुले झाडापखाला, आउँलगायत रोग निम्त्याउँछ । त्यसैले, पानी उमालेर मात्र खानुपर्छ । शरीरलाई चिसो हुन दिनु हुँदैन । वृद्धवृद्धा, सुत्केरी महिला, बालबालिका तथा दीर्घकालीन रोग भएकाहरूमा गम्भीर समस्या उत्पन्न हुन सक्छ । यस्तो बेला सरुवा रोगको जोखीम बढी हुन्छ । बाढी प्रभावित क्षेत्रमा रुघाखोकी, ज्वरो, हैजा, झाडापखाला, जण्डिस, टाइफाइडजस्ता सङ्क्रमणजन्य रोग देखिन्छ । यसबाहेक अन्य नसर्ने रोग पनि थप जटिल बन्न सक्छ । पानीबाट सर्ने रोगका साथै हावाबाट पनि रोग सर्ने ठूलो सम्भावना हुन्छ । ग्याष्टिक, डिप्रेशन, मधुमेह र युरिक एसिड बढ्ने जस्ता समस्या पनि हुन्छ ।
यो बेला सरुवा रोगबाट बच्न के गर्नुपर्छ ?
शुद्ध पानी मात्र पिउने, पानी धमिलो भएमा शुद्धीकरण गरेर वा उमालेर मात्र सेवन गर्नुपर्छ । यसैगरी खाना खानुअगाडि साबुनपानीले राम्ररी हात धुनुपर्छ । भीड तथा हुलमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ । साथै, आफू बस्ने ठाउँवरिपरि सफासुग्घर गर्नुपर्छ । शौचालयमा मात्र दिशापिसाब गर्नुपर्छ । शौचालय मानिस बस्ने ठाउँबाट कम्तीमा २० मिटर पर हुनुपर्छ । टाउको दुख्ने, पेट दुख्ने, वान्ता हुनेलगायत विभिन्न रोगको लक्षण वा सङ्क्रमण देखिए तुरुन्तै स्वास्थ्यकर्मीसँग परामर्श गर्नुपर्छ ।
यो मौसममा कस्ता बिरामी बढी हुन्छन् ?
उल्लिखित रोगबाहेक छालासँगसम्बन्धी रोगका बिरामी पनि बढी हुन्छन् । गर्भवती महिलामा यो बेला पोषणको कमी पनि हुने गर्छ । रुघाखोकी र ज्वरो यो बेला सामान्य नै हुन्छ । यसबाट बालबालिका र गर्भवती महिलामा कुपोषण हुने सम्भावना बढ्छ । सफा पानी र पोषणयुक्त खानेकुराको कमीले गर्दा पानीबाट सर्ने रोगहरू, जस्तै– टाइफाइड, झाडापखाला र जण्डिसको जोखीम बढ्छ । तराईतिर डेङ्गीका बिरामी बढी हुन्छन् । यो बेला कीटाणुजन्य रोग फैलन थाल्छ । साथै, स्क्रबटाइफस, चिकेनगुनिया, मलेरिया, जापानिज इन्सेफलाइटिस जस्ता रोगको जोखीम पनि बढ्छ ।
गर्मी मौसममा देखिने मुख्य रोग के के हुन् त ?
गर्मी मौसमसँगै विभिन्न ब्याक्टेरिया, भाइरसलगायत जीवाणु सक्रिय हुन थाल्छन्, जस कारण झाडापखाला, टाइफाइड, जण्डिसजस्ता रोगको प्रकोप बढ्छ । वर्षामा बिहान–बेलुका चिसो हुने भएकाले भाइरस सक्रिय हुन्छन् । यसले गर्दा मौसमी रुघाखोकीले पनि सताउन सक्छ । यो मौसममा देखिने अर्र्कोे रोग हेपाटाइटिस ए तथा ई हो । हेपाटाइटिस ए प्रत्येक वर्ष देखिन्छ भने हेपाटाइटिस ई पनि केही वर्षको अन्तरमा स्थान विशेषमा देखिने गर्छ । यी दुवै हेपाटाइटिसका कारण जण्डिस हुन सक्छ । जण्डिसले कलेजोमा असर पार्छ ।
दूषित पानी र खानपानमा हुने असरका कारण देखिने अर्को रोग टाइफाइड हो । असुरक्षित खाना र फोहोर पानीमा पाइने सालमोनेलाटाइफी ब्याक्टेरियाका कारण टाइफाइड लाग्छ । रोगको सम्बन्ध खानपिन र सरसफाइसँग हुन्छ । ठेउला, दादुरा, रुघाखोकी जस्ता सरुवा रोग हावाबाट, टाइफाइड, हेपाटाइटिस ए तथा ई, झाडापखाला, हैजालगायत रोग दूषित पानीबाट सर्ने गर्छ । गर्मी मौसममा रोगको सङ्क्रमण छिटो फैलन्छ । हावा, पानी, लामखुट्टृेलगायत किटबाट सरुवा रोगको सङ्क्रमण हुन्छ ।
सरुवा रोगबाट बच्न के गर्नुपर्छ ?
सरुवा रोगबाट बच्न व्यक्तिगत सरफाइका साथै खानपिनमा ध्यान दिनुपर्छ । खाना र पानी कत्तिको स्वस्थकर तथा सफा छ, विचार गर्नुपर्छ । सकेसम्म घरमै पकाएको खानेकुरा खाँदा पनि कतिपय रोगबाट बच्न सकिन्छ । परिवारकै केही सदस्यमा समस्या देखिए अन्यलाई पनि सर्न सक्ने सम्भावना तीव्र हुन्छ । त्यसैले, सङ्क्रमित बिरामीले अरूमा रोग फैलन नदिन विशेष सतर्कता अपनाउनुपर्छ ।
स्क्रबटाइफस रोग पनि गर्मीमा देखिने रोग होइन र ?
हो । यो रोग गर्मीमा छिटो फैलिन्छ । मुसाको शरीरमा हुने किर्नाजस्तो परजीवी (माइट)को टोकाइबाट लाग्ने स्क्रबटाइफस शहरी क्षेत्रमा समेत देखिन थालेको छ । खासगरी स्क्रबटाइफस भूकम्पपछि देखापरेको रोग हो । चितवन, धादिङ, नुवाकोटलगायत ३८ जिल्लामा स्क्रबटाइफसको जोखीम रहेको पाइएको छ । काठमाडौं उपत्यकामा पनि यो रोग देखिएको छ ।