विद्यालयस्तरदेखि नै शेयरसम्बन्धी शिक्षा समावेश गर्नुपर्छ
Jul 22, 2018
 
अन्तरवार्ता
काभ्रेको पनौती नगरपालिकाका स्थायी बासिन्दा बालकृष्ण प्रजापति शिक्षण पेशामा आबद्ध छन् । व्यवस्थापन सङ्कायमा स्नातकोत्तर उत्तीर्ण गरेका उनले २०६४ सालदेखि शेयर बजारमा लगानी गर्दै आएका छन् । शेयर खरीद गर्दा सकेसम्म कम्पनीहरूको वित्तीय विवरण अध्ययन गर्ने उनी अरूलाई पनि आफै बुझेर लगानी गर्न सुझाव दिन्छन् । यसै विषयमा आर्थिक अभियानकी मल्लिका घिमिरेले उनीसँग गरेको कुराकानीको सार :शेयर बजारमा कहिलेदेखि लगानी गर्दै आउनुभएको छ ? शुरूमा लगानी गर्ने प्रोत्साहन कसले दियो ?
म २०६४ सालदेखि प्राथमिक बजारमा लगानी गर्दै आएको छु । शेयर बजारमा लगानी गर्ने इच्छा भएपछि शङ्करदेव क्यापसका फाइनान्स शिक्षकका साथै शेयर विश्लेषक रवीन्द्र भट्टराईसँग शेयर बजारसम्बन्धी तालीम लिएर यो बजारमा प्रवेश गरेको हुँ । ४ वर्ष अघिदेखि दोस्रो बजारमा पनि लगानी गरेको छु । भट्टराईसँग १ हप्ताको तालीम लिएपछि कम्पनीहरूको वित्तीय विवरण हेरेर लगानी गरेँ । कुनै पनि कम्पनीको चुक्तापूँजी, जगेडा कोष, पीई रेशियो, ईपीएस, नेटवर्थ र नाफा हेरेर लगानी गर्ने गरेको छु । शुरूमा काठमाडौंको नासा ब्रोकर कम्पनीबाट शेयर कारोबार गर्ने गरेको थिएँ । बनेपामा ब्रोकर शाखा आएपछि अहिले बनेपाको ३४ नम्बर भिजन सेक्युरिटिजबाटै कारोबार गरिरहेको छु । आफै कम्पनीको वित्तीय विवरण हेरेर कुन कम्पनीको शेयर राख्ने वा बेच्ने भन्ने निर्णय गर्छु ।
शेयर बजारबारे ज्ञान पाएपछि मात्र यो क्षेत्रमा प्रवेश गर्नुभएको हो ?
शुरूमा ज्ञान भएर त प्रवेश गरेको होइन । किताबी ज्ञान त थियो, शेयर बजारबारे व्यावहारिक ज्ञान थिएन । २०६५ सालमा एमबीएस सकिएपछि इन्भेष्टमेण्ट र फाइनान्स मेरो मुख्य विषय भएकाले पनि शेयर बजारप्रति अलिअलि ज्ञान भयो । म जुन विद्यालयमा पढाउँथे, त्यस विद्यालयका शिक्षकहरूले प्राथमिक शेयरमा लगानी गर्दै आएका रहेछन् । उनीहरूले मलाई पनि शेयरमा लगानी गर्न केही ज्ञान दिएपछि यो क्षेत्रमा प्रवेश गरेको थिएँ । शुरूमा एनआईसी एशिया बैङ्कको आईपीओ भरेँ, तर त्यसमा परेन । त्यसपछि सूर्यदर्शन फाइनान्स र जेनिथ फाइनान्समा पहिलोपटक आईपीओ परेको थियो । बनेपामा ब्राइट डेभलपमेण्ट बैङ्कको शाखाबाट शेयरमा आवेदन दिने सुविधा आएपछि त्यहाँबाट भरेँ । साथीहरूले दिएको जानकारीले पनि लगानी गर्न सफल भएँ ।
यस क्षेत्रप्रति कसरी आकर्षित हुनुभयो ?
साथीहरूको कुराकानीबाट यस क्षेत्रमा लाग्दा भविष्यमा राम्रो हुन्छ, नाफा यति भयो–उति भयो भन्ने सुनेर पूँजीबजारमा लगानी गर्छु भन्ने जागेको थियो । मेरो विषय पनि व्यवस्थापन र वित्त भएकाले पनि यसतर्फ आकर्षित भएँ । किताबमा पूँजीबजारको विषय समेटिएको भए तापनि व्यवहारमा लगानी गरे अझै जानिन्छ भनेर यस क्षेत्रमा लागेको हुँ । पूँजीबजारको विषयमा स्नातक गरेर पनि यस क्षेत्रमा लगानी नगरे बजारको व्यावहारिक कुरा मैले कसरी सिक्छु त भन्ने सोचले पनि आकर्षित भएको हुँ । ब्राइट डेभलपमेण्टको शेयरमा आफ्नो र श्रीमतीको नामबाट ५०/५० हजारको शेयर भरेको थिएँ । दुवैजनाको नाममा ३ सय कित्ता पर्यो । त्यसपछि उत्साहित भएर शेयरमा झन् लगानी गर्ने इच्छा जाग्यो ।
यस क्षेत्रको लगानीबाट फाइदा भएको छ ?
लगानी गरेदेखि हालसम्म हेर्दा म फाइदामै छु । तर, पछिल्लो समय दोस्रो बजारमा गरेको लगानीले अलि घाटा भएको छ । नेप्से बढ्यो भने त त्यो घाटा पनि नाफामा परिणत हुन्छ । शेयर बजारबाट धेरै नाफा कमाएको छु । शुरूमा करीब रू. १ लाख आईपीओमा लगानी गरेको थिएँ । त्यसपछि आईपीओमा परेको शेयरबाट भएको नाफाले अलि अलि गरेर अरू कम्पनीको शेयर किनेँ । यसैगरी १/डेढ लाखबाट दोस्रो बजारमा प्रवेश गरेकोमा हाल ३० लाखको पोर्टफोलियो पुगेको छ । त्यसमा मेरो लगानी ७ लाख छ । मैले कहिले पनि एउटै क्षेत्रमा लगानी गरिनँ । नेप्से घटेको बेलामा बैङ्कमा मुद्धती निक्षेपमा राखेर ब्याज खाएँ । त्यसबाट पनि आम्दानी भयो । नेप्से घटेको बेला थोरै कित्ता शेयर किनेँ र जुन कम्पनीबाट घाटा भएको हो, त्यस कम्पनीको शेयर घटेको बेला थोरै थोरै कित्ता गरेर किनेर पहिले भएको घाटा व्यवस्थापन गरेँ । एउटै क्षेत्रमा मात्र लगानी नगरी बैङ्क तथा अन्य क्षेत्रमा लगानी गरियो भने एउटाबाट भएको घाटा अर्को क्षेत्रबाट भएको नाफाले परिपूर्ति गर्छ । यसरी सबै क्षेत्रमा लगानी गर्दा कसैले पनि आफ्नो लगानीबाट घाटा खानुपर्दैन ।
लगानीका लागि शेयर बजार कत्तिको उपयुक्त देख्नुहुन्छ ?
कुनै पनि क्षेत्र सुनिश्चित त छैन । तर, जोखीम लिन्छु भनेर लगानी गर्ने हो भने शेयरबजार उपयुक्त नै छ । सबैमा नाफा नै हुने हो भने त सबै त्यही क्षेत्रमा लाग्छन् । यसमा जोखीम र लाभ दुवै छ । शेयरमा लगानी गर्दा संयम अपनाउनुपर्छ । कुनै पनि कम्पनीको शेयर सो कम्पनीको वित्तीय विवरण नहेरी साथीभाइको लहैलहैमा लागेर खरीद गरियो भने कुनैले नाफा दिए पनि धेरैले घाटा मात्र दिन्छ । शेयर बजारसम्बन्धी अरूसँग जानकारी त लिनुपर्छ । तर, त्यसबारे आफूले पनि बुझ्नुपर्छ ।
शेयर बजारबारे जनचेतनाको स्तर कस्तो पाउनुहुन्छ ?
पहिलेकोे तुलनामा यसबारे धेरै चेतना बढेको छ । स्नातक पूरा गर्दासम्म पनि शेयर बजार भनेको के हो, कस्तो हो भनेर मलाई नै थाहा थिएन । अहिले बाबुले गरेको लगानीले पनि छोराछोरीले सिक्ने भइसकेका छन् । मैले विद्यालयमा लेखा र कलेजमा अर्थशास्त्र विषयअन्तर्गत पूँजीबजारबारे पनि पढाउनुपर्छ । त्यस क्रममा शेयर बजारसम्बन्धी आफ्नो अनुभव विद्यार्थीहरूलाई बाँड्ने गरेको छु । किताबमा भएकोभन्दा पनि बढी ज्ञान आफूले दिने गरेको छु । किताबमा के हो शेयर, के हो डिबेञ्चर भन्नेसम्म त छ, तर त्यसबारे बुझ्नेगरी व्याख्या भने गरिएको छैन, जुन आफैले लगानी गरेपछि मात्र बुझिन्छ । अहिले रेडियो, टेलिभिजन, पत्रपत्रिकामा पूँजीबजारबारे समाचार आउने भएकाले पनि पूँजीबजारको चेतना बढेको छ ।
लगानीका लागि आधार कसरी तय गर्नुहुन्छ ? राम्रा कम्पनी कसरी छान्नुहुन्छ ?
कम्पनीहरूले सार्वजनिक गर्ने त्रैमासिक वित्तीय विवरण नै विशेषगरी हेर्ने गरेको छु । त्यसमा चुक्तापूँजी पुगेको छ कि छैन । धितोपत्र बोर्ड वा नेपाल राष्ट्र बैङ्कले दिएको मापदण्ड पूरा गरेको छ कि छैन, जगेडा कोष, ईपीएस, नेटवर्थ, पीई रेशियो इत्यादि हेरेर लगानी गर्ने गरेको छु ।
आफ्ना विद्यार्थीलाई शेयर बजारमा लगानी गर्न कत्तिको उत्प्रेरित गर्नुहुन्छ ?
मैले पठाउने विषय लेखा र अर्थशास्त्र भएकाले शेयर बजारमा अलिअलि भए पनि लगानी गर्नुपर्छ भनेर विद्यार्थीलाई सुझाव दिने गरेको छु । कम्पनीमा भविष्यका लागि भए पनि एससीईपछि शुरूमा आईपीओ र म्युचुअल फण्डहरूमा लगानी गर्न सुझाउने गरेको छु । पाठ्यक्रमका विषयले मात्र पुग्दैन, आफै लगानी गरेपछि पढेको भन्दा पनि बढी बुझिन्छ भनेर बताउने गर्छु । कतिपय विद्यार्थीले लगानी पनि गर्दै आएका छन् ।