विवाहित महिलाले नियमित ‘पप स्मियर टेष्ट’ गराउनुपर्छ
Jul 27, 2018
 
अन्तरवार्ता
पाठेघरको मुखमा नियन्त्रणभन्दा बढी कोषिका वृद्धि भएपछि पाठेघरको मुखको क्यान्सर हुन्छ । पाठेघरको मुखको क्यान्सर हुने मुख्य कारक तत्त्व भाइरल सङ्क्रमण भएको डाक्टरहरू बताउँछन् । डाक्टर विक्रम कुम्पाखका अनुसार पाठेघरको मुखको क्यान्सर शारीरिक सम्पर्क गरेकाहरूलाई हुन्छ । शारीरिक सम्पर्कका बेला पुरुषबाट आउने ह्युमन पापिलोमा नामक कीटाणुका केही प्रजातिका कारण पाठेघरको मुखमा क्यान्सर हुन्छ । यो इन्फेक्शन पुरुषबाट महिलामा सर्छ । नेपाली महिलामा देखिएका क्यान्सर रोगमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख रहेको छ । अज्ञान, स्वास्थ्य चेतनाको कमी र गरीबीका कारण समयमै उपचार नहुँदा पाठेघरको क्यान्सरबाट वर्षेनि धेरै महिलाको मृत्यु हुने गरेको छ । यो रोग शुरूकै अवस्थामा पत्ता लगाई उपचार गरे पूर्णतया निको पार्न सकिने डा. कुम्पाख बताउँछन् । प्रस्तुत छ, पाठेघरको मुखको क्यान्सर, लक्षण, उपचारलगायत विषय आर्थिक अभियानका पूर्णभक्त दुवालले उनीसँग गरेको कुराकारी :पाठेघरको मुखको क्यान्सर केलाई भनिन्छ ?
पाठेघरको बाहिरी भाग (योनि), जुन बाहिरबाट देखिन्छ, त्यसमा शुरुआतमा घाउजस्तो हुन्छ । यदि त्यसलाई बेवास्ता गरियो वा परीक्षण गराइएन भने विस्तारै बिग्रिँदै गएर क्यान्सर हुन्छ । यसलाई नै पाठेघरको मुखको क्यान्सर भनिन्छ ।
यो कुन उमेर समूहका महिलालाई लाग्छ ?
खासगरी यो ३५ वर्षमाथिका महिलालाई लाग्ने गर्छ । २० देखि ३० वर्षको उमेरमा हुने प्रजनन गतिविधिका कारण यो उमेरका महिलालाई पनि यो रोग लाग्ने गरेको छ ।
पाठेघरको मुखको क्यान्सर के कारण हुन्छ ?
पाठेघरको मुखमा हुने ८० प्रतिशत क्यान्सर ह्युमन पापिलोमा भाइरसका कारण हुन्छ । यो भाइरस पुरुषबाट महिलामा सर्ने गर्छ । हुन त यो भाइरस सबै मानिसमा हुन्छ । तर यसले महिलाको प्रजनन अङ्गमा छिट्टै आक्रमण गर्छ । यौन सम्पर्कका बेला पुरुषबाट महिलामा यो भाइरस सर्छ । मानिसमा मुसा आउने कारण पनि यही भाइरस हो ।
यो रोग बढीजसो कसलाई लाग्छ ?
शारीरिक सम्पर्कमा रहेका वा प्रजनन क्षमता भएका जो सुकैलाई पनि यो रोग लाग्छ । विशेषगरी ३० देखि ६० वर्ष उमेरका महिलालाई यो रोग लाग्छ । सानै उमेरमा विवाह गर्नेलाई यो रोग लाग्छ, अर्थात् कम उमेरमै शारीरिक सम्पर्क गर्नेहरूलाई यो रोगको जोखीम बढी हुन्छ । यसैगरी धेरै जनासँग यौन सम्पर्क गर्ने र धूमपान गर्नेलाई यो रोग छिट्टै लाग्न सक्छ । श्रीमतीको मात्रै होइन, श्रीमान्को पनि धेरैजना यौन साथी भएमा यो रोग श्रीमतीमा सर्ने सम्भावना बढी हुन्छ ।
कम वर्ष अन्तरमा बच्चा पाउनेलाई पनि यो रोगको जोखीम हुन्छ । लगातार १० वर्षसम्म गर्भनिरोधक चक्की खानेलाई पनि यो रोग लाग्ने सम्भावना हुन्छ । यौन व्यवसायमा लागेका महिला वा परपुरुषको संसर्गमा रहेकालाई पनि लाग्ने सम्भावना बढी हुन्छ । जाँड, रक्सी, चुरोट, खैनी, तमाखु खाने तथा खानपिनमा ध्यान नदिने र कुपोषण भएका महिलालाई यसको खतरा धेरै हुन्छ ।
यो रोग लागेको कसरी थाहा पाउने ?
पाठेघरको मुखको क्यान्सरको लक्षण व्यक्तिपिच्छे फरक फरक हुन्छ । विशेषगरी गन्हाउने पानी बग्ने, योनिमा सङ्क्रमण भइरहने, रगत मिसिएको पानी बग्ने, महीनावारी नभएको बेला पनि रगत देखिने, महीनावारी रोकिएपछि पुनः रगत देखिने गर्छ । यसैगरी पेट फुल्ने, खुट्टा सुन्निने, ढाड तथा कम्मर दुख्ने र दिसापिसाबमा समस्या हुने गर्छ ।
यो रोगको पहिलो लक्षण भनेको खासगरी रक्तश्राव नै हो । यौन सम्पर्कको बेला पनि रक्तश्राव भयो भने यो रोग लागेको शङ्का गरी भनेर चिकित्सककोमा जानुपर्छ । महीनावारीको बीचको समयमा पनि रक्तश्राव भयो र महीनावारी रोकिसकेको महिलामा पनि रक्तश्राव हुन थाल्यो भने यो रोग लागेको हुन सक्छ । अस्पतालमा चिकित्सकले स्पेकुलम हालेर हेर्दा पाठेघरको मुखमा काउली जस्तो ट्युमर देखिन्छ । महीनावारीको समयमा सामान्यभन्दा लामो समय रगत बग्ने, महीनावारीका बेला अत्यधिक रगत बग्ने, योनिबाट गन्हाउने पानी बग्ने, यौन सम्पर्कका बेला दुख्ने र तल्लो पेट दुख्ने भयो भने पप स्मियर गर्न गइहाल्नुपर्छ ।
यो रोगबाट बच्न के गर्नुपर्छ ?
यो रोगबाट बच्न समय समयमा पप स्मियर गर्नुपर्छ । पप स्मियर भनेको पाठेघरको पानी जाँच हो । २१ वर्षदेखि ३० वर्षसम्मका विवाहिता महिलाले हरेक वर्ष पप स्मियर गर्नुपर्छ । ३० वर्षभन्दा माथिकाले २ वर्षको एकचोटि परीक्षण गर्नुपर्छ । साथै, प्रजनन अङ्गको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । हरेक दिन भित्री वस्त्र फेर्नुपर्छ । महीनावारी हुँदा कपडाको सट्टा स्यानेटरी प्याडको प्रयोग गर्नुपर्छ । धूमपान गर्नु हुँदैन र धूमपान गर्नेको आसपास समेत बस्नु हुँदैन ।
यो रोगको रोकथामका अन्य उपाय छन् ?
सुरक्षित यौन सम्पर्क राख्ने, एक वा सोभन्दा धैरै यौन साथी नराख्ने, यौन सम्पर्कका बेला कण्डम प्रयोग गर्ने, धूमपानबाट टाढै रहने र क्यान्सर भए÷नभएको पत्ता लगाउन नियमित ‘पप स्मियर टेष्ट’ गराउनुपर्छ ।
पप परीक्षण गराउनुअघि केमा ध्यान दिनुपर्छ ?
महीनावारी भएको ५–७ दिन वा रगत देखा परेसम्म र यौन सम्पर्क गरिएको २४ घण्टासम्म यो परीक्षण गराउनु हुँदैन । कुनै औषधि प्रयोग गरिएको हुनु हुँदैन । पानी वा साबुनले योनिभित्र सफा गरिएको अवस्थामा पनि परीक्षण गराउनु हुँदैन ।
नियमित पाठेघरको परीक्षणबाट हुने फाइदा :
१० वर्षअघि नै पाठेघरमा क्यान्सर भए/नभएको पत्ता लगाई समयमा निदान गर्न सकिन्छ । पाठेघरमा केही सङ्क्रमण हुन थालेको छ भने पहिले नै पत्ता लगाई सामान्य उपचारबाट निको पार्न सकिन्छ ।
समयमै उपचार नगरे के हुन्छ ?
पाठेघरको मुखमा असामान्य परिवर्तन भएर त्यहाँका कोष–कोषिकाहरू अनावश्यक तथा अनियन्त्रित रूपले बढेर गिर्खा वा घाउ बन्दछ र शरीरको अन्य भागमा पनि फैलिन सक्छ, जसका कारण मानिसको मृत्यु हुन्छ । शुरूमै उपचार गरेमा सामान्य सर्जिकल गरी यो रोग निको पार्न सकिन्छ । अन्यथा विस्तारै घाउ वा गिर्खा ठूलो भएर योनि र मलद्वारमा पनि सर्छ । गिर्खा ठूलो हुँदै जाँदा मिर्गौला र पिसाब थैलीको नलीलाई समेत असर गर्छ । यसैगरी रगतको माध्यमबाट क्यान्सर फैलिँदै गएर फोक्सो, कलेजो, हड्डीसम्म पुग्न सक्छ । यस्तो बेला क्यान्सरकै कारण मात्र नभई अन्य सङ्क्रमणले पनि ज्यान जान सक्छ । पहिलो चरणमै उपचार गरेमा पाठेघरमात्र फाले पुग्छ । क्यान्सर फैलिसकेको भए केमो, रेडियोथेरापी वा सर्जरी गर्नुपर्ने हुन्छ ।
पाठेघरको मुखको क्यान्सरका प्रमुख उपचार विधि के के हुन् ?
शुरूकै अवस्थामा यो रोग पत्ता लगाई समुचित उपचार गरेमा पाठेघरको मुखको क्यान्सर पूर्णतया निको पार्न सकिन्छ । तर, रोगको प्रकृति, अन्य अङ्गमा फैलिएको वा नफैलिएको अवस्थाले उपचारको प्रभावकारिता र परिणाम निर्भर गर्दछ । त्यसैले, पाठेघरको मुखको क्यान्सर शुरूकै अवस्थामा पत्ता लगाई उपचार गर्नु आवश्यक छ ।
१. शल्यक्रिया : रोग लागेको भाग वा अङ्गलाई अप्रेशन गरी निकाल्ने गरिन्छ ।
२. रेडियोथेरापी : क्यान्सर भएका कोष–कोषिकालाई मार्न विकिरणको प्रयोग गरिने उपचार विधि हो यो । यसका लागि ब्रेकिथेरापी उपकरणको प्रयोग गरी विकिरणको स्रोत गर्भाशयको मुखनजीक राखेर पनि उपचार गरिन्छ ।
३. केमोथेरापी : औषधिको प्रयोगद्वारा क्यान्सर भएका कोष–कोषिका नाश गर्ने उपचार विधि ।
४. प्यालिएटिभ केयर : रोगीको दुखाइ वा अन्य असुविधा कम गर्न गरिने आवश्यक उपचार विधि ।
यी विधिमध्ये बिरामी र रोगको प्रकृतिको आधारमा कुनै पनि विधिको प्रयोग गरिन्छ । पौष्टिक आहार, बिरामीको स्याहार–सुसार तथा परिवारिक स्नेह क्यान्सर रोगको उपचारमा महत्त्वपूर्ण हुन्छ ।
शुरुआती अवस्थामै भए योनिभित्रै लाइट पठाएर भित्री सेकाइ र बाहिरी सेकाइबाट उपचार गर्न सकिन्छ । यो सुविधा नेपालमा भक्तपुर क्यान्सर अस्पतालमा मात्र उपलब्ध छ । अस्पतालमा देशभरबाट ‘रेफर’ भएर आउने भएकाले २ महीनामा मात्रै पालो आउने गर्छ । यो विधि बढी प्रभावकारी छ । पालो कुर्ने बेलासम्म केमो दिने गरिन्छ ।
उपचारपछि केमा ध्यान दिनुपर्छ ?
उपचार सकेको २ वर्षसम्म रोग बल्झिने सम्भावना उत्तिकै रहन्छ । त्यसैलै ३–३ महीनाको अन्तरालमा फलोअपमा गइराख्नुपर्छ । त्यसपछि ६–६ महीनामा परीक्षण गर्न जानुपर्छ । पछि गएर १–१ वर्षको अन्तरालमा परीक्षण गराउनुपर्छ । फलोअपमा जाँदा पेटको भिडियो एक्सरे र कलेजो तथा छातीको एक्सरे गर्नुपर्छ । साथमा पप स्मियर पनि गर्नुपर्छ ।