विगत १६ वर्षदेखि पूँजीबजारमा लगानी गर्दै आएका दिवाकर खड्का युवा लगानीकर्ताको रूममा परिचित छन् । प्राथमिक बजारबाट लगानी गर्न थालेका उनले दोस्रो बजारमा कारोबार गर्न थालेको पनि १० वर्ष नाघिसकेको छ । उनी लगानीकर्ताको हितका लागि धेरै सङ्घ नचाहिने तर्क गर्छन् । यसै सम्बन्धमा आर्थिक अभियानकी सुप्रिम तिवारीले उनीसँग गरेको कुराकानीको सार :पूँजीबजारमा प्रवेश गर्नुभएको कति भयो ?
मैले कलेज पढ्दादेखि नै शेयरमा लगानी गर्न थालेको हुँ । मेरो पहिलो लगानी कुमारी बैङ्कको आईपीओ हो । वर्षको हिसाबमा भन्नुपर्दा १५/१६ वर्ष भयो ।
पछिल्लो समय युवा वर्गको आकर्षण वैदेशिक रोजगारीमा छ । तपाईं भने यहीँको पूँजीबजारमा लाग्नुको कारण हो ?
पूँजीबजारमा मैले प्राथमिक बजार बजारबाट प्रवेश गरेँ । दोस्रो बजारमा २०६३/६४ सालतिर छिरेको हुँ । त्यो समयमा बजारको अवस्था राम्रो थियो र मैले पनि राम्रो नाफा कमाएँ । युवा अवस्थामौ सजिलै नाफा कमाएकाले पनि यस क्षेत्रमा म आकर्षित भएँ । आईपीओमा किनेको शेयरबाट दोस्रो बजार पुगेपछि नाफा नभई घाटा भएको भए म यस क्षेत्रमा अघि बढ्ने थिइनँ होला ।
कतिओटा कम्पनीमा तपाईंको लगानी छ ?
म सानो लगानीकर्ता हुँ । मैले सानो सानो रकम धेरै कम्पनीमा छरेर लगानी गरेको छु । अहिले यति नै त भन्न सक्दिनँ, तर १ सयभन्दा बढी कम्पनीमा लगानी गरिसकेको छु ।
लगानी गर्दा राम्रो कम्पनी कसरी छान्नुहुन्छ ?
मैले सबै क्षेत्रका कम्पनीको शेयरमा लगानी गरेको छु । एउटा क्षेत्रमा भन्दा सबै क्षेत्रमा मिलाएर लगानी गरे जोखीम कम हुन्छ भन्ने मेरो धारणा छ । लगानी गर्नुपूर्व त्यस कम्पनीको विशेषगरी वित्तीय विवरण र सञ्चालकहरू हेर्ने गरेको छु । कम्पनी बलियो हुन त्यसका सञ्चालक र व्यवस्थापकसमेत अनुभवी हुन आवश्यक छ । दक्ष र अनुभवी सञ्चालक भएको कम्पनीले विगत वर्षमा नाफा नकमाए पनि भविष्यमा राम्रो नाफा कमाउने अनुमान गर्न सकिन्छ ।
पछिल्लो समय शेयरबजार घटिरहेको छ । यस अवस्थामा पनि नाफा कमाउन सक्नुभएको छ त ?
पूँजीबजारमा उतारचढाव हुनु एकदमै आवश्यक छ । बजार बढेर मात्र हुँदैन, घट्नु पनि पर्छ । उतारचढाव भइरहने बजारमा मात्र लगानीकर्ताले नाफा कमाउन सक्छन् । अहिले बजार निरन्तर ओरालो लागेको अवस्था छ । यो अवस्थामा शेयर बेच्दा घाटा हुने हो । मैले शेयर नबेची होल्ड गरेर राखेको छु । यसो गर्दा नाफा कमाएको त भन्न मिल्दैन, तर घाटा खाएको पनि छैन । किनकि, शेयरको मूल्य घट्दा बेचे पो घाटा हुने हो । यति बेला मैले प्राथमिक बजारमा निष्कासनमा आएका साधारण शेयरको आवेदन भने भर्न भने छुटाएको छैन । अहिलेको अवस्था हेर्दा किनबेच गर्ने अवस्था अलि छैन । शेयर बजारमा पनि राजनीति हुन थालेको छ । एउटा सरकार आउँछ, एउटा नियम लागू हुन्छ । छोटो समयमै सरकार परिवर्तन भएसँगै नीतिनियममा पनि परिवर्तन आउँछ । यसले गर्दा कम्पनीको शेयरमूल्यमा असर पर्छ । तर, बजार घट्दैमा आत्तिएर शेयर बेचिहाल्नु भने हुँदैन ।
कम्पनीहरूको वार्षिक साधारणसभामा सक्रिय सहभागी भएर आफ्नो भनाइ राख्दै आउनुभएको छ । तपाईंले दिनुभएको सुझाव कत्तिको कार्यान्वयन भएको जस्तो लाग्छ ?
मैले जति पनि कम्पनीको शेयर खरीद गरेको छु, ती सबैको वार्षिक साधारणसभामा सकेसम्म उपस्थित भई कम्पनीको वार्षिक प्रतिवेदनको आधारमा सुझाव दिने गरेको छु । तर, कम्पनीले शेयरधनीको सुझाव लिने काम औपचारिकताको रूपमा मात्र भएको पाइएको छ । कार्यान्वयन भएको त्यति देख्दिनँ । केही राम्रो एजेण्डा उठेमा त्यस विषयमा भने छलफल हुन्छ । यसमा एउटा राम्रो पक्ष के हो भने वर्षमा एकपटक हुने साधारणसभामा शेयरधनीले आफ्ना सुझाव तथा विचार राख्न पाउँछन् ।
पूँजीबजारको विकासलाई कसरी लिनुभएको छ ?
पूँजीबजारमा समय समयमा विकासका काम भइरहेका छन् । केही वर्षयता त शेयर बजारमा लगानी गर्न सहज भएको छ । लगानीकर्ताको मागअनुसार ब्रोकर कमिशनदर हटाइयो । यसबाट कारोबार गर्न सजिलो भएको छ । पहिले पहिले कम्पनीको खरीद तथा विक्री मूल्य थाहा पाउन ब्रोकरकै भर पर्नुपथ्र्यो । तर, अहिले मार्केट डेप्थमै सबै मूल्य देखाउँछ ।
अनलाइन ट्रेडिङ प्रणालीमा सहभागी हुन युजर नेम र पासवर्ड लिनुभयो ?
युजरनेम र पासवर्ड लिन ब्रोकरहरूबाट म्यासेज र कल आएको छ, अब चाँडै जान्छु । अनलाइन ट्रेडिङको चर्चा भइरहेको छ । यो पूर्णरूपमा लागू भएपछि बजारले सकारात्मक गति लिने अपेक्षा गरेको छु ।
पूँजीबजारको सम्बन्धमा सम्बद्ध निकायबाट भएको नीतिगत व्यवस्थामा कस्तो सुधारको खाँचो देख्नुहुन्छ ?
पूँजीबजारसँग सम्बन्धित निकायबीच एकआपसमा खासै मेल भएको देखिँदैन । एउटा संस्थाले एउटा कुरा उठाउँदा अर्को संस्थाले त्यसबारे थाहा नपाएको जस्तो गर्छ । सम्बन्धित निकायहरू एकआपसमा मिलेर साझेदारीमा कामकारबाही अगाडि बढाउनु राम्रो हुन्छ । लगानीकर्ता सङ्घहरू पनि धेरै भए । लगानीकर्ताको हितमा लाग्ने हो भने संस्थागत रूपमा एउटा मात्र लगानीकर्ता सङ्घ हुनुपर्छ । यसो भएमा पूँजीबजार सम्बद्ध निकायसम्म लगानीकर्ताको आवाज पु¥याउन सजिलो हुन्छ ।
आफूले नेपालमै बसेर पूँजीबजारबाट आम्दानी गरिरहँदा विदेशिने आम युवालाई के सुझाव दिनुहुन्छ ?
पूँजीबजार आफैमा एउटा राम्रो क्षेत्र हो । अहिलेको अवस्थामा शेयर बजारबारे थाहा नहुने कमै होलान् । हामी शेयर बजारमा प्रवेश गर्दा यसबारे विभिन्न जानकारी दिने, सिकाउने माध्यम खासै थिएनन् । अहिले अनलाइन पोर्टल र छापा सञ्चारमाध्यमले आर्थिक पृष्ठ तथा क्षेत्र छुट्ट्याएर यस शेयर बजारबारे जानकारीमूलक सूचना दिइरहेका हुन्छन् । फलानोले शेयर बेचेर पैसा कमाएछ, म पनि त्यही गर्छु भनेर लगानी गर्नुभन्दा पनि शेयर बजारबारे राम्ररी बुझेर मात्र लगानी गर्नुपर्छ । शेयर बजारका आधारभूत पक्ष बुझेर, कम्पनीले प्रकाशित गर्ने वित्तीय विवरण हेरेर, कम्पनीले कस्तो नाफा कमाएको छ, कति लाभांश वितरण गर्ने गर्छ र कति दिन सक्छ भन्ने विश्लेषण गरेर मात्र लगानीको निर्णय लिनुपर्छ ।