ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिनी उद्योगहरू पूर्ण रूपमा चल्दा नेपालको कुल माग धान्न सक्छन्

Jul 29, 2018  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
स्वदेशी उद्योगसँग पर्याप्त चिनी मौज्दात रहँदारहँदै पनि सरकारले विदेशबाट चिनी आयात गर्न छूट दिएको र स्वदेशी उद्योगबाट उत्पादित चिनी विक्री नभएको भन्दै चिनी उद्योगीले चिनी आयात पूर्ण रूपमा बन्द गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले सरकारको नीतिगत कमजोरी र उदासीनताका कारण चिनी उद्योग समस्यामा परेको र यसले भोलि किसान र उद्योगीबीच पनि असमझदारी सृजना हुने बताएका छन् । यसै सेरोफेरोमा नेपालमा चिनीको माग र आपूर्ति तथा नेपाली चिनी उद्योगीको क्षमता, विद्यमान समस्या र समाधानका उपायबारे नेपाल चिनी उत्पादक सङ्घका अध्यक्ष शशीकान्त अग्रवालसँग आर्थिक अभियान राष्ट्रिय दैनिकका टीपी भुसालले गरेको कुराकानीको सार : चिनी उद्योगीले नेपाली चिनी विक्री नभएको भन्दै चिनी आयात पूर्ण रूपमा बन्द गर्न सरकारसँग माग गर्नुको अर्थ के हो ? चिनी उद्योगीले नेपाली चिनी विक्री नभएको तथा उद्योगीका माग र समस्याबारे सरकार गम्भीर नभएकाले पत्रकार सम्मेलन नै गरेर यसबारे सरकारको ध्यानाकर्षण गराएका हौं । नेपालमा अहिले वार्षिक २ लाख ५० हजार मेट्रिक टन (मेट) चिनीको खपत हुन्छ । यसमध्ये यो सिजनमा स्वदेशी उद्योगले १ लाख ८० हजार मेट चिनी उत्पादन गरे । यसमा सीमापार व्यापारबाट हरेक वर्ष ४० देखि ५० हजार मेट्रिक टन चिनी आउने गर्छ । यति हुँदाहुँदै पनि नेपालमा करीब २५ हजार मेट्रिक टन चिनीको अभाव देखिन्छ । त्यो पनि दशैंतिहारको समयमा । भारतबाट यति मात्रामा चिनी आउँछ र यो सिजनका लागि यति चिनी आवश्यक पर्न सक्छ भनेर पूर्वसूचना दिने गरेका छौं । अर्को कुरा आपूर्ति मन्त्रालयले पनि दशैंका बेला चिनीकै विषयमा सरोकारवालासँग बैठक गरेर यसबारे जानकारी लिने गर्छ । यो पटक अन्तरराष्ट्रिय बजारमा समेत चिनीको मूल्य धेरै कम भयो । यो अवस्थामा हामीले सरकारलाई पटकपटक भन्यौं । अर्थ मन्त्रालय, आपूर्ति मन्त्रालयमा पुगेर भन्यौं कि अन्तरराष्ट्रिय बजारमा चिनीको मूल्य धेरै घटेको छ । यो अवस्थामा बाहिरबाट चिनी आयो भने नेपाली उद्योग र किसान मर्कामा पर्छन् । चिनीमा भन्सारशुल्क लगाउनुप¥यो । भारतले आफ्नो किसानको संरक्षणका लागि पटकपटक गरेर सय प्रतिशत नै भन्सार लगाएको छ । हामी पनि कम्तीमा पनि ५० प्रतिशत भन्सार शुल्क लगाऔं । यसो गर्दा बाहिरबाट चिनी आउन कम हुन्छ र स्वदेशी उद्योग तथा किसानलाई लाभ मिल्छ भनेका थियौं । किनभने विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ)को प्रावधान अनुसार नेपालले पनि चिनीमा ६० प्रतिशतसम्म भन्सार शुल्क लगाउन पाउँछ । हामीले भनेपछि कृषि मन्त्रालयले १५ प्रतिशत थप भन्सार शुल्क लगाउन सिफारिश पनि ग¥यो । सरकारले ३० प्रतिशत भन्सार शुल्क लगायो । तर, निर्णय भइसक्दा धेरै चिनी भित्रियो । यो अहिलेको अवस्था हो । पहिलेको चिनी पनि विक्री नहुने अर्को उखु क्रसिङ सिजन पनि आउने यो अवस्थामा त न त उखु लिने अवस्था रहन्छ, न त किसानको भुक्तानी । यस्तो अवस्थामा सरकार गम्भीर होस् र समस्याको समाधान खोजोस् भन्ने हाम्रो धारणा हो । स्वदेशी उद्योगी र किसानकै लागि राम्रो हुने विषय रहेछ । सरकार यस विषयमा गम्भीर नहुनुको कारण के हो त ? हामीले त वस्तुस्थितिको यथार्थ चित्रण गरिदिने हो । सरकार गम्भीर भएन त हामीले के भन्ने ? तर, गम्भीर हुनुपर्थ्यो । भारतमा किसानको हितका लागि सरकारले उद्योगमार्फत करोडौं रुपैयाँ अनुदान उपलब्ध गराएको छ । कसरी स्वदेशी उद्योग प्रवद्र्धन गर्ने भनेर आयातमा सय प्रतिशत भन्सार शुल्क लगाएको छ । हाम्रोमा के गर्‍यो त सरकारले ? हुन सक्छ, आयातकर्ताको दबाब पो छ कि सरकारलाई ? सरकारको उदासीनताको कारण भोलि उद्योगी र किसानबीच असमझदारी नआउला भन्न सकिँदैन । सरकारको नीतिगत कमजोरीले चिनी उद्योगले ३० वर्षको अवधिमा अहिले जस्तो भयावह स्थितिको सामना गर्नुपरेको थिएन । चिनी उद्योग त शतप्रतिशत स्वदेशी कच्चा पदार्थबाट सञ्चालन हुने उद्योग हो । रुग्ण उद्योग चलाउँछु भन्ने सरकारले चलिरहेका उद्योगको संरक्षणमा ध्यान दिनुपर्‍यो नि । अर्को कुरा हामीलाई किसानको उखु किन्नैपर्ने बाध्यता छ । त्यसको पनि सरकारले दर तोकिदिएको छ । त्यो पनि उद्योगीको सहमतिविना । तर, बेच्नका लागि पनि त सरकारले वातावरण त बनाउनुपर्‍यो नि । उखुको मूल्य तोक्ने, उखु किन्न बाध्य बनाउने, तर बेच्ने वातावरण नबनाउने । अहिले स्वदेशी उद्योगसँग कति चिनी मौज्दात छ ? सबै उद्योगको क्षमता कति हो ? नेपाली उद्योगले यो सिजनमा १ लाख ७८ हजार मेट चिनी उत्पादन गरेकोमध्ये ३० लाख मेट चिनी मात्र विक्री भएको छ । अहिले नेपाली उद्योगीसँग १ लाख २४ हजार मेट चिनी मौज्दात छ । अहिले सञ्चालनमा रहेको उद्योग पूर्ण रूपमा चल्दा नेपालको कूल माग धान्न सक्ने हैसियत नेपाली चिनी उद्योगमा छ । चिनी उद्योगीले किसानको पैसा नदिएको भने हल्ला सधैं आइरहन्छ । यथार्थ के हो ? भुक्तानीको अवस्था कस्तो छ ? उखु खरीद गरेपछि हामीले किसानलाई त जुनसुकै ढङ्गले पनि भुक्तानी त गर्नै पर्छ । चिनी बिकेन भनेर पन्छिने अवस्था रहँदैन । हामीले अहिले पनि ६० प्रतिशत त किसानको रकम भुक्तानी गरिसक्यौं । जब कि हाम्रो ३० प्रतिशत मात्रै चिनी विक्री भएको छ । संसारकै अभ्यास हेर्ने हो भने पनि चिनीका लागि अर्बौं रकम खर्च गर्नुपर्ने हुन्छ । उद्योगले ६० प्रतिशत विक्री नभएसम्म किसानको भुक्तानी गर्न गाह्रो हुन्छ । तर, हामीले त ३० प्रतिशत चिनी विक्री हुँदै ६० प्रतिशत भुक्तानी गरिसकेका छौं । चिनी उद्योगीले किसानको पैसा नदिएको भने हल्ला आयातकर्ताले लगाएकोे आरोपभन्दा अरू केही होइन । अर्को कुरा अघिल्लो सिजनकै चिनी विक्री भएको छैन, अर्को सिजन आउन लाग्यो । कसरी उखु लिने ? कसरी भुक्तानी गर्ने ? स्टक कहाँ गर्ने ? यो सबै समस्या देखिएको छ । बाहिरबाट चिनी आउँदा उपभोक्ताले सस्तोमा चिनी पाउँछन् । स्वदेशी उद्योगमा संरक्षण मात्र गर्दा अर्को सिण्डिकेट जन्मिएला नि ? त्यसो होइन । संसारका सबै मुलुकले चिनीको विषयमा विशेष अध्ययन गरेका हुन्छन् । कुल माग, स्वदेशी उत्पादन, बाहिरबाट ल्याउनुपर्ने भए कति ल्याउनुपर्ने हो त्यो सबैको अध्ययन हुन्छ । स्वदेशी उद्योगलाई मर्का नपर्ने गरी आवश्यकीय चिनी ल्याउने गरिन्छ । नेपालमा पनि त्यो अध्ययन गरेर सरकारले स्वदेशी चिनी उद्योगको संरक्षण गर्न जरुरी थियो । तर, त्यसो भएन । सरकार आफैले अध्ययन गरेर मूल्य पनि त निर्धारण गरेको हुन्छ । हामीले चाहेर जति मन लाग्यो त्यति लिन पाउने पनि होइन । भारत सरकारले स्वदेशी चिनी उद्योगलाई प्रवर्द्धन गर्न सहयोग गरेको भन्नुभयो, कस्तो सहयोग गरेको छ ? पहिलो कुरा त उनीहरूले स्वदेशी उद्योग प्रवर्द्धन गर्न २२ हजार करोड भारतीय रुपया अनुदान उपलब्ध गराएको छ । अर्कोतर्फ चिनीको आयातमा ३०–४०–५० गर्दै अहिले शतप्रतिशत भन्सार शुल्क लगाइदिएको छ । यसबाट त स्वदेशी उद्योगको प्रवर्द्धन भयो । नेपालमा भने उद्योग प्रवर्द्धनमा सरकारसँग कुनै कार्यक्रम नै छैन । हामोे माग वास्तवमा उद्योगीको लागि सरकारले सहुलियतपूर्ण ऋणसमेत उपलब्ध गराओस् भन्ने पनि हो । यसबाहेक नेपाल सरकारले के गरिदेओस् भन्ने चाहनुहन्छ ? पहिलो माग त भारतबाट आउने चिनीको आयातमा पूर्ण प्रतिबन्ध नै हो । उद्योगीलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेदेखि चिनी उद्योगबाट उत्पादित वाइ प्रडक्टहरू मोलासिस, चिनी उद्योगबाट निस्किने विद्युत् र बगास (उखुको बोक्रा) को उपयोगमा समेत सरकार उदासीन छ । हरेक चिनी उद्योगले आफै विद्युत् उत्पादन गर्छन् । त्यो विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न पटक पटक आग्रह गरियो, त्यो पनि सरकार सुन्दैन । मोलासिस मदिरा उद्योगमा र बगास कागज कारखानामा प्रयोग गर्न सकिने भए पनि राज्यको नीतिको कारण कुनै काम भएको छैन । यो काम गर्दा राज्यलाई के नोक्सान हुन्छ हामीले बुझ्न सकेका छैनौं । जुन कामले राज्यलाई, किसानलाई, उद्योगी तथा उपभोक्ता सबैलाई फाइदा हुन्छ, त्यो काम त गर्नुपर्‍यो नि । चिनी उद्योगबाट निस्किने मोलासिस (खुँदो), बगास (उखुको बोक्रा) र विद्युत् उपयोग कसरी गर्न सकिन्छ ? उखु उद्योगहरूले चिनी उत्पादन गर्दा वाइप्रडक्टको रूपमा उत्पादन हुने मोलासिस मदिरा उत्पादनको कच्चा पदार्थ हो । यस्तै बगास कागज कारखानामा कच्चा सामग्रीको रूपमा प्रयोग हुन्छ । मोलासिसबाटै पेट्रोलमा मिसाउन मिल्ने तरल पदार्थ (इथानोल) बनाउन सकिन्छ । अधिकांश मदिरा उद्योगले अहिले खाद्यान्नबाट मदिरा बनाइरहेका छन् । मोलासिसबाट मदिरा बनाउने हो भने खाद्यान्न बचाउन सकिन्छ । यसबाट एकातर्फ खाद्यान्न बचत हुन्छ भने सरकारले मोलासिसबाट राजस्व पनि प्राप्त गर्छ । खाद्यान्न त खुला बजारबाट लिइने हुँदा त्यसबाट राज्यले केही पाउँदैन । अर्को जाडो मौसममा जतिबेला हामीसँग विद्युत् उत्पादन कम भएको हुन्छ, त्यति बेला चिनी उद्योगले विद्युत् उत्पादन गरिरहेका हुन्छन् । यदि त्यसलाई राष्ट्रिय प्रसारणमा जोड्न सकियो भने अलिकति भए पनि राहत त हुन्छ । धेरै वर्षपहिले गर्ने भनेर सहमति गरेको विषयमा पनि सरकार गम्भीर छैन । इथानोल पेट्रोलमा मिसाउँदा इन्धनका लागि विदेशिने रकम पनि बच्छ । पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने विषयमा तपाईंहरूले पहिलेदेखि नै भन्दै आएको कुरा हो । यसको क्षमता कति हो ? इथानोल मात्र होइन, मोलासिसको प्रयोग, विद्युत् खरीदका कुरा धेरै प्रधानमन्त्री, अर्थमन्त्रीसँग गरियो । आहा ! यो त साह्रै राम्रो कुरा हो भन्न कसैले छुटाउँदैनन् । तर, कार्यान्वयन हुँदैन । भारतले १५ ओटा राज्यमा अनिवार्य रूपमा इथानोल प्रयोग गर्नु पर्ने निर्णय गरेको छ । हामीले पनि त्यो गर्न सक्छौं । इथानोलको प्रयोगबाट इञ्जिनको आयु ३० प्रतिशत बढ्छ भने प्रदूषण ५० प्रतिशतसम्म कम हुन्छ । अन्तरराष्ट्रिय अध्ययनले पेट्रोलमा १५ प्रतिशतसम्म इथानोल मिसाउन मिल्छ भनेर प्रतिवेदन दिएको छ । यसो गर्दा इन्धन किन्न प्रयोग हुने विदेशी मुद्रा बचत हुन्छ । हामीले मोलासिसबाट इथानोल बनाएर सरकारले भनेकै ठाउँमा ढुवानी पनि गरिदिन्छौं । राज्यले केवल नीतिगत रूपमा निर्णय गरेर अगाडि बढ्नु प¥यो । यसबाट राज्य, उद्योगी, किसान सबैलाई फाइदैफाइदा छ । सरकारले राजस्व पाउँछ, उद्योगीले पनि चिनीका अतिरिक्त मोलासिसबाट पनि केही आम्दानी गर्न सक्छन् भने किसानले पनि आफ्नो रकम समयमा पाउन सक्छन् । अहिले नेपाली चिनी उद्योगले देशको कुल इन्धन खपतको ३ प्रतिशत इथानोल दिन सक्छन् । चिनी उद्योगबाट उत्पादित विद्युत्को प्रयोगको विषयमा के गर्न सकिन्छ र तपाईंहरू राज्यलाई कति विद्युत् दिन सक्नुहुन्छ ? विद्युत्को विषयमा पटकपटक छलफल भए पनि अहिलेसम्म केही भएको छैन । मेरै उद्योग एभरेष्ट सुगर मिलबाट ३ मेगावाट विद्युत् दिने भनेर सम्झौता गरेको ८÷९ वर्ष बितिसक्यो । त्यो अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । तर, भर्खरै मात्र अर्थ मन्त्रालयसँग यस विषयमा छलफल हुँदा अर्थ मन्त्रालयका अधिकारी सकारात्मक देखिएका छन् । अब केही हुन्छ कि हेरौं । तर, नहुँदासम्म धेरै आशावादी हुने अवस्था रहँदैन । चिनी उद्योगले तत्कालका लागि करीब ८ मेगावाटसम्म विद्युत् दिन सक्छन् । त्यसको २ वर्षमा करीब २५ मेगावाट विद्युत् दिन सक्ने क्षमता छ । यसका लागि पहिले कुनै एउटा परियोजना सफल बनाएर देखाउनु पर्‍यो । अर्को कुरा चिनी उद्योगले विद्युत् दिने भनेको जाडो समयमा करीब ४ महीमासम्म हो, जति बेला नेपालमा विद्युत् उत्पादन कम र माग बढी हुने गर्छ । अहिले नेपालमा सञ्चालित उद्योगको कूल क्षमता र रोजगारी सृजनाको अवस्था कस्तो छ ? अहिले नेपालमा १३ उद्योग सञ्चालनमा रहेका छन् । प्रत्येक उद्योगबाट प्रत्यक्ष रूपमा करीब ६ सय मानिसले रोगजारी पाइरहेका हुन्छन् भने २ लाखभन्दा धेरै किसान यससँग प्रत्यक्ष अप्रत्यक्ष संलग्न छन् । तपाईंले समग्रमा जुन समस्या देखाउनुभयो । त्यसको समाधानको बाटो के हुन सक्छ ? सरकारले तत्कालको समस्या मात्रै होइन, यसको दीर्घकालीन समाधानका लागि पहल गर्न जरुरी छ । अहिले पनि कृष्णनगर भन्सारबाट चिनी आयात भइरहेको छ । यो रोक्नुप¥यो । उद्योगीको गोदाममा भएको चिनी विक्रीवितरण गर्ने वातावारण मिलाइदिनु पर्‍यो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)