नेपालमा मानसिक स्वास्थ्यप्रति खासै ध्यान दिइँदैन । यो सरकारको प्राथमिकतामा पनि परेको छैन । मानसिक समस्या भइहालेमा यसको उपचार गर्ने होइन, लुकाउने प्रवृत्ति छ । अन्य शारीरिक स्वास्थ्यजस्तै मनोवैज्ञानिक रोग पनि निको हुन्छ भन्ने धेरैलाई थाहा छैन । अधिकांशमा यस्तो समस्या ठूलो भएपछि, काम बनेपछि वा विवाह भएपछि आफै ठीक हुन्छ भन्ने भ्रम छ । यही भ्रम हटाउन आर्थिक अभियान दैनिकका पूर्णभक्त दुवालले मनोवैज्ञानिक प्राडा. गङ्गा पाठकसँग मानसिक स्वास्थ्य समस्याबारे प्रश्नहरू गरेका छन् । बनारस हिन्दू विश्वविद्यालयबाट मनोवैज्ञानिक परामर्शमा विद्यावारिधि गरेकी प्राडा पाठक नेशनल इन्ष्टिच्युट अफ साइको–एजुकेशन काउन्सिलिङमा विशेषज्ञका रूपमा कार्यरत छिन् । प्रस्तुत छ, त्रिचन्द्र कलेजको मनोवैज्ञानिक विभागका प्रमुखसमेत रहेकी प्राडा पाठकसँग गरिएको कुराकानीको सम्पादित अंश :के हो मानसिक स्वास्थ्य समस्या ?
दिमागका एक वा एकभन्दा बढी क्रियाकलापहरू, जस्तै– भावना, आभास, स्मृति, विचार, बोली र चेतनामा गडबडी भएर उत्पन्न अवस्था लगातार रहिरहेमा मानसिक स्वास्थ्य समस्या भएको भनेर बुझ्नुपर्छ ।
मनोवैज्ञानिक समस्याका लक्षण के के हुन् ?
मनका कुरा व्यक्त गर्न नसक्ने, रिसाउने, छटपटाउने यसका सामान्य लक्षण हुन् । साथै, उदासीपन, नैराश्य, आत्मविश्वासको कमी, खानपिनको व्यवहारमा असर, लागूपदार्थको प्रयोग पनि यसका लक्षण हुन् । मानसिक समस्या हुन थालेपछि उपचारमा लाग्नुको सट्टा धूमपान र मद्यपानमा लाग्ने प्रवृत्ति बढी छ ।
कस्तो अवस्थामा मनोवैज्ञानिक परामर्श लिनुपर्छ ?
कुनै पनि प्रकारको मानसिक समस्या पर्यो भने मनोवैज्ञानिक परामर्श लिन हिच्किचाउनु हुँदैन । समस्यालाई दबाइराख्ने वा लुकाउने गरेमा मानसिक रोग लाग्ने सम्भावना बढी हुुन्छ । मानसिक रोग बढ्दै जाँदा आफ्नो र आफन्तको खुशी हराउँछ । त्यसैले, निराश हुने, उदास हुने, निदाउन गाह्रो हुने, निद्रामा झस्केर ब्यूँझने र फेरि निदाउन नसक्ने भयो भने मनोवैज्ञानिक परामर्श लिनुपर्छ ।
मनोवैज्ञानिक समस्याका अन्य लक्षण के के हुन् ?
असामान्य रूपमा टाउको भारी हुने एवम् दुखिरहने, मुटुको धड्कन अस्वाभाविक हुने र स्वास रोकिएको जस्तो हुने मानसिक स्वास्थ्य समस्याका लक्षण हुन् । यसैगरी मानसिक स्वास्थ्यका अन्य लक्षणहरूमा पसिना आउने, छटपटी चल्ने, मन अस्थिर भइरहने, मर्न मन लाग्ने र विनाकारण आवेगमा आउने पर्दछन् । मानसिक समस्या हुनेहरूलाई रिस उठ्ने, शङ्का लाग्ने, रुन मन लाग्ने, झर्को लाग्ने, अनावश्यक डर र चिन्ता लागिरहने हुन्छ । मन आत्तिने, मनमा कुरा खेलाइरहने, बारम्बार एउटै सोचाइ आइरहने र एउटै काम दोहोर्याइ–तेहर्याइ गरिरहने भयो भने पनि मानसिक समस्या हो भनेर बुझ्नुपर्छ ।
मनोवैज्ञानिक परामर्श नलिईकन अस्पताल वा मानसिक रोग विशेषज्ञसँग जचाउँदा के हुन्छ ?
मनोवैज्ञानिक समस्या हुँदा एकैचोटि औषधिले दबाउन खोज्दा अन्य समस्या आउन सक्छ । औषधिले रोगलाई निर्मूल पार्ने भन्दा पनि दबाउने गर्छ । समस्याको सही तरीकाले पहिचान गरेर मनोवैज्ञानिक परामर्श लिए रोग ठीक हुन्छ ।
अन्य चिकित्सकसँग जचाउँदा के हुन्छ ?
मनोवैज्ञानिक समस्याबारे धेरैको भ्रम छ । टाउको गह्रौं भएजस्तो, भारी भएजस्तो, तातो भएजस्तो महसूस भएपछि सीधै दुखाइ कम हुने औषधि खाइन्छ, वा फिजिसियनकहाँ जाने गरिन्छ । तर, यसो गर्दा रोग भने निको हुँदैन ।
दिक्क वा नरमाइलो लाग्ने, निराश बन्ने, छटपटी हुने, अत्यास लाग्ने, ढुकढुकी बढ्ने हुँदा कतिपय अवस्थामा मुटुकै समस्या भयो कि भन्ने शङ्का पनि धेरैलाई हुन्छ । कतिपयलाई डर लाग्ने, पेट पोलेको जस्तो हुन्छ भने केहीलाई तीव्र तनावको कारण ग्याष्ट्रिकको समस्यासमेत हुन्छ । ग्याष्ट्रिकको औषधि खाएको छ, तर पेटको समस्या समाधान भएको छैन । दिसा कहिले ढिलो, कहिले चाँडो हुने भएको छ । हातखुट्टा झमझमाउने, पोल्ने, कहिले यता दुखे जस्तो, कहिले उता दुखेजस्तो लाग्ने हुन्छ । यस्तो बेलामा जचाउँन गयो रिपोर्टमा केही पनि आउँदैन । यो सबै तनावका कारण हुन्छ, जुन मनोवैज्ञानिक समस्या हो ।
केटाकेटी एवम् किशोर किशोरीलाई कस्तो किसिमको मनोवैज्ञानिक समस्या हुन्छ ?
केटाकेटी र किशोरकिशोरीले अरूसँग तुलना गर्न थाल्यो भने मनोवैज्ञानिक समस्या आउन थाल्छ । दिनदिनै आफैलाई तल राखेर सोच्न थालेपछि यसले विकराल रूप लिन थाल्छ । यी उमेर समूहमा आउने पहिलो मनोवैज्ञानिक समस्या पढ्न मन नलाग्नु र पढाइमा रुचि नदेखाउनु हो । बालबालिकाले पढेको बिर्सिने र परीक्षाको अनावश्यक चिन्ता गर्ने स्वभाव देखाए भने मनोवैज्ञानिक परामर्श लिनुपर्छ । झगडालु र रिसाहा भएमा पनि परार्श गर्नुपर्छ । अन्य साथीसँग मिल्न नसक्नु, साथीसँग खेल्दा–पढ्दा दुःखी भइरहनु पनि मनोवैज्ञानिक समस्या हो । यस्तो समस्याको समयमै निराकरण गरिएन भने मानसिक समस्या आउँछ । यस्ता बालबालिका पछि गएर दुव्र्यसनमा लाग्ने र डिप्रेशनमा जाने सम्भावना हुन्छ ।
डिप्रेशनमा गएपछि के हुन्छ ?
डिप्रेशनमा जानु एक प्रकारको मानसिक रोग हो । नेपालमा ७० प्रतिशतलाई डिप्रेशन छ । कतिपय नेपालीलाई आफू डिप्रेशनमा गएकै थाहा हुँदैन । गाउँघरमा यो अल्छी भयो, कामचोर भयो भनेर मात्र आरोप लगाइन्छ । वास्तवमा त्यो डिप्रेशनमा गएर भएको हुन सक्छ । खासगरी युवा अवस्थामा सङ्घर्ष गर्दा गर्दै असफल हुन थालेपछि डिप्रेशनमा जाने सम्भावना बढी हुन्छ । आफूले चिताएको इच्छा पूरा नहुने भएपछि निराशा बढ्न थाल्छ । यही तनाव पछि गएर कडा खालको मानसिक रोगको कारक बन्छ ।
डिप्रेशन किन हुन्छ ?
उदासीपन अर्थात् डिप्रेशनको कारण खोज्ने चलन हामीकहाँ छैन । केही समस्या भयो भने समाधान कहाँ छ भनेर पनि खोजिँदैन । अरूले गिज्याउलान् र उडाउलान् भनेर समस्यालाई सकेसम्म लुकाएर राख्ने गरिन्छ । त्यसैले, उदासीपनको बारेमा खुलेर कुरा गर्ने वातावरण बनाउनुपर्छ । मधुमेह र उच्च रक्तचाप छ भनेर फूर्ति लगाउन सकिने हाम्रो समाजमा उदासीपनको समस्या उठान गर्न सक्ने वातावरण पनि छैन । अनि लुकी लुकी झारफुक, वैद्य र झाँक्रीकहाँ जाने गरिन्छ । डिप्रेशन हुनुको मुख्य कारण व्यक्तिको उच्च महत्त्वाकाङ्क्षा पूरा नहुनु हो ।
यसबाहेक नेपालमा के कारण मानिस डिप्रेशनमा गएको पाउनुभएको छ ?
भावनात्मक कुरामा बहकिने र कमजोर मानसिकता भएकाहरू डिप्रेशनमा गएको पाइएको छ । यसैगरी व्यापार व्यवसाय बिग्रेर पनि यस्तो समस्या आउने गरेको छ । लगानी डुबेपछि बाँच्नुभन्दा मर्नु जाती भन्ने सोच आएकाहरू पनि पाइएका छन् । ऋण उठाउन नसकेर ऋण दिने मान्छे डिप्रेशनमा गएका उदाहरण पनि छन् । यसैगरी डिभोर्स गरेका महिलाहरू बढीजसो डिप्रेशनमा गएका छन् । विवाह एउटा सम्झौता हो भनेर बुझ्न नसक्दा कतिपय दम्पती सानो कुरामा पनि झैझगडा गर्न थाल्छन् । अनि ‘इगो’कै भरमा सोचविचार नगरी डिभोर्स गरिन्छ । डिभोर्सपछिको जीवन असहज हुन थाल्छ । परिणामस्वरूप उनीहरू डिप्रेशनमा जान्छन् ।
डिप्रेशन हुन नदिन के गर्ने त ?
नकारात्मक सोच उत्पन्न हुन दिनु हुँदैन । हरेक कुरालाई सकारात्मक रूपमा लिने बानी बसाल्नुपर्छ । महत्त्वाकाङ्क्षी हुनु हुँदेन । मुख्य कुरा आफूलाई अरूसँग तुलना गर्नु हुँदैन । अरूसँग प्रतिस्पर्धा गर्न खोज्यो भने पनि डिप्रेशन हुन सक्छ । त्यसैले, हरेकले आफूले आफैलाई चिन्नुपर्छ । आफ्नो क्षमताअनुसारको मात्र काम गर्नुपर्छ । समाज परिस्थिति, वातावरण यदि आफ्नो वशमा छैन भने त्यसतर्फ ध्यान नै दिनु हुँदैन । मानसिक भार जति दियो, त्यति रोग बल्झिने गर्छ ।
नेपालमा मानसिक स्वास्थ्य समस्याको उपचारमा सहज वातावरण नबन्नुको कारण के हो ?
मानसिक समस्या भएकाहरूले सही उपचार नपाउनुका मुख्य कारणमध्ये यस्ता रोगहरूप्रति रहेका मिथ्या तथा गलत धारणा मुख्य हुन् । कतिपय व्यक्ति मानसिक समस्या दैवीशक्ति, भूतप्रेत वा मानिसको मनको कमजोरीले हुन्छ भन्ने सोचेर यस्ता समस्या रोग नै होइनन् भन्ने ठान्छन् । त्यस्तै, कतिपय व्यक्ति मानसिक समस्यालाई सोझै पागलपनसँग दाँजेर पारिवारिक मानप्रतिष्ठामा आँच उत्पन्न गराउन सक्ने सोच्छन् । कतिलाई त यस्ता समस्याको आधुनिक चिकित्सा प्रणालीद्वारा उपचार सम्भव छ भन्ने पनि थाहा र विश्वास छैन । उनीहरू धामी–झाँक्रीको शरणमा जाने गर्छन् । यसैले, सरकारले प्रत्येक स्वास्थ्यचौकीमा मनोवैज्ञानिक परामर्श गर्ने विभाग खोल्नुपर्छ । यसो गरेमा यो रोगप्रतिको गलत बुझाइको अन्त्य हुन्छ । शरीरमा समस्या आएजस्तै मन र दिमागमा पनि समस्या आउँछ भन्ने बुझाउनु आवश्यक छ । साथै, अहिले यस्ता समस्याको सही उपचार हुन्छ भनेर सूचना तथा जानकारी फैलाउनु पनि जरुरी छ ।
मानसिक समस्याको उपचारका अन्य वैकल्पिक उपाय के के हुन सक्छन् ?
मानसिक समस्या औषधिको प्रयोगभन्दा योग, प्राणायाम र ध्यान गरेर पूर्णरूपमा ठीक पार्न सकिन्छ । ध्यानको साक्षी साधनाअनुसार हाम्रो विचार, भावना र शरीरमा आइरहेको विचार, भावना, संवेदनालाई ठीक–बेठीक भनेर नछुट्याई होशपूर्ण रूपमा हेर्न सक्यौं भने पनि मानसिक समस्या ठीक हुन्छ । यसका लागि दैनिक साधना गर्नुका साथै धैर्यको खाँचो हुन्छ । साथै, सकारात्मक चिन्तन र सन्तुलित भोजनले पनि सहयोग गर्दछ ।