ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रतिस्पर्धाले व्यवसाय वृद्धि गर्न नयाँ कम्पनी आउनु स्वागतयोग्य

Aug 5, 2018  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान

नेपालमा बीमा कम्पनीको सङ्ख्या बढ्दै जाँदा बीमा व्यवसायमा प्रतिस्पर्धा पनि बढ्दै गइरहेको छ । प्रतिस्पर्धासँगै बीमा कम्पनीहरूले ग्राहक आकर्षित गर्न विभिन्न पोलिसी सार्वजनिक गरेका छन् । अर्कोतर्फ बीमा समितिले गत असार मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीलाई १ अर्ब चुक्तापूँजी पुर्‍याउन नसके मर्जरमा जान निर्देशन दिएको छ । यस्तै संसद्मा बीमा विधेयकका विषयमा पनि चर्चा शुरू भएको छ । बीमा क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, समस्या तथा समाधानका उपायबारे प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यसँग आर्थिक अभियान राष्ट्रिय दैनिकका टीपी भुसालमिलन विश्वकर्माले गरेको कुराकानीको सारः

बीमा समितिले निर्जीवन बीमा कम्पनीका लागि तोकेको चुक्तापूँजी रू. १ अर्ब पुर्‍याउन गत असार मसान्तसम्मको समयसीमा दिएको थियो ? प्रभु इन्स्योरेन्सले कसरी पूँजी वृद्धि गर्दै छ ? बीमा समितिको निर्देशनअनुरूप नै हामीले पूँजी वृद्धिका लागि ४६ प्रतिशत हकप्रद शेयर जारी गरिसकेका छौं । हकप्रद निष्कासण साउन १० गतेसम्म खुला थियो । अहिले बन्द भएर त्यसको व्यवस्थापनको काम भइरहेको छ । हामीलाई पूँजी वृद्धिका हिसाबले कुनै समस्या छैन । हकप्रद शेयरले आवश्यक पूँजी पुग्छ ।

चुक्तापूँजी नपुर्‍याउने कम्पनीलाई मर्जरमा लैजाने बीमा समितिको योजना छ, समग्रमा मर्जर नीतिले बीमा क्षेत्रलाई कस्तो असर गर्छ ? पूँजी पुर्‍याउन सक्नेले पुर्‍याउँछन् । नसक्नेलाई मर्जरमा जानु एउटा विकल्प हुन सक्छ । नीतिगत रूपमा गर्नुपर्छ भनेको काम गरेरै अगाडि बढ्ने हो । जसरी गरे पनि बीमा कम्पनी आफैमा बलियो हुने हो । क्षेत्र विस्तार गर्ने हो । सेवामा पहुँच वृद्धि गर्ने हो ।

बजारमा नयाँ कम्पनी पनि आएका छन् । नयाँ कम्पनी आउँदा पुराना कम्पनीलाई प्रतिस्पर्धाका लागि कुनै समस्या त छैन ? नेपालमा नयाँ बीमा कम्पनी आएका छन्, यो राम्रो हो । प्रतिस्पर्धामा काम गर्नु राम्रो हो । प्रतिस्पर्धाले व्यवसाय वृद्धि गर्छ । सबै क्षेत्रमा बीमा कम्पनी पुग्न सकेका छैनन् । अहिलेसम्म बीमाको पहुँच ८–१० प्रतिशतभन्दा माथि जान सकिरहेको छैन । यो अवस्थामा त बीमाको बजार खाली नै छ । यसको दायरा फराकिलो छ । त्यसकारण नयाँ आउँदैमा पुरानालाई समस्या हुने तथा पुराना कम्पनी भएर नयाँ कम्पनीले बिजनेस नपाउने भन्ने अवस्था छैन । कसले कति गर्न सक्छन् भन्ने हो । हरेक कम्पनी आफ्नो रणनीति लिएर बजार जाने हो । आ–आफ्ना पोलिसी बेच्ने हो । ग्राहकले जसको पोलिसी आकर्षक लाग्छ, त्यो लिने हो । त्यसकारण प्रतिस्पर्धा भए पनि समस्या नै आएको छ भन्ने छैन । तथापि, यसले नेपाली बीमा बजारमा पहुँच वृद्धिमा सहयोग पुगेको छ । यो समग्र बीमा बजारकै लागि राम्रो हो ।

बीमा प्रतिस्पर्धाले गर्दा कस्ता चुनौती देखिएका छन् ? बढ्दो प्रतिस्पर्धाको बजारमा कम्पनीलाई आगामी दिनमा कसरी अगाडि बढाउने योजना छ ? बीमा व्यवसायको मूल चुनौती भनेकै यसको क्षेत्र विस्तार अर्थात् दायरा फराकिलो बनाउन नसक्नु हो । बीमा अत्यावश्यक सेवा हो भन्ने विषयमा अझै पनि आम रूपमा चेतनाको स्तर माथि आउन सकेको छैन । उदाहरणका लागि कुनै व्यक्तिले ३ लाखको मोटरसाइकल किन्छ । उसलाई मोटरसाइकल किन्न ३ लाख जहाँबाट पनि जुट्छ । तर, त्यसको बीमाका लागि आवश्यक पर्ने सानो रकम भने उसले जुटाउन नसकेको झैं गर्छ अर्थात् बीमा गर्नमा उसको रुचि हुँदैन । जब कुनै घटना, दुर्घटना वा चोरी हुन्छ, त्यसपछि मात्र बीमा आवश्यक रहेछ भन्ने उसमा बोध हुन्छ । बीमा गर्नुपर्छ भनेर भन्दा बीमा कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्नका लागि गरिएको एकोहोरो प्र्रस्तावको रूपमा मात्र लिइन्छ । प्रभु इन्स्योरेन्सको आगामी योजना भनेको बीमाको समग्र क्षेत्र विस्तार नै हो । भएका सेवालाई यथावत् राख्दै आफ्ना ग्राहकका लागि नवीनतम सुविधा ल्याउने, पहँुच नपुगेका ठाउँमा सहज, सरल रूपमा बीमाको सेवा पु¥याउनु नै हाम्रो योजना हो ।

बीमा आवश्यक हो भन्दै गर्दा यसबारे जनचेतना पर्याप्त हुन नसक्नुको कारणचाहि“ के हो ? यसमा नियामक निकायको भूमिका कस्तो हुनुपर्ने हो ? निश्चय पनि बीमाबारे आम रूपमा जति जनचेतना फैलिनुपर्ने हो, त्यो नभएको स्वीकार गर्नुपर्छ । होइन भने किन बीमा बजार ८–१० प्रतिशतभन्दा माथि जान सकेन त ? यसमा दुवै पक्षको आआफ्नै भूमिका छ । तर, बीमामा कुनै सङ्घसंस्था वा व्यक्ति मात्र लागेर यसको दायरा फराकिलो नहुँदो रहेछ । किनभने अहिलेसम्म सबै कम्पनीले आफ्नो ढङ्गले यसको प्रचारप्रसार गरिरहेकै छन् । यसमा नियामक निकाय, बीमा कम्पनी, बीमा गर्ने व्यक्ति, सञ्चारमाध्यम सबैको भूमिका आवश्यक छ । बीमालाई केवल कम्पनीहरूले गर्ने व्यापार मात्र ठान्ने प्रवृत्तिले बीमाको विस्तार पनि हुँदैन । यसबाट सेवाग्राहीले लाभ लिन पनि गाह्रो छ ।

बीमा कम्पनीप्रतिको विश्वासको कारण पनि बीमा विस्तार हुन सकिरहेको छैन भन्ने कुरा मान्न तयार हुनुहुन्छ ? कम्पनीहरूकै कारणले गर्दा पनि बजार विस्तार हुन नसकेको हो कि ? थुप्रै बीमा कम्पनीबीच कतिपयले गलत काम गरे होलान् । त्यसको सजाय पनि भोगे होलान् । कुनै एक कालखण्डमा कुनै कम्पनीले गरेको गल्ती र त्यसको नकारात्मक प्रचारले पनि यस्तो भएको हो । तर, एक/दुई कम्पनीको कुरालाई लिएर समग्र बीमा बजारको विश्लेषण गर्नु न्यायोचित होइन । विकसित देशमा कुनै पनि कामका लागि बीमा आवश्यक गरिएको छ । बीमाविना कुनै ट्राञ्जेक्शन नै हुँदैन । हामीकहाँ जनचेतनाको कमी छ । कतिपय अवस्थामा हाम्रा काम गर्ने पद्धति पनि सही नभएका होलान् । भएका कमीकमजोरीलाई सुधार्दै सकारात्मक रूपबाटै अघि बढ्नुपर्छ ।

बीमा दाबी गर्ने प्रवृत्ति पनि देखिन्छ । यसले बीमा क्षेत्रलाई कस्तो असर गर्ला ? बीमा क्षेत्रमा यस्ता प्रवृत्ति देखिन सक्छन् । यो कम्पनीले भन्दा पनि आम बीमितले सोच्नुपर्ने कुरा हो । उनीहरूले नै झुटो दाबी नगरेमा यस्ता समस्या नै देखिँदैनन् । यसले बीमा बजारमा नराम्रो असर गर्दछ । तसर्थ, यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक छ । यसमा हामीले मात्र नभएर आम बीमितिले नै बढी ध्यान दिन आवश्यक छ । दाबी पाउँछु भन्ने विश्वासमा प्रक्रिया नपुर्‍याई गलत धारणा लिएर आउनुहुन्न । प्रक्रिया पुर्‍याएर आएमा हामी उचित रूपमा क्षतिपूर्ति दिन तयार छौं । यस्ता मौकाको फाइदा उठाउने दुष्प्रयास गर्नुहुँदैन ।

तुलनात्मक रूपमा अरू बीमा कम्पनीले भन्दा तपाईंहरूले उपभोक्ताका लागि थप कस्तो सुविधा दिनुभएको छ ? प्रभु इन्स्योरन्स प्रविधिको उच्चतम प्रयोग गर्दै अगाडि बढिरहेको कम्पनी हो । यो कम्पनीले १ वर्षपहिले नै मोबाइल एप्सको सेवा शुरू गरिसकेको छ । यो नै नेपालमा पहिलो पटक बीमा मोबाइल एप्स लञ्च गर्ने कम्पनी हो । हामीले नै अनलाइन पोलिसी शुरू गरेका हौं । सामान्य रूपमा हेर्दा हरेक कम्पनीका सेवा र पोलिसी उस्तै लागे पनि केही न केही भिन्नता अवश्य नै हुन्छन् । हामीले ग्राहकका लागि अर्काे सेवा शुरुआत गरिसकेका छौं । हाम्रो कम्पनीमा बीमा गर्ने ग्राहकले गाडी लिएर कुनै लामो दूरीमा गएको अवस्थामा बाटोमा गाडी बिग्रियो र सर्भिसिङ गर्नुपर्‍यो भने नजिकको शाखा कार्यालयमार्फत उसको गाडी नजिकको ग्यारेजबाट निःशुल्क रूपमा सर्भिसिङ गरिदिने व्यवस्था गरेका छौं । कतिपय नजिकका ग्यारेजमा एक किसिमको सम्झौता भइसकेको छ । यसका लागि उपभोक्ताले अतिरिक्त शुल्क तिर्नुपर्दैन ।

सरकारले नयाँ बीमा विधेयक ल्याएको छ । व्यवसायीको हिसाबले विधेयकप्रति यहाँको धारणा के छ ? अहिलेसम्म हामीले विधेयकबारे सुनेका मात्र छौं । यसको व्यापक अध्ययनविना टिप्पणी गर्न अलि हतार होला । बीमा क्षेत्रका सरोकारका विषय हामीले यसअघि नै सम्बन्धित निकायलाई पेश गरेका छौं । सबैका सरोकार उस्तै छन् । छलफल भएर समयसापेक्ष रूपमा विधेयक पास होला भन्ने हाम्रो विश्वास हो ।

प्रस्तावित बीमा ऐनले धेरैओटा विषयमध्ये स्नातकोत्तर हासिल गरेको व्यक्ति बीमा कम्पनीको सीईओ हुन पाउने व्यवस्था गरेको छ । यसप्रति तपाईंको भनाइ के छ ? कुनै पनि कम्पनीलाई प्रभावकारी रूपमा अगाडि बढाउन सीईओको मुख्य भूमिका हुन्छ । बीमा क्षेत्र संवेदनशील भएकाले सीईओ पदमा अनुभवी व्यक्ति नै आउन आवश्यक छ । तसर्थ, बीमा विधेयकमा यस्तो व्यवस्था गर्नु फाइदाजनक र सान्दर्भिक देखिँदैन । यसले बीमा कम्पनीको व्यवस्थापन कार्यलाई कमजोर बनाउन सक्ने सम्भावना देखिन्छ । बीमा क्षेत्रले सामाजिक तथा आर्थिक दायित्व बहन गर्ने हुँदा अनुभवी व्यक्ति मात्र कम्पनीको सीईओ हुन पाउने व्यवस्था बनाउँदा सान्दर्भिक होला ।

बीमा विधेयकमा बीमा व्यवसायलाई प्रदेश सरकारले व्यवस्थापन गर्न सक्ने व्यवस्था गरेको छ । यसमा तपाईंको धारणा के छ ? विधेयकमा व्यवस्था गरिएको यस्तो व्यवस्था फाइदाजनक छ । यसले बीमाको पहुँच स्थानीय तहसम्म पुर्‍याउन मद्दत पुग्ने देखिन्छ । साथै, यसले बीमाको क्षेत्र पनि फराकिलो हुने सम्भावना छ । बीमासम्बन्धी उजुरी गर्नकै लागि काठमाडौं आउनु पर्दैन । यद्यपि, अहिले पनि प्रदेशभित्र रहेका शाखा कार्यालयबाट कम्पनीहरूले बीमा सेवा प्रदान त गरेकै छन् । यस व्यवस्थाले बीमा सेवा विस्तार गर्न थप सहयोग पुग्ने देखिन्छ । र, यसलाई थप प्रभावकारी बनाउन बीमा जागरण बढाउने कार्यमा जोड दिन आवश्यक छ ।

पछिल्लो समय बीमा बजारमा जनशक्तिको अवस्था कस्तो छ ? समस्या नै छ या समाधान पनि हुँदै गएको छ ? अहिले बीमा क्षेत्रमा दक्ष जनशक्तिको अत्यधिक मात्रामा अभाव नै छ । जसले गर्दा बीमाको दायरा पनि बढ्न सकिरहेको छैन । यस क्षेत्रप्रति नयाँ पुस्ताको आकर्षण पनि सन्तोषजनक देखिँदैन । एक कम्पनीमा काम गर्दै गरेका कर्मचारीलाई कुनै अर्काे कम्पनीले सेवासुविधा बढाएर लैजाने गरेको पाइन्छ । यस्ता समस्यालाई दृष्टिगत गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले बीमा तालीम केन्द्रको पनि शुरुआत गरिएको छ । यसबाट दक्ष जनशक्ति उत्पादन हुने सम्भावना देखिन्छ । मुख्यतया तालीम केन्द्रमा कसरी प्रशिक्षण गर्ने, गराउने भन्ने विषयले पनि महत्व राख्छ । हामीले विभिन्न तहमा किन र केका लागि पढ्छौं भन्ने उद्देश्य जस्तै बीमा तालीम केन्द्रबाट तालीम लिँदा पनि सोही अनुरूपको उद्देश्य लिन आवश्यक छ । र, विस्तारै यसलाई शैक्षिक कार्यक्रमको रूपमा लैजान सके हामी बीमा बजारका लागि दक्ष जनशक्ति परिपूर्ति गर्न सक्छौं ।

नयाँ पुस्तालाई बीमा क्षेत्रमा व्यावसायिक रूपमा आकर्षण गर्न के गर्नुपर्छ होला ? सर्वप्रथम त नयाँ पुस्तालाई भन्दा पनि समग्र समाजलाई बीमामा जोड्न आवश्यक छ । समाज बीमामा जोडिए भए यसको व्यवसाय फस्टाउँदै जान्छ । माग बढ्यो भने आपूर्ति पनि बढ्दै जान्छ । जसअनुसार बीमाको व्यावसायिक दायरा बढ्दै जान्छ । त्यसपछि नयाँ पुस्ता स्वतः यस क्षेत्रमा आकर्षित हुन्छन् ।

‘अन द स्पोट’ बीमा दाबी भुक्तानी दिने व्यवस्थाको माग भइरहेको छ । यस विषयमा कम्पनीले के गर्छ ? तत्काललाई हामी यो प्रावधान अपनाउने पक्षमा छैनौं । प्रक्रियागत रूपमा यो सम्भव पनि देखिँदैन । दाबी भुक्तानी गर्न प्रक्रियागत रूपमा क्षतिको मूल्याङ्कन गर्न अति आवश्यक हुन्छ । तसर्थ, क्षतिको मूल्याङ्कनविना ‘अन द स्पट’ भुक्तानी दिन असम्भव छ । यो त्यति व्यावहारिक पनि देखिँदैन । यद्यपि, कतिपय अवस्थामा पेस्कीस्वरूप केही रकम दिन सकिन्छ । यस्तो अवस्थामा आम बीमितिले कम्पनीलाई ठग्ने धारणा पनि राखेका हुन्छन् । त्यसकारण हामी तत्काल यस्तो अभ्यासमा जाने तयारीमा छैनौं । तर, हामी आम बीमितलाई सरल र सहज तरिकाले दाबी भुक्तानी दिन कुनै पनि किसिमको कञ्जुस्याइँ गर्नेछैनौं ।

२०७२ सालको भूकम्पपछि बीमा जागरण बढेको छ भनि“दै आएको छ । हो त ? भूकम्पपछि बीमा साक्षरता बढ्नेमा जुन अपेक्षा गरिएको थियो, त्यसअनुरूप साक्षरता बढेको पाइँदैन । त्यति ठूलो भूकम्प जाँदा पनि आममानिसमा अझै बीमा गर्नुपर्छ भन्ने भावनाको विकास भएको छैन । भूकम्पअगाडि जुन रेसियोमा बीमा साक्षरता बढिरहेको थियो, अहिले पनि सोहीअनुरूप नै बढेको छ । भूकम्प जानुभन्दा अगाडि र पछाडिमा कुनै फरक देखिँदैन । भूकम्पले मानिसको मानसिकता परिवर्तन गरेको भए काठमाडौंमा उच्च मात्रामा बीमितको सङ्ख्या बढ्ने थियो । तर, त्यो देखिँदैन । मानिसले अब ७०/८० वर्षपछि मात्र भूकम्प आउँछ भन्दै बीमालाई बेवास्ता गरेका छन् । समाजमा आगजनी, बाढीपहिरोजस्ता जोखीम पनि छन् । यस्ता कुरालाई ध्यानमा राखेर आम समाज बीमामा जोडिन आवश्यक छ ।

काठमाडौंमा उद्योग, कलकारखाना, मोटर र जनसङ्ख्या बढी भएका कारण सङ्ख्यात्मक रूपमा यहाँ बीमितको सङ्ख्या बढी छ । तर, जनसङ्ख्याको अनुपातका आधारमा काठमाडौंमा बीमितको सङ्ख्या कम छ । जसअनुसार राजधानी जस्तो शहरमै बीमा गर्नुपर्छ भन्ने मानिसकताको विकास कम मात्रामा भएको देखिन्छ ।

नेपालमा समग्र बीमा बजारको भविष्य कस्तो देख्नुहुन्छ ? पछिल्लो समय बीमाको दायरा र पहुँच जुन हिसाबमा बढेको छ, त्यसले बीमा बजारको भविष्य उज्ज्वल हुने देखिन्छ । यद्यपि, समयअनुसार बीमा क्षेत्रको विकास भने हुन सकेको छैन । यस्ता विषयमा सम्बन्धित निकायले बीमा क्षेत्रले ध्यान दिनुपर्ने बेला आएको छ । साथै, बीमासम्बन्धी विषयलाई पाठ्यक्रममा पनि समावेश गर्ने कुरा उठिरहेका छन् । जसअनुसार पाठ्यक्रममा पनि बीमा विषय समेटियो भने निकट भविष्यमा सोचेभन्दा बढी मात्रामा बीमा बजारको विकास हुन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)