बैङ्क तथा वित्तीय संस्थामा १५ वर्षको अनुभव बटुलेका श्रीजेश घिमिरे ८ वर्षदेखि मर्चेण्ट बैङ्करको रूपमा कार्यरत छन् । नेपालको सन्दर्भमा पूँजीबजार नयाँ क्षेत्र भएकाले यो क्षेत्रमा काम गर्न चुनौतीसँगै अवसरको सम्भावना रहेको उनको बुझाइ छ । पूँजीबजारमा नयाँ प्रविधिहरू भित्रिएपछि मर्चेण्ट बैङ्कहरूलाई काम गर्न थप सहज भएको उनी बताउँछन् । यिनै विषयमा आर्थिक अभियानकी प्रजिता बुढाथोकीले उनीसँग गरेको कुराकानी:
एनएमबी क्यापिटलले के कस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ? एनएमबी क्यापिटलमार्फत धितोपत्र व्यवस्थापन, अण्डरराइटिङ, पोर्टफोलियो व्यवस्थापन, शेयर रजिष्ट्रारको सेवा, डीपीको सेवा र म्युचुअल फण्डका कार्यक्रम सञ्चालन गरिरहेका छौं । धितोपत्र व्यवस्थापमा आईपीओ, एफपीओ, हकप्रद र बोनस शेयर निष्कासनमा हामी विक्री प्रबन्धकको जिम्मेवारी पूरा गर्दै आएका छौं । त्यस्तै, प्रारम्भिक चरणमा आईपीओ तथा एफपीओमा जानुभन्दा अघि कम्पनीहरूले पूरा गर्नुपर्ने जिम्मेवारीको विषयमा पनि सहजीकरण गर्ने गरेका छौं ।
धितोपत्र खरीद प्रक्रियामा भएको प्राविधिक विकासले मर्चेण्ट बैङ्करहरूलार्ई कत्तिको सहज बनाएको छ ? प्रविधिको विकासले सेवाप्रदायक संस्थाहरूको काममा धेरै सहज भएको छ । सीडीएसमार्फत शेयर डिम्याट भइसकेपछि सम्पूर्ण मर्चेण्ट कम्पनीलाई दुईओटा पक्षमा सजिलो भएको छ, एउटा– मानिसको भीड र दोस्रो कागजको लोड । सी–आस्बा लागू भइसकेपछि ७५ प्रतिशतभन्दा बढी आवेदन प्रक्रियामा मानिसले अनलाइनको प्रयोग गर्ने गरेको देखिएको छ । यसरी पूँजीबजारमा भएको प्रविधिको विकासले मर्चेण्ट बैङ्कहरूलाई ठूलो सुविधा भएको छ ।
मर्चेण्ट बैङ्करको रूपमा काम गरिरहँदा यो क्षेत्रमा के कस्ता चुनौती के देख्नुभएको छ ? नेपालको पूँजीबजारको इतिहास २५ वर्षको भए तापनि हाम्रो देशमा यो अझै पनि नयाँ क्षेत्र हो । विश्वस्तरको हिसाबले हेर्दा नेपालको पूँजीबजारमा धेरै काम गर्न बाँकी छन् । अहिले पूँजीबजारप्रति मानिसको आकर्षण त बढेको छ । तर, यस विषयमा आमजनताको बुझाइ धेरै नै कम छ । यसले गर्दा जनमानसमा पूँजीबजारप्रति शङ्का हावी भएको देखिन्छ । वस्तुगत ज्ञान तथा सैद्धान्तभन्दा हल्ला वा कसैको भनाइलाई आधार गरेर मानिसले पूँजीबजारप्रति धारणा बनाएको देखिन्छ । अहिलेको अवस्थामा पूँजीबजारलाई कसरी अगाडि बढाएर लैजाने भन्ने सोचको विकास हुनु जरुरी छ । हाम्रो नजीकैको देश भारतकै पूँजीबजार हेर्ने हो भने त्यहाँ यो एकदमै बृहत् हुँदै गएको छ । सन् १९९१ मा उदारीकरण प्रणाली अँगालेको भारतको पूँजीबजारले सन् २००२ देखि फड्को मारेको हो । विदेशी लगानी आउने सहज वातावरण बनाएपछि त्यहाँ यो सम्भव भएको हो । भारतमा त्योबीचमा ५ वर्षभन्दा बढी समय नीतिगत सुधारका काम फटाफट भए । भारत र नेपालका नियामक निकाय १ वर्षमात्र जेठा–कान्छा हुन् । अहिले भारतको पूँजीबजार संसारले आँखा लगाउने भएको छ । तर, नेपालको पूँजीबजारमा संसारको आँखा नै पर्दैन । अर्को महत्वपूर्ण चुनौती मर्चेण्ट बैङ्कमा दक्ष जनशक्तिको अभाव छ । मर्चेण्ट बैङ्कको क्षेत्र नै पूँजीबजारका लागि नयाँ भएकाले दक्ष जनशक्ति अभाव भएको हो । पूँजीबजारसम्बन्धी तालीम दिनकै लागि पनि योग्य मानिस पाउन गाह्रो छ । अधिकांश तालीममा प्रशिक्षकको रूपमा विदेशी नै ल्याउनुपरेको छ । त्यसले गर्दा चुनौती पक्कै छ । तर, यससँगै अवसर पनि धेरै छन् ।
बजारलाई गतिशील बनाउन मर्चेण्ट बैङ्कको भूमिका कस्तो हुन्छ ? पूँजीबजार आफै चलायमान तथा पारदर्शी हुन्छ । यी दुई कुरालाई नमान्ने हो भने संसारका कुनै पनि पूँजीबजारले काम गर्न सक्दैन । त्यसैले, पूँजीबजारमा कायम भएको शेयरमूल्यलाई सधैं ठीक मानिन्छ । लाखौं मानिसले कारोबार गर्ने क्षेत्रलाई ‘ठीक’ मानिएन भने केलाई मान्ने ? तपाईं हामीले चाहेर बजार अगाडि बढाउँछौं भन्ने होइन । कुनै विषय वा नीतिनियमले भने बजारलाई प्रभाव पार्न सक्छ । नेपालमा सञ्चालित म्युचुअल फण्डहरूको कुल पूँजी जोड्ने हो भने पनि १४–१५ अर्ब होला । सबै म्युचुअल फण्डले आफ्नो कुल पूँजी शेयरमा लगानी गर्दैमा पूँजीबजार माथि जाने भन्ने पनि होइन होला । अहिले बजारमा भएको ठूलो मात्राको शेयरको आपूर्तिलाई म्युचुअल फण्डको थोरै पूँजीले सन्तुलनमा राख्न सम्भव पनि नहोला । त्यसैले, बजार घटेको बेला सबै पूँजी बैङ्कमा थन्काउने उद्देश्य म्युुचुअल फण्डको हुँदै हुँदैन । बजार आफै चलायमान भएकाले म्युचुअल फण्डहरू आफ्नो भूमिकालाई ध्यानमा राखेर लगानी गर्दै आएका छन् र गरिरहन्छन् ।
पछिल्लो समय हकप्रद विक्री नभएर पटकपटक लीलामीमा निकाल्नुपरेको छ । हकप्रदमा लगानीकर्ताको आकर्षण घटेको हो त ? पछिल्लो समय हकप्रदमा सर्वसाधारणको भन्दा पनि संस्थापकतर्फको शेयरमा आवेदन कम देखिएको छ । यसमा लगानीकर्ताको आकर्षण घटेको भन्दा पनि हकप्रद निष्कासन बढी भएको हो कि जस्तो लाग्छ । संस्थापक शेयरमा लगानी गरेपछि सजिलै विक्री गर्न नपाइने भएकाले त्यति लामो समय होल्ड गर्न नचाहेका हुन् कि ⁄ त्यसैले, संस्थापक शेयरमा लगानी गर्नेको दीर्घकालसम्म लगानी गर्ने नै उद्देश्य हुन्छ । पछिल्लो समय हकप्रदको बाढी यस्तो आइदियो कि, लगानी गर्न पैसाको अभाव भयो । भएको शेयर विक्री गरेर लगानी गरौं भन्दा पनि संस्थापक शेयर सजिलै विक्री गर्न समस्या छ ।
प्राथमिक बजारमा एफपीओ विक्रीमा पनि समस्या देखिएको छ । एनएमबी क्यापिटलले निष्कासन तथा व्यवस्थापन गरेको बुटवल पावरको एफपीओमा पनि यो समस्या देखिएको थियो । यसको कारण के पाउनुभएको छ ? अहिले बजारमा तरलताको अभाव, बैङ्क ब्याजदरमा भएको उतारचढाव, धेरै मानिसले हकप्रद हाल्नुपर्ने अवस्थाले सही मूल्यमा एफपीओ आउँदा पनि विक्री हुन नसकेको देखिन्छ । सैद्धान्तिक हिसाबले हेर्ने हो भने अहिले निष्कासनमा आएका अधिकांश एफपीओ महँगा छैनन् । त्यसैले, हाम्रो बजारको आकार र अहिले लगानीयोग्य पूँजीको अभाव देखिएको समयमा एफपीओ निष्कासनको सङ्ख्या बढी भएको हो कि भन्ने मेरो अनुमान छ ।
शेयर अभौतिकीकरण शुरू भएको पनि अहिले लामै समय भइसक्यो । एनएमबी क्यापिटलमा भौतिक शेयरको अवस्था के छ ? पहिलाको तुलनामा धेरै भौतिक शेयरको अभौतिकीकरण भएको छ । जसले आफ्नो भौतिक शेयर अभौतिकीकरणमा गर्नुपर्ने बुझिसक्नुभएको छ, उहाँहरू अभौतिक गइसक्नुभएको छ । अहिले हामीले शेयर सर्टिफिकेट छाप्न छोडिसकेका छौं । भौतिक रूपमा रहेका जति पनि शेयर छन्, ती पहिला आईपीओमा हालेका शेयर मात्र हुन् । शेयर डिम्याट हुन संसारभरि नै समय लाग्ने गरेको छ । भारतमा सन् १९९९ मा डिम्याट शुरू भएको हो । तर, अहिले पनि त्यहाँ केही शेयर डिम्याट हुन बाँकी छ भनिन्छ । नेपालमा त यो २ वर्षमात्र भएको छ ।
धितोपत्रको निष्कासन तथा व्यवस्थापनका लागि के भइदिए मर्चेण्ट बैङ्करलाई काम गर्न अझ सहज हुन्थ्यो ? पूँजीबजारसम्बन्धी ऐनकानूनमा स्पष्ट नभएका नीतिगत व्यवस्था पनि बढी बाध्यात्मक भएको जस्तो लाग्छ । नयाँ विश्वले नियामक निकायको काम ‘पुलिस’बन्ने भन्दा पनि ‘पोलिसिङ’ गर्ने हो भन्छ । नेपालमै पनि वित्तीय क्षेत्रमा पोलिसीको सिद्धान्त अपनाई बैङ्क तथा वित्तीय संस्थालाई नियमन गरिरहेको देखिन थालेको छ । बीमा तथा पूँजीबजार पनि पोलिसीको सिद्धान्तमा अगाडि बढ्छ जस्तो मलाई लाग्छ । भइरहेका नियमलाई अझ सशक्त तथा समयसापेक्ष बनाउन सके पूँजीबजारले अझ छिटो गति लिन सक्छ । नीतिनियमको निर्माण तथा परिमार्जनले समग्रमा पूँजीबजार तथा मर्चेण्ट बैङ्करलाई काम गर्न अझ सहज हुने थियो र सोहीअनुरूप दक्षता पनि बढ्दै जाने थियो ।