ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निजी आवास निर्माणको काम सुस्त भयो भन्नु गलत हो

Aug 7, 2018  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
निकै संवेदनशील मानिएको भूकम्पपछिको पुनर्निर्माणमा खासगरी निजी घर/आवास निर्माणमा ढिलाइ देखिएको छ । साथै, क्षति भएका अन्य भौतिक संरचनाको काम र एकीकृत बस्ती विकास पनि सुस्त छ । राजनीतिक परिवर्तनसँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख पनि फेरिने गरेका छन् । यसबाट पुनर्निर्माणको काममा कस्तो प्रभाव परेको छ त ? यिनै विषयमा पुनर्निर्माण प्राधिकरणअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)का आयोजना निर्देशक तपेन्द्रबहादुर खड्कासँग आर्थिक अभियानकी हिमा वि.क.ले गरेको कुराकानी : आयोजनाले अहिले के गरिरहेको छ ? राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत कायम भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)ले मुख्यतया तीन क्षेत्रमा काम गर्दै आएको छ । निजी आवास पुनर्निर्माण, सार्वजनिक भवन निर्माण र एकीकृत बस्ती विकासका विषयमा हाम्रो सहभागिता छ । भूकम्पपीडित लाभग्राहीको निजी आवास निर्माणमा प्राविधिक सहयोग गर्ने किसिमले काम गरिरहेका छौं । साविकका जिल्ला सदरमुकाममा भूकम्पले क्षतिग्रस्त सार्वजनिक भवनको निर्माणका साथै भूकम्पबाट जोखीममा रहेका बस्तीमा काम गर्दै आएका छौं । यसका लागि एकीकृत÷सामूहिक बस्ती विकाससम्बन्धी काममा हाम्रो सहभागिता छ । प्राधिकरण गठन गर्दादेखि नै सामूहिक÷एकीकृत बस्तीलाई प्राथमिकता दिइएको थियो । तर पनि यो कामले गति लिन सकेको छैन नि ! हो, सरकारले सामूहिक बस्तीलाई प्राथमिकता दिएको छ । यसमा अहिले ५६ ओटा बस्ती पहिचाहन गरेर अध्ययनकोे काम सकिएको छ । त्यस्तै, २९ ओटा एकीकृत बस्तीको छनोट कार्य पनि भइरहेको छ । सोहीअनुसार जोखीममा रहेका बस्तीका स्थानान्तरणका लागि हाल दोलखाका बोसिम्पा र जिलुमा पुनर्वास योजना (रिसेटलमेण्ट प्लान) बनाउने तयारी गरिएको छ । जोखीमयुक्त स्थानमा बसोवास गरेका भूकम्पपीडित लाभग्राहीलाई यो योजनामार्फत सुरक्षित स्थानमा राखिनेछ । जोखीमयुक्तबाहेक अन्य स्थानमा पनि एकीकृत बस्ती तथा व्यवस्थित बस्ती विकासलाई प्राथमिकता दिइएको छ । पुराना बस्तीको स्तर विकास हुनेगरी सोही स्थानमा बसोवासको व्यवस्था मिलाउन कार्ययोजना लागू गरिएको छ । एकीकृत बस्तीले सम्बन्धित व्यक्तिहरूलाई पनि जोखीमयुक्त स्थानबाट बसाइसराइ गर्न प्रोत्साहित गरिएको छ । उनीहरूले जग्गा खरीदका लागि थप रू. २ लाख अनुदान पाउँछन् । अहिले दुई स्थानमा हामीले काम शुरू गरिसकेका छौं । परामर्शदाता अध्ययन प्रतिवेदन आइसकेपछि अन्य स्थानमा पनि एकीकृत बस्ती विकास गरिनेछ । दुईभन्दा बढी एकीकृत बस्ती विकास गर्न सकिने अवस्था थियो । तर, योजनाबद्ध रूपमा काम अघि बढाउन अध्ययन र योजना निर्माणमा समय लाग्छ । भूकम्पबाट अतिप्रभावित स्थानमा व्यवस्थित रूपमा बस्ती विकास गर्न समय लागेको हो । ढिलै भए पनि व्यवस्थित बसोवास हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । हालै भूकम्पपीडितको धितो लीलाम गर्न बैङ्क तथा वित्तीय संस्थाहरू ‘एग्रेशिभ’ भएर आए । नेपाल राष्ट्र बैङ्कले धितो लीलाम नगर्न सर्कुलर नै जारी गर्नुपर्‍यो । यसमा तपाईंको धारणा के छ ? यसमा सरकार के गरेको थियो भने, हाम्रा भूकम्पपीडित लाभग्राही जति हुनुहुन्छ, उहाँहरूको घर निर्माणका लागि २ प्रतिशत सहुलियत ऋण दिने भनिएको थियो । त्यसअनुसार ऋण दिन नेपाल राष्ट्र बैङ्क, नेपाल बैङ्कर्स सङ्घ र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट काम अघि बढाइयो । तर, त्यो सुविधा पाउन कम लाभग्राही आकर्षित भए र पहुँच पनि कम भयो । यो किसिमबाट केही समस्या आयो । अर्थ मन्त्रालय, प्राधिकरण, केन्द्रीय बैङ्क र बैङ्कर्स सङ्घसँग यस विषयमा पुनः छलफल भएको छ । कुनै पनि विषय सुरक्षणमा अड्किएको हुन्छ । बैङ्कमा जम्मा भएको पैसा सर्वसाधारणको हो, जुन पैसा लगानी गर्दा सुरक्षा चाहिन्छ । धितो लीलाम गर्ने सवालमा भने बैङ्कको ऋण सुरक्षाको विषय नै प्रमुख होला । भूकम्पपछिको ३ वर्ष भइसक्दा पनि निजी आवास पुनर्निर्माणमा उल्लेख्य प्रगति हुन नसक्नुको कारण के हो ? निजी आवास निर्माणमा उल्लेख प्रगति हुन नसकेको भन्ने विषय नै गलत हो । अहिले ७० प्रतिशत निजी आवास निर्माणको काम शुरू भइसकेको छ । प्राधिकरणको कार्यकाल ५ वर्षको हो । प्राधिकरण गठन भएको साढे २ वर्ष भएको छ । साढे २ वर्ष अझै बाँकी छ । आधा समयमै ७० प्रतिशत प्रगति भएको अवस्थामा कम भन्न मिल्दैन । पहिचान गरिएका लाभग्राही ८ लाख ७ हजार छन् । तीमध्ये पुनर्निर्माण सम्झौता गरेका ७ लाख २१ हजार छन् । ५ लाख २४ हजारभन्दा बढीले घर निर्माण शुरू गरेका छन् । ४ लाख ८४ हजार लाभग्राहीलाई दोस्रो किस्ता रकमका लागि सिफारिश गरिएको छ । तेस्रो किस्ताका लागि २ लाख ५५ हजारलाई सिफारिश गरिएको छ । लाभग्राहीले आफ्ना घर आफै बनाउने हो । कतिपय लाभग्राहीले सुतेको बहाना गरेका छन् । सुतेको बहाना गर्नेलाई ब्युँझाउन सकिन्न । निजी आवास व्यक्तिको इच्छामा भर पर्ने भएकाले हामीले काम नगरेको भन्न मिल्दैन । भूकम्पपीडित पनि सक्रिय हुनुपर्छ । पालमा बसेकाहरू वडा कार्यालयसम्म पुग्नैपर्छ । त्यसपछि मात्र काम शुरू हुन्छ । स्थानीय तहमा खटिएका प्राविधिक समूह प्रभावकारी रूपमा परिचालन नभएका विषय बाहिर आएका छन् । अहिले स्थानीय तहमा कति जनशक्ति परिचालित छन् ? २ वर्षअघि प्राविधिकहरू खटाइएका स्थानमा जान नमान्नेलगायत केही समस्या थिए । तर अहिले यो अवस्था छैन । स्थानीय तहमा अहिले व्यापक रूपमा प्राविधिक जनशक्ति परिचालन भएका छन् । भौगोलिक विकटताका कारण केही स्थानमा प्राविधिकले छाडेका छन् । त्यस्ता स्थानमा हामीले तुरुन्तै अन्य जनशिक्त खटाएका छौं । अहिले १ हजार ३ सय ४६ इञ्जिनीयरहरू परिचालित छन् । उनीहरू गाउँपालिकादेखि जिल्ला र केन्द्रमा छन् । केन्द्रमा जम्मा १३–१४ जना मात्र छन् । ८ सय ४६ सब–इञ्जिनीयर र ८ सय ८७ सब–असिष्टेण्टसमेत कार्यरत छन् । स्थानीय निकायसँग कसरी सहकार्य गर्नुभएको छ ? स्थानीय तहमा खटिएका प्राविधिक जनशक्तिले काम गर्नैपर्ने हुन्छ । उनीहरूले काम गरेको आधारमा हाजिरी प्रमाणित गरेर स्थानीय तहले जिल्ला कार्यान्वयन एकाइमा स्वीकृत गरेर पठाएपछि मात्रै उनीहरूले तलब पाउने व्यवस्था छ । यो भएपछि प्राविधिकले स्थानीय स्तरमै बसेर काम गर्ने अवस्था सृजना हुन्छ । पुनर्निर्माणको काममा स्थानीयको सहकार्य अनिवार्य नै छ । प्राधिकरणले तोकेको मापदण्डअनुसार निर्माण नभएका भवनको हकमा आयोजनाले के गर्ने योजना बनाएको छ ? भूकम्प गइसकेपछि उत्पन्न भएको त्रासले के चेतना आउनुपथ्र्यो भने कमजोर संरचना बनाउनु हुँदैन । तर, कतिपय ठाउँमा भूकम्पप्रतिरोधी भवन बनेको देखिएन । लाभग्राहीले भूकम्पप्रतिरोधी घर नै बनाउनुपथ्र्यो । साधारण जानकारी लिएर बनाएको भए यो समस्या हुने थिएन । शुरुआती चरणमा परम्परागत रूपमा डकर्मीहरूले विगतकै जस्तोगरी घर बनाए । डकर्मीहरूले तालीम प्राप्त नगरेकाले कहीँ कहीँ समस्या देखिएको छ । त्यस्ता आवासलाई भूकम्पप्रतिरोधी बनाउन प्राधिकरणले प्रबलीकरण र सुधार गर्ने खालको प्रविधि दिएको छ । त्यो प्रविधि प्रयोग गरेर भूकम्पबाट नभत्कनेगरी रेट्रोफिटिङ, प्राविधिकको रायसुझावमा सुधार गर्नुपर्छ । मापदण्डविपरीत घर÷आवास अहिले १९–२० हजार छन् । प्राविधिकको सल्लाहअनुसार तिनको प्रबलीकरण गर्नुपर्छ । यसो गर्दा भूकम्पपीडितहरू सुरक्षित हुन्छन् । इञ्जिनीयरको सुझावअनुसार सुधार गरेमा बाँकी रू. २ लाख ५० हजार अनुदान पाउँछन् । सरकारले दिएको अनुदानको सदुपयोग गर्नुपर्छ । दातृ निकायले आफ्नै मनोमानीमा भूकम्पपीडितका घर बनाएका छन् भन्ने गुनासो पनि छ । निजी आवास निर्माणमा यी निकायको भूमिका कस्तो छ ? यसमा वास्तविकता के हो भने, उनीहरूले निजी आवास वा अन्य संरचना निर्माण गर्दा स्वीकृति लिने र काम गरेको प्रगति पेश गर्नुपर्ने प्रावधान छ । उनीहरूले बनाएका घर भूकम्पप्रतिरोधी हुनुपर्छ । दातृ निकायले निजी आवास निर्माणमा सहयोगको प्रस्ताव गरेका हुन्छन् । सोहीअनुसार नक्साङ्कनसहितको प्रतिवेदन परीक्षण तथा मूल्याङ्कनपछि प्राधिकरणले अनुमति दिएपछि घर निर्माण गर्ने प्रावधान छ । दातृ निकायले कतिपय क्षेत्रमा प्राविधिक सहयोग गरेका छन् भने कतिपयमा रू. ३ लाख सहुलियत पनि दिएका छन् । दातृ निकायहरूले क्षेत्र निर्धारण गरेर क्लष्टरअनुसार निजी आवास निर्माण गरेको अवस्था छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्व पटक–पटक परिवर्तन हु“दा पुनर्निर्माणको काममा कस्तो प्रभाव पारेको छ ? सरकार परिवर्तनसँगै राजनीतिक नियुक्ति परिवर्तन हुनु स्वाभाविकै हो । यसले प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा हुनुपर्ने निर्णयमा केही अवरोध ल्याउँछ । अहिले नीतिगत र कार्यकारी समितिबाट निर्णय गराउनुपर्ने विषयमा पनि यसले प्रत्यक्ष प्रभाव पर्छ । तर, अन्य काममा कुनै समस्या हुँदैन । तत्काल भने केही विषयमा निर्देशक समितिको निर्णय गराउनुपर्नेछ । तर, प्राधिकरणको नेतृत्व फेरिँदा भूकम्पपीडितले पाउने अनुदान र संरचना निर्माणमा पनि खाबै प्रभाव पर्दैन । निजी तथा सामूहिक आवास निर्माणका क्रममा देखिएका समस्या के के हुन् ? मुख्यगरी स्थानीय तहहरूले सामूहिक तथा संयुक्त आवास निर्माणलाई प्रोत्साहन गर्नुपर्ने छ । यसलाई प्राधिकरणले नीतिगत रूपमा स्वीकार गर्छ । तर, स्थानीय निकायले भन्नुपर्छ । काठमाडौं उपत्यकाका प्रमुख पुराना शहर तथा क्षेत्रमा भएका साना साना जग्गालाई एकीकृत गरी हाउसपुलिङको अवधारणामा अगाडि बढाउन सकिन्छ । त्यसको पहल गर्ने काम स्थानीय तहको हो र नक्सा गर्ने विषयमा स्पष्ट पार्नुपर्छ । काठमाडौं उपत्यकामा निजी तथा सामूहिक आवास निर्माणको हकमा गुठी जग्गाहरू व्यापक छन् । कतिपय स्थानमा गुठीको तिरो तिर्नुपर्ने अवस्था छ । कतिपयले वर्षाैंदेखि तिरो नतिरेको र सिफारिश लिन जाँदा पुरानो तिरो तिर्नुपर्ने बाध्यता छ । त्यसमा गुठीले मिनाहा गर्नुपर्‍यो या तिर्नुपर्ने अवस्था छ । जग्गाको स्वामित्व नभएका पनि छन् । यसमा अनेक प्राविधिक समस्या छन् । कतिपय जग्गा बाटोको ‘राइट अफ वे’मा छन् । यसमा नक्सा पास हुँदैन । यसको व्यवस्थापनका लागि सरकारले थप रू. २ लाख अनुदान दिएको छ । अन्यत्र बसोवास गर्न अनुदान दिएको छ । नेपालले भूकम्पपछिको पुनर्निर्माणबाट विश्वलाई उदाहरण पेश गर्नुपर्छ । भूकम्पपछिको पुनर्निर्माण भनेको भूकम्पप्रतिरोधि संरचना निर्माणमा लागिपर्ने अवसर हो । भूकम्पप्रतिरोधी घर बनाऔं र सुरक्षित जीवनयापन गरौं भन्नेमा हामी केन्द्रित हुनुपर्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)