विगत १० वर्षदेखि शेयर बजारमा सक्रिय लगानीकर्ता हुन् दुर्गा तिवारी । हाल नेपाल इन्भेष्टर्स फोरमको सञ्चालक पदमा रहेकी उनी महिलालाई स्वतन्त्र भएर पूँजीबजारमा लगानी गर्न आग्रह गर्छिन् । यिनै विषयमा आर्थिक अभियानकी लक्ष्मी शर्माले उनीसँग गरेको कुराकानी :धितोपत्र बजारमा कहिलेदेखि लगानी गर्दै आउनुभएको छ ?
म यो क्षेत्रमा विगत १० वर्षदेखि आबद्ध छु । जुन बेला म पूँजीबजारमा प्रवेश गरेँ, त्यो बेला महिलाको सहभागिता निकै कम थियो । किनभने, बजार त्यति बेला शेयर बजार ७ सयको हाराहारीमा झरेको थियो । झरेको बजारमा महिलाहरू आउन डराउनुहुन्छ । अहिले पनि ब्रोकर अफिसमा दुई/तीनजना महिला आउनुहुन्छ । जब बजार बढ्छ, तब महिलाहरू आकर्षित हुनुहुन्छ ।
पूँजीबजारप्रति तपाईंको आकर्षण कसरी भयो ?
मैले सरकारी जागीर खाने इच्छाले तीन पटकसम्म लोकसेवाको परीक्षा दिएँ । मेरो ज्योतिषमा पनि विश्वास थियो । ज्योतिषले तैले सरकारी जागीरमा नाम निकाल्न सक्दिनस् भनेका थिए । तर, मेहनत गरे किन हुँदैन भनेर तीन पटकसम्म परीक्षा दिए तापनि नाम निस्केन । त्यही समय मैले रवीन्द्र भट्टराई सरसँग शेयरबजारसम्बन्धी आधारभूत तालीम लिने मौका पाएँ । त्यो तालीम लिएपछि शेयर बजारमा प्रवेश गरेकी हुँ । जब बजारमा प्रवेश गरेँ, तब तालीम लिएर मात्र पुग्ने रहेनछ, बजार कुन ट्रेण्डमा छ भनेर बुभ्mनु पनि जरुरी रहेछ भन्ने लाग्यो । म प्रवेश गर्दा बजार बियरिश ट्रेण्डमा थियो । बीच–बीचमा बजार बढेको पनि थियो । तर त्यति बेला बेच्न जानिएन । त्यसैले, शुरू–शुरूमा अलिकति घाटा खाएकी थिएँ । महिलाको सहभागिता एकदमै कम, सल्लाह दिने महिला भेट्नै गाह्रो, पुरुष साथीहरूसँग सल्लाह लिन खोज्दा राम्रोसँग नदिने अनि आफ्नो बुझाइ कम । यी कारणले त्यो बेला समस्या भएको थियो ।
लामो समयदेखि बजारको उतारचढाव पार गर्दै यो क्षेत्रमा सक्रिय हुनुहुन्छ । लगानीका लागि पूँजीबजार कत्तिको उपयुक्त छ ?
संसारभरि नै हेर्ने हो भने पूँजीबजारबाट जति नाफा अन्य क्षेत्रमा देखिँदैन । विशेषगरी महिलाका लागि यो क्षेत्रमा लगानी गर्न उपयुक्त देख्छु । महिलालाई घरव्यवहारको कामसमेत गर्नुपर्ने भएकाले घरको काम सकेर कारोबारमा जाने र बेलुका समयमै घरमा फर्किने गर्न सहज हुन्छ । यो क्षेत्रमा जोखीम पनि उच्च छ र प्रतिफल पनि राम्रो हुन्छ । दीर्घकालीन लगानी गर्नेहरूलाई पूँजीबजारमा कहिल्यै पनि घाटा हुँदैन । यो कति जोखीम लिने भन्नेमा भर पर्छ । जोखीम कम लिन राम्रा कम्पनीको आधारभूत पक्ष विश्लेषण गरेर शेयर किन्नुपर्छ । त्यसो गरेमा घाटा हुने सम्भावना कम हुन्छ । त्यसैले, बुझेर लगानी गर्दा जागीर खानेको भन्दा पनि राम्रो कमाइ छ शेयर बजारमा ।
धेरै लगानीकर्ताले पूँजीबजारलाई नै आम्दानीको स्रोत बनाएको देखिन्छ । यो क्षेत्रमा लगानी गरेर आत्मनिर्भर हुने अवस्था देख्नुहुन्छ त ?
म यो क्षेत्रमा १० वर्षदेखि छु । समग्रमा म अहिलेसम्म नाफामै लगानी गरिरहेको छु । जो लगानीकर्ता बुझेर लगानी गर्नुहुन्छ, उहाँहरू यही क्षेत्रबाट आत्मनिर्भर भएको अवस्था पनि छ । म आफै पनि यही क्षेत्रमा लगानी गरी आत्मनिर्भर बनेकी छु । मैले आजसम्म घरमा पैसा माग्नुपरेको छैन । मैले जे गरेको छु, राम्रो गरेको छु । यो क्षेत्रमा आफै सफल भएकाले महिलाका लागि एकदमै उपयुक्त छ जस्तो लाग्छ । यो क्षेत्रमा सफलता प्राप्त गरेका महिला धेरै हुनुहुन्छ । पूँजीबजारबाट प्राप्त आम्दानीले घर बनाउनेदेखि व्यापार व्यवसाय गरेर सफलता प्राप्त गरका महिला दिदीबहिनीको सङ्ख्या पनि धेरै छ । हो, यो क्षेत्र सुरक्षित त छँदै छैन । यो असाध्यै जोखीमको क्षेत्र हो । तर, जहाँ बढी जोखीम हुन्छ, त्यहाँ नै बढी प्रतिफल प्राप्त गर्न सकिन्छ । जोखीम नभएको क्षेत्रमा पैसा कमाउने भनेको महीनाभरि काम गरेर तलब प्राप्त गर्नु हो । त्यो सीमित हून्छ । यो क्षेत्रमा महीनाको लाखौं रुपैयाँ पनि कमाइ हुन्छ । जोखीम छ र पो कमाइ पनि बढी छ । बजार तल माथि भइरहन्छ, यो यसको विशेषता हो । सुरक्षित हिसाबले लगानी गर्ने हो भने दीर्घकालीन लगानी गर्दा राम्रो हुन्छ ।
आफू शेयरबजारमा लगानी गरेर सफल हुँदा अन्य महिलालाई पनि यो क्षेत्रमा ल्याउन कुनै पहल गर्नुभएको छ ?
मैले मेरो परिवारदेखि साथीहरू, छिमेकी, आफन्तलगायत सबैलाई शेयरबजारमा लगानी गर्न आग्रह गर्दै आएको छु । मेरै पहलमा ५० जनाभन्दा बढी महिला यो क्षेत्रमा प्रवेश गर्नुभएको छ । तर, उहाँहरू बढ्दो बजारमा आउनुहुन्छ र बजार घट्न थाल्यो भने बेच्न थाल्नुहुन्छ । उहाँहरू सिक्नै खोज्नुहुन्न । बजार भनेको सधैं माथि जाँदैन । शेयर बजारलाई सानो सानो राजनीतिक अवस्थादेखि हरेक तत्त्वले असर पारेको हुन्छ ।
१ वर्षदेखि पूँजीबजारले गति लिन सकेको छैन । यस्तो अवस्थामा लगानी व्यवस्थापन कसरी गर्नुभएको छ ?
हरेक लगानीबाट नाफा नै हुन्छ भन्ने हुँदैन । तर, १ सयओटा कम्पनीमा लगानी गर्दा ७० ओटा कम्पनीबाट नाफा कमाउन सकेमा कुल लगानी नाफामा रहन्छ । बियरिश ट्रेण्डमा रहेका बेला एकै दिन धेरै कित्ता शेयर किन्नु हुँदैन । थोरै थोरै गरेर किन्दा राम्रो हुन्छ । विगतमा राम्रो प्रतिफल दिएका कम्पनीमा लगानी गर्दा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ । कतिपय कम्पनीको शेयर घाटा खाएर पनि बेच्नुपर्ने बाध्यता हुन्छ । यदि बुलिश ट्रेण्डमा बजार छ भने जुन कम्पनीमा लगानी गरे पनि नाफा कमाउन सकिन्छ । आधारभूत पक्ष तथा प्राविधिक विश्लेषण केही हेर्नुपर्दैन । जब बजार तल आउन थाल्छ, राम्रो आधारभूत पक्ष भएका कम्पनीको शेयरमूल्य पनि घटेको हुन्छ । सोही कारण यो जोखीम भएको क्षेत्र हो । यसमा बेला बेला घाटा पनि हुन्छ ।
कारोबारका लागि हरेक दिन ब्रोकर अफिस पुग्ने गर्नुभएको रहेछ । अहिले त अनलाइनबाटै खरीदविक्रीको आदेश दिन सकिएला नि !
अहिलेको अवस्थामा ब्रोकर कारोबारका लागि ब्रोकर अफिस नै जानुपर्ने आवश्यकता त छैन । तर, घरमै बसेर समग्र लगानीकर्ताको मनोविज्ञान बुझ सकिँदैन । ब्रोकर अफिसमा जाँदा बजारको अवस्था र कम्पनीका बारेमा धेरैै मानिसको विचार बुझ्न सकिन्छ । सबैजना जम्मा भएर कुनै कम्पनीले के दिन सक्ला, कस्तो शेयर खरीद गर्दा राम्रो प्रतिफल पाउन सकिन्छ भनेर सल्लाह दिँदा आफूलाई मात्र ज्ञान नभएर धेरैलाई ज्ञान बाँड्न सकिन्छ जस्तो लाग्छ ।
कतिपय महिलाले परिवारलाई थाहै नदिई पूँजीबजारमा लगानी गरेको पाइन्छ । यो क्षेत्रमा लगानी गर्दा पारिवारिक सल्लाह कत्तिको आवश्यक ठान्नुहुन्छ ?
पूँजीबजारमा लगानी गर्ने अधिकांशमा चेतनाको कमी छ । अधिकांश श्रीमान् नोकरी गर्ने र श्रीमतीहरू शेयरबजारमा सक्रिय भएको पाइन्छ । श्रीमती ब्रोकर अफिसमा गए पनि किनबेचका लागि श्रीमान्को सल्लाह लिने गर्नुहुन्छ । पारिवारिक सल्लाह हुनुपर्छ । तर, बजारको प्रत्यक्ष जानकारी लिइरहेको हुनाले शेयर खरीद गर्ने बेला स्वविवेक लगाउनुपर्छ । श्रीमान्ले पूँजी उपलब्ध गराउनुहुन्छ भने आफ्नो इच्छाले शेयर खरीद गर्ने स्वतन्त्रता पनि दिनुप¥यो । ब्रोकर अफिस गइराख्ने श्रीमतीलाई कुन कम्पनीको शेयरमूल्य बढेको छ, बोनस शेयर र कति हकप्रद शेयर दिँदै छ भन्ने जस्ता विषयवस्तु थाहा हुन्छ । त्यसैले, किन्ने र बेच्ने स्वतन्त्रता आफ्नो श्रीमतीलाई नै दिएमा राम्रो हुन्छ ।
परिवारमा सल्लाह नै नगरी लगानी गर्ने कतिपय दिदीबहिनी शेयरबजारमा घाटा भएर डिभोर्स नै हुने बेला भयो भन्ने गुनासो पनि गर्नुहुन्छ । यस्ता समस्या भविष्यमा नहोस् भन्न श्रीमान् र श्रीमतीबीच सल्लाह गरेर लगानी गर्नु उपयुक्त हुन्छ ।
हाल लगानीकर्ताको हितका लागि गठित सङ्गठन धेरै भए जस्तो लाग्दैन ?
अहिलेसम्म चारओटा सङ्गठन लगानीकर्ताको हितका लागि गठित भएका छन् । तीमध्ये तीनओटा मात्र सक्रिय छन् । म पनि नेपाल इन्भेष्टर्स फोरममा आबद्ध छु । हामीले पनि एउटै सङ्गठन हुनुपर्छ भनेर प्रयास गरेकै हौं । तर, हाम्रो प्रयास सफल हुन सकेन । चारओटै सङ्गठनको लक्ष्य शेयर बजारको विकास, विस्तार र समृद्धि गर्ने नै हो । जाने बाटो फरक होला, तर लक्ष्य फरक छैन । जतिओटा सङ्गठन खुले पनि बजार घटाउने बढाउने होइन, नीतिगत सवालमा सरकारलाई खबरदारी गर्ने हो । हामी भनेको दबाब समूह हौं ।
नयाँ अनलाइन प्रणालीमा आबद्ध हुन लगानीकर्ता उत्साही छैनन् भनिन्छ नि !
नेप्सेले नयाँ अनलाइन प्रणालीमा आबद्ध हुन युजरनेम र पासर्वड लिन आग्रह गरेको छ । तर, त्यो त्यति उपयोगी हुन सकेको छैन । ब्रोकरले गरेको काम हेर्ने मात्र भइराखेको छ । एकातिर इण्टरनेट पनि सुस्त छ । अहिलेसम्म यो प्रणालीमा २ हजार ५ सय जनाजति आबद्ध भएको खबर पाएका छौं । शुरूको चरणमा परिवारका सदस्यमध्ये कुनै एकले लिएर हेरौं भन्ने गरेको पाइएको छ । २ महीनापछि अनलाइन आउने भएकाले पनि त्यति बेला नै लिऔंला भन्ने सोचले पनि युजर नेम र पासवर्ड लिनेको सङ्ख्या कम भएको हो ।
अहिलेको अवस्थामा पूँजीबजारले गति लिन के आवश्यक देख्नुहुन्छ ?
पूँजीबजार म प्रवेश गर्दाको समयभन्दा त धेरै विकास–विस्तार भएको छ । यतिमा मात्र सीमित हुनु हुँदैन । शेयर बेच्नेबित्तिकै खातामा पैसा आउने र खरीद गर्नेबित्तिकै पैसा काटिनेजस्ता सिष्टमको विकास भए लगानीकर्तालाई अझ सजिलो हुन्थ्यो । पूँजीबजारमा विगत लामो समयदेखि एनआरएनलाई भित्र्याउने भन्ने चर्चा भइरहेको छ । त्यसका लागि आवश्यक नीतिनियम र सहज वातावरण बनाइदिनुपर्यो । अहिलेको मौद्रिक नीतिमा बैङ्कहरूलाई ब्रोकर लाइसेन्स दिने भन्ने कुरा आएको छ । यसका लागि पनि स्पष्ट व्यवस्था जतिसक्दो चाँडो भए राम्रो हुन्थ्यो । परीक्षणकालमै रहेको स्वचालित अनलाइन प्रणाली पनि आम लगानीकर्ताले प्रयोग गर्नेगरी छिट्टै कार्यान्वयनमा ल्याउन सके बजारले गति लिन सक्थ्यो भन्ने लाग्छ ।