कम्पनीको वित्तीय अवस्था, जोखीमको स्थितिका साथै प्रतिफल दिन सक्ने क्षमतालगायत विस्तृत मूल्याङ्कन गर्न नेपालमा दोस्रो क्रेडिट रेटिङ कम्पनीको रूपमा केयर रेटिङ्स नेपाल सञ्चालनमा छ । नेपाल धितोपत्र बोर्डबाट गत कात्तिक ३० गते सञ्चालनको अन्तिम अनुमति पाएपछि कारोबार शुरू गरेको उक्त कम्पनीमा केयर इण्डियाको ५१ प्रतिशत लगानी छ । पछिल्लो समय नेपाल राष्ट्र बैङ्कले बैङ्कहरूबाट कर्जा लिने ठूला उद्यमी तथा व्यावसायिक संस्थाको समेत शाख मूल्याङ्कनको व्यवस्था गरेको छ । यसपछि रेटिङ्स कम्पनीलाई थप अवसर प्राप्त भएको छ । यिनै विषयमा केन्द्रित रहेर केयर रेटिङ्स नेपालका प्रमुख कार्यकारी अधिकृत साजन गोयलसँग आर्थिक अभियानकी ममता थापाले गरेको कुराकानी :रेटिङका लागि बजेट तथा मौद्रिक नीतिमा समेत राम्रो व्यवस्था भएको छ । यसले रेटिङ व्यवसायको सम्भावना झन् बढाएको होला नि !
आर्थिक वर्ष २०७५/७६ को बजेट र मौद्रिक नीतिले क्रेडिट रेटिङका बारेमा तीनओटा विषयमा व्यवस्था गरेको छ । १ अर्बभन्दा बढी चुक्तापूँजी छ भने तिनीहरू स्टक एक्सचेञ्जमा सूचीकृत हुनुपर्छ । यसका लागि रेटिङ अनिवार्य छ । यसमा पनि क्रेडिट रेटिङको काम हुन्छ । यस्तै, वाणिज्य बैङ्कहरूले इस्युअर गर्नुपर्छ भनेर मौद्रिक नीतिमा भनेको छ । इस्युअर भनेको बैङ्कको समग्र क्षमता विश्लेषण गर्ने हो । अर्काे, बैङ्क तथा वित्तीय संस्थाले रू. ५० करोड वा सोभन्दा बढीको कर्जा उपयोग गर्ने ऋणीलाई कर्जा प्रवाह वा नवीकरण गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ एजेन्सीबाट गरिएको रेटिङलाई कर्जा मूल्याङ्कनको आधारको रूपमा लिनुपर्ने व्यवस्था राष्ट्र बैङ्कले मौद्रिक नीतिमा गरिएको छ । कुनै पनि ग्राहकले बैङ्कबाट ५० करोड वा सोभन्दा बढीको कर्जा लियो भने ग्राहक कम्पनीको रेटिङ गर्नुपर्छ । त्यो कर्जालाई नवीकरण गर्नुपर्यो भने वा अर्काे ५० करोडको कर्जा लिनुपर्यो भने नेपालमा रहेको वा बाहिर रहेको कुनै पनि क्रेडिट रेटिङ कम्पनीबाट रेटिङ गर्नुपर्छ । मौद्रिक नीतिमा यस्तो व्यवस्था छ ।
हामी बैङ्कलाई त्यही भनिरहेका छौं । उनीहरूले पनि यसबारे ग्राहकलाई सम्झाउनुप¥यो । तर, सबै बैङ्कर पनि क्रेडिट रेटिङ गराउनेबारे सचेत छैनन् । बैङ्करहरूले यसबारे विभिन्न तालीम लिइरहेका छन् । साथै, हामी अन्य कम्पनीलगायतका ग्राहकलाई बुझाउने पनि गरिरहका छौं ।
रू. ५० करोडभन्दा बढी कर्जा लिनेको अनिवार्य रूपमा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाप्रति कम्पनीहरू कत्तिको उत्साहित देखिन्छन् ?
हामीले अहिलेसम्म ५० करोडभन्दा बढी कर्जा लिने यस्ता कम्पनीको रेटिङ गरेका छैनौं । अधिकांश कम्पनीले यस्तो क्रेडिट रेटिङ गर्न चाहेका छैनन् । उनीहरू किन रेटिङ गर्नुपर्यो भन्ने तर्क गर्छन् । यसबाट हामीलाई के फाइदा हुन्छ ? भन्ने उनीहरूको तर्क छ । उनीहरूलाई हामीले रेटिङको महत्त्वबारे बुझाइरहेका छौं । केही कम्पनी भने यसबारे चासो देखाउँदै आउन थालेका छन् । बैङ्कहरू भने ऋणी कम्पनीको रेटिङ भएमा आफू ऋणीबारे ढुक्क हुन सक्ने भएकाले सकारात्मक देखिएका छन् ।
अहिलेसम्म क्रेडिट रेटिङबारे बैङ्कर र त्यसका ग्राहक अझै जानकार छैनन् । यसबारे धेरैलाई थाहा छैन । विशेष विभिन्न उद्योग, व्यवसायका कम्पनी रेटिङ किन गर्नुपर्ने ? भनेर तर्किन खोजेको पाइयो । साथै, यसको फाइदा के हुन्छ भन्नेबारे पनि अधिकांश जानकार छैनन् । त्यसैले, हामी अहिले बैङ्करहरूलाई पनि प्रिजेण्टेशन देखाएर प्रशिक्षित गरिरहेका छौं । प्रिजेण्टेशनमा बैङ्करले ठूलो उद्योगी व्यवसायीसँग क्रेडिट, जोखीम, सम्बन्ध आदिमा कसरी डिल गर्ने र यसका लागि रेटिङ किन अनिवार्य छ भन्नेबारे सिकाइन्छ । केयर रेटिङ्स नेपाल के हो, क्रेडिट रेटिङ के हो, यसको फाइदा, यसको प्रक्रिया के के हो, कागजपत्र के के चाहिन्छ, रेटिङ गर्नेबित्तिकै यो सार्वजनिक हुन्छ÷हुँदैन लगायतबारे जानकारी दिइरहेका छौं । केही समयपछि बैङ्कका मुख्य ठूला लगानीकर्ता तथा ग्राहकलाई जम्मा गरेर जानकारीमूलक कार्यक्रममार्फत सचेत गर्ने योजना पनि बनाएका छौं । यसबारे सम्बन्धित बैङ्कसँग सल्लाह भइरहेहको छ । यसपछि वीरगञ्ज, विराटनगर जस्ता उद्योगी, व्यवसायी धेरै भएका क्षेत्रमा स्थानीय बैङ्क तथा उद्योगी व्यवसायीलाई पनि यसबारे जानकारी दिने तयारी गरेका छौं । केयर नेपालमा रेटिङको बारेमा चासो राख्ने र सोध्ने ग्राहकबाट फोन आइरहको छ । हामीले उनीहरूलाई यसबारे बुझाइरहेका छौं ।
कम्पनीहरूलाई क्रेडिट रेटिङको फाइदाबारे कसरी विश्वास दिलाउनु भएको छ ?
विभिन्न खालका कम्पनीको जोखीममा आधारित मूल्य हुन्छ । उनीहरूको रेटिङ बढी छ भने बैङ्कले राम्रो कम्पनी भनेर विश्वास गरेर कर्जा दिन सहज ठान्छ । अनि ब्याजदरमा केही कम गर्न सक्छ । राम्रो कम्पनीलाई कर्जा दिन बैङ्कलाई पनि सजह हुन्छ र कर्जा प्रवाहको सम्भावना बढी हुन्छ । ग्राहकलाई पनि बैङ्कसँग डिल गर्न शक्ति बढ्छ । बजारमा त्यस्ता कम्पनीको राम्रो छवि बन्छ । राम्रो रेटिङ भएका कम्पनी भन्नेबित्तिकै बैङ्कहरू पनि तिनीहरूलाई खोजी खोजी आउन सक्छन् । किनकि, त्यस्ता कम्पनीमा बैङ्कले लगानी गर्दा जोखीम कम हुन्छ । त्यस्ता कम्पनीले आवश्यक कच्चापदार्थ आयात गर्न एलसी (प्रतीतपत्र) धेरै सहज हुन्छ । किनभने, यो रेटिङ सिम्बोल अन्तरराष्ट्रिय हो । त्यसकारण यसले अन्तरराष्ट्रिय बजारमै राम्रो छवि बनाउन मद्दत गर्छ । राम्रो कम्पनी छ भने बैङ्कले पनि डकुमेण्टेशन छिटो गरिदिन्छ । कम्पनी राम्रो छ भने ठूलो कर्जाका अन्य प्रडक्ट पनि निकाल्न सक्छ । राम्रो कम्पनीमा लगानी गर्न सबैलाई मन पर्छ । त्यस्ता कम्पनीहरूले डिवेञ्चर र बोण्डहरू निकालेर पैसा जुटाउन सक्छन् । हामी विशुद्ध निष्पक्ष कम्पनी हौं । त्यसैले, उनीहरूले पनि निष्पक्ष परिणाम पाउँछन् । कम्पनीहरूलाई उनीहरूको आफ्नो कमजोरी, बलियो पक्ष, सुधार गर्नुपर्ने पक्षलगायत सबै विश्लेषण रेटिङले निर्धारण गरेर सजिलो बनाइदिन्छ ।
रेटिङ एजेन्सीले आफ्नो सेवाबापत शुल्क जुन संस्थाको रेटिङ गर्ने हो, उसैबाट लिन्छ । यसले गर्दा त्यो रेटिङको उपयोग गर्ने सर्वसाधारणमा शङ्का रहिरहने देखिन्छ । यसमा उनीहरूलाई विश्वस्त पार्ने आधार के हो ?
हामी रेटिङमा रेटिङ परिणाम निकाल्नुअघि नै दुई पक्षबीच समझदारी गरेर निश्चित शुल्क लिने गर्छौं । यसको कारण पछि गएर द्वन्द्व हुँदैन । परिणामपछि थोरै रेटिङ दिइस्, कम पैसा दिन्छु भन्ने विवाद नआओस् भनेर हामी सबै शुल्क पहिले नै लिन्छौं । हामी अध्ययनको काम यहीँ गर्छाैं तर रेटिङ तोक्ने काम भने भारतको मुम्बईस्थित केन्द्रीय कार्यालयले गर्छ । नेपालबाट पठाइएको डकुमेण्टका आधारमा सो कार्यालयका अनुभवी, दक्ष र विज्ञले रेटिङ दिने गर्छन् । यहाँका कम्पनी र व्यक्तिबारे उनीहरूको कुनै चिनजान नहुने भएकाले उनीहरू निष्पक्ष भएर परिणाम निकाल्ने गर्छन् ।
उनीहरूलाई नेपालको कुनै कम्पनीले के गरेको छ, कसो गरेको छ, को को छन् भन्ने थाहा नहुने भएकाले पक्षपात हुने शङ्का गर्नु पर्दैन । भारतमा केयर रेटिङले काम गरेको २५ वर्ष भएको छ । त्यहाँ १५ वर्षदेखि २० वर्षसम्म अनुभव भएको व्यक्ति सम्मिलित एक स्वतन्त्र रेटिङ समिति छ, जसले रेटिङ निर्धारण गर्छ । त्यसैले, यहाँ पनि सोही उचाइअनुसार काम गर्नुपर्यो र गरिरहेका छौं ।
स्वदेशी लघुवित्त कम्पनीको पहिलो रेटिङ गरेको केयर रेटिङले अहिलेसम्म कतिओटा कम्पनी तथा व्यवसायको रेटिङ र ग्रेडिङ गर्यो ?
यो कम्पनीले हालसम्म १७ ओटा कम्पनीको रेटिङ गरिसकेको छ । यस्ता कम्पनीअन्तर्गत सनराइज बैङ्क, नेपाल बैङ्क, एनआईसी एशियालगायत वाणिज्य बैङ्क छन् । रेटिङको काम थाल्नुअघि ग्राहकसँग दुईपक्षीय सहमति गरिन्छ । त्यसपछि हामीले बैङ्क तथा कम्पनीसँग आवश्यक सबै कागजात (डकुमेण्ट) माग्छौं । रेटिङका लागि अध्ययन–अनुसन्धान गर्न ३ देखि ४ हप्ता लाग्छ । अध्ययनपछि हामीले रेटिङको सबै विवरणसहितको नोट बनाउँछौं । हाम्रो अधिकांश काम नेपालमै हुन्छ । रेटिङ तोक्ने काम भने भारतबाट हुन्छ । त्यसपछि प्राप्त रेटिङ ग्राहकलाई जानकारी गराउँछौं । त्यो रेटिङ ग्राहकलाई स्वीकार्य भयो भने सार्वजनिक गर्छौं । तर, यसमा पुनर्मूल्याङ्कन गर्नुपर्ने अवस्था आएमा फेरि प्रक्रिया अगाडि बढाउँछौं ।
ग्राहकले पहिले दिन छुटेका केही डकुमेण्ट भएमा त्यो लिएर अथवा केही महत्त्वपूर्ण पक्ष छुटेका भए ती विषयमा पनि केन्द्रित भएर थप अध्ययन गर्नुपर्ने हुन्छ । तर, पुनर्मूल्याङ्कन भएर रेटिङ बढेको घटना कमै छ ।
नेपाली कम्पनीहरूको रेटिङ निर्धारणको अहिलेसम्मको अनुभव कस्तो रह्यो ?
अहिलेसम्मको अनुभव राम्रो रहेको छ । अहिलेसम्म जति पनि कम्पनीको रेटिङ गर्यौं, तिनमा बैङ्क र इन्स्योरेन्स कम्पनी छन् । तिनीहरू नियमन गरिएका कम्पनी हुन् । बीमा समिति र नेपाल राष्ट्र बैङ्कले नियमन गरेको हुनाले तथ्याङ्कमा कुनै समस्या थिएन, जसले गर्दा रेटिङ निर्धारणमा पनि सजिलो भयो ।
अनुसन्धान, तालीम तथा सूचना प्रवाहको काम गर्ने पनि कम्पनीको उद्देश्य छ । यसमा अहिलेसम्मको प्रगति के छ ?
हामीले अहिलेसम्म १७ ओटा कम्पनीको रेटिङ गरिसकेका छौं । अन्य प्रक्रियामा छन् । फरक फरक प्रकारका विषयगत जानकारी तथा जनचेतनामूलक ज्ञान सरोकारवालाई दिने काम गरेका छौं । विशेषगरी बैङ्करहरूलार्ई रेटिङ, यसको आवश्यकता र महत्त्वबारे बताउँदै आएका छौं । सबै बैङ्कलाई रेटिङबारे थाहा छैन । जानकारी लिन सरोकारवालालाई हाम्रो प्रिजेण्टेशनले सहयोग गर्छ ।
यसअघि नेपालमा एउटै रेटिङ कम्पनी थियो । इक्रा र यसमा के भिन्नता छ ?
केयर रेटिङ र इक्रा दुवै भारतको रेटिङ कम्पनीका सहायक कम्पनी हुन् । रेटिङ्स सिम्बोल पनि सबै उस्तै छन् । दुवै कम्पनी एउटै प्रकृतिको भएकाले यसबीच खास फरक नभए पनि सेवामा फरक छ । हामी ग्राहकसँग नजीक भएर काम गर्छौं । आवश्यकताअनुसार चाँडोभन्दा चाँडो काम सम्पन्न गर्छौं ।
यो क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति नेपालमा कत्तिको पाइन्छ ?
दक्ष जनशक्ति त कमै छन् । तर, दक्ष जनशक्ति धेरैजना चाहिँदैन । यो कामका लागि मुख्यतः चार्टर्ड एकाउण्टेण्ट र एमबीए आवश्यक पर्छ । यस्तो अध्ययन गरेका जनशक्तिको भने नेपालमा कमी छैन । यस्ता व्यक्तिबाट काम भइरहेको छ । हामीलाई धेरै सङ्ख्यामा कर्मचारी आवश्यक पनि पर्दैन । विश्लेषण गर्ने कामका लागि विश्लेषकको टीम छ, जसमा सबै विश्लेषक सीए हुन् । आवश्यकताअनुसार विश्लेषक टीम ठूलो बनाउँदै लगिनेछ । संस्थाबारे अध्ययन गर्ने काम यही हुन्छ । रेटिङ तोक्ने कामका लागि भने निकै दक्ष व्यक्ति हुनुपर्छ ।
रेटिङ कम्पनी थोरै भएकाले अवसर त धेरै छन् होला नि !
नेपाल सरकारले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बढाउन खोजिरहेको छ । यसलाई बढाउन नयाँ उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गरिरहेको अवस्था छ । नेपालमा उद्योग आए भने तिनले सञ्चालनका लागि कर्जा लिनुपर्ने हुन्छ । कर्जाको गति बढ्छ । यसले हाम्रो काम थपिने सम्भावना छ । यसैले, अवसर बढिरहेका छन् । यस्तै, सरकारले क्यापिटल मार्केट बढाउन खोजेको छ । यसले बजारमा डिवेञ्चर, बोण्ड जस्ता धितोपत्र आउँछ । चालू आर्थिक वर्षको मौद्रिक नीतिले कुनै पनि बैङ्कको सीसीडी रेशियो गणना गर्दा डिवेञ्चर तथा बोण्डलाई पनि पूँजीको रूपमा गणना गर्न पाइने गराएको छ । यस्ता डिवेञ्चर, बोण्डहरूको पनि रेटिङ गर्नुपर्ने हुन्छ । यसबाट पनि हामीलाई अवसर छ । पूँजीबजार विस्तार भयो भने हाम्रा लागि अवसर बढ्न सक्छ ।