चिकित्सकको परामर्शमा मात्र छालाको औषधि प्रयोग गर्नुपर्छ
Aug 17, 2018
 
अन्तरवार्ता
धेरै नेपाली छालाका समस्यालाई गम्भीर रूपमा लिँदैनन् । यो समस्यालाई बेवास्ता गरिँदा विभिन्न एलर्जी हुने, उमेरभन्दा बूढो देखिने, चाउरी पर्ने, दागधब्बा आउने, अनुहार तथा कपाल सुक्खा हुने र छालाको सौन्दर्य हराउने गर्छ । छालाका समस्यालाई सामान्य रूपमा लिइयो भने भविष्यमा यसले ठूलो रोग निम्त्याउँछ । वास्तवमा विभिन्न सङ्क्रमण, वंशाणु, हर्मोनलगायत कारणले छालासम्बन्धी समस्या हुन्छ । छालाको उपचारका लागि समयमै चिकित्सककोमा नगए अवस्था जटिल बन्न सक्छ । प्रस्तुत छ– छालामा देखिने समस्या, लक्षण, उपचारलगायत विषयमा प्रा.डा. भाष्कर मोहन कायस्थसँग आर्थिक अभियानका पूर्णभक्त दुवालले गरेको कुराकानीको सम्पादित अंश :छाला रोग के हो ?
छाला शरीरको बाहिरी आवरण हो । यसले शरीरभित्र र बाहिरको वातावरण सन्तुलन गर्ने तथा भित्री अङ्गलाई सुरक्षा दिने गर्छ । जब यही सुरक्षा कवचमा रोग लाग्छ, तब भित्री अङ्गमा असर पर्छ र अन्य रोगले सताउन थाल्छ । छालाले बाहिरका कीटाणु र धूलो–धूँवा छेक्छ । यसमा समस्या आयो भने छाला खस्रो हुने, खटिरा आउने, कपाल झर्ने, घाउ हुने, चिलाउने जस्ता समस्या देखिन्छ ।
छालामा कस्तो समस्या आएपछि चिकित्सकलाई देखाउनुपर्छ ?
शरीरका कुनै पनि भागमा कोठी, डण्डिफोर, ठेउला, चिलाउने फोका, अनुहार रातो हुने, छाला धेरै सुक्खा हुने, कत्ला पर्ने, घाउ पाक्न थाल्ने, शरीरमा मुसा आउने भएमा पनि चिकित्सकलाई देखाउनुपर्छ । छालामा राता काला दाग, सेता धब्बा, माछाको कत्लाजस्तो छाला हुने आदि समस्या देखिन सक्छ । समयमा उपचार भए यो ठीक हुन सक्छ । नवजात शिशुको छालामा समेत सेता दाना देखिन थाल्यो भने परीक्षण गराउनुपर्छ । छालाको समस्या भएका महिलाहरू गर्भवती हुँदा शरीरको हर्मोन असन्तुलन हुने गर्छ । यस्तो अवस्थामा उनीहरूलाई पुरानो समस्याले पुनः सताउन सक्छ । हर्मोनका कारण गर्भवती महिलाको छालामा विभिन्न लक्षण देखापरे चिकित्सकको सल्लाह लिनुपर्छ ।
छालाको रोगमा देखिने मुख्यगरी डण्डिफोर के हो ?
डण्डिफोर एक प्रकारको प्राकृतिक प्रक्रिया हो । जसको छालामा बढी चिल्लो आउँछ, त्यसलाई यो समस्या बढी देखिन्छ । अनुहार, गाला, चिउँडो, निधार, छाती, ढाड र पाखुरामा भएको ग्रन्थी हर्मोनको कारण सक्रिय भयो भने त्यसले बढी चिल्लो फ्याँक्छ र डण्डिफोर आउँछ । छालामा चिल्लोपदार्थ जम्मा भएपछि छालाको प्वाल टालिन्छ र डण्डिफोर देखिन थाल्छ । प्वाल टालिएपछि ब्याक्टेरियाले इन्फेक्शन गर्छ र डण्डिफोरमा पिप भरिन्छ । शुरूमा ‘ब्ल्याक हेड’ र स–साना दानाजस्तो आउँछ । तर, कसैकसैको भने पुरानो भएपछि गम्भीर खालको डण्डिफोर पनि आउन सक्छ ।
डण्डिफोर आउनुको अन्य कारण के हो ?
डण्डिफोर विभिन्न कारणले आउँछ । पहिलो मुख्य कारण हर्मोनको उतारचढाव नै हो । अर्को, कोही कोही मानिस छिटो रिसाउने स्वभावका हुन्छन् । छिटो रिसाउनेहरूको हर्मोन अन्य मानिसको तुलनामा बढी सक्रिय हुन्छ । यस कारण पनि डण्डिफोर आउँछ । त्यस्तै, निद्रा पुगेन र तनाव बढी भयो भने पनि यो समस्या देखापर्छ । पढाइ वा अन्य कामको धेरै धपेडीले पनि डण्डिफोर निस्कन्छ ।
महिलामा महीनावारी भएको समयमा अन्य समयको भन्दा बढी डण्डिफोर आउँछ । हर्मोनको कारण नै त्यो समयमा बढी डण्डिफोर आउने गर्छ । महीनावारी हुँदा जसको बढी पेट दुख्छ, उसलाई डण्डिफोर आउने सम्भावना बढी नै हुन्छ । तर, जसलाई खासै पेट दुख्दैन, उनीहरूमा डण्डिफोरको समस्या खासै देखिँदैन ।
पहिला–पहिला १४÷१५ वर्षको उमेरदेखि मात्र डण्डिफोर आउँथ्यो । तर, अहिलेका बालबालिकामा ९÷१० वर्षदेखि नै यस्तो समस्या देखापर्न थालेको छ । यसको प्रमुख कारण खानपिन र उनीहरूको जीवनशैली हो । पहिलाका बच्चाहरू ९÷१० वर्षको उमेरसम्म गुच्चा र डण्डिबियो खेल्थे भने अहिलेका केटाकेटी मोबाइल र कम्प्युटरबाहेक बाहिरी वातावरणमा घुलमिल नै हुँदैनन् । त्यसले गर्दा पनि सानै उमेरदेखि नै उनीहरूलाई डण्डिफोर आउँछ ।
जबसम्म हर्मोन सन्तुलनमा आउँदैन, तबसम्म यो निरन्तर चलिरहने प्रक्रिया हो । विशेषगरी २५/२६ वर्षको उमेरसम्म हर्मोन घटबढ भइरहन्छ । तर, २५ वर्षभन्दा पछि पनि महिलामा यो समस्या आयो भने उसमा पाठेघरसम्बन्धी समस्या हुन सक्छ ।
गर्मीमा देखिने छालाको समस्या के हो ?
गर्मीमा छालाको समस्या एकदम धेरै हुन्छ । त्यसो त काठमाडौंको धूलो र धूँवाले गर्दा जो कोहीलाई पनि छालाको समस्या भइरहेको हुन्छ ।
गर्मी समयमा काखीमुनि र यौनाङ्गवरिपरि पास्ने गर्छ । त्यसो हुन नदिन सधैं बिहान लगाएको भित्री वस्त्र बेलुकी खोलेर सुत्नुपर्छ । सकेसम्म दिनहुँ नुहाउनुपर्छ ।
अनुहारको छाला जोगाउन घाममा हिँड्नु हुँदैन । हिँड्नैपरे पनि छाता ओडेर हिँड्नुपर्छ । घामबाट जोगाउने सनक्रिम औषधि पसलबाट किनेर लगाउनुपर्छ । तातो र गर्मीसँगै धूलो आउँछ, अनि वायु प्रदूषण हुन्छ । त्यसले गर्दा छालामा समस्या हुन्छ । गर्मीमा पसिना बढी आउने हुँदा पनि छालामा समस्या देखापर्छ यस्तोमा घमौरा आउने, पसिना बढी आउने र अनुहारमा चिल्लोपन बढी देखिने गर्छ । त्यस्तो बेला मुख धोइरहनुपर्छ । नत्र, धूलो अनुहारमै चिल्लोसँग टाँसिन्छ र समस्या हुन थाल्छ ।
घामको कारण छालामा कस्तो समस्या देखापर्छ ?
घामको असरले चायापोतोे आउने, एलर्जी हुने र राता–राता दाना (घाउ) निस्किने समस्या हुन्छ । अनुहार, छातीको बीच भाग, कपडा छोटो लगाएको छ भने पाखुराको साइडमा एलर्जी हुन्छ । गोरो अनुहार भएका व्यक्तिलाई सूर्यको अल्ट्राभ्वाइलेट किरणले क्यान्सरसम्म हुन सक्छ ।
गर्मीमा देखिने अर्को समस्या के हो ?
गर्मीमा पसिनाले गर्दा काछ लाग्ने अर्को समस्या हो । दिनभर जुत्ता लाउनेहरूको गोडाको औंलाको कापकापमा समस्या देखिन्छ । त्यसलाई हिलोले खाएको भन्छौं, तर त्यो हिलोले खाएको होइन, पसिनाको समस्या हो । ढुसी (कीटाणु फङ्गस)को कारण गोडामा समस्या भएको हो । काछ लाग्दा रातो–रातो हुन्छ भने ढुसीले गर्दा चिलाउँछ । गर्मीमा पसिनाले कपडा भिज्छ । यसले काछमा ढुसी पार्छ ।
काछमा हुने समस्याबाट बच्न के गर्नुपर्छ ?
काछ हुन नदिन कसिलो लुगा लगाउनु हुँदैन । खुला र हल्का पोशाक लगाउनुपर्छ । भित्री वस्त्र पनि खुकुलो किसिमको हुनुपर्छ । कटन वा सुतीको भित्री वस्त्र लगाएमा त्यसले पसिना सोसेर काछ लाग्न पाउँदैन । काछलाई सुक्खा राख्नुपर्छ । नुहाउँदा साबुनको बढी प्रयोग गर्नु हुँदैन । अरूको लुगा प्रयोग गर्नु हुँदैन । समस्या भएपछि चिकित्सकसँग परामर्श गर्नुपर्छ । परामर्शविना औषधि किनेर प्रयोग गर्नुहुँदैन । काछमा परेको ढुसीको उपचारका लागि प्रयोग हुने औषधि अचेल काम नलाग्ने हुन थालेको छ । जथाभावी औषधि प्रयोग गर्दा ‘ड्रग रेजिष्टेन्स’ अर्थात् फङ्गसमा औषधि प्रतिरोधात्मक क्षमता बढ्दै गएको छ । काछ लाग्यो, चिलायो भनेर पसलमा गई औषधि किनेर प्रयोग गर्नुहुँदैन । चिलायो भने फार्मेसीले नचिलाउने औषधि दिन्छ, तर त्यसले छालाको अर्को समस्या ल्याउँछ ।
छालामा हुने समस्याबाट बच्न के गर्नुपर्छ ?
घाममा हिँड्ने बेला सनस्क्रिन लगाउनुपर्छ । धूलोमा हिँडिसकेपछि घर पुगेर शरीर सफा पानीले अनुहार तथा हातखोडा धुनुपर्छ । सकेसम्म गर्मीमा खुकुलो कपडा लगाउने गर्नुपर्छ । यस्तो हुँदा पसिना आउने सम्भावना कम हुन्छ र आएपछि गुम्सिन पाउँदैन । भित्री वस्त्र पनि सुतीको लगाउनुपर्छ । कमिज त कटनकै हुन्छ, तर भित्री वस्त्र नाइलन र पोलिष्टरको लगाउनु हुँदैन । राति सुत्ने बेला दिउँसो लगाएका सबै भित्री वस्त्र खोलेर अर्को फेर्नुपर्छ । किनभने दिनभर हिँड्दा, काम गर्दा शरीरमा पसिना आएको हुन्छ, धूलोमैलो टाँसिएको हुन्छ । त्यसमा कीटाणु हुन्छ । त्यसले गर्दा राति इन्फेक्शन हुन्छ । विशेषगरी काछ र काखीमा साबुनको बढी प्रयोग गर्नु हुँदैन ।
छालामा साबुनको कम प्रयोग गर्नु नै राम्रो हुन्छ । हाम्रो शरीरको पसिनामा ढुसीको कीटाणुलाई मार्ने शक्ति (एण्टिफङ्गल केमिकल) हुन्छ । साबुनले नुहाउँदा त्यो पखालिन्छ । त्यस कारण साबुन प्रयोग गर्नु राम्रो होइन ।
प्रदूषणको कारण हुने छालाको समस्या के हो त ?
प्रदूषणका कारण अनुहारको देखिने भागमा धूलो परेपछि एलर्जी गर्छ । एलर्जी भएपछि धूलोले इन्फेक्शन हुने खतरा बढ्छ । धूलोसँगै कीटाणु आउँछ । त्यो कीटाणुका कारण मसिना बिबिरा तथा पिलो आउने र घाउ–खटिराको सङ्क्रमण हुने गर्छ ।
पछिल्लो समय छालामा के कस्ता समस्या देखिएका छन् ?
पछिल्लो समय चायापोतो, डण्डिफोर, दाद, दुबीलगायत छालाका समस्या बढी देखिने गरेका छन् । शहरीकरणले उब्जाएको फोहोर, धूलो, धूँवा र अन्य प्रदूषणले छालालाई गम्भीर असर पारिरहेको छ ।
नेपालमा छालाको समस्या धेरैलाई छ । कुल जनसङ्ख्याको २५ प्रतिशतलाई छालाको कुनै न कुनै रोग छ । छालाको समस्यालाई सामान्य ठान्दा क्यान्सरको रूप लिएकासमेत उदाहरण छन् । छालाको टीबी भएका बिरामी पनि देखिएका छन् । दाद, एलर्जी, लुतो, डण्डिफोरलगायत समस्या सबैभन्दा धेरैलाई छ ।
छालासम्बन्धी समस्याको उपचार अवस्था कस्तो छ ?
अधिकांशले छाला चिलाउने र छालासम्बन्धी अन्य समस्यालाई सामान्य रूपमा लिने गर्छन् । तर, छालामा हुने समस्यालाई हेलचक्र्याइँ गरियो भने यसले जटिल समस्या उत्पन्न गराउन सक्छ । छालाले शरीरलाई भित्री सङ्क्रमण हुनबाट जोगाउँछ । छालामा पनि विभिन्न समस्या आउँछन् । सुक्खापन आउने, एलर्जी हुने, चिलाउने र छाला फाट्ने जस्ता समस्या मात्र होइन, हाम्रो शरीरको भित्री भागमा हुने कुनै पनि रोगको लक्षण छालामा देखिने गर्छ ।
छालाको रोगलाई कसरी बेवास्ता गरिएको छ ?
छालासम्बन्धी समस्यामा हेलचक्र्याइँ बढी छ । हेलचक्र्याइँ यतिसम्म छ कि, घरमै जथाभावी मल्हम लगाएर उपचारको प्रयास गरिन्छ । छाला चिलाउने, पोल्ने भयो भने फार्मेसीमा जाने गरिन्छ । डण्डिफोर, चायापोतो आएमा ब्यूटिसियनकहाँ जाने प्रवृत्ति छ । चिकित्सककहाँ जाने त चलन नै छैन । छालामा गम्भीर समस्या भएपछि मात्र विशेषज्ञकहाँ जाने परिपाटी छ । पहिलो रोजाइ चिकित्सक हुनुपर्नेमा अन्तिम रोजाइ चिकित्सक हुने गरेको छ । नचाहिने औषधि लगाउँदा छाला पातलिन्छ, धेरै औषधि किन्नुपर्ने र छाला फाट्ने समस्या आउँछ ।
छालामा देखिने मुख्य समस्या के के हुन् ?
सुक्खापन, एलर्जी र सङ्क्रमण बढी देखिने समस्या हुन् । उमेर बढ्दै जाँदा अनुहार चाउरी पर्ने, हात–खुट्टा फाट्ने, छाला खुम्चिने समस्या हुन्छ । छालाको रोगसँग लड्ने क्षमता (इम्युनिटी पावर)मा गडबडी भएमा एलर्जीको समस्या देखापर्छ । लामो समयसम्म हातमा घडी, बाला (ब्रासलेट), रसायनयुक्त रङ आदिको प्रयोगले छालाको माथिल्लो भागमा असर पार्छ र एलर्जी गराउँछ । छालामा भाइरस, ब्याक्टेरिया र फङ्गसका कारण सङ्क्रमण हुन्छ । यसैगरी लुतो पनि सङ्क्रमणकै कारण हुन्छ । छालामा एक मानिसबाट अर्कोमा सङ्क्रमण हुने गर्दछ । यस्तो सङ्क्रमण घरपालुवा कुकुर र बिरालोबाट पनि भएको पाइन्छ ।
छालाको समस्याबाट बच्ने उपाय के के छन् ?
चिकित्सकको सल्लाह लिएर मोइस्चराइजिङ क्रिम, लोसन लगाएर सुक्खापनबाट जोगाउन सकिन्छ । तेल अथवा हातमा क्रिम लगाउनुभन्दा पहिले पानिले हात चिसो बनाएर मात्र प्रयोग गर्नुपर्छ । पर्याप्त मात्रामा पानी पिउनुपर्छ । पर्याप्त मात्रामा फलफूल, सागसब्जीको प्रयोग गर्नुपर्छ । घाममा निस्किँदा सनस्क्रिम र मोइस्चराइजिङ क्रिमको प्रयोग गर्नुपर्छ । पोतो, डण्डिफोर आयो भने जथाभावी औषधि लगाउनु हुँदैन । यसले छालालाई पातलो बनाइदिनुका साथै अनावश्क रूपमा रौं उम्रिने समस्या ल्याउँछ ।