नागरिक लगानी कोष सञ्चालक समितिका निवर्तमान अध्यक्ष महाश्रम शर्माले कोषलाई २ वर्षको कार्यकालसम्ममा यसअघि रोकिएको वार्षिक साधारणसभा सञ्चालनमा ल्याउने काम गरे । आफ्नो सेवा प्रवाहमा सुधार ल्याउन कोष अहिलेको गतिमा हिँडेर मात्र नपुग्ने र दौडनुपर्ने शर्माको धारणा छ । निजामती सेवाको सचिव पदबाट सेवानिवृत्त भएपछि कोषको अध्यक्षमा नियुक्त भएका उनले ३ दिनअघि मात्र आफ्नो पदबाट राजीनामा दिएका छन् । तर, स्वीकृति भने भइसकेको छैन । प्रस्तुत छ– कोषले सेवाग्राहीलाई थप सहज बनाउन ल्याएका नयाँ योजना र गतिविधिबारे आर्थिक अभियानकी ममता थापाले शर्मासँग गरेको कुराकानीको सम्पादित अंश :कार्यावधि बाँकी छँदै कोषको अध्यक्षबाट राजीनामा दिनुभयो नि । किन ?
मेरो करीब २ वर्ष ३ महीनाको कार्यकालमा कोष अत्यन्त कठिन अवस्थामा रह्यो । विगतको लेखापरीक्षण नभएको कारण सबैबाट प्रश्न उठिरहने अवस्था भने टुङ्गो लगाएको छु । यसबाहेक मलाई नेपाल सरकारले दिएको अन्य जिम्मेवारी र व्यक्तिगत कार्य व्यस्तताका कारण निरन्तर समय दिन नसकेकाले नै राजीनामा दिएको हुँ । कोषले गर्नुपर्ने धेरै बाँकी छ । अब नयाँ आर्थिक वर्षमा नयाँ नेतृत्वले काम गर्न सजिलो होस् भन्ने मनसायले पनि राजीनामा दिनु उचित ठानेँ ।
राज्यले आर्थिक समृद्धिको कुरा गरिरहेको यस परिस्थितिमा कोषले के गरिरहेको छ ?
राज्यले आर्थिक समृद्धिका लागि धेरै काम अगाडि बढाउन खोेजेको छ । यस परिवेशमा विशेषगरी नागरिक लगानी कोष र सञ्चय कोष जस्ता संस्थाले पर्यटन, जलविद्युत् र सामाजिक पूर्वाधारका परियोजनामा लगानी गरेर देशलाई आर्थिक समृद्धितर्फ अगाडि लैजाने दिशामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । कोषले आफ्नो लगानीलाई विविधीकरण गरी उत्पादनका क्षेत्रमा लगानी गर्ने भएको छ । विगत वर्षहरूको लेखापरीक्षण गर्न नसक्नुमा कोषको अत्यन्तै कमजोर अवस्था थियो । त्यो अवस्था अब पार भइसकेको छ । कोष अध्यक्ष भएर मैले काम गरेको करीब २ वर्षमा ४ वर्ष अघिदेखिको आर्थिक वर्षहरूको बाँकी रहेको लेखापरीक्षण सम्पन्न भएको छ ।
आव २०७१/७२ र २०७२/७३ को लेखापरीक्षण विगत २ वर्षकै अवधिमा सम्पन्न गरी वार्षिक साधारणसभासमेत गरिसकेका छौं । आव २०७३/७४ को लेखापरीक्षणसमेत सम्पन्न भएर वार्षिक साधारणसभाको सूचना पारदर्शी गर्ने चरणमा पुगेको छ ।
कोषका शेयरधनी र आम लगानीकर्तासँग विगतको जस्तो प्रश्न उठाउने अवस्था अब छैन । कोषले एउटा अन्त्यन्तै कठिन अवस्था पार गरी आफ्नो गन्तव्यको स्पष्ट बाटो तय गरिसकेको छ । तर, यो बाटो हिँडेर मात्र कोष आफ्ना प्रतिस्पर्धीसँग अगाडि बढ्न सक्दैन । यसका लागि कोषले आफूलाई दौडने सक्षमतातर्फ लैजानुपर्ने देखिन्छ ।
आगामी मङ्सिरभित्र आव २०७४/७५ को समेत लेखापरीक्षण गर्न सक्ने हुनुपर्ने छ । विगतदेखि थाती रहेका बैङ्क ‘रिकन्सिलेशन’को कार्य योजनाबद्ध रूपबाट अनिवार्य रूपमा गर्नुपर्छ । त्यसैले, अब विगततर्फ फर्कनुभन्दा आगामी गन्तव्यलाई कसरी व्यवस्थित बनाउने भन्नेतर्फ लाग्नुपर्छ । यहाँसम्म आइपुग्न सहयोग पुर्याउने कोषका सबै शुभेच्छुकप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
त्यसो भए अब आव २०७२/७३ पछिका सबै साधारणसभा हुने देख्नुहुन्छ त ?
एकै वर्ष दुई साधारणसभा सम्पन्न भइसकका छन् । आव २०७३/७४ को लेखापरीक्षणको आधारमा महालेखा परीक्षकको कार्यालयबाट प्राप्त सुझावबारे औंल्याइएका विषयमा कार्ययोजना नै बनाएर अघि बढ्न ढिलाइ भएको थियो । त्यसैले, साधारणसभाको दिन तोक्न पनि केही ढिलाइ हुन पुगेको हो । उक्त अवधिको साधारणसभा गर्नेतर्फ कोषले छिट्टै निर्णय गर्नेछ । पुराना थाती रहेका काम सकिएकाले कोषले अब नियमित प्रक्रियाबाट आफ्ना काम सुचारु गर्न सक्ने वातावरण बनेको छ । कोषले त्यसतर्फ मेहनत गर्यो भने लक्ष्यअनुसारको काम सजिलै पूरा गर्न सकिन्छ । तर, कोष व्यवस्थापकले यस काममा १ दिन पनि ढिलाइ गर्नु हुँदैन ।
कोषको सफ्टवेयर पुरानो भयो भनिन्छ नि !
कोष प्रतिस्पर्धी अन्य संस्थासँगै अगाडि जानुपर्ने अवस्था छ । यसका लागि कोषले आफूलाई सूचना तथा प्रविधिको क्षेत्रमा अब्बल बनाउनैपर्छ । यसका लागि आफ्ना रणनीतिलाई त्यसतर्फ केन्द्रित गरिँदै छ । सेवाग्राहीमैत्री सुविधा उपलब्ध गराउन नयाँ सफ्टवेयर निर्माण तथा सञ्चालन अन्तिम चरणमा पुगेको छ । चालू आवमा कोषको नयाँ सफ्टवेयर निर्माण सम्पन्न भई सञ्चालनमा आउने विश्वास छ ।
नयाँ सफ्टवेयर लागू भए सेवाग्राहीले कस्तो सुविधा पाउँछन् ?
कोषको अहिलेको प्रविधि पुरानो भएकाले चाहेजस्तो चुस्त गतिमा सेवा अघि बढ्न सकेको छैन । नयाँ सफ्टवेयर आएपछि हिसाब मिलानदेखि आफ्नो कारोबारको स्थिति सेवाग्राहीले अनलाइनमार्फत नै हेर्न सक्नेछन् । यसका लागि कोषको कार्यालयमा आइरहनुपर्ने अवस्था अन्त्य हुनेछ ।
कोष प्रादेशिक संरचनाअनुसार जाने सोचमा छ कि छैन ?
राम्रो प्रश्न गर्नुभयो । कोष प्रादेशिक संरचनाअनुसार नै अघि बढिरहेको छ । अहिले कोषले पोखरा र विराटनगरबाट मात्रै सेवा उपलब्ध गराइरहेको अवस्थामा चालू आर्थिक वर्ष प्रदेश नं २ र ५ मा कोषको शाखा खोल्ने योजना छ । त्यही शाखाबाट सबै सेवाग्राहीले सेवा पाउनेछन् । कोषले एकैचोटि सबै ठाउँमा शाखा विस्तार गर्न सक्दैन । तर, त्यहाँ सञ्चालित विभिन्न संस्थासँगको साझेदारीमा काम गर्न सकिन्छ । त्यसैले, सबै प्रदेशमा सेवा दिन पार्टनरशिप मोडालिटीसमेत अपनाउनेगरी बजेट तथा कार्यक्रम तय भइसकेको छ ।
कोषको व्यावसायिक भवन बनाउने योजना कहाँ पुग्यो ?
कोषले चालू आवको पहिलो चौमासिकदेखि नै अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको पूर्वपट्टि रहेको जमीनमा व्यावसायिक भवन बनाउने योजना ल्याएको छ । भवन बनाउन काठमाडौं महानगरपालिकाबाट नक्सा पास भइसकेको छ । अब निर्माण प्रक्रिया पनि शुरू हुन्छ । यो व्यावसायिक भवन बनेपछि त्यस भवनबाट आम्दानी हुनुका साथै कोषबाट उपलब्ध सेवा पनि चुस्त हुनेछ ।
कोषले माथिल्लो तामाकोशी र नेपाल वायुसेवा निगमबाहेक अन्य ठाउँमा लगानी गर्न सकेन भनिन्छ नि !
त्यसो होइन । तपाईंले भनेका विषयबाहेक सरल कर्जा, सहभागी सापटी तथा आवास कर्जा, शैक्षिक कर्जालगायत समसामयिक कर्जा प्रवाह गर्नेतर्फ पनि कोषले काम गरिरहेको छ । यस्तै, नेपाल सरकारको ऋणपत्र, सङ्गठित संस्थाको शेयर धितोपत्रलगायतमा पनि लगानी गरेको छ । कोषले भविष्यमा सरकारका ठूला विकास आयोजना तथा पूर्वाधारको क्षेत्रमा लगानी गर्ने योजनासमेत बनाएको छ ।
गतवर्ष कोषले नेपाल वायु सेवा निगमलाई १२ अर्ब ऋण स्वीकृत गरेको हो । कोषले लगानी विविधीकरण गर्नुपर्ने आवश्यकता देखिएको छ । लगानीका लागि कोषले जोखीम नहुने क्षेत्र रोज्दा धेरै विविधीकरण भएको छैन । बैङ्क तथा वित्तीय संस्थाजस्तो रूपमा कोषले जोखीम लिएर लगानी गर्ने गरेको छैन । चालू आवमा लगानी नीतिमात्रै पुनरवलोकन गरी विद्यमान अवस्थामा सुधार गर्ने योजना छ ।
लगानीकर्ताको मेहनतबाट जम्मा भएको रकमको सदुपयोग होस् भन्ने कोषको मुख्य ध्येय छ । त्यसका लागि कोषले काम गरिरहेको छ । यस विषयमा सरकारसँग पनि कोषले छलफल गरिरहेको छ । कोषले आगामी दिन सरकारसँग मिलेर लगानीका उपयुक्त क्षेत्र पहिल्याई काम गर्ने विश्वास लिएको छु ।
सरकारले पूँजीबजारमा संस्थागत लगानी भित्र्याउने बताएको लामो समय बितिसकेको छ । त्यतिखेर तपाईंहरूले स्टक डिलरको काम गर्ने भन्नुभएको थियो । त्यस सम्बन्धमा के भइरहेको छ ?
कोषको यो उद्देस्य भए पनि पूँजीबजारको क्षेत्रमा कोषमा रहेको विद्यमान जनशक्तिबाट मात्र यो काम गर्न सकिने अवस्था छैन । कोषले यस क्षेत्रका विज्ञहरूको विज्ञता उपयोग गरी पूँजीबजारको क्षेत्रमा काम गर्नुपर्छ । यस सन्दर्भमा काम गर्न कोषले आफ्नो रणनीतिक योजना विगतमै तयार गरिसकेको छ । कोषको रणनीतिक योजनाअनुरूप चालू आवमा काम अगाडि बढाउनेछ भन्ने मलाई लाग्छ ।
दक्षिण कोरियामा कार्यरत नेपालीबाट रेमिट्यान्स भित्र्याउने भन्नुभएको थियो । हालसम्म कति रेमिट्यान्स भित्रियो ?
कोषले दक्षिण कोरिया र मलेशियाबाट रेमिट्यान्स भित्र्याउनेतर्फ काम गरिरहेको छ । चालू आवमा कार्यक्रमको दायरा बढाउने लक्ष्यअनुसार अन्य मुलुकसँगको समन्वयमा कोषले काम गरिरहेको छ । आगामी दिनमा अन्य मुलुकबाट पनि रेमिट्न्यास भिœयाई लगानीको वातावरण बताउने योजना छ ।
समग्रमा कोषबारे के भन्नुहुन्छ ?
शेयरधनी र लगानीकर्तालाई प्रवाह गर्ने सेवा चुस्त बनाउन कोष प्रयासरत छ । दीर्घकालीन र अल्पकालीन लक्ष्य पूरा गर्न कोषले आफ्नो कार्ययोजना केन्द्रित गरेको छ । कोषको सेवालाई प्रभावकारी र थप गतिशील बनाउन सहयोग पुर्याउने महालेखा परीक्षक, कोष सञ्चालक समिति, कोष कर्मचारी, शेयरधनी, लगानीकर्ता तथा शुभेच्छुक सबैप्रति आभारी छु ।
कोषको सबल तथा सुधारात्मक पक्षको बारेमा महालेखाबाट प्राप्त सुझाव मनन गर्दे योजनाबद्ध रूपमा अगाडि बढ्न कोष व्यवस्थापन लागिपर्नुपर्ने देखिएको छ । कोष व्यवस्थापन तथा सञ्चालक समिति यिनै विषयलाई केन्द्रित हुनुपर्छ । साथै, बदलिँदो परिवेशमा कोषलाई प्रतिस्पर्धी बनाउने नयाँ गन्तव्य परिल्याएर अगाडि बढ्नुपर्ने देखिन्छ । यस कार्यमा कोषलाई सफलता मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।