थोरै लगानीबाट धेरै कमाउन सकिने क्षेत्र हो पूँजीबजार
Aug 26, 2018
 
अन्तरवार्ता
अमृत बञ्जाडेले १५ वर्षको उमेर (२०६४ साल)देखि नै शेयरमा लगानी गर्न थालेका हुन् । शेयरमा गरेको लगानीबाट आफूले समग्रमा नाफा कमाएको बताउने उनी बैङ्कको आकर्षक नोकरी छाडेर यही क्षेत्रमा आबद्ध छन् । यो क्षेत्रबाट भएको कमाइले आफ्नै व्यवसाय शुरू गर्ने सोचमा रहेका उनी आम युवालाई नेपालमै बसेर पूँजीबजारमा लगानी गर्न आग्रह गर्छन् । प्रस्तुत छ : आर्थिक अभियानकी प्रजिता बुढाथोकीले उनीसँग गरेको कुराकानीको सार :पूँजीबजारमा कसरी र कहिले प्रवेश गर्नुभयो ?
म १ दशकभन्दा लामो समयदेखि यो क्षेत्रमा छु । मेरा दाइ र दिदी पहिलेदेखि नै काठमाडौंमा बस्नुहुन्थ्यो । २०६४ सालमा अर्धाखाँचीको ग्रामीण भेगमा रहेको सामान्य विद्यालयबाट एसएलसी सकेर काठमाडौं आएँ । त्यसपछि व्यवस्थापन सङ्कायमा पढ्न कलेज भर्ना भएँ । दाइले पहिलेदेखि नै साधारण शेयर भर्ने गर्नुहुँदो रहेछ । म आएपछि दाइले आफूसँग भएका सबै शेयर मलाई जिम्मा लगाएर शेयर कारोबारको जिम्मा लगाउनुभयो । त्यो समयमा उहाँ मेडिकल विषय पढ्दै हुनुहुन्थ्यो । मेरो अध्ययनको विषय पनि व्यवस्थापन रहेकाले उहाँले शेयर कारोबारको जिम्मा मलाई नै दिनुभएको थियो । यो क्षेत्रमा प्रवेश गर्दा मलाई साधारण शेयर भनेको के भन्ने पनि थाहा थिएन । पढ्दै जादा पूँजीबजारबारे बुझ्दै गएँ र यो क्षेत्रप्रति आकर्षण पनि बढ्दै गयो ।
पछिल्लो समय युवावर्गको आकर्षण वैदेशिक रोजगारीमा देखिएको छ । तपाईंको आकर्षण पूँजीबजारमा हुनुको कारण के ?
पूँजीबजारमा देशको कुल जनसङ्ख्याको न्यून प्रतिशत मात्र आबद्ध छन् । त्यसमाथि पनि युवाको अवस्था हेर्ने हो भने निकै कम छ । म यो क्षेत्रमा आकर्षित हुनुका कारण धेरै छन् । यसमा मुख्य कारणचाहिँ थोरै लगानीबाट धेरै आम्दानी गर्न सकिने तथा लगानीका लागि यति नै रकम चाहिन्छ भनेर छुट्ट्याउनु पनि नपर्ने हो । कुनै पनि व्यक्तिले आफ्नो पेशा वा व्यवसायसँगै गर्न सकिने कारोबार हो यो । त्यसैले, यो क्षेत्र लगानी र आम्दानीका लागि उपयुक्त लागेको छ । अर्को कारण, नोकरीमा जस्तो पूरै समय खटिनु पनि नपर्ने हुँदा म बैङ्कको जागीर छाडेर यो क्षेत्रमा लागेको हुँ । यो सहज क्षेत्र भएकाले पनि मलाई यसमा रुचि बढेको हो ।
हालसम्म कतिओटा कम्पनीमा लगानी छ ? लगानीका लागि राम्रो कम्पनी कसरी छान्नुहुन्छ ?
म १५ वर्षको उमेरदेखि यो क्षेत्रमा छु । १० वर्षको अन्तरालमा प्राथमिक र दोस्रो बजारमा गरी हालसम्म ४० देखि ५० ओटा कम्पनीको शेयर किनबेच भयो होला । तर, अहिले होल्ड गरेको कम्पनी १२ ओटा छन् । म उपयुक्त देखिएका कम्पनीमा मात्र लगानी गर्छु । कुनै पनि कम्पनीको शेयर खरीद गर्नुपरेमा आम्दानी, जगेडा, नेटवर्थ धेरै भएको कम्पनी नै छान्ने गरेको छु । त्यस्तै, मूल्य आम्दानी अनुपात सकेसम्म १५ भन्दा कम भएको, विगतमा राम्रो प्रतिफल दिएको र भविष्यमा पनि दिन सक्ने कम्पनी छनोट गर्छु । विगतको दोस्रो बजारमा विगत कारोबारको अवस्था, उच्च अनुभवी तथा दक्ष सञ्चालक र व्यवस्थापन समिति भएको कम्पनीको शेयरलाई नै प्राथमिकता दिने गरेको छु । त्यसैले होला समग्रमा म घाटामा छैन ।
पूँजीबजारमा लगानी गर्दा यससम्बन्धी कत्तिको जानकार हुन आवश्यक देख्नुहुन्छ ?
चेतना र ज्ञानविना जीवन र जगत् नै अन्धकार छ । चेतना र ज्ञानविना कुनै पनि काम गर्नु अँध्यारोमा ढुङ्गा फाल्नुजस्तै हो । कुनै पनि पेशामा सफलता पाउन ज्ञान, शीप तथा चेतना आवश्यक पर्छ । त्यसमा पनि शेयरबजार त झन् मनोविज्ञानको बजार भएकाले यस क्षेत्रमा लगानी गर्न पर्याप्त ज्ञान हुनु जरुरी छ । योसम्बन्धी जानकारी पढेर मात्र हासिल हुँदैन । यस क्षेत्रमा सक्रिय भई लागेमा स्वतः जानकार हुँदै गइन्छ । अरूको भरमा गरेको लगानीको कसरी प्रतिफलको आश गर्नु ? एउटा भनाइ नै छ नि, ‘अरूको बुद्धिमा राजा हुनुभन्दा आफ्नै बुद्धिमा जोगी हुनु बेश ।’ त्यसैले, आफैले बुझेर आफ्नै स्वविवेकमा लगानी गरे यो क्षेत्रमा घाटा हुने सम्भावना कम छ ।
पछिल्लो समय पूँजीबजारमा खासै सुधार आउन सकेको छैन । यो अवस्थामा पनि घाटामा छैन भन्नुभयो । आफ्नो लगानी कसरी व्यवस्थापन गरिरहनु भएको छ ?
बजार १८८१ सम्म पुगेर तल झरेकोमा विविध कारण अहिलेसम्म माथि उठ्न सकेको छैन । आज धेरै लगानीकर्तासँगै म्युचुअल फण्डसमेत घाटामा छन् । यस्तो अवस्थामा छोटो अवधिमै धेरै कमाउन अलि गाह्रो छ । म यो अवस्थामा दुई तरीकाले लगानी गर्दै आएको छु । एउटा, जुन कम्पनीले उच्चतम प्रतिफल दिएका छन्, त्यस्ता कम्पनीमा दीर्घकालीन लगानी गर्छु र अर्को, बजारमा हुने उतारचढावसँगै छोटो अवधिका लागि पनि केही शेयर किन्ने–बेच्ने गरेको छु । यसले गर्दा पनि समग्रमा नाफा कमाउन सकेको हुँ ।
पूँजीबजार सुधारका लागि धेरै पहल भएका छन् । यी पहललाई कसरी लिनुभएको छ ?
करीब १ दशकदेखि पूँजीबजारमा मेरो लगाव छ । आफ्नो फोटफोलियो व्यवस्थापनका लागि सकेसम्म समय दिने गरेको छु । म प्रवेश गर्दाको समय २०६४ देखि अहिलेसम्मको कुरा गर्ने हो भने गएको १ दशकमा पूँजीबजारमा कायापलट नै भएको छ । पहिलो आफूले किनेको शेयर आफ्नो नाममा आउन महीनौं दिन लाग्थ्यो । अहिले ३ दिनमै डिम्याटमा आउँछ । हिजोका दिनमा आफूले लगानी गरेको कम्पनीले दिएको लाभांश लिन अव्यवस्थित तरीकाले घण्टौं लाइन बस्नुपर्ने अवस्था हटेको छ । पहिले नयाँ कम्पनीको शेयर सूचीकृत भई कारोबार हुन महीनौं लाग्थ्यो । अहिले छोटो समयमै सूचीकृत भई सोही दिन कारोबार हुने भएको छ । पूँजीबजारमा विद्युतीय प्रणालीबाट शेयर खरीदविक्री गर्न सकिने प्रविधिको विकास भएकाले झन् सहज भएको छ ।
यस वर्ष सम्बन्धित निकायबाट पूँजीबजार सुधारका लागि ल्याइएको नीति तथा कार्यक्रम लगानीकर्ताको मागबमोजिम छ जस्तो लाग्छ ?
यस वर्षको बजेटमा सरकारले वाणिज्य बैङ्कहरूलाई ब्रोकर लाइसेन्स दिने, वास्तविक क्षेत्रका कम्पनीलाई पूँजीबजारमा भित्र्याउने र गैरआवासीय नेपालीको लगानी पनि पूँजीबजारमा ल्याउन आवश्यक नीति परिमार्जित गरेको छ । बैङ्कले ब्रोकरको काम गरे बजारको विस्तारमा सहयोग पुग्नेछ । वित्तीय क्षेत्रको वर्चस्व रहेको बजारमा वास्तविक क्षेत्रका थप कम्पनीलाई भित्र्याउन सके आम लगानीकर्तालाई लगानीका थप अवसर जुट्नेछ । यसबाट सरकारको राजस्व बढ्नुका साथै त्यस्ता कम्पनीमा पारदर्शिता बढ्न सक्थ्यो । गैरआवासीय नेपालीको लगानी पूँजीबजारमा भित्र्याउन सके अहिले माग र आपूर्तिको सन्तुलन नमिलेको बजारलाई थप सहयोग पुग्थ्यो । त्यस्तै, सेबोनले पनि यस आर्थिक वर्षमा प्राथमिक तथा दोस्रो बजारको सुधारका लागि विभिन्न नीति तथा कार्यक्रम अघि सारेको छ । आशा छ, ती नीति तथा कार्यक्रम समयमै कार्यान्वयन हुनेछ । यसबाट नेपाली पूँजीबजार थप माथि जान टेवा पुग्नेछ ।