पछिल्लो समय नेपालमा नसर्ने रोग बढ्न थालेको छ । खानपान र रहनसहनमा आएको परिवर्तन र शारीरिक व्यायामको कमीका कारण शहरी भेगमा यो रोगले भयावह रूप लिएको छ । नसर्ने मुख्य रोगहरू क्यान्सर, मधुमेह र मुटुरोगमध्ये मधुमेहले ग्रसितको सङ्ख्या धेरै छ । सामान्य बोलीचालीमा ‘डायबिटिज’ भनेर चिनिने मधुमेह रोग लागेपछि निको पार्न सकिँदैन । शरीरमा यसलाई नियन्त्रण गरेर मात्र राख्न सकिन्छ । नोबेल मेडिकल कलेज, सिनामङ्गल काठमाडौंका विभाग संयोजक तथा फार्मेसी लेक्चर डा. विमल कुँवर चिकित्सा क्षेत्रमा भएका अध्ययनले मधुमेह रोगलाई नियन्त्रणमा राख्न सकिने बताउ“छन् । पाकिस्तानको पञ्जाव विश्वविद्यालयबाट डाक्टर अफ फार्मेसी गरेका डा. कुँवरसँग मधुमेह रोग, यसका लक्षण, उपचारलगायत विषयमा आर्थिक अभियानले कुराकानी गरेको छ :नेपालमा मधुमेहको अवस्था कस्तो छ ?
विश्व स्वास्थ्य सङ्गठनको सन् २०१६ को प्रतिवेदनअनुसार नेपालमा हाल जनसङ्ख्याको ९ दशमलव १ प्रतिशत (अनुमानित) मधुमेहबाट ग्रसित छन् । अहिले नेपालको जनसङ्ख्याको यति नै प्रतिशतलाई यो रोग छ भनेर यकिन गर्न त सकिँदैन । यद्यपि, शहरी क्षेत्रका अधिकांशलाई मधुमेह भएको नेपाल मधुमेह सङ्घको तथ्याङ्क छ । त्यसैले, शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा बस्नेलाई मधुमेहको जोखीम कम देखिएको छ । समग्र तथ्याङ्क हेर्ने हो भने नेपाल मधुमेहको उच्च जोखीमयुक्त देश हो भन्न सकिन्छ ।
मधुमेह के हो ?
मधुमेह रगतमा ग्लुकोजको मात्रा बढी भएपछि हुने एक प्रकारको रोग हो । मधुमेह भएमा शरीरले खानाबाट प्राप्त हुने ग्लुकोजलाई ऊर्जामा रूपान्तरण गर्न सक्दैन, जसले गर्दा विस्तारै मुटु, मिर्गौला, आँखा र स्नायु प्रणालीमा असर पर्न थाल्छ । अझ भन्नुपर्दा प्याङ्क्रियाज ग्रन्थीबाट उत्पादन हुने इन्सुलिनले चिनी अर्थात् कार्बोहाइड्रेटलाई पचाउने काम गर्छ । अनि रगतमा यसको मात्रा सन्तुलित र नियमित गर्छ । तर, जब इन्सुलिनको उत्पादन कम हुन्छ, त्यसपछि रगतमा चिनीको मात्रा बढ्न थाल्छ । प्याङ्क्रियाजले पर्याप्त इन्सुलिन उत्पादन नगर्दा वा शरीरले इन्सुलिनको उपयोग गर्न सक्दैन । यसबाट मधुमेह हुन्छ ।
चिनीको उपयोग स्वास्थ्यका लागि साँच्चिकै हानिकारक हो त ?
गुलियो स्वाद नरुचाउने हामी शायदै छौं होला । तर, अहिले मानिसहरू अति सजग भएर न्यूनतम चिनी प्रयोग गरिरहेको पाइन्छ । प्रायः मानिसमा के भ्रम छ भने चिनीमा शरीरलाई चाहिने शक्ति पाइन्छ । तर, मानिसले खाने गरेको दूध, फलफूल, अन्न र अन्य दैनिक खाद्यपदार्थबाट शरीरलाई आवश्यक गुलियो तत्त्व प्राप्त हुन्छ । यसकारण चिनीको उपयोगमा विशेष विचार पुर्याउनुपर्छ । यसो गर्दा मधुमेह, उच्च कोलेष्टेरोल र मुटुसम्बन्धी जटिल समस्याबाट बच्न सकिन्छ ।
मधुमेह कति प्रकारका छन् ?
सामान्यतया मधुमेह दुई प्रकारको हुन्छ । पहिलो, मधुमेह इन्सुलिनमा निर्भर रहेको मधुमेह हो, जहाँ इन्सुलिनको उत्पादन शून्य अथवा अत्यन्त न्यून हुन्छ । यो प्रायःगरी कम उमेरमा लाग्ने मधुमेह हो । यो रोगीलाई बचाउन कृत्रिम रूपमा इन्सुलिन अत्यन्त आवश्यक पर्दछ ।
दोस्रो, मधुमेह इन्सुलिनमा मात्र निर्भर हुँदैन । यसमा प्याङ्क्रियाजले कम इन्सुलिन उत्पादन गर्ने अथवा शरीरले इन्सुलिन ग्रहण गर्न नसक्ने हुन्छ । उमेर बढ्दै जाँदा लाग्ने मधुमेह यही हो । विश्वमा यही प्रकारको मधुमेह रोगका बिरामी धेरै छन् ।
गर्भवती अवस्थामा पनि मधुमेह लाग्न सक्छ ?
गर्भवती हुँदा पनि मधुमेह लाग्न सक्छ । पौष्टिक आहारको कमीले पनि मधुमेह लाग्न सक्छ । यसबाहेक अन्य कारण, जस्तै– इन्सुलिन र ग्लुकोजको सन्तुलन बिग्रेर पनि मधुमेह लाग्न सक्छ । गर्भवती हुँदा लाग्ने मधुमेहलाई जेष्टेशनल मधुमेह भनिन्छ । गर्भवती महिलामा जुनसुकै बेला रगतमा चिनीको मात्रा उच्च हुन गई मधुमेह लाग्न सक्छ । गर्भवती बेला खतरा बढाउने पक्ष भनेको मोटोपना हो । परिवारमा विगतमा कसैलाई मधुमेह लागेको भए वंशाणुगत कारण पनि मधुमेह देखिन सक्छ । यसैगरी गर्भमा रहेको बच्चाको तौल बढी भएमा पनि मधुमेह लाग्ने सम्भावना बढी हुन्छ ।
मधुमेह लाग्नुको मुख्य कारणचाहिँ के हो ?
बाबुआमामा मधुमेह छ भने वंशाणुगत कारण छोराछोरीमा पनि सर्ने सम्भावना बढी हुन्छ । त्यसैले, यस्तो सम्भावना भएकाहरूले समयसमयमा स्वास्थ्य जाँच गराइराख्नुपर्दछ । यसैगरी आवश्यकताभन्दा बढी तौल हुँदा अथवा बढी मोटोपनाले पनि मधुमेह लाग्ने सम्भावना हुन्छ । व्यायामको कमी, अस्वस्थ आहार–विहार, उच्च रक्तचाप हुनु पनि मधुमेहको कारणहरूमै पर्छन् । समग्र रूपमा भन्नुपर्दा इन्सुलिन उत्पादन गर्ने प्याङ्क्रियाजको बिटाकोसमा सङ्क्रमण हुँदा वा यावत् कारणबाट न्यून दरमा इन्सुलिन उत्पादन हुनु मधुमेहको अर्को कारण हो ।
मधुमेहका लक्षण के कस्ता हुन्छन् ?
बुँदागत रूपमा भन्नुपर्दा मधुमेहका मुख्य लक्षणहरू यस्ता छन् :
मुख सुक्खा हुनु, अस्वाभाविक रूपमा तिर्खा लाग्नु, छिटोछिटो पिसाब लागिरहनु, बढी भोक लाग्नु, कमजोरी र थकान महसूस हुनु । यसैगरी यो रोग लाग्दा दृष्टि धमिलो हुन्छ । लामो समयसम्म चोटपटक निको नहुनु, हातखुट्टा झमझमाउनु, रिङ्गटा लाग्नु पनि मधुमेहका लक्षण हुन् । यी लक्षणहरू देखिएमा बिरामी आफै सजग हुनुपर्दछ र सम्बन्धित डाक्टरसँग परामर्श लिनुपर्छ । यसरी मधुमेहबाट हुने थप जटिलता न्यूनीकरण गर्न सकिन्छ ।
मधुमेहको उपचार के हो र कसरी गरिन्छ ?
मधुमेह लागिसकेपछि रोगीको आयु बढाउने र रोगको व्यवस्थापन गराउने प्रमुख उद्देश्य हुन्छ । मधुमेहको व्यवस्थापन भनेको रगतमा भएको चिनीको मात्रा घटाउनु हो र त्यसको प्रतिकुल असरहरू कम गराउनु हो । मधुमेहको प्रकार र अवस्था हेरेर चिकित्सकको सल्लाहबमोजिम इन्सुलिनको मात्रा यथावत् राखी रगतमा ग्लुकोजको मात्रा नियन्त्रणमा ल्याउन औषधि सेवन गर्न सकिन्छ । अवस्था हेरेर कृत्रिम इन्सुलिन दिनुपर्ने पनि हुन सक्छ । योसँगै रक्तचापलाई नियन्त्रण गर्नु पनि अति आवश्यक छ ।
यसैगरी खानामा विशेष ध्यान पुर्याउनुपर्छ । बढी कार्बोहाइड्रेट भएको खानेकुराको सेवन गर्नु हुँदैन । समयसमयमा उपयुक्त सूची बनाएर खानपान अघि बढाउनु पर्दछ । बढी चिल्लोयुक्त पदार्थको सेवनमा पनि विशेष विचार पुर्याउनुपर्छ । सन्तुलित र नियमित व्यायाम गर्नाले मधुमेहलाई केही हदसम्म नियन्त्रणमा राख्न सहयोग पुर्याउँछ ।
मधुमेहको उच्च जोखीम भएकालाई सुझाव के दिनुहुन्छ ?
मधुमेहको उच्च जोखीम भएका व्यक्ति अथवा कसैलाई पनि मधुमेह नहोस् भन्न उचित खानपान र दैनिक व्यायाम अति आवश्यक छ । यसबाहेक ग्लुकोमिटर, रगतमा ग्लुकोजको मात्रा नाप गर्ने यन्त्रको प्रयोग गरी शरीरमा ग्लुकोजको मात्रा परीक्षण गरिराख्नुपर्छ । यस्ता यन्त्र सर्वसुलभ रूपमा फार्मेसीहरूमा उपलब्ध हुन्छन् । त्यसको प्रयोगविधि पनि निकै सरल छ । यसको मद्दतले हामी घरैमा सहजै ग्लुकोजको मात्रा जाँच्न सक्छौं । मधुमेहको उच्च जोखीम भएका व्यक्ति र यसका रोगको औषधि सेवन गर्नेहरूलाई यो मेशिन निकै उपयोगी छ । यसमा ग्लुकोजको मात्रा बढेको देखिएमा तुरुन्त नजीकको अस्पतालमा सम्पर्क राखेर अन्य सेवा लिन सकिन्छ ।