ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूँजीबजारमा सुधारका सङ्केत देखिएकाले आत्तिनुपर्ने अवस्था छैन

Sep 9, 2018  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
पूँजीबजारमा विगत १० वर्षदेखि सक्रिय सिर्जना सुवेदीले धितोपत्र बजारमा सूचीकृत सबै कम्पनीमा लगानी गरेकी छिन् । आफ्नो गहना बेचेर पूँजीबजारमा लगाउन शुरू गरेकी उनले यस वर्ष वुमन विथ भिजन नामक संस्थाले प्रदान गरेको ‘बिजनेश वुमन अफ दी इयर’को उपाधिसमेत प्राप्त गरिन् । पूँजीबजारप्रतिको लगाव र यस क्षेत्रमा दिएको निरन्तरताका कारण उपाधि जित्न सफल भएको बताउने सुवेदीसँग आर्थिक अभियानकी प्रजिता बुढाथोकीले गरेको कुराकानी : ‘बिजनेश वुमन अफ दी इयर’ उपाधि पाउन सफल हुनुभएको छ । कस्तो अनुभव भइरहेको छ ? पूँजीबजारमा लगानी गरी व्यवसाय गर्ने व्यक्तिले पाएको यो उपाधि पूँजीबजारमा सक्रिय सबै महिलाका लागि सम्मान र प्रेरणा हो । यो उपाधि पाउन कसरी सफल भएँ भन्ने लाग्छ ? १ दशकभन्दा बढी समय सबैजसो काम छाडेर निरन्तर रूपमा पूजीबजारमै सक्रिय भएँ । यो बीचमा धेरै उतारचढाव पनि आए । पूँजीबजारमा सक्रिय हुन जागीर छोडियो, आफ्नो बिहेका गहनादेखि श्रीमान् र बच्चाको समेत गहना बेचेर पूँजीबजारमा लगानी शुरू गरेकी हुँ । त्यसपछि बेला–बेला बजार एकदमै तलसम्म झथ्र्यो । तैपनि नआत्तीकन यो क्षेत्रमा निरन्तर लागिरहेँ । धेरै साथीलाई यो क्षेत्रमा लगानी गर्न उत्प्रेरित पनि गरेको छु । मेरो लक्ष्यप्रतिको निरन्तरता र उत्प्रेरणाको मूल्याङ्कनका साथै सबै लगानीकर्ताको रोजाइका कारण उपाधि प्राप्त गर्न सफल भए जस्तो लाग्छ । मलाई यो उपाधि पाउन सफल बनाउने सबैप्रति आभारी छु । लगानीका क्षेत्र धेरै छन् । तर, तपाईं पूँजीबजारमै कसरी आकर्षित हुनुभयो ? लगानीका अन्य क्षेत्रमा रातदिन लागिरहनुपर्छ । सफलता नै पाउनेगरी लाग्दा परिवारलाई समय दिन सकिँदैन । समय व्यवस्थापन सबैभन्दा कठिन हुन पुग्छ । पूँजीबजार यस्तो क्षेत्र हो, जहाँ घरबाटै फोनको भरमा कारोबार गर्न सकिन्छ । आफ्नो अनुकूल समयमा कम्पनीको अध्ययन गरेर स्वविवेकले यो क्षेत्रमा लगानी गर्न सकिन्छ । समय व्यवस्थापनमा सहज भए र बजारको सही मूल्याङ्कन गर्न सके मुनाफा पनि उत्तम हुन्छ । त्यसैले, यो क्षेत्रमा मेरो आकर्षण बढेको हो । अधिकांश मानिस पूँजीबजारमा गृहिणी र बूढापाकाहरू मात्र लगानी गर्छन् भन्ने सोच्दा होलान् । तर, यो क्षेत्रमा सबै क्षेत्रका व्यक्तिको लगानी छ । म मात्र होइन, मेरा साथीहरू पनि बैङ्कको आकर्षक नोकरीसमेत छाडेर यो क्षेत्रमा सक्रिय छन् । लगानीका लागि पूँजीबजार उपयुक्त ठानेर नै होला, पछिल्लो समय अन्य क्षेत्रमा सक्रिय व्यक्तिहरू पनि पूँजीबजारमा सक्रिय हुन थालेका छन् । हालसम्म कति कम्पनीमा लगानी गर्नुभएको छ ? मैले दोस्रो बजारमा सूचीकृत धेरैबाट कम्पनीदेखि लिएर सूचीकृत हुन नसकेका कम्पनीमा समेत लगानी गरेको छु । जतिबेला म यो क्षेत्रमा प्रवेश गरेँ, त्यो बेलादेखि मैले कुनै पनि कम्पनीको आईपीओ छुटाएको छैन । पछिल्लो समय धितोपत्र बाँडफाँटमा नयाँ प्रावधान भित्रिएपछि भने आईपीओप्रति मेरो आकर्षण घटेको छ । पर्दा १० कित्तामात्र पर्ने भएकाले पनि आईपीओ खासै भरेकी छैन । नयाँ प्रावधानले गर्दा पूँजीबजारमा नयाँ लगानीकर्ताको प्रवेश भने भएको छ । त्यसमा चाहिँ खुशी लागेको छ । यस क्षेत्रमा गरेको लगानीबाट प्राप्त उपलब्धिलाई कसरी लिनुहुन्छ ? सबैभन्दा पहिलो त, यस क्षेत्रमा लागेर मलाई उद्यमशील रहन उत्साह मिलेको छ । बजार र अर्थतन्त्रका विविध विषयमा अध्ययनशील हुन सिकाएको छ । यही क्षेत्रले मलाई आफ्नो परिचय दिएको छ । यस क्षेत्रमा लगानी गरी मुनाफा पाउन थालेपछि मलाई वित्तीय स्वतन्त्रता मिल्यो । त्यस कारण मलाई खुशी र सफल हुन आवश्यक उपाय पूँजीबजारले दिएको छ । तर, यो क्षेत्रमा लाग्नेबित्तिकै फाइदा कमाइहाल्छु भन्ने सोच्नु गलत हो । मेरो अहिलेसम्मको अनुभवअनुसार यो क्षेत्रमा सफल हुन २–४ वर्ष सक्रिय हुनैपर्छ । अर्को कुरा, धेरै लोभ गर्ने लगानीकर्ताले नाफा कमाउने सम्भावना कम हुन्छ । यो क्षेत्रमा प्रवेश गर्ने लगानीकर्ता लोभलाई त्यागेर मात्र आउनुपर्छ । पछिल्लो समय पूँजीबजारको अवस्था सन्तोषजनक छैन भनिन्छ । यो अवस्थामा आफ्नो लगानीबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ? पूँजीबजार कहिले पनि एकनासले माथि गइरहने या तल झरिरहने हुँदैन । बजार एकनासले माथि जाने हो भने त बाह्रै महीना नाफा कमाउने क्षेत्र भइहाल्छ नि ! यस्तो भएमा सबै मानिस अन्य सबै क्षेत्र छाडेर यसैमा लगानी गर्थे । यस्तो अवस्थामा देशको अर्थतन्त्र नै डामाडोल हुन सक्छ । हो, विगत केही समयदेखि शेयरबजार निरन्तर रूपमा ओरालो लागेको छ । बजारमा तरलता अभाव, बैङ्कहरूको उच्च ब्याजदर, शेयरको बढी आपूर्ति, पूँजीबजारको सम्बन्धमा सरकारको अस्पष्ट नीति र लगानीकर्ताको हतास मनस्थितिका कारण बजारले खासै गति लिन सकेको छैन । तर, पूँजीबजारमा अब क्रमिक रूपमा सुधारका सङ्केत देखिएका छन् । त्यसैले, म पटक्कै आत्तिएकी छैन । बजार जुन अवस्थामा गए पनि सबै शेयर बेचेर बजारबाट निस्कने सोच मैले कहिल्यै राखिनँ । शेयरबजार तलमाथि भइरहने क्षेत्र हो र यसमा जोखीम पनि छ भन्ने बुझेर लगानी गरेमा आत्तिनुपर्ने अवस्था नै आउँदैन । पूँजीबजारमा गरेको लगानीबाट म पूर्ण सन्तुष्ट छु । साथै, अहिले देखिएको यो अवस्था सुध्रनेमा विश्वस्त पनि छु । शुरुआती दिनमा आफ्नो महŒवपूर्ण गरगहना बेचेर लगानी गरेँ । तर, म पछुताएकी छैन । मैले त्यो बेला ५३ हजार तोलामा सुन बेचेको थिएँ । आज पनि सुनको भाउमा खासै वृद्धि देखिएको छैन । त्यो रकमको लगानीबाट मैले धेरै नाफा आर्जन गरेको छु । भनिन्छ नि, भकुण्डो जति तल झर्‍यो, त्यति माथि उफ्रिन्छ । त्यस्तै बजार पनि तल झरेभन्दा छिटो गतिमा चाँडै माथि लाग्नेमा म विश्वस्त छु । पूँजीबजारलाई थप गतिशील बनाउन के जरुरी देख्नुहुन्छ ? कुनै पनि क्षेत्रको विकासका लागि समय लाग्छ । धैर्य गर्ने बानी हुनुपर्छ । पछिल्लो समय नेपालको पूँजीबजार निरन्तर विकसित हुँदै गएको छ । विगत १० वर्षदेखि यो क्षेत्रमा सक्रिय भएकाले पनि यसलाई पत्यक्ष नियालिरहेको छु । पूँजीबजारमा लगानी गर्न प्रविधिले पहिलेको तुलनामा धेरै सहज बनाएको छ । नेपालको पूँजीबजार अन्तरराष्ट्रियस्तरको बनाउन आवश्यक छ । यसका लागि शेयर बजारप्रति सरकारको धारणा र नीति स्पष्ट हुनुप¥यो । साउनदेखि पूर्ण परीक्षणमा रहेको अनलाइन कारोबार प्रणाली पूर्ण कायान्वयनमा आउनुप¥यो । वाणिज्य बैङ्कहरूलाई ब्रोकर लाइसेन्स दिएर पूूँजीबजारको पहुँच विस्तारको पहल छिटो अघि बढाउनुप¥यो । नेपाल धितोपत्र बोर्डले पहल गरेको दोस्रो स्टक एक्सचेञ्जलाई ल्याउन सके पूँजीबजार थप गतिशील बन्थ्यो भन्ने मेरो अपेक्षा छ । नेपाली महिलाको महान् पर्व तीज नजिँकिदै छ ? यो पर्व कसरी मनाउनुहुन्छ ? यो पर्वले हामी महिला दिदीबहिनीका लागि विशेष महत्त्व राख्छ । अरू महिला दिदीबहिनीजस्तै म पनि सामान्य रूपमा यो पर्व मनाउँछु । सकेसम्म पानी नखाई व्रत बस्छु । यो पर्वलाई भड्किलो तरीकाले होइन, आफ्नो परम्परा जोगाउने हिसाबले सद्भावपूर्ण तरीकाले मनाउने गरेकी छु ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)