ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पप्पु कन्ष्ट्रक्शन र मेरो बदनाम गर्ने प्रयास भइरहेको छ

Sep 12, 2018  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
निर्माण व्यवसायबाट राजनीतिमा प्रवेश गरेको छोटो समयमै उच्च राजनीतिक पद पाउने व्यक्तिका रूपमा चिनिन्छन् हरिनारायण रौनियार । यद्यपि, आफू संस्थापक रहेको निर्माण कम्पनी पप्पु कन्ष्ट्रक्शनको कामसँगै बेलाबेला उनी विवादमा समेत पर्दै आएका छन् । डेढ वर्षअघि निर्माण व्यवसायबाट अलग भएको घोषणा गरेर सङ्घीय समाजवादी फोरम नेपालको केन्द्रीय सदस्य हुँदै पर्सा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रौनियारलाई पप्पुको व्यावसायिक विवादले पछ्याउन भने छोडेको छैन । रौतहटको लालबकैया खोलाको टिकुलियामा पप्पुले निर्माण गरिरहेको पुलको पिलरमा ठोक्किएर यही भदौ ९ गते भएको डुङ्गा दुर्घटनामा पाँचजनाको ज्यान गएपछि यो निर्माण कम्पनी पुनः विवादमा तानिएको छ । अघिल्लो वर्ष बर्दियाको बबई नदीमा यही कम्पनीले बनाएको जब्दीघाट पुल भासिएसँगै सडक विभागसँग शुरू भएको किचलो पनि अझै सल्टिएको छैन । प्रस्तुत छ, रौनियारसँग पप्पु कन्ष्ट्रक्शनसँग सरोकार राख्ने समसामयिक सन्दर्भ, निर्माण व्यवसायका चुनौती र निकासका उपायबारे आर्थिक अभियानका ओमप्रकाश खनालले गरेको कुराकानी : अहिले विकास निर्माणका काममा ४ दर्जनभन्दा बढी ‘क’ वर्गका निर्माण व्यवसायी सक्रिय छन् । तर, पप्पु कन्ष्ट्रक्शन किन यति धेरै बदनाम छ ? पप्पु कन्ष्ट्रक्शन कहिल्यै पनि बदनाम छैन । कम्पनीलाई बदनाम गर्न खोजिएको मात्र हो । यो कम्पनीले निर्माणका क्षेत्रमा काम गर्न थालेको ३५ वर्ष भयो । केही वर्षयता यसलाई नियोजित ढङ्गले विवादमा तान्न खोजिएको छ । यसमा सरकारी नीति र राजनीतिक पूर्वाग्रहले काम गरेकोजस्तो मलाई लाग्छ । केही वर्षदेखि पुलको नयाँ डिजाइन आएको छ । त्यसका लागि जुन प्रकारको समय दिनुपर्ने थियो, त्यो पाइएको छैन । त्यसमा निर्माण व्यवसायीले डिजाइन बनाएर विभागलाई पेश गर्नुपर्दछ । त्यो कतिपय विदेशमा पनि गराउनुपर्ने हुन्छ । काठमाडौंको तीनकुने पुलमा यस्तै भयो । बङ्गलादेशमा डिजाइन तयार गर्दा नै डेढ वर्षजति बित्यो । जब कि ठेक्काको अवधि ३ वर्ष तोकिएको थियो । अर्को, बजेट अभावको कारणले ३ वर्षमा बन्नुपर्ने पुल १० वर्षसम्म नबन्ने अवस्था छ । बीचबीचमा डिजाइन पनि परिवर्तन भइरहेको छ । राजनीतिक दबाबमा ठेक्का लगाइन्छ । काम गर्न जाँदा स्थान उलपलब्ध हुँदैन । जग्गा अधिग्रहण र वन फँडानीका समस्या हुन्छन् । निर्माणस्थलसम्म जाने बाटो हुँदैन । बिजुली, टेलिफोन, ढलको निकासजस्ता पहिल्यैदेखिको संरचना हटाएको हुँदैन, अनि कसरी समयमा योजना पूरा हुन्छन् ? यस्तो प्रक्रियागत र स्थानीय अवरोधबाट हुने ढिलासुस्तीमा पनि व्यवसायीलाई दोष दिनु कहाँको न्याय हो ? पुल निर्माणमा पप्पुका लापरबाहीको फेहरिस्त सानो छैन । तपाईं कसरी बदनाम गर्न खोजिएको मात्र हो भन्नुहुन्छ ? पप्पुले १५ ओटा पुल अलपत्र पा¥यो भनेर मिडियामा छापिएको छ । तीमध्ये ५÷६ ओटामात्र आफ्नो हो, अरू साझेदारीमा चलेका छन् । अन्य कम्पनीसँगको सम्झौताभन्दा पहिलाको मितिमा साढे ८ सय ओटा पुलको सम्झौता भएको छ । तर, पप्पुलाई मात्र किन विवादमा पारिएको छ ? कारण स्पष्ट छ, हामीमाथि व्यावसायिक मात्र होइन, राजनीतिक पूर्वाग्रह पनि छ । पप्पुलाई आलोचनाको तारो बनाउने राजनीतिक कारण पनि छ । म राजनीतिमा आएको छोटो समयमै पर्साबाट दुईजना पुराना राजनीतिक ‘हस्ती’लाई हराएर निर्वाचित भएकाले पनि उनीहरूले राजनीतिक प्रतिशोधले झिनामसिना विषयलाई उकास्ने काम गरेका छन् । म चाहन्छु, राजनीति प्रतिद्वन्द्वीले मसँग राजनीति बहस गरून् । तर, उनीहरूसँग राजनीतिक रूपमा बहस गर्ने कुनै एजेण्डा नै छैन । म व्यवसायबाट अलग भएर राजनीतिमा जाँदासमेत व्यवसायसँग जोडेर बदनाम गर्ने प्रयास भइरहेको छ । यसबाटै उनीहरूको मानसिकता प्रष्ट हुँदैन र ? रौतहटको लालबकैया खोलामा तपाईंले समयमा पुल नबनाउँदा पाँचजनाको ज्यान जानेगरी डुङ्गा दुर्घटना भयो । यो हदसम्मको लापरबाही गर्ने अनि अरूले बदनाम गराए भन्न सुहाउँछ ? त्यो सरासर गलत हो । पुल निर्माणको सम्झौता २०७१ सालमा भयो । शुरूको केही महीना जग्गाको विवादमा गयो । ७ महीना मधेश आन्दोलन र भूकम्पले ३ महीना खायो । त्यो करीब १ वर्ष विभागले ‘रिकभरी’ दिने भनेको छ । त्यो भयो भने समयभित्रै पूरा हुन्छ । दुर्घटनाबाट भएको मानवीय क्षतिमा म पनि दुःख व्यक्त गरिरहेको छु । तर, पुलका कारण दुर्घटना भएको होइन । त्यहाँ अहिले होइन, ४० वर्षदेखि डुङ्गा चलिरहेको छ । त्यसको ठेक्का स्थानीय सरकारले लगाएको छ । स्थानीय तहले घाटगद्दी गरेर पैसा लिने गरेको छ । त्यसले हेर्नु पर्दैन ? माझी कस्तो हो, डुङ्गाको अवस्था र क्षमता कस्तो छ । लाइफ ज्याकेट हुनुपर्छ कि पर्दैन ? राति साढे ७ बजे ४० जना बोकेको डुङ्गा सन्तुलन गुमाएर पल्टिएको छ । जब कि स्थानीयहरू त्यो १० जना चढ्ने डुङ्गा हो भन्छन् । अत्यधिक बाढी आएको बेलामा डुङ्गा खोलामा हेलिएको छ, त्यो पनि पुलको उत्तरतिरबाट । नदीले बगाएर पुलतिरै ल्याउने बहावमा डुङ्गा हाल्नु माझीको लापरबाही हो । यसमा पुलको ठेक्का लिनेलाई दोष कसरी दिन मिल्छ ? पप्पुले भएभरका काम हात पार्छ अनि अलपत्र छोड्छ भन्ने छाप यसै बनेको हो र ? काम लिएर अल्झाएको छैन । सबै ठाउँका पुलको काम ६०/७० प्रतिशतभन्दा माथि पुगेको छ । बजेटको अभाव मुख्य कारण हो । सरकारले गतवर्षको भुक्तानी नै २६ करोड रुपैयाँ अझै दिएको छैन । सडक विभागअन्तर्गत स्थानीय स्तरका ९ सय निर्माणाधीन छन् । ३ सयजति राजमार्गअन्तर्गतका पुल छन् र ३ सय आयोजनाका छन् । कुल १५ सय पुलका योजना छन् । ९ सय पुलको खर्च ६३ अर्ब रुपैयाँ हुने देखिएको छ । वार्षिक बजेट २१ अर्ब भए मात्र ३ वर्षमा सकिन्छ । विभागको कुल बजेट साढे २ देखि ३ अर्ब रुपैयाँको बीचमा हुन्छ । यस वर्ष २ अर्ब ८६ करोड छ । । यो मैले भनेको होइन, रातो किताबले बोलेको कुरा हो । यस्तोमा कसरी समयमा पुल पूरा हुन्छन् ? तपाईं व्यवसायलाई संरक्षण दिन राजनीतिमा लागेको भन्ने पनि सुनिन्छ नि ? आफ्नो जीवनको उत्तरार्धको जीवन सामाजिक काममा लगाउने उद्देश्यले म राजनीतिमा लागेको हुँ । व्यवसायलाई मैले एउटा उचाइमा पुर्‍याइसकेँ । म कमाउन राजनीतिमा आएको होइन, कम्पनीको संरक्षणका लागि पनि होइन । कम्पनी त म राजनीतिमा आउनुभन्दा पहिला नै संरक्षित थियो । राजनीतिमा आएपछि राजनीतिक प्रतिद्वन्द्वीले विवादमा तान्ने काम बढी गरेका छन् । तपाईंले ठेक्का हात पार्न, समय थपाउन र भेरिएशनका लागि राजनीतिक दबाब दिनुहुन्छ भन्ने सडक विभागकै कर्मचारीले भन्ने गरेका छन् । त्यसले संरक्षणको उद्देश्य पुष्टि हुँदैन र ? त्यसका लागि मैले अहिलेसम्म एउटा फोन पनि गरेको छैन । कुनै नेतालाई फोन गर्न लगाएको पनि छैन । यहाँ हल्ला धरै हुन्छन् । म राजनीतिमा आएपछि कुनै ठेक्का पप्पुले पाएको छैन । पहिला नै प्रक्रियामा भएकोमा अलग सन्दर्भ हो । पुल भाँचिन्छ कसैको, क्षति हुन्छ कसैको । तर, मेरो तस्वीर हालेर समाचार लेखिन्छ । अहिले त सडक, बत्ती, संरचना सबै पप्पुको हो भन्ने मानसिकता भएको छ । आफूले लिएको कामको जिम्मेवारीमात्र पप्पुको हो । त्यसको गुणस्तरको जिम्मा पप्पुले लिन्छ । तर, समय लम्बिनुमा निर्माण कम्पनीको मात्र जिम्मेवारी हुँदैन । तर, जब्दीघाट पुलमा त पप्पुको निर्माणको गुणस्तर दोषी देखिएको प्रतिवेदन आइसक्यो नि, होइन र ? त्यो त एकतर्फी प्रतिवेदन हो । सरकारी कर्मचारीले आफू निकटका कर्मचारीलाई खटाएर पनि प्रतिवदेन हुन्छ ? त्यो त स्वतन्त्र निकायबाट हुनु पर्दछ । यो अख्तियारले पनि हेरिरहेको छ । सडक विभागले आफ्नो गल्ती छोप्न पप्पुलाई दोष लगाएर हुन्छ ? यो गलत डिजाइनका कारण भएको हो । सम्झौतामा भएको व्यवस्थाअनुसार सरकारी डिजाइन ठीक भए÷नभएको परीक्षण गर्न भनेकोमा हामीले ठीक छैन भनेर पेश गरेकै थियौं । निर्माण शुरूअघि वेल फाउण्डेशन हुनुपर्छ भनेका थियौं । तर, सस्तोका लागि सडक विभागले पाइल फाउण्डेशन गर भन्यो । १ लाख ५४ हजार रुपैयाँमा डिजाइन गराएकोमा अहिले जाँचका लागि पुलचोक इञ्जिनीयरिङलाई ४० लाख रुपैयाँमा दिएको छ । त्यो कतिसम्म सत्यको नजीक हुन सक्छ ? यो त पैसाको प्रलोभन हो । त्यस्तो थियो भने हामीलाई पनि गुणस्तरको जाँचमा राख्नुपथ्र्यो, हाम्रो रोहवरमा गुणस्तर जाँच्नुपथ्र्यो । गुणस्तर खराब भएको भए सडक विभागले नै कसरी प्रमाणित गरेर बिल भुक्तानी दियो ? सडक विभागका चारजना इञ्जिनीयरले प्रतिवेदनको विरोध किन गरेका छन् ? मैलेमात्र होइन, विभागकै कर्मचारीले प्रतिवेदनमा प्रश्न उठाएका छन् । उनीहरूले नै पुलको डिजाइनको गल्ती हो भनिरहेका छन् । उनीहरूले नै पुल महाशाखाका कर्मचारी फस्ने भएकाले निर्माण व्यवसायी र तलका कर्मचारीलाई फसाएर उम्किन खोजिरहेको भनेका छन् । सरकार निर्माण व्यवसायीलाई दोष दिन्छ, व्यवसायी सरकारी नीतिलाई । यो किचलोको कारण र निकास के हो त ? सस्तो लोकप्रियताका लागि योजना बाँड्ने काम बन्द गर्नु पर्दछ । २०४६ सालपछि मन्त्री र माननीयले १० करोडको योजनामा १० लाख रुपैयाँ राखेर भए पनि योजना बाँड्ने काम गरे । बजेट प्रक्रियाबाहिर गएर टेण्डर दिइयो । कर्मचारी पनि निरीह भएर आदेश मान्नुपर्ने अवस्था थियो । अहिलेको सरकारका अर्थमन्त्री पहिलाका सरकारले दायित्वको भारी बोकाएर गएको बताउँछन् । गतवर्ष पुल निर्माणको मात्र साढे ११ अर्ब रुपैयाँ बिल पेश भएको छ । सडक विभागको बजेट साढे २ अर्ब रुपैयाँ छ । समयमा भुक्तानी गर्न नसक्दा वर्षमा राज्यको ५० करोड रुपैयाँ ब्याजमा गएको छ । अन्यत्रबाट बचेको पैसा अर्थ मन्त्रालयले दिएर ७ अर्ब रुपैयाँ भुक्तानी भयो । अहिले गतवर्षकै डेढ अर्ब बाँकी छ । बजेट २ अर्ब ८६ करोड छ । यो पैसाले नून छरेजस्तो पनि हुँदैन । शहरी विकास मन्त्रालयको पनि त्यही अनुपातको दायित्व छ । यसकारण अब २÷४ वर्ष नयाँ योजना लिनु हुँदैन । पुरानो योजना सम्पन्न हुनेगरी निकासा दिएर काम हुनुपर्दछ । १ देखि २ वर्षसम्म ठेक्काको म्याद थपेर बजेटको व्यवस्था गर्ने हो भने सबै पुराना योजना पूरा हुन्छन् । हिजो एउटा पुल बनाउन भारतको व्यवसायी बोलाउनुपथ्र्यो, आज १५ सय पुल नेपालकै व्यवसायीले बनाइरहेका छन् । बाटो बनाइरहेका छन् । यो राम्रो थालनी हो । निर्माण व्यवसायीलाई निरुत्साहित गरेर होइन, उत्साहित गरेर अगाडि बढाउनुपर्दछ । निर्माण व्यवसाय बचाउने हो भने मिडिया पनि संयमित हुनु पर्दछ । कसैलाई डुबाउने नियत राख्नु हुँदैन । निर्माण व्यवसायीचाहिँ जिम्मेवार हुनु पर्दैन ? निर्माण व्यवसायीलाई पनि दोषको आधारमा कारबाही हुनु पर्दछ । केहीमा समस्या छ, त्यस्तालाई कारबाही हुनुपर्दछ । सबै उपलब्ध हुँदा पनि काम गर्दैन भने त्यस्ताले उन्मुक्ति पाउनु हुँदैन । तपाईंले मोबिलाइजेशन रकम लिएर त्यो रकम घरजग्गामा लगाउँदा योजना समयमा पूरा नभएको भनिन्छ नि ! केहीले यस्तो गरेको पनि होला । तर, सबैले त्यो गर्दैनन् । मोबिलाइजेशनको पनि मापदण्ड छ । यसका लागि बैङ्क ग्यारेण्टी चाहिन्छ । विदेशतिर पनि निर्माण व्यवसायीलाई काम शुरू गर्न यस्तो रकम दिने अभ्यास छ । तर, शुरूमा आधा दिएर त्यसको हिसाब गरेपछि मात्र दोस्रो किस्ता पाउँछ । यस्तोमा दुरुपयोगको सम्भावना कमै मात्र हुन्छ । तपाईंहरू निर्माण व्यवसायलाई उद्यम भन्नुहुन्छ । अन्य उद्योगीले शुरूमा आफै लगानी ल्याउँछन् । निर्माण व्यवसायीलाई चाहिँ मोबिलाइजेशन किन चाहियो ? कुनै उद्योग सञ्चालन गर्दा उपकरणदेखि चालू पूँजीसमेत बैङ्कले दिन्छ । तर, निर्माण व्यवसायमा त्यस्तो हुँदैन । त्यसकारण १० देखि १५ प्रतिशतसम्म मोबिलाइजेशन आवश्यक छ । काम शुरू नभएसम्म कर्जा पाइँदैन, कण्ट्र्याक्ट कर्जाको व्यवस्था छ । यो योजनाको ग्यारेण्टीमा दिने हो । त्यसमा पनि नेपालका बैङ्कले उतिसारो रुचि देखाउँदैनन् । अन्य उद्योगले पाउने वित्तीय सुविधा निर्माण व्यवसायीले पनि पाउने हो भने मोबिलाइजेशन चाहिँदैन । सरकारले यस्तो व्यवस्था गरोस् । तपाईंले चुनावताका क्षेत्रको विकास योजनाको लामै सूची सार्वजनिक गर्नुभएको थियो । तर, अहिलेसम्म योजना कार्यान्वयनको सङ्केतसमेत देखिएन नि, किन ? मेरो क्षेत्रमा यसै आर्थिक वर्षमा २ अर्बभन्दा बढीको केन्द्रीय योजना ल्याएको छु । पोखरिया अस्पतालमा एम्बुलेन्स र उपकरण ल्याएँ । यसलाई ५० शय्या बनाउन पहल गरिरहेको छु । पकाहमैनपुरमा १५ लाखको कृषि बजारको योजना ल्याएको छु । २५ लाखमा २ किमी तटबन्ध बनाएको छु । उत्तरी भेगमा पर्यटन विकासका लागि गादी मन्दिरमा यसै वर्ष पर्यटन मन्त्रालय, संसदीय विकास कोष र गाउँ पालिकाको सहकार्यमा पर्यटनस्थल बनाउने योजना छ । त्यसैको सेरोफेरोमा दुग्धेश्वर भाठा महादेवलाई पनि विकसित गर्ने योजना छ । भाठा मन्दिरको २ किलोमिटर बाटो बनाउने योजना छ । पोखरिया नगरपालिकालाई स्मार्टसिटीको रूपमा विकसित गर्न १ अर्ब रुपैयाँभन्दा बढीको बजेट विनियोजन गराएको छु । पोखरियामा जिल्ला प्रशासन र प्रहरीको सेवाकेन्द्र राख्न पहल भइरहेको छ । शुरुआतमै यति काम भएको छ । चुनावी प्रतिबद्धता कार्यान्वयनको सङ्केत नै देखिएन भन्न मिल्दैन ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)