तिलगङ्गा आँखा प्रतिष्ठानले देशभर जिल्लास्तरका १६ ओटा आँखा केन्द्र स्थापना गरिसकेको छ । यसै क्रममा संस्थाले भक्तपुर नगरपालिकाको सहकार्यमा जिल्ला सामुदायिक आँखाकेन्द्र र नेपाल आँखा कार्यक्रम सन् २००६ देखि भक्तपुरको च्याम्हासिंहमा चलाइरहेको छ । जिल्ला सामुदायिक आँखा केन्द्रले मोतीबिन्दु र जलबिन्दुको शल्यक्रियाबाहेक आँखाका अन्य रोगको ८० प्रतिशत समस्या यहीँबाट उपचार गरिरहेको छ । अहिले देशभर नै घामपानी भइरहेको छ, जसले गर्दा हावामा धूलोका कण उडिरहेका छन् । हावामा भएका धूलोका कण आँखामा पस्दा सङ्क्रमणको सम्भावना धेरै हुन्छ, जसले गर्दा आँखा पाक्ने रोग देखिन थालेकोे छ । प्रस्तुत छ, जिल्ला सामुदायिक आँखा केन्द्र, भक्तपुरका इञ्चार्ज धीरज अधिकारीसँग आँखारोग, लक्षण, उपचारलगायत विषयमा आर्थिक अभियानका प्रेम प्रजापतिले गरेको कुराकानीको सार :आँखामा मुख्य के कस्ता समस्या आउँछन् ?
आँखासम्बन्धी ठूलो रोगका रूपमा मोतीबिन्दु र जलबिन्दु रहेका छन् । यो रोगको उपचार बेलैमा भएन भने अन्धोपन हुन सक्छ । खासगरी आँखामा हुने चोटपटकले आँखामा समस्या ल्याउँछ । यसैगरी जन्मजात र वंशाणुगत रूपमा पनि समस्या आउन सक्छ । मोतीबिन्दु जन्मजात हुन सक्छ भने जलबिन्दु वंशाणुगत हुन सक्छ । बालबच्चाले नजीक बसेर बढी मोबाइल र टेलिभिजन हेर्दा आँखामा समस्या आउँछ ।
जलबिन्दु र मोतीबिन्दुबाहेक आँखाका अन्य समस्या के कस्तो हुन सक्छ ?
गर्मी समयमा आँखामा कसिङ्गर परेर समस्यामा पर्नेहरू धेरै छन् । कोलिस्टोनले गर्दा आँखा पाक्ने रोग लाग्छ । त्यस्तै, चश्मा लगाउनुपर्ने बिरामी पनि बढेका छन् । त्यसरी नै अन्य रोगका कारण आँखामा असर परेकाहरूको सङ्ख्या पनि धेरै छ । अहिले मधुमेह र उच्च रक्तचापका कारणले आँखाको समस्या बढाएको पाइन्छ । अपवादका रूपमा आँखाबाट जुका निकाल्नुपर्ने अवस्थासमेत आएका छन् ।
मधुमेह र उच्च रक्तचापका बिरामीलाई आँखामा पर्ने समस्या के हो ?
चिनीरोग, रक्तचापजस्ता दीर्घरोगले ग्रस्त बिरामीको आँखामा छिटो समस्या आउँछ । त्यस्ता बिरामीले आँखाको निकै हेरचाह गर्नुपर्छ । समयमै सचेत भइएन भने आँखासम्बन्धी रोगले ठूलो समस्या पार्न सक्छ । दृष्टि गुम्ने जोखीम र रतन्धोसमेत हुन सक्छ । चिनीरोगको प्रकृति हेरेर ३/३ महीना वा ६/६ महीनामा आँखाको परीक्षण गर्नुपर्छ । चिनीरोगका बिरामीलाई आँखाको भित्रको नसाहरूबाट रगत लिकेज भएपछि आँखाको फोबियामा आएर जम्छ । यसले गर्दा आँखाले नदेख्ने र धमिलो हुने गर्छ । त्यस्ता बिरामीको समस्या चश्माले मात्रै समाधान गर्दैन । रोगको प्रकृति हेरेर कसैलाई इञ्जेक्शन लगाउनुपर्ने हुन्छ । कसैलाई शल्यक्रिया गर्नुपर्ने हुन्छ त कसैलाई लेजर थेरापी नै गर्नुपर्ने हुन्छ । अप्रेशन नै गर्नुपर्ने अवस्था आएमा चिनीरोग कम गरेर मात्र सम्भव हुन्छ ।
चश्मा लगाउनुपर्ने बिरामीले चश्मा नलगाए के हुन्छ ?
चश्मा कुनै शौखका लागि भन्दा पनि आँखाको दृष्टिशक्ति सन्तुलन गर्न लगाउने हो । चश्मा लगाउनुपर्ने बिरामीले लाज लागेर, अप्ठ्यारो महसूस गरेर र वास्ता नगरेर नलगाईकन बसेमा दृष्टिमा समस्या आउँछ । निको हुन समय लाग्छ । आफ्ना बालबच्चाले चश्मा लगाएको/नलगाएकोबारे अभिभावक आफैले ध्यान दिनुपर्छ । एण्टीरिफ्लेक्शन कोटेट ग्लास हुने भएकाले यसले अनावश्यक समस्या ल्याउँदैन । सबैलाई फाइदै हुन्छ । कम्प्युटर, मोबाइल, प्रविधिको प्रयोग हुने ठाउँमा बेलैमा चश्मा लगाए समस्या बढ्न पाउँदैन । आँखाको परीक्षण गर्दा हाइपावरको चश्मा लगाउनुपर्नेछ, तर लाज लाग्छ भनी नलाएपछि समस्या आउँछ । त्यसकारण आँखा परीक्षणपछि डाक्टरको सल्लाहबमोजिम चश्मा नै लगाउनुपर्ने भएमा त्यसैअनुसार सिफारिश सकिन्छ । नियमित रूपमा चश्मा र आँखाको परीक्षण गर्नुपर्छ । तर, अहिले चश्मा लगाउनुपर्ने मानिसले नियमित रूपमा लगाएको पाइँदैन । आँखामा समस्या नभएकाले भने शौखको रूपमा लगाउने गर्छन् ।
आँखामा धूलो परेमा वा चोट लागेमा उपचार के हुन सक्छ ?
आँखामा धूलो परेमा वा घाउचोट लागेमा ‘स्टुराइड’ भन्ने औषधि प्रयोग गर्न सकिन्छ । चोट लाग्नेबित्तिकै नजीकको आँखा केन्द्र वा अस्पतालमा जानुपर्छ । त्यस्तो समस्या भएमा हातले मिच्नुहुँदैन । त्यसले घाउ झन् ठूलो पार्न सक्छ ।
चश्मा लगाउनुपर्ने अवस्थामा पनि बेलैमा नलगाए कस्तो समस्या आउँछ ?
बेलैमा उपचार नगरेपछि समस्या जटिल बन्छ । हरेक रोगको उपचार समयमै नगरे त्यसबाट समस्या झन् झन् बल्झिन्छ । त्यसकारण आफ्नो आँखाको स्वास्थ्यबारे सचेत रहनुपर्छ । बालबच्चाको आँखाको अवस्थाबारे अभिभावकले ध्यान दिनुपर्छ । अभिभावकले आफ्ना बालबालिकाको आँखा समयमै जँचाउन नलगे समस्या बढ्न सक्छ । आँखासम्बन्धी कुनै समस्या आउनेबित्तिकै परीक्षणका लागि लैजानुपर्छ । बालबच्चामा ७ वर्षभन्दा अगाडि अल्छी आँखा हुन्छ । बेलैमा परीक्षण नगर्दा शल्यक्रिया गर्नुपर्ने हुन्छ । त्यस्ता समस्या आउँदासाथ आँखाको परीक्षण गरिहाल्नुपर्छ ।
स्वास्थ्य बीमाले आँखा जाँचका लागि सघाएको छ ?
अहिले स्वास्थ्य बीमा गरेपछि कम्तीमा वार्षिक एकपटक अनिवार्य रूपमा आँखा जाँच गर्नुपर्ने प्रावधान राखिएको छ । यसमा परिवारका एकजनालाई चश्मा लगाउनुपर्ने भएमा १ हजारबराबरको चश्मा निःशुल्क दिने व्यवस्था छ । साथै, पहिलेभन्दा अहिले आँखा जाँचका लागि धेरै बिरामी आउने गर्छन् ।
तिलगङ्गा आँखा प्रतिष्ठानले बिरामीको आर्थिक क्षमतालाई कसरी हेरेको छ ?
यस प्रतिष्ठानको मुख्य अवधारणा भनेकै ‘भएकासँग लिने नभएकालाई दिने’ हो । कमजोर आर्थिक अवस्थाका बिरामीसँग पैसा लिएका छैनौं । सहुलियत दिन मिल्ने ठाउँमा दिएका छौं । पैसा नै नभएर आँखा जाँच गर्न वञ्चित हुनुपर्दैन । अतिविपन्न वर्गका विरामीलाई चश्मासमेत निःशुल्क वितरण गरेका छौं । जहाँ जहाँ यस प्रतिष्ठानको शाखा छ, ती ठाउँमा हामीले सुलभ सेवा पुर्याइरहेका छौं ।
केन्द्रको भावी योजना के छ ?
निकट भविष्यमा यस केन्द्रले मोतीबिन्दुको शल्यक्रियासहितको प्रविधियुक्त सेवा दिनेछ । हामी त्यसको प्रक्रियामा लागिसकेका छौं । विभिन्न जिल्लाबाट यहाँ बसोवास गर्न आएका सबै बिरामीलाई अझै सहज र सुलभ बनाउन यही असोज महीनादेखि नै यो सेवा दिन लागेका हौं । हामीले सेकेण्डरी लेभलको आँखा अस्पतालको रूपमा यस केन्द्रलाई विकास गर्न खोजेका छौं । जहाँ सबै इक्वीपमेण्ट रहेको हुन्छ ।
आँखाका बिरामीका लागि कुनै सल्लाहसुझाव छ ?
आँखा संवेदनशील अङ्ग हो । यसमा कुनै खालको समस्या ल्याउनु हुन्न । कसैगरी रोग लागेमा, दृष्टि गुमेमा जीवन नै अपूरो हुन्छ । यसकारण ‘रोग लाग्नुभन्दा लाग्नै नदिनु जाती’ भनेझैं बेलैमा यसको हेरचाह गरे आफैलाई फाइदा हुन्छ । समस्या भएमा तुरुन्तै आँखा केन्द्र वा आँखा अस्पतालमा गएर उपचार गर्नुपर्छ । नियमित रूपमा आँखाको अभ्यास गर्ने गरेमा राम्रो हुन्छ । ‘स्वास्थ्य नै धन हो’ भन्ने बुझेर आफ्नो स्वास्थ्यप्रति सदैव सचेत हुनुपर्छ ।