पूँजीबजारमा विगत ७ वर्षदेखि सक्रिय लगानीकर्ता कमल पन्थीले सूचीकृत सबै क्षेत्रका कम्पनीमा लगानी गरेका छन् । कलेजमा फी तिर्नुपर्ने रकम पनि म्याद थप पाउन निवेदन लेखेर शेयरबजारमा लगानी गरी त्यसबाट प्राप्त नाफाले तिर्ने गरेको उनी सम्झन्छन् । पन्थीसँग आर्थिक अभियानकी मल्लिका घिमिरेले गरेको कुराकानी :पूँजीबजारमा लगानी गर्न शुरू गर्नुभएको कति समय भयो ?
म २०६८ सालमा पूँजीबजारमा प्रवेश गरेको हुँ । मेगा बैङ्कको आईपीओमा २ सय कित्ताका लागि आवेदन दिएकोमा ३० कित्तामात्र परेको थियो । त्यसपछि जति पनि आईपीओको निष्कासन भयो ती सबैमा आवेदन दिँदै गएँ । कुनै कम्पनीको धेरै कित्ता आईपीओ प¥यो भने कुनैको थोरै । आईपीओको लगानीले नाफा हुँदै गएपछि २०७० सालमा दोस्रो बजारमा प्रवेश गरें । त्यति बेला दोस्रो बजारमा सबैभन्दा पहिले किनेको रिडी हाइड्रोपावर कम्पनीको शेयर थियो । पछि वाणिज्य बैङ्क, विकास बैङ्क, लघुवित्त र बीमामा लगानी बढाएँ ।
यो क्षेत्रमा लगानी गर्ने इच्छा कसरी जाग्यो ?
मैले पढेको विषय बिजनेश नै भएकाले ‘शेयर खरीदविक्री कसरी गर्ने होला, यसबाट कसरी नाफा कमाउन सकिएला’ भन्ने प्रश्न मनमा उठिरहन्थ्यो । त्यसैबीच मेरा साथी गोविन्द कार्कीले शेयर कारोबार गरिरहेको थाहा पाएँ । उनीबाट पूँजीबजारबारे जानकारी लिएँ । मेरा आफन्त तथा दाजुभाइ पनि शेयर कारोबार गर्न ब्रोकर अफिस जाने गरेको थाहा पाएँ । अनि म पनि केही दिन ब्रोकर अफिस हेर्न गएँ । तर, शेयरमा कसरी लगानी गर्ने कस्तो कम्पनीमा लगानी गर्ने भन्ने कुरा त्यहाँबाट थाहा पाइनँ । त्यहाँ एउटा व्यक्तिले आफूसँग भएको कम्पनी राम्रो छ, यो किन्दा हुन्छ भन्ने र त्यसको मूल्य बढेपछि आफ्नो शेयर बेच्ने गरेको पनि देखें । यसबाट उनीहरूको धारणा त सुन्नुपर्छ, तर लगानी गर्दा भने आफ्नो विवेकले कम्पनी छान्नुपर्छ भन्ने बुझें ।
पूँजीबजारमा लगानी गरेर आत्मनिर्भर हुन सकिने रहेछ त ?
पूँजीबजारमा बुझेर लगानी गर्न जान्यो भने आत्मनिर्भर हुन सकिन्छ । शेयरबजारबाट आत्मनिर्भर हुन दुई तरीका अपनाउनुपर्छ । कुनै कम्पनीको शेयर खरीद गरेर केही समयपछि विक्री गरिहाल्नुपर्छ र नाफा हात पारिहाल्नुपर्छ । त्यस्तै, भविष्यमा राम्रो प्रतिफल दिने कम्पनीको शेयरमा दीर्घकालका लागि लगानी गर्नुपर्छ । यसो ग¥यो भने पूँजीबजारबाट आत्मनिर्भर हुन सकिन्छ । विगतमा कति प्रतिफल दिएको छ र अब कति दिन्छ भन्ने मूल्याङ्कन गरेर कम प्रतिफल दिने कम्पनीको शेयरमा थोरै नाफा हुने बित्तिकै समयमै विक्री गरिहाल्नुपर्छ । विगतभन्दा बढी नाफा दिने खालका कम्पनीको शेयर लामो समयसम्म होल्ड गरेर चारदेखि ५ वर्षसम्मको लाभांश लिएर विक्री गर्नुपर्छ ।
पूँजीबजारमा आफ्नै अध्ययनको आधारमा लगानी गर्नुपर्छ, अरूको सल्लाहमा लगानी गर्नेहरूले कमै सफलता पाउँछन् भन्ने गरिन्छ । यसमा तपाईंको बुझाइ के छ ?
कुनै कम्पनीको शेयर आफ्नो पोर्टफोलियोमा हाल्नुहुन्छ भने त्यस कम्पनीको वित्तीय विवरणदेखि संस्थागत सुशासनबारे बुझेर लगानी गर्नुपर्छ । सबै रकम एउटै कम्पनीमा लगानी नगरी फरकफरक कम्पनीमा लगाएर पोर्टफोलियो व्यवस्थापन गर्न सकियो भने पूँजीबजारबाट घाटा हुँदैन । थोरै जोखीम वहन गर्ने नयाँ लगानीकर्ताले म्युचुअल फण्डमा लगानी गर्नु राम्रो हुन्छ । त्यहाँबाट पूँजीबजारमा कसरी लगानी गर्नुपर्ने रहेछ भन्ने कुरा जान्न सकिन्छ । अरूको सल्लाहमा मात्र लगानी गरियो भने अर्को व्यक्तिले कमाउँदा आफूले गुमाउन पनि सकिन्छ । अरूको सुझाव पनि लिने र आफूले पनि कम्पनीको अवस्थाबारे जानकारी लिने गरियो भने पूँजीबजारबाट सफलता पाउन सकिन्छ ।
लगानीका लागि कम्पनीको छनोट कसरी गर्नुहुन्छ ?
जगेडा कोष धेरै भएको, निष्क्रिय कर्जा कम भएको, ईपीएस र प्रतिशेयर नेटवर्थ बढी भएको कम्पनी छानेर लगानी गर्ने गरेको छु । कम्पनीको व्यवस्थापनदेखि कर्मचारीहरूको आवतजावत र सीईओ कति वर्षसम्म त्यस कम्पनीमा कार्यरत छन्, सञ्चालकमा कत्तिको परिवर्तन हुने गर्छ, त्यो सबै बुझेपछि त्यस कम्पनीमा दीर्घकालका लागि लगानी गर्ने गरेको छु । थोरै प्रतिफल दिने खालका कम्पनीमा थोरै समयका लागि मात्र लगानी गर्ने गरेको छु । थोरै नाफा भयो भने पनि बेचिहाल्छु ।
आफूले लगानी गरेका कम्पनीको साधारणसभाजस्ता क्रियाकलापमा कत्तिको सहभागी हुनुहुन्छ ?
आफूले लगानी गरेको कम्पनीको वार्षिक साधारणसभामा भ्याएसम्म पुगेको हुन्छु । साधारणसभामा धेरै लगानीकर्ताले कम्पनीबारे दिएको सूचनाबाट पनि कम्पनीको अवस्थाबारे बुझ्न सकिन्छ । नयाँ लगानीकर्ताले कुनै पनि कम्पनीको साधारणसभामा गएर बसेमा त्यस कम्पनीको आर्थिक र संस्थागत प्रक्रियाबारे बुझ्न सजिलो हुन्छ । कम्पनीले भविष्यमा के गर्दै छ भन्ने कुरा पनि सभाबाट थाहा पाउन सकिन्छ ।
तपाईंले आफ्ना साथीभाइलाई यो क्षेत्रमा आउन कत्तिको प्रोत्साहन गर्नुभएको छ ?
मभन्दा साना मेरा भाइबहिनीलाई अहिले गरेको थोरै लगानीले भविष्यमा कुनै बिजनेशको थालनी गर्न सहयोग मिल्छ भनेर थोरैथोरै भए पनि लगानी गर्न सुझाव दिने गरेको छु । दोस्रो बजारमा लगानी गर्न पूँजी नपुग्ने भए पनि कलेज पढ्ने भाइबहिनीले आईपीओमा भने लगानी गर्ने गरेका छन् । मैले भाइहरूसँग मिलेर १२ जनाको लगानीमा पोर्टफोलियो बनाएको छु ।
तपाईं पूँजीबजारसम्बन्धी कुनै सङ्गठनमा आबद्ध हुनुहुन्छ ?
१ वर्षजति भयो नेपाल पूँजीबजार लगानीकर्ता सङ्घमा आबद्ध छु । मैले त्यस सङ्गठनको संयोजक भएर काम गरिरहेको छु । केही समयअघि धितोपत्र बोर्डले पूँजीगत लाभकर बढाएको समयमा सो करसम्बन्धी निर्णय फिर्ता गर्नुपर्छ भनेर पूँजीबजार सङ्गठनले नै धितोपत्र बोर्डमा धर्ना दिएको थियो । अझैै पनि सरकारले लाभकरको टुङ्गो लगाएको छैन । आशा छ सरकारबाट लाभकर नलगाउने नियम आउँछ होला ।
पूँजीबजारमा लगानी गर्न हालको वातावरण कस्तो छ ?
पूँजीबजारमा लगानी गर्न पहिलाको तुलनामा धेरै सहज भएको छ । पहिले दिनभरि लाइन बसेर आवेदन दिनुपथ्र्यो भने अहिले घरैमा बसेर आवेदन दिन सकिन्छ । अब, छिट्टै बैङ्कहरूले ब्रोकर लाइसेन्स पाएपछि दोस्रो बजारमा पनि अनलाइनमार्फत शेयर खरीदविक्री गर्न सकिने सुविधा पाइन्छ । राजाधानीभित्र मात्र सीमित भएको शेयरबजार अनलाइन प्रणाली आएसँगै बैङ्कहरूले ब्रोकर लाइसेन्स पाएपछि जहाँसम्म बैङ्क पुग्न सक्छन् त्यहाँसम्मका लगानीकर्ताको पहुँचमा पूँजीबजारमा पुग्नेछ । यसबाट शेयरबजार उचाइमा पुग्न सक्छ र सरकारले पनि धेरै राजस्व प्राप्त गर्न सक्छ ।