राष्ट्रिय क्षयरोग केन्द्रका साथै सार्क क्षयरोग एवम् एचआईभी एड्स केन्द्रका निर्देशक भइसकेका डा. दीर्घसिंह बम वरिष्ठ छातीरोग विशेषज्ञ हुन् । विश्व स्वास्थ्य सङ्गठनको कन्सल्टेण्टसमेत रहेका उनले राष्ट्रिय क्षयरोग केन्द्र र सार्क क्षयरोग केन्द्रको स्थापनामा ठूलो योगदान दिएका छन् । यसै सन्दर्भमा छातीरोग, यसका लक्षण, कारण, उपचारलगायत विषयमा डा. बमसँग आर्थिक अभियानका भवनाथ प्याकुरेलले गरेको कुराकानीको सम्पादित अंश :पछिल्लो समय छातीसम्बन्धी कस्ता रोग बढी देखिएका छन् ?
छातीमा लाग्ने रोग धेरै छन् । तीमध्ये क्षयरोग मुख्य रूपमा रहेको छ । यो रोग लागेपछि खोकी लागिरहने, श्वास नलीमा अप्ठ्यारो हुने, श्वास फेर्न गाह्रो हुने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने, ज्वरो आउने जस्ता लक्षण देखिन्छन् । यो रोग खासगरी निम्न वर्गीय परिवारमा बढी देखिएका छन् । छातीमा लाग्ने अन्य रोगहरू क्यान्सर, निमोनिया, सेलिकोसी, दम, एलर्जीलगायत हुन् ।
छातीमा रोग लाग्ने कुनै विशेष कारण छन् ?
छातीमा रोग लाग्न विशेष कारण हुनैपर्छ भन्ने छैन । यो रोगको प्रकृतिअनुसार लाग्ने गर्दछ । सर्ने र नसर्नेगरी विभाजन गरेर कसरी लाग्छ भनेर छुट्ट्याइन्छ । सर्ने रोगहरूमा जीवाणु र कीटाणुका माध्यमले एकबाट अर्कोमा सर्दछ । जस्तै– क्षय रोग कीटाणुबाट, निमोनिया ब्याक्टोरियालगायतको माध्यमबाट सर्ने गर्दछ ।
छातीको रोग लाग्न नदिन केमा ध्यान दिनुपर्छ ?
खोकी लागेमा सफा रुमालले मुख छोप्नुपर्दछ । जहाँ पायो त्यहीँ थुक्नु हुँदैन । कुनै समस्या वा रोग लागेको शङ्का लागेमा डाक्टरलाई देखाउनुपर्छ । फोक्सोको क्यान्सर जस्ता रोग लागेको शङ्का हुनेबित्तिकै स्वास्थ्य संस्थामा गएर जँचाउनुपर्छ । शुरूको अवस्थामै उपचार गराउन सके यस्तो रोग निको पार्न सकिन्छ । छातीरोग लागेमा खानपिनमा ध्यान दिनुपर्छ । चिल्लो, पीरो, तारेका जस्ता खाद्यपदार्थ खानु हुँदैन । साथै, धूमपान, मद्यपान गर्नु हुँदैन ।
ग्रामीण र शहरी क्षेत्रका मानिसमा लाग्ने छातीरोगमा केही भिन्नता पाउनु भएको छ ?
शहरको तुलनामा गाउँमा जनघनत्व कम हुन्छ । सफासुग्घरको स्तर पनि शहरको तुलनामा गाउँमै राम्रो पाइन्छ । गाउँमा भन्दा शहरमा १० प्रतिशत बढी फोहोर हुने गरेको विभिन्न तथ्याङ्कले देखाएका छन् । क्षयरोगको विषयमा अनुसन्धान गर्दा पनि शहरी क्षेत्रमा धेरै रहेको पाइएको छ । शहरी क्षेत्रमा स्वास्थ्य सुविधा भए तापनि यहाँ मानिस दिनप्रतिदिन बढिरहेका छन् । त्यसले पनि शहरमा मानिस रोगी भइरहेका छन् ।
क्षयरोग के हो र यसबाट कसरी बच्ने ?
सामान्यतया माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणुले हाम्रो फोक्सोमा सङ्क्रमण गर्दछ । तर, शरीरका अन्य भाग (मिर्गौला, हड्डी तथा जोर्नी, मष्तिस्क झिल्ली, ग्रन्थीहरू, छाला आदि)मा पनि क्षयरोगका जीवाणुले सङ्क्रमण गर्न सक्छ । यी जीवाणु शरीरमा प्रवेश गरेको केही हप्तादेखि वर्षौंपछि पनि क्षयरोगका लक्षण देखा पर्न सक्छन् । शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएपछि यो रोग देखिन थाल्छ । यो जीवाणुले कहिलेकाहीँ सामान्य मान्छेमा सङ्क्रमण भएर पनि स्वास्थ्यमा कुनै लक्षण नदेखाई बस्न सक्छ । यो अवस्थामा क्षयरोगको जीवाणु अरूमा पनि सर्न सक्दैन र रोगका लक्षण पनि देखिँदैनन् ।
क्षयरोग कसरी सर्छ ?
क्षयरोग लागेका व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट यो रोग सर्न सक्छ । क्षयरोगीले बोल्दा, हाच्छिउँ गर्दा, खोक्दा हावामार्फत नजीकको व्यक्तिमा पुनः श्वासप्रश्वासको माध्यमबाट यी जीवाणु फोक्सोमा प्रवेश गर्दछ । फोक्सोमै पनि यसले आफ्नो बासस्थान बनाउन सक्छ भने रगतको माध्यम हुँदै शरीरका अन्य भागमा समेत सङ्क्रमण गराउन सक्छ ।
यो रोगका लक्षण के के हुन् ?
तीन हप्ता वा सोभन्दा लामो समय खोकी लागिरहनु, छाती दुख्नु, खोक्दा खकारसँगै रगत देखापर्नु, कमजोर हुनु वा छिट्टै थकाइ लाग्नु, खान मन नलाग्नु र तौल घट्दै जानु क्षयरोगका मुख्य लक्षण हुन् । साँझ वा रातिपख हल्का ज्वरो आइरहनु, शरीरका ग्रन्थीहरू सुन्निनु पनि यो रोगका लक्षण हुन् ।
क्षयरोगको सङ्क्रमण बढीजसो कसलाई हुन सक्छ ?
बालबालिका, किशोर–किशोरी र वयस्क जो सुकैलाई पनि क्षयरोग लाग्न सक्छ । खासगरी रोगीसँग बारम्बार सम्पर्कमा आइरहनेहरूलाई यो रोग सर्ने जोखीम हुन्छ । धेरै भीडभाड र रोगसङ्क्रमित क्षेत्रका बासिन्दालाई पनि सङ्क्रमणको सम्भावना हुन्छ । यसैगरी मद्यपान र धूमपान गर्नेलाई र बढी धूलोधूँवामा बस्नेहरूलाई यो रोगको सङ्क्रमण हुन सक्छ ।
क्षयरोगको परीक्षण तथा निदान कसरी हुन्छ ?
फोक्सोको क्षयरोग निदानका लागि सबैभन्दा राम्रो र भरपर्दो उपाय माइक्रोस्कोपको प्रयोगबाट खकारको परीक्षण हो । माइक्रोस्कोपको प्रयोगबाट पत्ता नलागे जिन एक्सपर्ट प्रविधि प्रयोग गरी रोग पहिचान गरिन्छ । त्यस्तै, शरीरका अन्य अङ्गको क्षयरोग निदान गर्नुपरेमा एक्स–रे, प्रभावित अङ्गको कोषिकाको कल्चर, बायोस्पी आदि प्रविधि प्रयोग गर्ने गरिन्छ ।
यसको उपचार र रोकथाम के हो ?
सरकारले क्षयरोगविरुद्धको औषधि निःशुल्क उपलब्ध गराएको छ । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा क्षयरोगको औषधि खुवाइन्छ । सरकारले डट्स कार्यक्रममार्फत प्रत्येक स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य चौकी र अस्पतालबाट यो सेवा निःशुल्क उपलब्ध गराएको छ । क्षयरोगको उपचार समय र रोगको वर्गीकरणअनुसार फरक पर्छ । यो रोगको औषधि नियमित सेवन गरेमा पूर्णरूपमा निको हुन्छ । रोग लागेको शङ्का लागेमा अथवा रोग लागेको थाहा भएमा नजीकको स्वास्थ्य संस्था तथा अस्पतालमा तुरुन्त सम्पर्क गर्नुपर्छ ।
ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा जान नमान्ने डाक्टरको विषयमा के भन्नुहुन्छ ?
स्वास्थ्यको तालुकदार निकाय कमजोर भएका कारण व्यवस्थापन कमजोर छ । कर्मचारीलाई समानताका दृष्टिले हेरिँदैन । कामको मूल्याङ्कन गरिँदैन । जबसम्म ग्रामीण क्षेत्रमा काम गर्ने कर्मचारीलाई तालुकदार मन्त्रालय र सरकारले समान व्यवहार गरिँदैन, तबसम्म त्यसको समाधान गर्न सकिँदैन । यसमा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालय पनि बाधकका रूपमा देखापरेका छन् । यी मन्त्रालयबीच समन्वय भएको पाइँदैन । अर्थ मन्त्रालयले बजेट छुट्ट्याउने विषयमा बाधा उत्पन्न गरिरहेको छ । सरकारको कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा खर्च गर्ने वातावरण सरकारले बनाउनुपर्छ ।
सरकारी डाक्टरहरू निजी क्लिनकमार्फत कमाइ धन्दामा लागेको पाइन्छ नि ?
डाक्टरलाई सरकारले खान पुग्नेगरी तलब दिएको छैन । उनीहरू जीविकोपार्जनका लागि नै निजी क्लिनिक धाइरहेका छन् । सरकारले त्यसबारे विशेष व्यवस्था गर्न जरुरी छ । यही कारण अहिले निजीक्षेत्र फस्टाएको हो । जबसम्म सरकारी अस्पतालमा बेथितिको समाधान हुँदैन, तबसम्म उनीहरू निजीमा गइरहन्छन् ।
डाक्टरहरूले हालै जारी भएको नयाँ मुलुकी ऐनको विरोध गर्नुको कारण के हो ?
त्यसमा संसारमा नभएको विषय नेपालमा भएको छ । कुन यस्तो डाक्टर होला, जसले मान्छे मार्छु भनेर उपचार गर्छ ? यहाँ मेडिकल काउन्सिललगायत संस्था छन् । गलत गर्नेलाई कारबाहीका लागि ती निकायलाई जिम्मेवारी दिएको भए हुने थियो । कानून बनाउँदा समाजको अध्यययन भएको छैन । त्यसलाई बुझेर ल्याइएको भए उक्त ऐन सर्वमान्य हुन्थ्यो ।