पूँजीबजारमा १० वर्ष अघिदेखि लगानी गर्दै आएका नवराज सुवेदी अहिले नेपाल पूँजीबजार सङ्घको अध्यक्ष पद सम्हालिरहेका छन् । आम लगानीकर्ताको हितमा आफ्नो सङ्घ अघि बढेको बताउने उनी पूँजीबजारको विकासका लागि नियामक निकायहरूले जुन खालका नीति तथा कार्यक्रम अघि सारेका छन्, तिनलाई यथाशीघ्र कार्यान्वयनमा ल्याउन माग गर्छन् । राज्यले पनि पूँजीबजारलाई प्राथमिक क्षेत्रमा राखेर विकास–विस्तार गर्नुपर्नेमा जोड दिने अध्यक्ष सुवेदीपूँग आर्थिक अभियानकी प्रजिता बुढाथोकीले गरेको कुराकानी :नेपाल पूँजीबजार सङ्घ लगानीकर्ताको हितका लागि कसरी अघि बढेको छ ?
सबै व्यवसाय, जस्तै– गाडी, उद्योगधन्दा, कल कारखानालगायतका सङ्घसङ्गठन भए । तर, लाखौं लगानीकर्ता भएको पूँजीबजारमा सङ्गठन नभएपछि सङ्गठन चाहिन्छ भन्ने लागेर नेपाल पूँजीबजार सङ्घ दर्ता गरी सञ्चालन गरेका हौं । यो सङ्गठनमा धेरै साथीहरू आबद्ध हुनुहुन्छ । यद्यपि, आफ्ना मत–अभिमत बाझिएपछि अहिले यस्ता चारओटा सङ्ठगन भएका छन् । नेपाल पूँजीबजार सङ्घ पूर्णतया लगानीकर्ताको हकहितमा लागिपरेको छ । यस सङ्घको नेतृत्व मैले नै गरेको छु । चाँडै नै पूर्णरूपमा लागू हुन लागेको अनलाइन कारोबार प्रणालीको सम्बन्धमा हिजोका दिन पुनरावेदन अदालतमा मुद्दा विचाराधीन थियो । त्यति बेला हामीले नै आन्दोलन गरेर त्यो मुद्दालाई टुङ्गोमा पुर्याएका हौं । अर्को कुरा, बैङ्क तथा वित्तीय संस्थाले पनि ब्रोकर लाइसेन्स पाउनुपर्छ भन्ने हामीहरूकै चर्को मागपछि त्यसको पनि सम्बोधन भएको छ । बैङ्कको चर्को ब्याजबाट पीडित लगानीकर्ताले राहतस्वरूप ब्रोकरहरूबाट मार्जिन लेण्डिङ सुविधा पाउनुपर्ने माग पनि हाम्रो थियो । यसका लागि हाल नेप्से सम्पूर्ण कार्यविधि बनाएर अघि बढेको छ । त्यसैले, समग्रमा यो सङ्गठन नेपालको पूँजीबजारलाई अन्तरराष्ट्रियस्तरको मूल्य–मान्यताअनुरूपको, आधुनिक प्रविधि तथा पूर्वाधारसम्पन्न र आम लगानीकर्तामैत्री बनाउन सक्रिय रूपमा लागिपरेको छ ।
लगानीकर्ता सङ्घ धेरै भए, लगानीकर्ताको हितमा कुनै काम भएन भन्ने पनि आम लगानीकर्ताको गुनासो छ नि ?
पूँजीबजार नाफा र घाटासँग सम्बन्धित हुन्छ । नयाँ लगानीकर्ता कतिपय साथीहरू बजारमा त प्रवेश गर्नुहुन्छ, तर मूल्य बढेर टुप्पोमा पुगिसकेका बेला शेयर किन्नुहुन्छ । उहाँहरू यससम्बन्धी आवश्यक अध्ययन पनि गर्नुहुन्न । यद्यपि, शेयरबजार यस्तो क्षेत्र हो, जहाँ कारोबारको अनुभव हुँदा हुँदै पनि घाटामा पर्न सकिन्छ । त्यसमा पनि बजारबारे अध्ययनका लागि समय र जोखीम व्यवस्थापनतर्फ ध्यान नदिने साथीहरू फस्ने सम्भावना बढी हुन्छ । यस्तै, लगानीकर्ता साथीहरू आक्रोशित भएर सङ्गठनहरूमाथि रिस पोख्नुहुन्छ । कतिपयलाई आफ्नो शेयर बेचेपछि अब घटे हुन्थ्यो भन्ने लाग्छ भने किन्नेहरूलाई बढे हुन्थ्यो भन्ने हुन्छ । यो स्वाभाविक सोच पनि हो । तर, कसैले गरेको गल्तीका कारण यस्ता सङ्गसङ्गठनलाई दोष दिनु हुन्न भन्ने मेरो धारणा छ ।
यो क्षेत्रमा सही ढङ्गले लगानीका लागि के सुझाव दिनुहुन्छ ?
शेयरबजारमा विनासुभबुझ तथा अध्ययन लगानी गर्नुहुँदैन । यसका लागि पहिलो त लगानीको विविधीकरण र दोस्रो, समय व्यवस्थापन गर्न जान्नुप¥यो । समय व्यवस्थापन भन्नाले उहाँहरूले गरेको लगानी कति समयका लागि हो । आज किनेर भोलि नै बेच्ने हो भने नाफा नहुन सक्छ । त्यहाँ सबैभन्दा बढी जोखीम हुन सक्छ । त्यसैले, समय निर्धारण गरेर लगानी गर्नुप¥यो । तेस्रो कुरा, लगानीकर्ताले जोखीम व्यवस्थापनमा ध्यान दिन जरुरी छ । आफूले शेयर खरीद गर्दा सम्बन्धित कम्पनीको शेयरमूल्य कुन अवस्थामा छ ? एकदमै बढेर टुप्पोमा पुगेर घट्न लागेको पो छ कि ? कम्पनीको मूल्य नेटवर्थ बराबर भएको बेला छ भने त्यसमा कत्तिको जोखीम छ भन्नेमा एकदमै विचार पुर्याउनुपर्छ । चौथो कुरा, रकमको व्यवस्थापन गर्न पनि जान्नुपर्यो । यसको मतलव, चर्को ब्याजदरमा ऋण लिएर लगानी गर्दा घाटामा जाने सम्भावना पनि हुन्छ । पैसा आफ्नो हो कि ऋण हो, त्यसमा ध्यान दिनुपर्यो । लगानी रकम आफ्नै हो भने धेरै आत्तिनुपरेन । राम्रो कम्पनीमा लगानी गर्नुपर्यो, जसले प्रत्येक वर्ष प्रतिफल देओस् । हामीले त्यो कम्पनीलाई केही समय पालेपछि परिणामस्वरूप त्यसले हामीलाई सधैंभरि पालोस् । यी सबै पक्षको विश्लेषणसहित लगानी व्यवस्थापन गर्न सकने सचेत लगानीकर्ता बनिन्छ ।
पूँजीबजारमा कहिलेदेखि सक्रिय हुनुहुन्छ ? नेपालमा पूँजीबजारको विकासक्रमलाई कसरी हेर्नुभएको छ ?
म पूँजीबजारमा विगत १० वर्षदेखि सक्रिय छु । म यो क्षेत्रमा प्रवेश गर्दादेखि अहिलेसम्मको अवस्था नियाल्दा पूँजीबजारको इतिहास लामो नै छ । अन्तरराष्ट्रिय पूँजीबजारको तुलनामा नेपालको पूँजीबजार विकासको चरणमा प्रवेश गरेको छ । हाम्रो पूँजीबजारमा भर्खरै अनलाइन कारोबार प्रणाली आउँदै छ । बजारको विकास विस्तार गराउन बैङ्क तथा वित्तीय कम्पनीहरूले ब्रोकर लाइसेन्स पाउने विषय अघि बढेको छ । लगानीकर्ता सचेतना कार्यक्रम क्रमिक रूपमा सञ्चालन हुन थालेका छन् । हिजोको दिनमा पूँजीबजार विस्तारका लागि सञ्चारमाध्यमको भूमिका कम थियो । अहिले सबैजसो सञ्चारमाध्यमले यसलाई विशेष महत्त्व दिएका छन् । हिजोका दिनमा अर्थमन्त्रीले कहिले पूँजीबजारलाई अनुत्पादक त कहिले जुवाघर भनेकोमा अहिले आएर त्यसो होइन रहेछ, राष्ट्र निर्माणका अभिन्न अङ्गमध्ये पूँजीबजार पनि रहेछ भन्ने वास्तविकतालाई सबैले स्वीकारेका छन् । अहिले त सरकारसमेत राष्ट्रिय पूँजी निर्माणको थलो भनेकै पूँजीबजार हो भन्ने बुझेर अघि बढेको छ ।
लामो समयपछि पूँजीबजारमा हरियाली छाएको छ । यति बेला लगानीकर्ताको मनोबल केले बढाएको जस्तो लाग्छ ?
देशमा राजनीतिक स्थायित्व कायम भएपछि सबैजसो गतिविधि अर्थतन्त्रकेन्द्रित हुँदै गएका छन् । अहिले पर्यटन, उद्योगधन्दालगायत क्षेत्र फस्टाँउदो अवस्थामा छन् । त्यस्तै, जलविद्युत्का ठूला आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । हिजोको दिनमा लोडशेडिङले सबै उद्योग व्यवसायलगायत क्षेत्र सङ्कटमा परेका थिए । अहिले यो समस्याको समाधान भएको छ । हामी कृषिमा पनि आत्मनिर्भर उन्मुख हुँदै छ । अधिकांश युवामा अब साउदी, कतारजस्ता खाडी मुलुक गएर होइन, आफ्नै देशमा माटो सुहाउँदो खेती गरी आत्मनिर्भर हुनुपर्छ भन्ने सोच आएको छ । यसरी हरेक नेपाली नेपाली जनता आर्थिक गतिविधिमा सहभागी हुँदै गएको देखिन्छ । यसो हुनु हाम्रो अर्थतन्त्र मजबूत बन्दै जानु हो । अर्थतन्त्र मजबूत भएकै कारण पूँजीबजार हरियाली भएको हो ।
अनलाइन कारोबार प्रणालीले सबैमा पूँजीबजारको पहुँच पुर्याउने आशा गरिएको छ ? हाल मोक ट्रेडिङ परीक्षणमा रहेको छ । पूर्ण अनलाइन प्रणाली छिटो लागू गराउन तपाईंहरूको पहल के छ ?
अनलाइन कारोबारलाई जतिसक्दो छिटो कार्यान्वयनमा ल्याउन हामीले सक्दो पहल गरिरहेका छौं । यद्यपि, यो प्राविधिक विषय भएकाले हामीले छिटो गर भनेर मात्र हुने होइन । अर्को कुरा, यसमा ढिलाइ हुनुमा नियामक निकायकै कमजोरी देखिन्छ । उहाँहरू कहिले मुद्दा मामिलामा अड्किनुभयो, कहिले नेप्सेको प्रमुख कार्यकारी अधिकृत बर्खास्त, नियुक्तिलगायतले समय बर्बाद भयो । नियामक निकायको काम गर्ने शैली नै परम्परागत देखिन्छ । विगतमा जे जस्तो भए पनि त्यसबाट पाठ सिक्दै अब यथाशीघ्र कार्यान्वयनमा ल्याउन आवश्यक छ ।
पूँजीबजारलाई अहिलेकै अवस्थामा गतिशील बनाइराख्न के जरुरी देख्नुहुन्छ ?
नियामक निकायहरूले जुन खालका नीति तथा कार्यक्रम अघि सारेका छन्, तिनलाई यथाशीघ्र कार्यान्वयनमा ल्याउनुपर्यो । नियामकहरूले आफ्नो दायित्व वहन गर्ने क्रममा लगानीकर्ताको हितलाई ध्यानमा राखिदिनुपर्यो । राज्यले पनि पूँजीबजारलाई प्राथमिक क्षेत्रमा राखेर विस्तार विकास गर्नुपर्यो । पूँजीबजारमा भएका समस्या के के हुन्, हालसम्म भएका विकास निर्माणका काम के के हुन्, अन्तरराष्ट्रियस्तरमा के कस्ता काम भइरहेका छन् भन्ने विषय छर्लङ्ग हुनेगरी मासिक रूपमा सार्वजनिक सुनुवाइ हुनुपर्यो । हाम्रो पूँजीबजार अन्तराष्ट्रियस्तरको पूर्वाधार तथा प्रविधिमैत्री बन्न यसले टेवा पुग्थ्यो । यस्तो भएमा राज्यले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियान पूँजीबजारकै माध्यमबाट सार्थक हुन्छ भन्ने मलाई लागेको छ ।