नसर्ने तर जटिल समस्याका रूपमा देखापरेका रोगमध्ये मधुमेह रोग पनि एक हो । आहारविहार, रहनसहन आदिका कारण संसारभरि हरेक उमेरसमूहका मानिसलाई यो रोग लाग्ने गरेको छ । विगतमा धनीलाई मात्र लाग्ने रोगका रूपमा चिनीने यो मधुमेह अहिले मध्यम वर्गलाई पनि लाग्ने गरेको छ । वास्तवमा मधुमेह हत्तपत्त निको नहुने रोग भएकाले प्रत्येक नागरिकले ३–३ महीनामा रक्त परीक्षण गराउनुपर्ने भनाइ डा. प्रियादर्शनी योञ्जनको छ । चीनको थ्याञ्जिन मेडिकल युनिभर्सिटीबाट एमबीबीएस गरेकी योञ्जनले सोही युनिभर्सिटीबाट एमडी गरेकी हुन् । हाल उनी अल्का अस्पतालमा कार्यरत छिन् । प्रस्तुत छ, डा. योञ्जनसँग मधुमेह रोगबारे केन्द्रित रहेर आर्थिक अभियान दैनिकका पूर्णभक्त दुवालले गरेको कुराकानीको सम्पादित अंश :मधुमेह रोग किन निको हुँदैन ?
यो दीर्घरोग हो । रुघाखोकी र अन्य रोगजस्तो बाहिरी सङ्क्रमणका कारण नभई शरीरभित्र नै समस्या हुने भएकाले यो रोग निको हुँदैन । यसलाई नियन्त्रणमा भने राख्न सकिन्छ । साधारणतया हामीले खाएका वस्तु पाचनका क्रममा ग्लुकोजमा परिवर्तन भई रगतका माध्यमबाट सम्पूर्ण शरीरका कोषमा पुग्छन् । यो रोग लागेपछि भने ग्लुकोज कोषभित्र छिर्न पाउँदैन । जसले गर्दा शरीर कमजोर हुन्छ र रगतमा ग्लुकोजको मात्रा बढ्न थाल्छ । ज्यादै बढी भएमा पिसाबबाट समेत गुलियो पदार्थ निस्कन थाल्छ र पटकपटक पिसाब लाग्ने हुन्छ ।
खासगरी मधुमेह कस्ता मानिसलाई लाग्छ ?
खासगरी शौखिन जीवनशैली अपनाउनेलाई मधुमेह हुने सम्भावना बढी हुन्छ । मोटोपन भएका, शारीरिक व्यायाम कम गर्ने, बढी चिल्लो खानेलाई यो रोग लाग्छ । यो वंशाणुगत कारणले पनि हुन्छ ।
मधुमेह अर्थात् डायबिटिजलाई सामान्य भाषामा चिनीरोग पनि भन्ने गरिन्छ । रगतमा ग्लुकोजको मात्रा बढी भएपछि हुने रोग नै मधुमेह हो । प्यान्क्रियाज नामक ग्रन्थीबाट उत्पादन हुने इन्सुलिन हर्मोनको अनियमितता हुँदा मधुमेह हुन्छ ।
इन्सुलिनले चिनी अर्थात् कार्बोहाइड्रेटलाई पचाउने काम गर्छ र रगतमा यसको मात्रा सन्तुलित र नियमित गर्ने गर्छ । तर, जब इन्सुलिनको उत्पादन हुन छाड्छ, रगतमा चिनीको मात्रा बढ्न थाल्छ । प्यान्क्रियाजले पर्याप्त इन्सुलिन उत्पादन नगर्दा वा शरीरले इन्सुलिनको उपयोग गर्न नसक्दा मधुमेह हुन्छ ।
मधुमेहको लक्षण के हो ?
पिसाब धेरै लाग्ने, पिसाबमा कमिला झुम्मिने, तिर्खा बढी लाग्ने, भोक बढी लाग्ने, शरीरको तौल एक्कासि घट्ने र धेरै कमजोरी हुने यो रोगका प्रमुख लक्षण हुन् । यसैगरी मुख सुक्खा हुनु र मुख गुलियो भइरहनु, जिब्रो, दाँतमा मैलो जमिरहनु पनि यो रोगको लक्षण हो ।
हातगोडा पोलेकोजस्तो हुनु, मांसपेशीहरूमा शिथिलता तथा पीडा हुनु, छालामा रुक्षता–खस्रो तथा सङ्कुचन हुनु, लिङ्ग तथा योनीमा सङ्क्रमण हुनु पनि मधुमेहको लक्षण हो । यसरी नै आँखा धमिलो हुनु, चोटपटक लागेमा चाँडो निको नहुनु आदि । यसले अन्य रोगलाई पनि असर पुग्न सक्छ ।
मधुमेहले गर्दा अन्य अङ्गमा पनि दीर्घकालीन असर पुग्छ ?
यदि चिनीको मात्रा रगतमा धेरै समयसम्म नियन्त्रण नभएमा आँखा देख्न कम हुने, मुटुसम्बन्धी समस्या उत्पन्न हुने, मिर्गौला कमजोर हुने, चोटपटक चाँडो निको नहुने र स्नायुसम्बन्धी समस्या भई हातखुट्टा झमझमाउने हुन सक्छ ।
मधुमेह भएको कसरी पत्ता लगाउन सकिन्छ ?
मधुमेहको लक्षण देखिन थाल्यो वा शङ्का लाग्यो भने अस्पताल वा स्वास्थ्य संस्थामा गई विशेषज्ञसँग परामर्श लिनुपर्छ । शुरूमा रगत जाँच गरेर हेर्नुपर्छ । खाली पेटको अवस्थामा रगत जाँच गर्दा १२० मीग्रा र खानापछि १५० मीग्रा हुनु सामान्य हो र यसभन्दा बढी देखिएमा मधुमेह भएको देखिने भएकाले उपचार थाल्नुपर्छ । खासगरी ३ महीनाको अन्तरालमा एचबीए१ सी परीक्षण गर्दा रगतमा ७ प्रतिशतभन्दा यो बढी देखियो भने उपचार थालिहाल्नुपर्छ । सामान्य अवस्थामा यो ५ दशमलव ७ देखि ६ दशमलव ४ प्रतिशत मात्र हुन्छ ।
मधुमेहीले खान नहुने खानेकुरा केके हुन् ?
मधुमेहका बिरामीले गुलियो पदार्थ खानु हुँदैन । चिनी, मिठाई, जाम, केक र चिसो पेयपदार्थहरू खानु हुँदैन । चिल्लोयुक्त र बोसोयुक्त खाना कम खानुपर्छ । बोसो भएको मासु वा तारेका खानेकुराहरू जस्तै पुरी, पकौडा, समोसा, पुलाउ, आलुचिप्स आदि खानु हुँदैन । रातो मासु अर्थात् चौपायाको मासु खानु हुँदैन । आलुबाट बनेका खाद्यपदार्थ, तरुल, पिँडालु, सखरखण्डजस्ता वस्तु खानु हुँदैन । त्यस्तै मादक पदार्थ रक्सी, बियर पनि खानु हुँदैन ।
त्यसो भए के खाने त ?
भात, मकै, चिउरा, गहुँ, चिनी नभएको बिस्कुट खाँदा हुन्छ । मुला, सलगम, रामतोरिया, प्याज, बकुल्ला पनि खान हुन्छ । दाल गेडागुडी, रहर, मास, चना, मटर, भटमास, मुग खाँदा हुन्छ । फलफूलमा सुन्तला, मेवा, अङ्गुर, स्याउ, केरा, नासपती खाँदा राम्रो हुन्छ । दूधको परिकार, माछा, सेतो मासु र फूल आदि खाँदा हुन्छ । तरकारीमा परबल, कुरिलो, भण्टा, हरियो लसुन, मेथी, बन्दागोभी, फूलगोभी, सिमी, मुगी, काँक्रो, भोगटे, हरियो खुर्सानी, गोलभेंडा खान हुन्छ । यसरी नै फलफूल जामुन, बयर, कागती, अमला, काफल पनि खान सकिन्छ ।
पेय पदार्थमा चिनीविनाको चिया, कफी, भेजिटेबल सुप, नरिबलको रस, निमको पातको रस आदि सकिन्छ । सलादमा जीरा, मसला, गेडागुडी, गोलभेंडा, मरीच र धनियाँको पात खान हुन्छ ।
नेपालमा कस्ता मधुमेही बढी देखिएका छन् ?
हर्माेनको गडबडी, औषधिका कारण र प्यान्क्रियाज ग्रन्थीमा सङ्क्रमण हुँदा पनि मधुमेह हुनसक्छ । मधुमेहको पहिलो प्रकार अर्थात् टाइप वानमा शरीरले इन्सुलिन उत्पादन गर्न सक्दैन । यस्तो टाइपको मधुमेहका बिरामीलाई छिनछिनमा पिसाब लाग्ने, प्यास बढी लाग्ने, भोक धेरै लाग्ने, शरीरको तौलमा अचानक कमी हुने र अधिक थकान महसूस हुन्छ । वंशाणुगत कारणले हुने यो टाइपको मधुमेहका बिरामी नेपालमा कमै छन् । हाल नेपालमा ९० प्रतिशतदेखि ९५ प्रतिशतसम्म दोस्रो प्रकारको मधुमेहका रोगी भएको तथ्याङ्कले देखाएको छ । यस्तोमा प्यान्क्रियाजले इन्सुलिन बनाउँछ । तर, त्यो शरीरका लागि अपर्याप्त हुन्छ । यसैगरी इन्सुलिनको कार्यक्षमतामा ह्रास आउँछ ।
टाइप टु डायबेटिज कस्तो मधुमेह हो ?
यो रोगमा बिरामी प्रायः मोटा हुन्छन् । ४० वर्षभन्दा बढी उमेरकालाई यो बढी हुन्छ । यो प्रकारको मधुमेहमा इन्सुलिन रेसिष्टेण्ट (इन्सुलिनले काम गर्ने शक्ति घट्ने अवस्था) हुने हुँदा खाने चक्की वा इन्सुलिन पनि आवश्यकता पर्न सक्छ । टाइप टु डायबिटिज प्रायः वशांणुगत, अव्यवस्थित जीवनशैली र मोटोपनाका कारणबाट हुन्छ । यो सामान्यतया प्रौढ अवस्थामा हुने गर्छ र विश्वमा भएका मधुमेह रोगीमध्ये धेरै यही प्रकारको मधुमेहका रोगी छन् । यसमा प्यान्क्रियाजले कम इन्सुलिन उत्पादन गर्छ र शरीर पनि इन्सुलिन ग्रहण गर्न अक्षम हुन्छ । उमेर बढ्दै जाँदा यस प्रकारको मधुमेहबाट व्यक्ति ग्रस्त बन्दै जान्छ ।
टाइप टु डायबिटिज (दोस्रो प्रकारको मधुमेह) इन्सुलिनको प्रतिरोधका कारण उत्पन्न हुने समस्या हो । यस्तो अवस्थामा शरीरका कोषहरूले इन्सुलिनप्रति राम्रोसँग प्रतिक्रिया जनाउन सक्दैनन् । रोग बढ्दै गएपछि इन्सुलिनको अभाव पनि देखिन सक्छ ।
मधुमेहका कारण हुने आकस्मिक समस्या केके हुन् ?
पहिलो तथा दोस्रो प्रकारको मधुमेह लागेका प्रायः मानिसमा रगतमा चिनीको मात्रा कम हुने समस्या पनि देखिने गर्छ । धेरैजसो अवस्था मन्द खालको हुने भएकाले यसलाई गम्भीर स्वास्थ्य समस्याका रूपमा लिइँदैन । मन्द खालको अवस्थामा आत्तिने, अप्ठ्यारो महसूस हुने, धेरै पसिना आउने, शरीर काप्ने तथा खाना बढी रुच्ने हुन्छ भने गम्भीर मधुमेह लागेका मानिसमा अलमल हुने, व्यवहार परिवर्तन हुने, मूच्र्छा पर्नेजस्ता समस्या देखिन सक्छन् ।
मधुमेहका रोगीले इन्सुलिन प्रयोग गरेरै उपचार गर्नुपर्छ त ?
प्रकार दुईको मधुमेहमा शरीरभित्रको इन्सुलिनमा कमी हुन्छ । यो क्रम निरन्तर चल्छ र अन्तिम अवस्थामा शरीरभित्रको इन्सुलिन सकिन्छ । त्यति बेला बाहिरबाट इन्सुलिन इञ्जेक्शन लगाउनुपर्छ । मधुमेहको अन्तिम अवस्थामा पुगेपछि मात्र इन्सुलिन इन्जेक्शन लगाउँदा धेरै समस्या हुन्छ । इन्सुलिन भनेको प्यान्क्रियाजले बनाउने एक प्रकारको शरीरको हर्मोन हो । मधुमेह रोग भनेकै विस्तारै प्यान्क्रियाजबाट इन्सुलिनको उत्पादन कम हुँदै जानु हो । त्यसैले शरीरका लागि बाह्य इन्सुलिन आवश्यक पर्छ । इन्सुलिन प्रयोग गर्न थालेपछि पनि खानपिनमा विचार र शारीरिक व्यायाम कायम नै राख्र्नुपर्छ । यो खासै महँगो पनि छैन र यो लगाउँदा पीडा पनि हुँदैन ।